२ महिनापछि उड्यो निगमको ट्वीनअटर
काठमाडौं । बन्द भएको करीब दुई महिनापछि बिहिबारदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो । जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवाई सेवा शुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन सोमबार उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए । उडान सेवा पुनःसञ्चालन भएसँगै दशँैमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । रासस
झालाई अध्यक्ष बनाउनु पर्ने कारण पेस गर्न सञ्चार मन्त्रालयलाई निर्देशन
काठमाडौं । संसदको विकास समितीले सञ्चार तथा सूचना मन्त्रालयसँग दूर सञ्चार प्राधिकरणमा अध्यक्ष दिगम्बर झालाई बनाउनु पर्ने कारण माग गरेको छ । बिहिबार बसेको समितिको बैठकले मन्त्रालयलाई १५ दिनभित्र कारण पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणमा पहिले पनि दिगम्बर झा नै अध्यक्ष रहेका थिए । उनले पदबाट राजिनामा दिएर पुन खुल्ला प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । आवेदन दिएका १५ जनामध्ये मन्त्रालयले उत्कृष्ट ३ जनाभित्र झालाई समेट्दै मन्त्रिपरिसदमा पेस गरेको थियो । यसपछि मन्त्रिपरिषदले झालाई नै ५ वर्षको लागि अध्यक्षमा नियुक्त गरेको थियो ।
नेपाल बैंकको एफपीओ भर्नेले पहिलो मौका गुमाए, विधि र विरोधको चेपुवामा लगानीकर्ता
काठमाडौं । नेपाल बैंकको एफपीओमा लगानी गर्ने लगानीकर्ताले पहिलो चरणको मौका गुमाएका छन् । बैंकको सेयर सूचिकरणमा उत्पन्न विवाद लम्बिदा लगानीकर्ताहरु सेयर मूल्य बढेको बेलामा बेच्नबाट बञ्चित भएका छन् । एक साताअघि प्रतिकित्ता ३३४ रुपैयाँ पुगेको यस बैंकको सेयर विहीबार ३०७ रुपैयाँमा झरेको छ । सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सेयर बाँडफाँड भएको १५ दिनभित्र सेयर सूचिकरण हुनुपर्छ । तर नेपाल बैंकको सेयर बाँडफाँड भएको तीन महिना बित्दा पनि सूचिकरण हुन सकेको छैन । बैंकले गत साउन २० गते सेयर बाँडफाँड गरेको थियो । बाँडफाँडपछि सेयर सूचिकरण गर्न समयमा नै नेपाल स्टक एक्सचेञ्जमा पत्राचार गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले बताए । उक्त एफपीओको अण्डरराईटिङ गर्ने कम्पनीहरुले गलत प्रक्रियाबाट सेयर बिक्री गरेको उजुरी नेपाल धितोपत्र बोर्डमा परेपछि सूचिकरण रोकिएको नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउदले बताए । ‘बैंकले सूचिकरण गर्न निवेदन दिएको छ तर धितोपत्र बोर्डले सूचिकरण नगर्नु भनेर निर्देशन दिएको छ’ साउदले भने । अण्डरराईटरले किनेको नेपाल बैंकको एफपीओ उनीहरुको खातामा नै नआई तेस्रो पक्षको खातामा गएको र यस्तो कारोबार गैरकानुनी भएको भन्ने गुनासो आएपछि त्यसबारेमा छानविन भईरहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए । बुटवल पावर कम्पनीको एफपीओ अण्डरराइटिङ प्रक्रियामा पनि यस्तो गुनासो आएको र नेपाल बैंकको एफपीओमा पनि सोही समस्या देखिएकोले बोर्डले समस्याको समाधान खोजिरहेको उनले बताए । अण्डरराइटरले लिन नसक्ने सेयर आफै ग्राहक खोजी सोझै बिक्री गरेकोमा सेयर ब्रोकर कम्पनीहरुले पनि असन्तुष्टि जनाएका छन् । ‘अण्डरराइटरले क्षमताभन्दा बढी सेयर किन अण्डरराइटिङ गरे ? दिनेले क्षमताभन्दा बढी सेयर अण्डरराइटिङ गर्न किन दियो ? विधि र प्रक्रिया नबनाई किन यसरी सेयर कारोबार भईरहेको छ ?’ एक जना ब्रोकरले प्रश्न उठाए । धितोपत्र बोर्डले अध्ययन गर्न थालेको जनाउँदै नेपाल ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले बोर्डले उचित निर्णय लिने विश्वास व्यक्त गरे । ‘अब नियामकले पक्कै एउटा विधि तय गर्छ, विधि बनेपछि विवाद अन्त्य हुन्छ’ उनले भने । नियामकको विधि र सेवा प्रदायकको विरोधमा लगानीकर्ता भने चेपिएका छन् । सेयर सूचिकरण भईसक्नु पर्ने समयमा नेपाल बैंकको सेयर प्रतिकित्ता ३३४ रुपैयाँ पुगेको थियो । विहीबार उक्त सेयर प्रतिकित्ता ३०७ रुपैयाँमा झर्दा लगानीकर्ताले प्रतिकित्ता २७ रुपैयाँ गुमाएका छन् । आवेदन परेको ९३ लाख ७५ हजार ७५० कित्ता एफपीओ बाँडफाँड भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९५ करोड बराबरको एफपीओ जारी गरेकोमा २ अर्ब ६२ करोड रुपैयाँको मात्र आवेदन परेको थियो । नबिकेको सेयर सीबीआईएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल, सिभिल, सनराइज, लक्ष्मी र सानिमा क्यापिटल लिमिटेडले सकारेको थिए ।
निम्बसको प्रोबायोटेक इण्डष्ट्रिजले पायो आइएसो २२००० : २००५ मान्यता
काठमाडौं। पशु दाना उद्योगमा अग्रणी कम्पनीको प्रोबायोटके इण्डष्ट्रिजले आइएसो २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आइएसो २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो । प्रमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । यस अघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाण प्रत्र पनि प्राप्त गरेको थियो । ‘निम्बस’ दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन बिक्री वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई एक सय ओटा डिस्ट्रिब्युटर मार्फत ४० जिल्लामा पु¥याएको छ । हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खाने तेल उत्पादन गर्छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी उत्पादन पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ । स्वीडिस प्रबिधिको रिफाइनरीमा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्त तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको छ । जसका कारण उपभोक्ताले विश्वस्त भएर निम्बसका खानेतेलहरु उपभोग गर्न सकिने छ । उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला सञ्चालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउँदै आएको छ । कम्पनीमा योग्य खाद्य विज्ञहरु कार्यरत रहेकाले गुणस्तरको सवालमा उपभोक्ताले सामान्य चिन्ता पनि लिनु पर्दैन । खाद्य विज्ञहरुको उत्कृष्ट टिम नै गुणस्तरीय खाद्य सामाग्रीका उत्पादनका लागि सक्रिय छन् ।
८० प्रतिशत नेपाली फिल्म ओस्कार कलेजको विद्यार्थीहरुले बनाउने छन् : विनोद पौडेल
विनोद पौडल आफुले चलचित्र विषय अध्ययन गरेको अस्कर ईन्टरनेसनल कलेजमा अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । अस्करबाट चलचित्रमा स्नातकसम्मको अध्ययन सकेर पौडेल स्नातकोत्तर अध्ययनका लागि बेलायत गएका थिए । उनी अस्करमा सीईओ भएको ६ वर्ष पुरा भएको छ । साघुँरो चलचित्रका लागि कथा लेखिसकेका पौडेल अहिले बुलबुल चलचित्रको लेखन र सोही चलचित्रमा निर्देशन गर्दैछन् । प्रस्तुत छ, चलचित्र विकासमा अस्करको योजनाका बारेमा सीईओ पौडेलसंग विकासन्यूजका लागि डोमीशेर्पाले गरेको कुराकानी । चलचित्रको विषय पढाउने कलेज सञ्चालनको योजना कसरी आयो ? अस्कर कलेज स्थापनाका लागि कलाकार निर शाहाले पहल गर्नुभएको हो । उहाँ अली झोकी स्वभावको हुनुहुन्छ । केही गर्छु भनेपछि त्यो काम गरेरै छोड्नुहुन्छ । त्यस समय नेपाली सिनेमा खस्किने क्रममा थियो । चलचित्र शिक्षाविना नेपालमा केही हुनसक्दैन भन्ने उहाँले महसुस गर्नुभयो होला । त्यसैले उहाँले चलचित्र विषय नेपालमा पढाएर र राम्रा फिल्म मेकर जन्माउनु पर्छ भनेर यस कलेजको स्थापना गर्नुभएको हो । तपाई यही कलेजको विद्यार्थी । कसरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुभयो ? हामी पहिलो ब्याच पास आउट भएपछि कलेज एक वर्षका लागि बन्द भयो । विद्यार्थी पनि खासै आएनन् र कलेज प्रशासनले पनि राम्रोसँग चलाउन सकेन । त्यसपछि नयाँ समूहले कलेज किनेको थियो । उहाँहरुबाट पनि कलेज चलेन, अलिअलि विद्यार्थीहरु त आए तर कलेज भित्रको आधारभूत संरचना, पढाईको गुणस्तर, प्रशासन सबै कमजोर भईरहेको थियो । त्रिभुवन विश्वविद्यालयले पनि मान्यता फिर्ता लिने तयारी गरिसकेको थियो । त्यतिबेला म बेलायतबाट भर्खर स्नाताकोत्तर अध्ययन सकेर नेपाल फर्किएको थिए । मलाई अभिनय गर्ने विषय पढाउनको लागि यहाँ बोलाईएको थियो । अचानक एकदिन मिटिङमा कलेज त बर्बाद भयो । अब बन्द गर्नुपर्छ भन्ने कुरा आयो । मैले कलेजको कमजोरीहरु सबै व्यवस्थापनलाई भनिदिए । त्यसबेला यहाँको व्यवस्थापनले ममा केही संभावना देख्यो होला, ६ महिना कलेज चलाएर देखाईदिनु भनेर अनुरोध आयो । त्यसपछि पनि भएन भने नेपालमा चलचित्र विषय पढाउने कलेज चलाउन सकिदैन रहेछ भनेर हामी बन्द गरौला उहाँहरुले भन्नुभयो । मैले उहाँहरुको कुरा काट्न सकिन । ६ महिना कलेज राम्रोसँग चलाईदिन्छु त्यसपछि तपाईंहरु नयाँ मान्छे खोज्नु होला भने र काम सुरु गरेको थिएँ । आज यस कलेजमा ६ वर्ष बितिसक्यो । तर, कलेज छोड्न सकिएन । पहिलाको भन्दा धेरै राम्रो गरेको छु । कलेज र विद्यार्थीसँग नजिक हुँदै गइयो । सबैको माया पनि लाग्न थाल्यो र छाड्न सकिएन । अस्करमा चलचित्र सम्बन्धित कस्ता विषय पढाइन्छन् ? अभिनय, निर्देशन, छायाँचित्र, ध्वनी र सम्पादन गरी ५ वटा विषयको कलेजमा पढाइ हुने गरेको छ । विद्यार्थीहरुले प्रथम वर्षमा अनिवार्य रुपमा सबै बिषय पढ्नु पर्ने हुन्छ । द्धित्तिय वर्षदेखी उनीहरुले आफ्नो रुचीको बिषय छानेर त्यसैमा विशिष्टकरण गर्न सक्छन् । यहाँ स्नातक तहको पहिलो वर्षदेखि नै प्रयोगात्मक कक्षाहरु संचालन हुन्छन् । हामी प्रयोगात्मक सँगै चलचित्र सम्बन्धि सैदान्तिक कक्षाहरु संचालन गर्छौ । पढेको कुरालाई बुझाउन प्रयोगात्मक कक्षा आवश्यक हुन्छ । विद्यार्थीहरुले पहिलो वर्षदेखि नै गर्नुपर्ने प्रोजेक्टहरु धेरै हुन्छन् । उनीहरुले स्नातक तहको तेस्रो वर्षसम्म पुग्दा कम्तिमा पनि १० वटा प्रोजेक्ट गरिसक्छन् । उनीहरुले सिनेमा बनाउनु पर्नेहुन्छ । विद्यार्थीहरुले प्रथम वर्षमा बनाउनु पर्ने सिनेमा सामान्य र दोस्रो र तेस्रो वर्षसम्म पुग्दा माथिल्लो स्तरको हुन्छ । यो १० देखि १२ मिनेट लामो हुन्छ । उनीहरुको क्षमता कति बढ्यो भनेर हामी मूल्यांकन गर्छौ र प्राप्त अंकलाई त्रिभुवन विश्वविद्यालयमा पठाउँछौ । यहीबाट स्नातकसम्म अध्ययन गरेका विद्यार्थीहरु शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै इन्डियाको एफटीआई इन्स्टिच्युटबाट पढेर आएका शिक्षक हुनुहुन्छ । केही शिक्षकहरु बाहिरबाट मास्टर्स सकेर आएका छन् । हामीसँग सिनेमा पढाउनलाई योग्य शिक्षकहरु हुनुहुन्छ । ओस्कारसंग चलचित्र विषय पढाउन आवश्यक पूर्वाधार तयार छ ? चलचित्र अध्ययनलाई चाहिने सबै पूर्वाधार हामीसँग छन् । चलचित्र अध्ययनका लागि चहिने एउटा मिनी स्टुडियो, स्क्रिनिङ हल, क्यामरा, लाईट, इडिटिङ टेबलहरु हामीसँग छन् । हाम्रो कमजोर पक्ष भनेको साउन्ड डिजाईनमा छ । त्यसमा चाँही हामी कता कता अझै राम्रो हुन जरुरी छ जस्तो लाग्छ । कलात्मक रूपमा विद्यार्थीलाई के दिनुपर्ने छ, त्यसमा हामी एकदमै प्रष्ट छौ, त्यसैले हाम्रो पढाउने विभाग चाँही एकदमै भरपर्दो छ । तर प्राविधिक विभाग त्यसमा पनि एनिमेसनको पक्षमा हामीले थप राम्रो गर्न सकिरहेको छैन । हामी यसलाई राम्रो गर्नेतर्फ लागिरहेका छौ । समग्रमा भन्नुपर्दा फिल्म मेकर बन्नको लागि हाम्रो कलेजमा सबै किसिमका पुर्वाधार छन् । १४ बर्ष अगाडि कलेज खोल्दा र अहिले फिल्म स्टडिज प्रति मानिसको धारणामा के फरक पाउनुभएको छ ? कलेज स्थापनाको सुरुवाती दिनमा विद्यार्थीहरु कम थिए । एक त समाज पनि यो विषय त्यति बिकसित थिएन । फिल्म पढ्छु भन्नेलाई अभिभावकले पनि मौका दिदैन थिए । फिल्म भन्न साथ हाम्रो समाजमा नराम्रो क्याटोगिरीको रुपमा लिइन्थ्यो । यो त अझै पनि छ । तर अहिले आएर त्यो कुरामा केहि सुधार भएको छ । पहिलाको तुलनामा फिल्मी पढाईलाई अहिले परिवार, समाजले हेर्ने दृष्टि बदलिएको छ । त्यसमाथि हाम्रो कलेजमा सिनेमा मेकिङ पनि हुने भएकोले अभिभावक र विद्यार्थी दुवै यसप्रति सकरात्मक भएको देखिन्छ । अभिभावकलाई सर्टिफिकेट प्यारो अनि विद्यार्थीको लागि रुचिको बिषय भएको हुने भएकोले पनि अभिभावकहरुको सोचाईमा केहि बदलाव पाएका छौ । पहिला विद्यार्थीले अभिभावकलाई तानीतानी मलाई यहाँ पढाउनुस भन्नु पर्ने अवस्था थियो भने अहिले अभिभावकहरुले विद्यार्थीलाई आफै फिल्म पढन मन छ भने पढन् भनेर सल्लाह दिने गरेको पाईन्छ । चलचित्र विषय अध्ययन गर्ने विद्यार्थीको संख्या कति छ ? अहिले यहाँ फिल्म अध्ययन गर्ने विद्यार्थीको संख्या पहिलो,दोस्रो र तेस्रो वर्ष गरि २०० जना भन्दा बढि छन् । हामी विद्यार्थीको संख्यामा भन्दा पनि गुणस्तरमा विश्वास गर्छौ । संख्या मात्र बढाएर हुन्न र त्यस अनुसार सुविधा पनि दिनुपर्ने हुन्छ । भर्ना लिन हामीले नमानेर हो नत्र यो संख्या दाब्बर हुने थियो । तर अब हामी हाम्रो क्षमतालाई पनि बढाउने योजना छौ । चलचित्र विषयमा स्नातक अध्ययन पुरा गर्न कति खर्च लाग्ने गरेको छ ? फिल्मी पढाई हो खर्चिलो त छ । किनभने यसमा धेरै टेक्निकल कुराहरु छन् । जस्तै क्यामरा, ल्यापटप जुन नभै नहुने अति आवश्यक सामान हुन् । त्यस्तै अन्य सामानहरु पनि छन् जुन कलेजले नै उपलब्ध गराईदिन्छ । यो त एउटा टेक्निकल खर्च भयो । त्यस्तै कलेजले लिने शुल्क ३ बर्ष स्नातक तहमा ४ लाख ५० हजार रुपैयाँ छ । यस बाहेक अरु कुनै शुल्क हामीले लिदैनौ । यसभित्रै सबै शुल्क समेटिएको हुन्छ । कस्ता विद्यार्थीहरुले यस कलेजमा भर्ना हुन पाउँछन ? पहिलो बर्षमा भर्ना हुने समयमा हामीले चलचित्र विषय पढ्नका लागि केही मापदण्डहरु तोकेका हुन्छौ । सर्वप्रथम त केही साईकोलजिकल कुराहरु छन् जुन विद्यार्थीसंगै हुनुपर्छ । विद्यार्थी आफुमै पहिला त फिल्म पढ्छु भन्ने चाहन हुन जरुरी छ, सकारात्मक भावना, सिक्ने उत्सुकता हुन जरुरी छ । विद्यार्थीमा म केही सिकेर जान्छु भन्ने विश्वास हुनुपर्यो । पहिला प्लस २ पास गरेको हुनुपर्यो । एउटा क्यामेरा, साउन्ड रेकर्डर र ल्याप्टप हुन जरुरी छ । हामीले प्रोजेक्टहरु दिईरहेका हुन्छौ जुन घरबाटै गरेर आउनुपर्ने हुन्छ । जसको लागि यि सामनहरु हुन एकदम जरुरी पर्छ १४ बर्षको अवधिमा यस कलेजबाट स्नातक उतिर्ण भएका विद्यार्थीले कतिवटा फिल्म बनाए त ? लगभग ६०० विद्यार्थीहरु यस कलेजबाट पास आउट भईसकेका छन् । त्यसमध्ये कतिले काम गरिसकेका छन् । त्यसमध्ये कति सफल भईसकेका छन् । कति सफल हुने क्रममा छन् । कतिले फिल्म बनाउन भन्दा पनि पहिला पढाई अगाडि बढाउने उदेश्यले नेपालमा त्यो भन्दा माथिको पढाई हुने अवस्था नरहेको हुँदा कति मास्टर्स पढ्न बाहिर गएका छन् त कतिले पीएचडीको तयारी गरिरहेका छन । तपाइले गर्व गर्न सकिने बिद्यार्थीहरुको नाम लिनुपर्दां कसलाई लिन चाहनुहुन्छ ? जसरी बाआमाको लागि जेठो होस् या माईलो होस् वा कान्छो नै किन नहोस् सबै प्रति समान माया हुन्छ । त्यस्तै हाम्रा लागि पनि सबै विद्यार्थीहुरु समान हुनुहुन्छ । कसैले कारण बस राम्रो गर्न सक्यो र अर्कोले गर्न सकेन भन्दैमा गर्न पाउने माथि भयंकर गर्व गर्ने र गर्न नसकेका माथि गर्वै नगर्ने कुरा हुँदैन । तसर्थ कसैले चाँडो मौका पायो र उसले गर्यो । कोही मौकाको प्रतिक्षामा छन् र उनिहरुले पनि अझ राम्रो गर्नसक्छन् भन्ने हामीमा पूर्ण विश्वास छ । यहाँ पढेका विद्यार्थीहरु जो नेपाली फिल्म उधोगमा स्थापित हुन सफल भएका छन् । ति मध्ये नाम लिनुपर्दा निश्चल बस्नेत, मीनबहादुर भाम,राजवल्लभ कोईराला,साँघुरो फिल्मको जोयस रहेका छन् । अबको ५ बर्षमा नेपाली फिल्म क्षेत्रमा जति पनि फिल्म बन्छन् त्यसको ८० प्रतिशत फिल्म ओस्कार कलेजको विद्यार्थीहरुले बनाउनेछन्। नेपालमा चलचित्र उद्योगको भविष्य कस्तो देख्नु भएको छ ? एउटा कलेजले बर्षमा थोरै थोरै जनशक्ति उत्पादन गर्दै लगे भबिष्य राम्रो छ । किनभने शिक्षा भनेको चाहिने कुरा हो र भोली गएर सिनेमा नै बनाउन पर्छ भन्ने छैन । फिल्म राम्रोसँग पढेको मान्छे आफै पनि एउटा राम्रो मान्छे हुन्छ । धेरै तरिकले सोच्ने हुन्छ, उसले कलालाई बुझेको हुन्छ । जसले कलालाई बुझेको हुन्छ जुनसुकै क्षेत्रमा मज्जाले अटाउन सक्छ । फिल्म पढेर फिल्म मात्र गर्छु भन्नु भन्दा पनि फिल्म नपाएमा आत्माबल कमजोर हुँदैन भन्ने मलाई लाग्छ । नेपाली चलचित्र उद्याेगलाई राम्रो बनाउन के गर्न जरुरी छ ? नेपाली फिल्म उद्याेगलाई राम्रो बनाउन सबैभन्दा पहिला सामूहिक प्रयास जरुरी छ । यसको लागि निर्माता संघ, बिकास बोर्डहरुको प्रयास चाहिन्छ । पोलिसी लेभलको प्रयास राम्रो भएको अवस्थामा सिनेमाको सेन्सको लेभलमा काम गर्ने जनशक्तीहरुलाई पनि अलिक बढी प्राथमिकता दिन सकियो भने राम्रो फिल्म मेकरहरु दिन सकिन्छ । फिल्महरु पनि राम्रो बन्न सक्छन् । नेपालमा सिनेमा क्षेत्रले धेरै सम्भावनाहरु बोकेको छ । यहाँ नभनिएका कथाहरु तमाम छन् । त्यो सम्भावनाको खोजी गर्न सक्ने व्यत्तिको खाँचो छ यति भए नेपाली फिल्म उधोगलाई राम्रो बनाउन सकिन्छ ।
लुटिएको ९ लाख र मोटरसाइकल बरामद
काठमाडौं । सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ । सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार/पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर ३२ भि १५७० नम्बरको मोटरसाइकल तथा रु नौ लाख ५० नगद लुटेका थिए । सो घटना भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडीगोठस्थित सडक नजिकको खोल्सामा लुटिएको मोटरसाइकल र सिटमुनि रिन्ज राख्ने ठाउँबाट उक्त नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । रासस
१३ करोड बराबरको चिनी गोदाममै थन्कियो
काठमाडौं। सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ। हिन्दूहरुको महान् चाड दशैँतिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारत गुजरातको रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन गएको सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आई पुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो, प्रमुख भन्सार अधिकृत सूर्यप्रसाद सेढाईंले भने, “तर साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी ढिलो गरी असोज ६ गते आएकाले सो चिनी रोकिएको हो । २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको भन्सार प्रमुख सेढाईंको भनाइ छ । विगत १० दिनदेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएकाले अन्य सामान गोदाममा राख्न समस्या भएको बताइएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकिलो रु ७० का दरले किन्न बाध्य छन्। रासस
नेपाली कागजको माग बढ्दो, तनहुँमा दुई करोडको लगानीमा कागज उद्योग
काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ रु दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो । उद्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका सञ्चालक सन्तोषराज सिग्देलले जानकारी दिए। नेपाली कागजको माग बढेपछि उनले तीन वर्ष अघि ‘शुक्लागण्डकी कागज उद्योग’ स्थापना गरेका थिए। शुरुमा रु एक करोडको लागतमा उद्योग स्थापना गरिएको हो । “प्रत्येक स्थानीय तहमा नेपाली कागजको प्रयोग हुन्छ, एक वर्षयता सो कागजको माग बढ्दै गएको छ ।” तनहुँका साथै कास्की, गोरखा, चितवन, लमजुङलगायतका जिल्लामा नेपाली कागजको माग अत्याधिक भएकाले बजारको समस्या नभएको सिग्देलले बताए। “कागजको बिक्री वितरण बढ्दै गएको छ,” उनले भने। दश रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योगमा ३२ जनाले रोजगारी पाएका छन् । मजदुरलाई कागज उत्पादनका आधारमा पारिश्रमिक दिइन्छ । उद्योगमा एक हजार ८०० वटा कागज सुकाउने पाता छन्। गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्रा, लोक्तालगायतका कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिन्छ । लोक्ताको प्रयोग गरी नेपाली कागज उत्पादन गरिन्छ । सरकारी कामकाजमा यसको अत्याधिक प्रयोग गरिँदै आएको छ । हस्तकला र सजावटका अन्य सामग्री निर्माण गर्नसमेत नेपाली कागजको प्रयोग हुन्छ । कच्चा पदार्थलाई भुस, दाउराले पकाउने (कास्टिङ सोडा राखेर), त्यसलाई पखाल्ने अनि ब्रिज गर्ने (सफा) गर्नुपर्छ । त्यसपछि मिक्स्चरमा हालेर पेलेपछि लेदो पदार्थ निस्कन्छ । लेदो पदार्थलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयार हुन्छ । कागजलाई घाममा सुकाउने गरिन्छ। रासस