मिसन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस र ३० लाख नगद लाभांश दिने
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत अर्थात ३० लाख ६ हजार ३५९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत अर्थात कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको ११ प्रतिशत अर्थात ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बानेस वितरण गर्न लागेको हो ।
गण्डकीमा ४०० नमूना फार्म बन्दै, लागतको ५० प्रतिशत अनुदान सरकारले दिने
कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । नमूना फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा बताउँछन् । प्रदेशमा ४०० नमूना फार्म स्थापना गर्ने उद्देश्यले सरकारले आव २०७५/७६ मा ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषितर्फ नमूना फार्मका लागि २५ करोड रुपैयाँ तथा पशुपक्षी र माछापालनका लागि १५ करोड रुपैयाँ बजेट छ । मन्त्री थापाका अनुसार साना, व्यवसायउन्मुख, व्यावसायिक र उद्यमी नमूना फार्म सञ्चालन तथा स्थापना गर्न प्रदेशका कृषक, कृषि उद्यमी, फार्म, कम्पनी, समूह तथा सहकारी संघ/संस्थाले प्रदेशको ज्ञान तथा विज्ञ केन्द्रमा दर्ता गराएका परियोजना प्रस्तावलाई अध्ययन मूल्याङ्कन तथा फिल्ड भ्रमण गरी साझेदारी सम्झौता गरिनेछ । साना नमूना फार्मका लागि पहिलो वर्षको प्रस्तावित लागत १० लाख रुपैयाँ, व्यवसायउन्मुखका लागि १० लाख रुपैयाँभन्दा बढी तथा व्यावसायिक नमूना फार्मका लागि २५ लाख रुपैयाँभन्दा बढी र उद्यमी नमूना फार्मका लागि ५० लाख रुपैयाँभन्दा बढी लागत रहनुपर्ने मन्त्रालयले जनाएको छ । नमूना फार्म खोलेपछि कृषकले आफ्नो सम्पूर्ण पारिवारिक खर्चमा योगदान दिन सक्षम होस् भन्ने उद्देश्यले सो कार्यक्रम शुरु गरिएको मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ बताउँछन् । तीन वर्षभित्रमा प्रदेशलाई कृषि तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारको योजनालाई साकार पार्न सहयोगी हुने उनको विश्वास छ । सचिव श्रेष्ठ भन्छन्, “कृषिमा २० लाख रुपैयाँ लगानी गर्दा कृषक आत्मनिर्भर बन्न सक्छन् भन्ने हाम्रो मान्यता हो ।” राष्ट्रिय पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज गण्डकी प्रदेशका अध्यक्ष दीपक तिमिल्सिनाले प्रदेश सरकारले ल्याएको नमूना फार्म स्थापना कार्यक्रम सकारात्मक भएको र यसबाट कृषिको विकासमा ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनले विगतमा सरकारले ल्याएका कतिपय योजना तथा कार्यक्रम लक्षित वर्गसम्म नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको अहिलेको योजना वास्तविक किसानसम्म पुग्नसके कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुने बताए । रासस
मुआब्जाले महाकाली पुल योजनाको काममा ढिलाइ
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने छ लेनको सडक निर्माण मुआब्जाका कारण ढिलाइ हुँदै गएको छ । महाकाली पुलसँगै निर्माण हुने पहुँचमार्गअन्तर्गत पर्ने सडक विस्तारका लागि जग्गा र घरको मुआब्जा वितरण प्रक्रियामा ढिलाइ हुँदा योजनाका काम अघि बढाउन कठिनाइ भएको हो । झण्डै १४ महीनाअघि शिलान्यास भएको पुल निर्माणको काम महाकाली नदीमा पानी नघटेकाले केही समय प्रभावित भएको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । पुलसँगै भीमदत्तनगरपालिका–११, १२ र महाकाली नगरपालिका–१ मा घर र जग्गाको मुआब्जा वितरण कार्य पूर्णरुपमा सकिएको छैन । त्यसले गर्दा निर्माण कम्पनीले चाहेर पनि छ लेनको सडक विस्तार गर्न गाह्रो परेको छ । “महाकाली नदी वारी र पारी गरेर साढे १६ हेक्टर पुर्जा भएको जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्नुपर्नेछ”, महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले भने, “अहिलेसम्म जग्गाको मात्रै ८३ प्रतिशत मुआब्जा वितरण भइसकेको छ ।” उनले सडक विस्तारका क्रममा झण्डै ३.५६ हेक्टर ऐलानी जग्गा परिरहेको बताए । “ऐलानी जग्गाको मुआब्जा दिन मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ”, पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने, “त्यसका लागि एक साताभित्रै जिल्ला प्रशासनबाट निर्णय गराएर ऐलानी मुआब्जाका लागि फाइल मन्त्रिपरिषद् पठाउने कुरो भएको छ ।” जिल्ला प्रशासनबाट ऐलानी र घरको मुआब्जाको विषय टुङ्ग्याउने विषयमा छलफल भएको उनले जानकारी दिए । “योजनाको पहुँच मार्गअन्तर्गत दुवैतर्फ गरी ११३ परिवारलाई घरको मुआब्जा दिनुपर्ने छ”, भण्डारीले भने, “मुआब्जाका कारण पुलसँगै बन्ने सडक विस्तारमा केही समस्या आएको हो ।” हालसम्म ४६ करोड ३१ लाख रुपैयाँ जग्गाको मुआब्जा वितरण भइसकेको पुल योजना कार्यालयले जनाएको छ । “नदीमा पानी नघट्दा विभिन्न उपकरण सामान लैजान समस्या हुँदा मुख्य पुल निर्माण कार्य प्रभावित भयो”, पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने, “पहुँचमार्गमा पर्ने अन्य दुई वटा पुल निर्माण भने धमाधम हुँदैछ ।” पुलसँगै भीमदत्तनगरपालिकामा छ किमी र महाकाली नगरपालिका (महाकाली नदी पारी) तर्फ डेढ गरी साढे सात किमी सडक निर्माण पुलसँगै ठेक्का सम्झौता भएको छ । “पहुँचमार्गअन्तर्गत हामीले गड्डाचौकी नहरमा बन्ने पुलको जग हालिसकेका छौँ”, भण्डारीले भने, “अहिले ऐरीमा ‘पायल’ खन्ने काम हुँदैछ ।” पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले जग्गा र घरको मुआब्जा वितरण कार्यले गर्दा पुल निर्माण ढिलाइ हुँदै गएको जानकारी दिए । “मुआब्जाको टुङ्गो नलाग्दा हामीले पहुँच मार्गमा ग्राभेल बिछ्याउनसमेत पाएनौँ”, इञ्जिनियर पाण्डेयले भने, “मुआब्जाका कारण सडकको केहीकेही भाग विस्तार गर्दै काम अगाडि बढाएका छौँ ।” उनले मुआब्जाको समस्या समाधान भए पहुँचमार्ग निर्माणमा ढिला नहुने बताए। “मुआब्जाको समस्या सुल्झिएको भए हामी नदीमा पानी हुँदा सडक विस्तारमा लाग्थ्यौँ”, उनले भने, “मुआब्जाको विषय चाँडो टुङ्गो लगाए हामीलाई पनि तीव्र गतिमा काम गर्न सहज हुन्थ्यो ।” लामो समयदेखि महाकाली नदीको तटीय क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयवासीले आफूहरुलाई मुआब्जा दिनुपर्ने माग राख्दै आएका छन् । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँमा सो योजना निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । रासस
५ प्रतिशत बोनसपछि पोखरा फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५ प्रतिशत बोनस पश्चात फाइनान्सको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.५२ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १६९.७६ रुपैयाँ रहेको थियो ।
सानिमा लाईफले ल्यायो “शुभलक्ष्मी जीवन बीमा योजना”
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले “शुभलक्ष्मी(सावधिक) जीवन बीमा योजना” ल्याएको छ । यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा भाग लिन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने छ । यो योजना मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सरल बीमा शुल्कमा १० लाख रुपैयाँसम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने कम्पनीकाे विश्वास छ ।
वैदेशिक रोजगारीमा मलेशिया जाने कामदारले पैसा तिर्नु नपर्ने
काठमाडौं । नेपाली कामदारले अब पैसा नतिरी मलेशियामा काम गर्न जान पाउने भएका छन् । दुईदेशबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब शुल्क तिर्नुनपर्ने अवस्था आएको हो । मलेशिया जाने कामदारले अब आतेजाते हवाइ टिकट, लेभी, स्वास्थ्य परीक्षण, भीसा, कामदारले पैसा पठाउदा लाग्ने सेवा शुल्क र सुरक्षालगात सबै शुल्क रोजगारदाता कम्पनीलेव्योहर्ने सम्झौता भएको छ । नेपालीले म्यानपावर व्यवसायीलाई लाखौं रुपैयाँ बुझाएर मलेशिया जाने गरेका छन् । समझदारीपत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसिया सरकारको तर्फबाट मानव संशाधन मन्त्री एम कला सेरगनले हस्ताक्षर गरेका छन् । भिसालगायत सबै प्रक्रियाका लागि लाग्ने खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको छ । श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउने सम्झौतमा उल्लेख छ । यस्तै करार अवधि ३ वर्षबाट घटाएर २ वर्ष कायम गरिएको छ । कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ । नेपालबाट मलेशियामा कामदार जान थालेको दुई दशकपछि सम्झौता भएको हो ।
२६ अर्ब लागतमा ६० प्रतिशत विद्यालयको पुनर्निर्माण सकियो
काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त भएका ६० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण मुलुकभर ७ हजार ५ सय ५३ विद्यालयमध्ये ४ हजार ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ९९० निर्माणधिन, ३७७ वटा छनोट र १ हजार ९७ वटा विद्यालय निर्माण हुन बाँकी छन् । शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्देशक इमनारायण श्रेप्ठका अनुसार कुल ३३ हजार ४ सय ३५ कक्षाकोठामा पूर्ण, अधिक र आंशिक क्षति पुगेको थियो । त्यसमध्ये १६ हजार १ सय ६० कक्षाकोठाको पुनर्निर्माण भइसकेको बताए । उनले भने आगामी २ वर्षमा भित्र विद्यालय पुनर्निर्माण सम्पन्न हुन्छ । भूकम्पका कारण २१ हजार १ सय ६९ कक्षाकोठा पूर्णरुपमा, १२ हजार ५ सय २२ कक्षाकोठा अधिक रुपमा र १५ हजार ९ सय ९० ओटा कक्षाकोठा आंशिक रुपमा क्षति भएका थिए । विद्यालय निर्माणमा विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था र निर्माण व्यवसायी मार्फत् निर्माण गरिएको छ । विद्यालय व्यवस्थापन समिति मार्फत् हालसम्म ३ हजार २ सय ९४, निर्माण व्यवसायीमार्फत् ३७ र गैरसरकारी संस्था मार्फत् ७ सय ५८ ओटा विद्यालयको पुनर्निर्माण भइसकेको छ । भूकम्प आपत्कालीन विद्यालय पुननिर्माण आयोजना, यूएसआईडीको सहयोगमा विद्यालय पुनर्निर्माण आयोजना, भूकम्प प्रभावित समुदायका लागि विपद् जोखिम न्यूनीकरण परियोजना, भारत सरकारको सहयोगमा पुनर्निर्माण, चीन सरकारको सहयोगमा विद्यालय पुनर्निर्माण, विपद् उत्थानशील विद्यालय आयोजना, गैरसरकारी संस्थाबाट विद्यालय पुनर्निर्माण, विद्यालय व्यवस्थापन समितिबाट विद्यालय पुनर्निर्माण तथा तत्कालीन शिक्षा विभागमार्फत् विद्यालयको पुनर्निर्माण भइरहेकोे छ । हालसम्म विद्यालय पुनर्निर्माणमा २६ अर्ब रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । त्यसबाहेक विद्यालय पुनर्निर्माणपछि चाहिने थप अन्य सहायक सुविधा शौचालय, खानेपानी, मैदान तथा भवन निर्माणका लागि थप २५ अर्ब रुपैयाँ लाग्ने प्राधिकणका केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाका कार्यकारिणी सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए । उनले विद्यालयको पुनर्निर्माण तीव्ररुपमा भइरहेको र चालू आर्थिक वर्षभित्रै ८० प्रतिशत विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्यअनुसार काम भइरहेको बताए । उनका अनुसार हाल १३ सय ७९ संरचनाको पुनर्निर्माण सुरु गर्न नसकिएको, ३ हजार ८ सय १६ विद्यालय सम्पन्न भएको र २ हजार ३ सय ७९ विद्यालयको पुनर्निर्माण भइरहेको बताए । भूकम्पका कारण मुलुक ३२ जिल्लामा रहेका शैक्षिक संस्था तथा विद्यालयमा क्षति पुगेको थियो ।
तिहार र छठमा नेपाली जुत्ता घरको बिशेष अफर, यी हुन् छुट पाइने ठाउँ
काठमाडौं । के तपाई तिहार वा छठमा नयाँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए नेपाली जुत्ता घर जानुस् जहाँ पाउनु हुनेछ ५० प्रतिशतसम्म छुट । स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित नेपाली जुत्ताहरुमा ६ महिनाको वारेन्टीसहित २० देखि ५० प्रतिशतसम्म छुट पनि उपलब्ध छ । जाडो महिना सुरु भएसँगै नेपालमा जुत्ता चप्पलहरुको माग बढ्ने गर्दछ । त्यसै पनि चाडबाडहरुमा नयाँ लगाउने र मिठो खाने चलन पनि छ । सोही अवसरलाई मध्यनजर गर्दै नेपाली जुत्ता घरले तिहार र छठको अवसरमा छुट योजना अघि सारेको हो । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, तिहार र छठमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । ‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, तिहार र छठमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।