८० प्रतिशत नेपाली फिल्म ओस्कार कलेजको विद्यार्थीहरुले बनाउने छन् : विनोद पौडेल

<p>&nbsp; विनोद पौडल आफुले चलचित्र विषय अध्ययन गरेको अस्कर ईन्टरनेसनल कलेजमा अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । अस्करबाट चलचित्रमा स्नातकसम्मको अध्ययन सकेर पौडेल स्नातकोत्तर अध्ययनका लागि बेलायत गएका थिए । उनी अस्करमा सीईओ भएको ६ वर्ष पुरा भएको छ । साघुँरो चलचित्रका लागि कथा लेखिसकेका पौडेल अहिले बुलबुल चलचित्रको लेखन र सोही चलचित्रमा निर्देशन [&hellip;]</p>

 

विनोद पौडल आफुले चलचित्र विषय अध्ययन गरेको अस्कर ईन्टरनेसनल कलेजमा अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । अस्करबाट चलचित्रमा स्नातकसम्मको अध्ययन सकेर पौडेल स्नातकोत्तर अध्ययनका लागि बेलायत गएका थिए । उनी अस्करमा सीईओ भएको ६ वर्ष पुरा भएको छ । साघुँरो चलचित्रका लागि कथा लेखिसकेका पौडेल अहिले बुलबुल चलचित्रको लेखन र सोही चलचित्रमा निर्देशन गर्दैछन् । प्रस्तुत छ, चलचित्र विकासमा अस्करको योजनाका बारेमा सीईओ पौडेलसंग विकासन्यूजका लागि डोमीशेर्पाले गरेको कुराकानी ।

चलचित्रको विषय पढाउने कलेज सञ्चालनको योजना कसरी आयो ?

अस्कर कलेज स्थापनाका लागि कलाकार निर शाहाले पहल गर्नुभएको हो । उहाँ अली झोकी स्वभावको हुनुहुन्छ । केही गर्छु भनेपछि त्यो काम गरेरै छोड्नुहुन्छ । त्यस समय नेपाली सिनेमा खस्किने क्रममा थियो । चलचित्र शिक्षाविना नेपालमा केही हुनसक्दैन भन्ने उहाँले महसुस गर्नुभयो होला । त्यसैले उहाँले चलचित्र विषय नेपालमा पढाएर र राम्रा फिल्म मेकर जन्माउनु पर्छ भनेर यस कलेजको स्थापना गर्नुभएको हो ।

तपाई यही कलेजको विद्यार्थी । कसरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुभयो ?

हामी पहिलो ब्याच पास आउट भएपछि कलेज एक वर्षका लागि बन्द भयो । विद्यार्थी पनि खासै आएनन् र कलेज प्रशासनले पनि राम्रोसँग चलाउन सकेन । त्यसपछि नयाँ समूहले कलेज किनेको थियो । उहाँहरुबाट पनि कलेज चलेन, अलिअलि विद्यार्थीहरु त आए तर कलेज भित्रको आधारभूत संरचना, पढाईको गुणस्तर, प्रशासन सबै कमजोर भईरहेको थियो । त्रिभुवन विश्वविद्यालयले पनि मान्यता फिर्ता लिने तयारी गरिसकेको थियो । त्यतिबेला म बेलायतबाट भर्खर स्नाताकोत्तर अध्ययन सकेर नेपाल फर्किएको थिए । मलाई अभिनय गर्ने विषय पढाउनको लागि यहाँ बोलाईएको थियो ।

अचानक एकदिन मिटिङमा कलेज त बर्बाद भयो । अब बन्द गर्नुपर्छ भन्ने कुरा आयो । मैले कलेजको कमजोरीहरु सबै व्यवस्थापनलाई भनिदिए । त्यसबेला यहाँको व्यवस्थापनले ममा केही संभावना देख्यो होला, ६ महिना कलेज चलाएर देखाईदिनु भनेर अनुरोध आयो । त्यसपछि पनि भएन भने नेपालमा चलचित्र विषय पढाउने कलेज चलाउन सकिदैन रहेछ भनेर हामी बन्द गरौला उहाँहरुले भन्नुभयो । मैले उहाँहरुको कुरा काट्न सकिन । ६ महिना कलेज राम्रोसँग चलाईदिन्छु त्यसपछि तपाईंहरु नयाँ मान्छे खोज्नु होला भने र काम सुरु गरेको थिएँ । आज यस कलेजमा ६ वर्ष बितिसक्यो । तर, कलेज छोड्न सकिएन । पहिलाको भन्दा धेरै राम्रो गरेको छु । कलेज र विद्यार्थीसँग नजिक हुँदै गइयो । सबैको माया पनि लाग्न थाल्यो र छाड्न सकिएन ।

 

अस्करमा चलचित्र सम्बन्धित कस्ता विषय पढाइन्छन् ?

अभिनय, निर्देशन, छायाँचित्र, ध्वनी र सम्पादन गरी ५ वटा विषयको कलेजमा पढाइ हुने गरेको छ । विद्यार्थीहरुले प्रथम वर्षमा अनिवार्य रुपमा सबै बिषय पढ्नु पर्ने हुन्छ । द्धित्तिय वर्षदेखी उनीहरुले आफ्नो रुचीको बिषय छानेर त्यसैमा विशिष्टकरण गर्न सक्छन् ।
यहाँ स्नातक तहको पहिलो वर्षदेखि नै प्रयोगात्मक कक्षाहरु संचालन हुन्छन् । हामी प्रयोगात्मक सँगै चलचित्र सम्बन्धि सैदान्तिक कक्षाहरु संचालन गर्छौ । पढेको कुरालाई बुझाउन प्रयोगात्मक कक्षा आवश्यक हुन्छ ।

विद्यार्थीहरुले पहिलो वर्षदेखि नै गर्नुपर्ने प्रोजेक्टहरु धेरै हुन्छन् । उनीहरुले स्नातक तहको तेस्रो वर्षसम्म पुग्दा कम्तिमा पनि १० वटा प्रोजेक्ट गरिसक्छन् । उनीहरुले सिनेमा बनाउनु पर्नेहुन्छ । विद्यार्थीहरुले प्रथम वर्षमा बनाउनु पर्ने सिनेमा सामान्य र दोस्रो र तेस्रो वर्षसम्म पुग्दा माथिल्लो स्तरको हुन्छ । यो १० देखि १२ मिनेट लामो हुन्छ । उनीहरुको क्षमता कति बढ्यो भनेर हामी मूल्यांकन गर्छौ र प्राप्त अंकलाई त्रिभुवन विश्वविद्यालयमा पठाउँछौ ।

यहीबाट स्नातकसम्म अध्ययन गरेका विद्यार्थीहरु शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै इन्डियाको एफटीआई इन्स्टिच्युटबाट पढेर आएका शिक्षक हुनुहुन्छ । केही शिक्षकहरु बाहिरबाट मास्टर्स सकेर आएका छन् । हामीसँग सिनेमा पढाउनलाई योग्य शिक्षकहरु हुनुहुन्छ ।

ओस्कारसंग चलचित्र विषय पढाउन आवश्यक पूर्वाधार तयार छ ?

चलचित्र अध्ययनलाई चाहिने सबै पूर्वाधार हामीसँग छन् । चलचित्र अध्ययनका लागि चहिने एउटा मिनी स्टुडियो, स्क्रिनिङ हल, क्यामरा, लाईट, इडिटिङ टेबलहरु हामीसँग छन् । हाम्रो कमजोर पक्ष भनेको साउन्ड डिजाईनमा छ । त्यसमा चाँही हामी कता कता अझै राम्रो हुन जरुरी छ जस्तो लाग्छ । कलात्मक रूपमा विद्यार्थीलाई के दिनुपर्ने छ, त्यसमा हामी एकदमै प्रष्ट छौ, त्यसैले हाम्रो पढाउने विभाग चाँही एकदमै भरपर्दो छ । तर प्राविधिक विभाग त्यसमा पनि एनिमेसनको पक्षमा हामीले थप राम्रो गर्न सकिरहेको छैन । हामी यसलाई राम्रो गर्नेतर्फ लागिरहेका छौ । समग्रमा भन्नुपर्दा फिल्म मेकर बन्नको लागि हाम्रो कलेजमा सबै किसिमका पुर्वाधार छन् ।

१४ बर्ष अगाडि कलेज खोल्दा र अहिले फिल्म स्टडिज प्रति मानिसको धारणामा के फरक पाउनुभएको छ ?

कलेज स्थापनाको सुरुवाती दिनमा विद्यार्थीहरु कम थिए । एक त समाज पनि यो विषय त्यति बिकसित थिएन । फिल्म पढ्छु भन्नेलाई अभिभावकले पनि मौका दिदैन थिए । फिल्म भन्न साथ हाम्रो समाजमा नराम्रो क्याटोगिरीको रुपमा लिइन्थ्यो । यो त अझै पनि छ । तर अहिले आएर त्यो कुरामा केहि सुधार भएको छ ।

पहिलाको तुलनामा फिल्मी पढाईलाई अहिले परिवार, समाजले हेर्ने दृष्टि बदलिएको छ । त्यसमाथि हाम्रो कलेजमा सिनेमा मेकिङ पनि हुने भएकोले अभिभावक र विद्यार्थी दुवै यसप्रति सकरात्मक भएको देखिन्छ । अभिभावकलाई सर्टिफिकेट प्यारो अनि विद्यार्थीको लागि रुचिको बिषय भएको हुने भएकोले पनि अभिभावकहरुको सोचाईमा केहि बदलाव पाएका छौ । पहिला विद्यार्थीले अभिभावकलाई तानीतानी मलाई यहाँ पढाउनुस भन्नु पर्ने अवस्था थियो भने अहिले अभिभावकहरुले विद्यार्थीलाई आफै फिल्म पढन मन छ भने पढन् भनेर सल्लाह दिने गरेको पाईन्छ ।

चलचित्र विषय अध्ययन गर्ने विद्यार्थीको संख्या कति छ ?

अहिले यहाँ फिल्म अध्ययन गर्ने विद्यार्थीको संख्या पहिलो,दोस्रो र तेस्रो वर्ष गरि २०० जना भन्दा बढि छन् । हामी विद्यार्थीको संख्यामा भन्दा पनि गुणस्तरमा विश्वास गर्छौ । संख्या मात्र बढाएर हुन्न र त्यस अनुसार सुविधा पनि दिनुपर्ने हुन्छ । भर्ना लिन हामीले नमानेर हो नत्र यो संख्या दाब्बर हुने थियो । तर अब हामी हाम्रो क्षमतालाई पनि बढाउने योजना छौ ।

चलचित्र विषयमा स्नातक अध्ययन पुरा गर्न कति खर्च लाग्ने गरेको छ ?

फिल्मी पढाई हो खर्चिलो त छ । किनभने यसमा धेरै टेक्निकल कुराहरु छन् । जस्तै क्यामरा, ल्यापटप जुन नभै नहुने अति आवश्यक सामान हुन् । त्यस्तै अन्य सामानहरु पनि छन् जुन कलेजले नै उपलब्ध गराईदिन्छ । यो त एउटा टेक्निकल खर्च भयो । त्यस्तै कलेजले लिने शुल्क ३ बर्ष स्नातक तहमा ४ लाख ५० हजार रुपैयाँ छ । यस बाहेक अरु कुनै शुल्क हामीले लिदैनौ । यसभित्रै सबै शुल्क समेटिएको हुन्छ ।

कस्ता विद्यार्थीहरुले यस कलेजमा भर्ना हुन पाउँछन ?

पहिलो बर्षमा भर्ना हुने समयमा हामीले चलचित्र विषय पढ्नका लागि केही मापदण्डहरु तोकेका हुन्छौ । सर्वप्रथम त केही साईकोलजिकल कुराहरु छन् जुन विद्यार्थीसंगै हुनुपर्छ । विद्यार्थी आफुमै पहिला त फिल्म पढ्छु भन्ने चाहन हुन जरुरी छ, सकारात्मक भावना, सिक्ने उत्सुकता हुन जरुरी छ । विद्यार्थीमा म केही सिकेर जान्छु भन्ने विश्वास हुनुपर्यो । पहिला प्लस २ पास गरेको हुनुपर्यो । एउटा क्यामेरा, साउन्ड रेकर्डर र ल्याप्टप हुन जरुरी छ । हामीले प्रोजेक्टहरु दिईरहेका हुन्छौ जुन घरबाटै गरेर आउनुपर्ने हुन्छ । जसको लागि यि सामनहरु हुन एकदम जरुरी पर्छ

१४ बर्षको अवधिमा यस कलेजबाट स्नातक उतिर्ण भएका विद्यार्थीले कतिवटा फिल्म बनाए त ?

लगभग ६०० विद्यार्थीहरु यस कलेजबाट पास आउट भईसकेका छन् । त्यसमध्ये कतिले काम गरिसकेका छन् । त्यसमध्ये कति सफल भईसकेका छन् । कति सफल हुने क्रममा छन् । कतिले फिल्म बनाउन भन्दा पनि पहिला पढाई अगाडि बढाउने उदेश्यले नेपालमा त्यो भन्दा माथिको पढाई हुने अवस्था नरहेको हुँदा कति मास्टर्स पढ्न बाहिर गएका छन् त कतिले पीएचडीको तयारी गरिरहेका छन ।

तपाइले गर्व गर्न सकिने बिद्यार्थीहरुको नाम लिनुपर्दां कसलाई लिन चाहनुहुन्छ ?

जसरी बाआमाको लागि जेठो होस् या माईलो होस् वा कान्छो नै किन नहोस् सबै प्रति समान माया हुन्छ । त्यस्तै हाम्रा लागि पनि सबै विद्यार्थीहुरु समान हुनुहुन्छ । कसैले कारण बस राम्रो गर्न सक्यो र अर्कोले गर्न सकेन भन्दैमा गर्न पाउने माथि भयंकर गर्व गर्ने र गर्न नसकेका माथि गर्वै नगर्ने कुरा हुँदैन । तसर्थ कसैले चाँडो मौका पायो र उसले गर्यो । कोही मौकाको प्रतिक्षामा छन् र उनिहरुले पनि अझ राम्रो गर्नसक्छन् भन्ने हामीमा पूर्ण विश्वास छ ।

यहाँ पढेका विद्यार्थीहरु जो नेपाली फिल्म उधोगमा स्थापित हुन सफल भएका छन् । ति मध्ये नाम लिनुपर्दा निश्चल बस्नेत, मीनबहादुर भाम,राजवल्लभ कोईराला,साँघुरो फिल्मको जोयस रहेका छन् । अबको ५ बर्षमा नेपाली फिल्म क्षेत्रमा जति पनि फिल्म बन्छन् त्यसको ८० प्रतिशत फिल्म ओस्कार कलेजको विद्यार्थीहरुले बनाउनेछन्।

नेपालमा चलचित्र उद्योगको भविष्य कस्तो देख्नु भएको छ ?

एउटा कलेजले बर्षमा थोरै थोरै जनशक्ति उत्पादन गर्दै लगे भबिष्य राम्रो छ । किनभने शिक्षा भनेको चाहिने कुरा हो र भोली गएर सिनेमा नै बनाउन पर्छ भन्ने छैन । फिल्म राम्रोसँग पढेको मान्छे आफै पनि एउटा राम्रो मान्छे हुन्छ । धेरै तरिकले सोच्ने हुन्छ, उसले कलालाई बुझेको हुन्छ । जसले कलालाई बुझेको हुन्छ जुनसुकै क्षेत्रमा मज्जाले अटाउन सक्छ । फिल्म पढेर फिल्म मात्र गर्छु भन्नु भन्दा पनि फिल्म नपाएमा आत्माबल कमजोर हुँदैन भन्ने मलाई लाग्छ ।

नेपाली चलचित्र उद्याेगलाई राम्रो बनाउन के गर्न जरुरी छ ?

नेपाली फिल्म उद्याेगलाई राम्रो बनाउन सबैभन्दा पहिला सामूहिक प्रयास जरुरी छ । यसको लागि निर्माता संघ, बिकास बोर्डहरुको प्रयास चाहिन्छ । पोलिसी लेभलको प्रयास राम्रो भएको अवस्थामा सिनेमाको सेन्सको लेभलमा काम गर्ने जनशक्तीहरुलाई पनि अलिक बढी प्राथमिकता दिन सकियो भने राम्रो फिल्म मेकरहरु दिन सकिन्छ । फिल्महरु पनि राम्रो बन्न सक्छन् । नेपालमा सिनेमा क्षेत्रले धेरै सम्भावनाहरु बोकेको छ । यहाँ नभनिएका कथाहरु तमाम छन् । त्यो सम्भावनाको खोजी गर्न सक्ने व्यत्तिको खाँचो छ यति भए नेपाली फिल्म उधोगलाई राम्रो बनाउन सकिन्छ ।

Share News