विकासन्युज

ग्लोबल आईएमई लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा १७९ प्रतिशतले बढ्यो

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्साहजक वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले नाफा तथा निष्क्रिय कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको हो । लघुवित्तले अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा १७९ प्रतिशत वृद्धि गरी ७६ लाख १९ हजार पुर्याएको छ जुन प्रतिशेयर (वार्षिक) ३१.७९ रुपैंया हो । लघुवित्तले आफ्नो निष्क्रिय कर्जा अनुपातलाई पनि १.६३ प्रतिशतबाट घटाएर ०.५१ प्रतिशतमा झारेको छ । ९ करोड ६० लाख चुक्ता पुँजी भएको ग्लोबल आईएमई लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो । देशभरका ४५ जिल्ला कार्यक्षेत्र रहेको उक्त कम्पनीले तात्कालिन रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएकोमा आईएमई समूहको व्यवस्थापनमा आएपछि नाम परिवर्तन भई ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्दै आएको छ । नयाँ व्यवस्थापनसँगै लघुवित्तको कार्यसम्पादनमा उल्लेख्य सुधार देखिएको हो । कम्पनीले गत त्रैमाससम्म १ अर्ब ३० करोड रुपैंया बराबरको कर्जा प्रवाह गर्दा खुद ब्याज आम्दानी २ करोड १९ लाख पुर्याएको छ जुन अघिल्लो बर्षको सोही त्रैमासको आधारमा करिब दोब्बर हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुलाई निःशुल्क वाईफाई

काठमाडौं । के तपाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेश उड्दा वा स्वदेश फर्कँदा घण्टौं कुरेर दिक्क हुनु भएको छ ? जहाज चढ्नु अघिको चेक जाँच बोर्डिङ र टर्मिनलमा खर्च हुने समय कटाउँन मुस्किल पर्ने गरेको छ ? त्यसो भए अब चिन्ता नगर्नुस, विमानस्थलले निःशुल्क वाइफाई चलाउन पाइन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले अब निःशुल्क वाइफाई चलाउन पाउँछन, त्यो पनि टर्मिनलसम्मै । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलमा वर्ड लिंकसँगको सहकार्यमा निःशुल्क वाइफाई सेवा आरम्भ गरिएको बताए । विमानस्थलले आन्तरिक तर्फ टर्मिनलमा भने यस अघि नै निःशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै आएको छ । ‘वर्र्ड लिंकसँगको सहकार्यमा अन्तराष्ट्रिय टर्मिनलसम्म यात्रुहरुलाई निःशुल्क वाईफाई सुबिधा उपलब्ध गराएका छौं’, विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विकासन्युजसँग भने । यात्रुहरुले एक घण्टासम्म निःशुल्क वाइफाई उपयोग गर्न सक्ने जानकारी पनि दिए । यात्रुहरुले ओपन लगईन गरेर वाईफाई सेवा उपयोग गर्न सक्नेछन् । अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको बसाईलाई सहज बनाउन निःशुल्क वाईफाई सेवा सुरु गरेको पनि क्षेत्रीले बताए । अन्तराष्ट्रिय उडानका यात्रुहरुलाई विमानस्थल ओर्लदा र उड्नु अघि सूचना आदान प्रदानलाई सहज बनाउन पनि वाईफाईले भूमिका खेल्ने क्षेत्रीको दावी थियो ।

कतारबाट ४४ करोड ५३ लाखको वस्तु आयात, महिनौं १० अर्ब रेमिट्यान्स नेपाल भित्रिने

काठमाडौं । आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालले कतारबाट ४४ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । त्यस्तै, महासंघमा रहेको तथ्यांक अनुसार नेपालबाट ९३ लाख ८७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको पाइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा सोमबारबाट भएको कतारको ४ दिने औपचारिक भ्रमणमा गएकी छिन् । साथै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल सोमबार कतार प्रस्थान गरेको छ । राष्ट्रपतिका साथ गएको महासंघको प्रतिनिधिमण्डलमा बैंक तथा बीमा, रेमिट्यान्स, पर्यटन, व्यावसायिक कृषि, उर्जा लगायत क्षेत्रको प्रतिनिधित्व रहेको छ । नेपालबाट पास्ता, कार्पेट, हस्ताकलाका सामग्री र चियाकफी निर्यात भएको पाइन्छ भने नेपालले प्लाष्टीक्सजन्य सामान, विद्युतीय सामग्री, मेशीनरी सामान आदि आयात गरेको देखिन्छ । नेपालमा पर्यटन र सेवा क्षेत्रमा गरी करिब १.४८ मिलियन अमेरिकी डलर बराबरको कतारी लगानी रहेको तथ्यांक छ । नेपालमा कतारबाट खासगरी कृषि, उर्जा, पर्यटन, उत्पादनमुलक, पूर्वाधार विकासमा लगानी गर्न सकिने बलियो सम्भावना रहेको देखिन्छ । उक्त औपचारिक भ्रमणका क्रममा महासंघका तर्फबाट नेपालमा कतारी लगानी आकर्षणका लागि विशेष पहल गरिने छ । नेपालमा वैदेशिक लगानीका विषयमा मौजुदा कानूनका विषयमा पनि कतारी लगानीकर्ताहरूलाई जानकारी गराईने छ । नेपाल सरकारले कृषि तथा बनजन्य उद्योग, उत्पादनमुलक, सेवा क्षेत्र, पर्यटन, उर्जा, सूचना प्रविधि तथा खानीजन्य क्षेत्रलाई वैदेशिक लगानीका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेको छ । कतारमा करिव साढे ४ लाख नेपालीहरू कार्यरत छने भने त्यहाँबाट प्रत्येक महिना करिव १० अर्ब नेपाली रुपैयाँ रेमिट्यान्स स्वदेश भित्र्ने गरेको तथाङ्कले जनाएको छ । राष्ट्रपतिको यो भ्रमणबाट दुई देशबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी आकर्षण तथा कतारमा रोजगारीको थप अवसर सृजना गर्न भ्रमणबाट महत्वपूर्ण उपलव्धी हासिल हुने विश्वास महासंघले गरेको छ । राष्ट्रपतिका साथ कतार जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष्ँ निर्मल भट्टराई, नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारि अधिकृत बिजयबहादुर शाह र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी हुन् । महासंघको प्रतिनिधिमण्डल विहीवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा दायर गर्यो आरोपपत्र

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोग उनीमाथि लागेको छ । बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। रासस

पेट्रोलियम पदार्थको भाउ नबढ्ने, उद्योग मन्त्रीले दिए निर्देशन

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगम लिमिटेडलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन्। निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए। हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा, डिजेलमा ९ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी रहेको निगमले जनाएको छ । निगमले पेट्रोल प्रतिलिटर ११४, डिजेल १०१ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ४०० रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक २ अर्ब ८ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । रासस

पूर्वअर्थमन्त्री बद्रीप्रसाद श्रेष्ठको निधन

काठमाडौ । पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए । अर्थशास्त्री डा. श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ । रासस

 स्याङ्जाको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार, ५० घरधुरी लाभान्वित

काठमाडौं । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए । गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास गरिएको थियो तथापी हाल आएर नयाँ नेटवर्किङ गरि सम्पन्न भएकोमा त्यहाँका वडा अध्यक्ष महेश भट्टराइले खुसी व्यक्त गरेका छन् । नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइन हो जस्बाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।

गोदावरीमा चार दिने पुष्प मेला हुने, ६० लाख रुपैयाँको कारोबार हुने अनुमान

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा चार दिने १२ औँ गोदावरी पुष्प मेला हुने भएको छ । कात्तिक १५ देखि १८ गतेसम्म आयोजना हुने सो प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धन गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने रहेको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानसाथ हुने प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक तीन र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी ९ सहित ५६ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले बताएको छ । नजीक आइरहेको तिहार तथा छठलाई लक्ष्य गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा ४५ प्रजातिका फूल तथा विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने फ्यानका अध्यक्ष कुमार कसजुले सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदेश सरकार प्रदेश नं. ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेलाअन्तर्गतको प्रतिस्पर्धामा गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने छ । मेलामा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले ११ करोड रुपैयाँको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएको थियो । नेपालमा फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसकेको छ । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७४/०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । नेपालमा करीब ७०० व्यक्ति र संस्थाले फूल व्यवसाय गरेका छन् । करीब दुई हजार ९६० रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।