क्रसर उद्योगका साधनले स्वास्थ्य बिगार्न थालेपछी दाङबासीको आपत्ति
काठमाडौं। सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफूहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाइ छ । क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्याक्टरले धुलो उडाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफूहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका–१ का स्थानीय बासिन्दा नवराज शर्माले बताए। दिनहँु करीब ५÷६ सय टिप्पर आवातजावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङ्गा, बड्हरा, वनबारी, वनघुस्री, मलमला, कालाकाटे, धोद्रे, टहडा र जुरौनी गाउँका करीब एक हजार १०० सय घरधुरीले सास्ती खेप्नुपरेको छ । आइतबार धुलो नियन्त्रण गर्न माग गर्दै बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहँु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्नेलगायतको सहमति पछि सडक खोलिएको हो । गढवा गाउँपालिकाभित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । रासस
दुईदर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा शुल्क बुझाएनन्,एयर एशियाकाे सबैभन्दा बढी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाट करोडौ रुपैयाँ शुल्क असुल गर्न बाँकी रहेको छ । विदेशी वायुसेवा कम्पनीले सेवा शुल्क नतिरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले असुल गर्न पहल थालेको छ । नेपालमा उडान गरेका दुई दर्जन वायुसेवा कम्पनीले १५ करोड रुपैयाँ बढी सेवा शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले १३ करोड रुपैयाँ शुल्क नतिरी नेपालको उडान बन्द गरेको एयर एशिया लगायत अन्य २ दर्जनभन्दा बढी वायुसेवा कम्पनीसँग बक्यौता उठाउन बाँकी रहेको जानकारी दिएको छ ।दुई साताअघि मलेशियाको विमान कम्पनी एयर एशियाले नेपालमा उडान बन्द गर्ने निर्णय गर्दा विमानस्थल प्रयोग गरेबापतको १३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । एयर एशियापछि गल्फ एयरले २ करोड रुपैयाँ भन्दा बढी नतिरेको बताइएको छ । एकताका एयर एशियाको बक्यौता रकम ४१ करोड रुपैयाँसम्म पुगेको थियो। गल्फ एयरले ४ वर्षदेखि नेपाल उडान बन्द गरेको छ । नेपालमा यसरी सेवा बन्द गर्दै शुल्क नतिर्ने वायुसेवा कम्पनीहरूको संख्या २ दर्जन भन्दा बढी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । अब बक्यौता रकम उठाउन अन्तर्राष्ट्रिय रूपमै दबाब बढाउन थालिएको बताउँदै उनले भने, “अन्तर्रा्ष्ट्रिय रूपमा केही संस्था छन् जहाँ हामीसँगै आबद्ध छौँ । त्यस्ता संस्थामा हामीले लेखेर पठाएमा उनीहरु तिर्न बाध्य हुनेछन्।“ नियमित उडान गरिरहेका कम्पनीहरूबाट रकम असुल्न समस्या नभए पनि बक्यौता रकम लामो समयसम्म नउठाउँदा समस्या आएको प्राधिकरणको भनाई छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा शुल्क, नेपाल वायुसेवा निगमलाई ’ग्राउन्ड ह्यान्डलिङ’ शुल्क र नेपाल पर्यटन बोर्डलाई पर्यटन शुल्क बुझाउनुपर्छ । जसबापत सरकारले वर्षमा अर्बौं रुपैयाँ कमाउने गरेको छ । बीबीसीको सहयोगमा
अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित
काठमाडौं। एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको उपचार गर्दासमेत रोग पत्ता नलागेपछि मानसिक रोगको अनुमान गरेको डा महतले बताए। उनले भने,“अहिलेसम्म लक्षणका आधारमा अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्टाउन सक्दैनन् ।” अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन् । देशभरमा कति मानसिक रोग पीडित छन्, भन्ने एकीकृत तथ्याङ्क छैन । स्वास्थ्य मन्त्रालयले केही समय अघिबाट मात्रै तथ्याङ्क सङ्कलन शुरु गरेको छ । मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यो समस्या बढेको देखिएको हो । परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्थामा रहेको डा महतले बताउनुभयो । समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ । उनले भने,“आफ्ना सन्तानलाई मानसिक रोग लाग्दा समयमा नै उपचार गराउनुपर्छ भनेर अभिभावकलाई सूसुचित गर्न खाँचो छ ।” आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवाले आत्महत्यासमेत गरिरहेका छन् । कतिपय युवा भने चिन्ता कम गर्नकै लागि लागुऔषध र मदिरापान गरिरहेका छन् । अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिँड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेको डा महतले बताउनुभयो । आफ्नो छोराछोरी असामान्य व्यवहार देखाइरहेको छ कि छैन भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उनले बताए। रोग हो भन्ने बुझेका अभिभावक स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने गरेका छन् । टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा सरोज ओझाले देशभरमा कति मानसिक रोगी छन्, भन्ने एकीकृत तथ्याङ्क नभए पनि झण्डै २२ लाख युवा यो रोगबाट पीडित भएको अनुमान गरिएको बताए। नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । उनले भने, “ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ, भन्नेसमेत जानकारी नभएर रोग पालेर बसिरहेका छन् ।” नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको डा ओझाले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिरहेको छ । श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ । श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालको मानसिक समस्या देखिरहेको छ । उनले भने, “एकातिर श्रीमानसँगको सम्बन्ध सुमधुर नहुनसक्छ भने एर्कातिर सन्तान र परिवारको जिम्मेवारीसमेत थपिन्छ ।” इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ । भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको पाइन्छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था ‘अब्बल उइ’ का निर्देशक विजया विजुक्च्छे धेरै युवाले आफूभित्र रहेको समस्या गुम्साएर राख्दा त्यही समस्या मानसिक रोगमा परिणत हुने गरेको बताउनुहुन्छ । साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिन्छ । आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रुप लिएको हो । उनले भने, “सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन खाँचो छ ।” नेपालमा मानसिक रोग विशेषज्ञ १५० जना र मनोबाद झण्डै ३० जना रहेका छन् । सबै सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको भने दरबन्दी छैन । विद्यालय र कलेजका पाठ्यपुस्तकमा समेत मानसिक रोगका बारेमा उल्लेख हुनुपर्ने यस क्षेत्रमा कार्यरत विज्ञले माग गर्दै आएका छन् ।
हनुमन्ते करिडोर सडक कालोपत्रे, कोटेश्वरको जाम हट्ने
काठमाडौ । कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ ।पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ । १२ करोडको लागतमा उक्त दोभानदेखि बालकुमारीसम्मको सडक निर्माणलाई द्रुतगतिमा निर्माण कार्य अघि बढाइएको छ । कोटेश्वरको सवारी चापलाई नै मुक्त बनाउन मनोहरामा बेलिब्रिज निर्माणको कार्यसमेत शुरु गरिएको छ । बेलिब्रिज तथा करिडोर निर्माण सम्पन्न भएपश्चात् कोटेश्वर जडीबुटीमा सवारीको चापबाट उपत्यकावासीले मुक्ति पाउने विश्वास लिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले आगामी दुई महीनाभित्र दोभानदेखि बालकुमारीसम्म कच्ची सडक निर्माण गरिसक्ने र कोटेश्वर जडीबुटीको चाप खुकुलो गर्न जस्तोसुकै विकल्प प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । करिडोर निरीक्षणपछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाइ भएको बताए । त्यस्तै उहाँले आगामी दिनमा त्यसप्रकारका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए। डिभिजन कार्यालय भक्तपुरका डिभिजन इञ्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रक्रिया अघि बढाई कार्य अघि बढाइएको जानकारी दिए । मनोरम समाजका अध्यक्ष विश्वबन्धु बास्तोलाले सडक सञ्चालन गर्न अवरोध गर्ने घाटालाई अन्यत्र प्रतिस्थापन गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिबद्धता व्यक्त गरे । रासस
एकै दिन तीन आयोजनासँग १४० मेगावाट बिजुली किन्ने सम्झौता
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पीपीए) गरेको छ ।प्राधिकरणले आइतबार सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ । सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गरे । सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जाने प्रवद्र्धक ब्लु इनर्जीले जनाएको छ । आयोजनाको विद्युत्गृहमा ३३।३३ मेगावाट क्षमताका तीन वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् १८ किलोमिटर दूरीको २२० केभी न्यू मार्किचोक सवस्टेसनमा लगेर जोडिनेछ । यसैगरी आज नै मनाङमा आयोजना स्थल रहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीका निर्देशक सतिस तिम्सिनाले हस्ताक्षर गर्नुभयो । त्यस्तै प्राधिकरणले आजै विकास हाइड्रो पावरले निर्माण गर्न लागेको ४.५५ मेगावाट क्षमताको मच्छेखोला जलविद्युत् आयोजनाको समेत विद्युत् खरिद सम्झौता भएको छ । ती आयोजनाले आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने प्रतिबद्धता जनाएका छन् । रासस
ट्रेजरी बिलमार्फत् सोमबार ४ अर्बको तरलता बजारबाट खिचिँदै
काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैंया बजारको ट्रेजरी बिल जारी गर्दैछ । सरकारले बजेटमार्फत् ल्याएको आन्तरिक ऋण मार्फत् स्रोत परिचालनका लागि खर्च जुटाउने उद्देश्यले उक्त बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिन र ३६४ दिनमा परिपक्व हुने २/२ अर्बका गरी कुल ४ अर्ब बराबरको नवीकरणीय प्रकृतिका ट्रेजरी बिलका लागि छुट दर बोलकबोल गर्न आह्वान गरेको छ । उक्त बोलकबोल सोमबार ३ बजे खुल्नेछ । बैंकले गत साता पनि ९१ दिन, १८२ दिन र २६४ दिन परिपक्व अवधि भएका करिब २७ अर्ब बराबरको ट्रेजरी बिलहरु बजारमा बिक्री गरेको थियो । वाणिज्य बैंकहरुले ९१ दिने बिलमा औसत २.३५३४ प्रतिशत, १८२ दिने बिलमा औसत २.९११२ प्रतिशत र ३६४ दिने बिलमा औसत ३.०९२६ प्रतिशतको ‘डिस्काउन्ट रेट’ प्रस्ताव गरी उक्त बिल खरिद गरेका थिए ।
लोकतन्त्रको दुरुपयोगले मुलुकमा छाडापन बढ्यो- माधवकुमार नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रको दुरुपयोग गर्दै मुलुकमा छाडापन हाबी भएको बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले आईतबार राजधानीमा आयोजना गरेको स्थानिय निकायहरु प्रमुख तथा उपप्रमुखको सम्मेलनलाई सम्बोधन गदै यस्तो बताएका हुन् । नेता नेपालले स्थानिय तहमा भष्ट्रचार बढ्दै गएको तर्फ ईकीत गदै यसबाट जोगिन जनप्रतिनिधीहरुलाई आग्रह गरे । उनले जनताको समस्या पहिचान गरि त्यसको समाधानमा आग्रह गदै समाजलाई एकताबद्ध बनाउन सकल्प लिए असम्भब नरहेको बताए । नेता नेपालले निकट भविष्यमा नेपालमा एशिया प्यासपिक सम्मेलन हुन लागेको बताउदै सो सम्मेलमा ७० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा पूर्व प्रमुखहरुको सहभागिता रहने त्यसले नेपालको प्रतिष्ठा बढाउने र नेपालले प्राप्त गरेको उपलब्धी बिश्वमा फैलाउन महत्वपूर्ण फोरम भएको उल्लेख गदै त्यसलाई सफल बनाउन जनप्रतिनिधीहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताए । नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन यो कार्यक्रम फलदायि हुने बताए । काठमाडाैं महानगरपालिकाका प्रमुख बिध्यासुन्दर शाक्यले शान्ति बिना दिगो बिकास सम्भव नभएको उल्लेख गदै जनप्रतिनिधीहरु र कर्मचारीहरुको बुझाई फरक रहेकाले जनताको चाहाना अनुसार काम हुन नसकेको जानकारी दिए । अधिवत्ता गोबिन्द शर्मा बन्दी संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तैगरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एवं पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरूअन्तर्राष्ट्रिय संगठन स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाएका थिए । सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्थायुनिर्भसल पीस फेडेरेसन र सांसदहरूको अन्तर्राष्ट्रिय मञ्चले संयुक्त रुपमा गरेका थिए । सम्मेलनमा दुई सयभन्दा बढी स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुको भेला भएको थियो ।
मंसिर ६ गतेदेखि बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो शुरु, सुरक्षित आवास निर्माणबारे जानकारी पाइने
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दोश्रो संस्करणको “बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५” आयोजना हुँदैछ । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे सम्पूर्ण जानकारी दिने उद्देश्यले आगामी मंसिर ६ गतेदेखि ९ गतेसम्म आयोजना हुने छ । सुरक्षित र दिगोनिर्माणका लागिप्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टरर्सको मुख्य आयोजना तथा नेपाल इन्जिनर्स एसोसियसन(एनईए), सोसाईटी अफ नेपलिज आरचिटेक्टस्(सोना), सोसाईटी अफ कन्सल्टिङ आर्चिटेक्चरल एण्ड इन्जिनियरिङ फर्म र ब्रयाण्डवर्थ प्रा. लि.को सह–आयोजनामा मेलाको आयोजना गरिएको हो । मेलाको मुख्य प्रायोजक अर्घाखा“ची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्ष्ँमादेवी बिल्डिङ मटेरियल्स रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ । मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरुको पनि प्रदर्शनी हुनेछ । ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथामार्बल, विद्युतीय समाग्री, बैंक तथावित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको गरी मेलामा २ सय बढी स्टल रहनेछन् । मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिकविहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकनगर्न सकिनेछ । मेलामा २ लाख बढीले अवलोकन गर्ने आयोजको लक्ष्य छ । इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलार्इ एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचनादिने उद्दश्यले मेला आयोजना गर्न लागिएको हो । मेलाकाक्रममा सेमिनारको पनि आयोजना गरिनेछ । जहाँ सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । आम मानिसको आवास तथा निर्माण सम्बन्धी कुनै जिज्ञासा भए सम्बन्धित विज्ञले त्यसको सम्बोधन गर्ने गरी प्रश्न उत्तरको समेत व्यवस्थागरिएको छ । मेलामा घर बनाउन चाहने र बनाइरहेकाहरुलाई इन्जिनियरिङ, वास्तु लगायत बारे निःशुल्क परामर्श पनि दिईनेछ । भूकम्पीय जोखिमयुक्त क्षेत्रमा रहेको नेपालमा सुरक्षित आवास निर्माणबारे सचेतता अपनाउनु आवश्यक छ । यो मेलाले फरक फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउनेछ ।