गरिमा विकास बैंकको नाफा १६८ प्रतिशतले बढ्यो
काठमाडौं । गरिमा विकास बैंकको नाफा १६८ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा नाफामा उक्त मात्रामा बढोत्तरी भएको हो । बैंकले उक्त अवधिमा कुल ९ करोड १८ लाखरुप्ौं नाफा कमाएको थियो । अघिल्लो आवको सोही समयमा यो आकार ३ करोड ४२ लाख रुपैंया मात्र थियो । नाफासँगै बैंकले निक्षेप र कर्जाको आकारमा समेत सन्तुलित वृद्धि कायम गरेको छ । त्रैमासको अन्त्यसम्ममा बैंकको निक्षेप २२ अर्ब ८८ करोड रुपैंया पुगेको थियो यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ७ अर्ब ४९ करोड बढी हो । त्यस्तै बैंकले उक्त समयमा कुल २० अर्ब ८१ करोड रुपैंया कर्जा प्रवाह गर्दा यसको आकार अघिल्लो आवको सोही समयको तुलनामा ६ अर्ब ७० करोड रुपैंयाले बढाएको छ । बैंकले निष्क्रिय कर्जा अनुपातमा समेत सुधार गरी १.०२ प्रतिशतबाट घटाएर ०.८४ प्रतिशत कायम गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १३.१८ रुपैंया, प्रतिशेयर नेटवर्थ ११६.६७ रुपैंया, मुल्य आम्दानी अनुपात १३.६६ रुपैंया, लगानी कोषको लागत ८.२२ प्रतिशत र आधार ब्याजदर ११.८८ प्रतिशत छ ।
सिटिजन्स बैंकको नाफा ३४ करोड, रिजर्भको आकार दोब्बरभन्दा बढी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा बैंकले नियामकीय समायोजनपछिको नाफा (फ्रि प्रोफिट) ३४ करोड ३५ लाख कायम गर्दा बैंकको प्रतिशेयर आम्दानी २१.२६ रुपैंया पुगेको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ६३ अर्ब ३८ करोड निक्षेप संकलन गर्दा ५९ अर्ब ८८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहको यो आकार गत आवको सोही समयको भन्दा क्रमशः २० प्रतिशत र २२ प्रतिशतले बढी हो । बैंकले आफ्नो रिजर्भमा अघिल्लो आर्थिक वर्षको सोही समयको भन्दा दोब्बर बढीले वृद्धि गरी ३ अर्ब ३२ करोड रुपैंया पुर्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात १.२३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १५.६६ प्रतिशत, लगानीयोग्य कोषको लागत ८.७४ प्रतिशत, आधार ब्याजदर ११.४७ प्रतिशत, मुल्य आम्दानी अनुपात ११.६६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४१.१८ रुपैंया र कर्जा निक्षेप अनुपात ७९.६२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको कारबाहीपछि रोकिएको सामुदायिक लघुवित्तको आईपीओ मंसिर २ गतेदेखि खुल्ने
काठमाडौं । कम्पनीभित्र व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि आह्वानपत्र प्रकाशन गरेर पनि निष्कासन प्रक्रिया रोकिएको सामुदायिक लघुवित्तको साधारण सेयर मंसिर २ गतेदेखि खुल्ने भएको छ । अघिल्लो वर्षको पुस ९ गतेदेखि बिक्री गर्नेगरी तय भएको उक्त लघुवित्तको आईपीओ प्रक्रिया नेपाल राष्ट्र बैंकको आग्रहमा धितोपत्र बोर्डले बिक्री प्रबन्धक एवं अन्डरराइटिङको जिम्मा पाएको नेपाल एसबीआर्इ मर्चेन्ट बैंकिङ लिमिटेडलार्इ आर्इपीओ वितरण प्रक्रिया रोक्न निर्देशन दिएसँगै रोकिएको थियो । २ करोडभन्दा बढी रकम अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अध्यक्षसँगै ४ जनालार्इ पक्राउ गरेपछि आह्वानपत्र प्रकाशन गरेर पनि निष्काशन रोकिएको थियो । राष्ट्रबैंकले अनियमिततामा संलग्न कम्पनीका पदाधिकारीहरुको कारबाही प्रक्रिया सम्पन्न गरेसँगै लघुवित्तले आईपीओ प्रक्रिया अघि बढ्ने निश्चित भएको थियो । तर धितोपत्र निष्काशन निर्देशिका २०६५ को व्यवस्था अनुसार धितोपत्र बोर्डबाट स्वीकृति पाएको दुर्इ महिनाभित्र शेयर निष्काशन गरिसक्नुपर्ने मा सो हुन नसकेपछि आर्इपीओका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने अवस्थामा कम्पनी पुगेको थियो । त्यसका लागि कम्पनीले विवरणपत्रमा संशोधन गरी धितोपत्र बोर्डमा पुनः पेस गरेको थियो । संशोधित विवरणपत्रलाई बोर्डले यही कार्तिक १३ गते स्वीकृत गरेसँगै कम्पनीले संशोधित आह्वानपत्र प्रकाशन गरेको हो । कम्पनीको ३ करोड रुपैंया बराबरका ३ लाख कित्ता शेयर बिक्रीका लागि खुला गरिनेछ जसमध्ये ४ प्रतिशतले हुन आउने १२ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १५ हजार कित्ता शेयर सामुहिक लगानी कोष (म्युचुअल फण्ड)लाई र बाँकी हुन आउने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त शेयरमा आवेदन दिने मिति मंसिर २ गतेदेखि सुरु भई छिटोमा मंसिर ५ गते र ढिलोमा पुस २ गते सकिनेछ । सर्वसाधारणले सो कम्पनीको शेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम १५०० कित्ताका लागि आवेदन गर्न सक्नेछन् । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट नै रहेको छ । काभ्रेको साँगामा मुख्य कार्यालय रहेको लघुवित्तको हालको चुक्ता पुँजी ७ करोड रहेकोमा ३ करोड बराबरको साधारण शेयर जारी गरी १० करोड रुपैंया चुक्ता पुँजी कायम गर्न लागेको छ । लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ५९ लाख ९८ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ जुन हालको पुँजीको २२.८५ रुपैंया हो । कम्पनीकाे कार्यसम्पादन राम्राे रहे पनि संलग्न पदाधिकारीको बदमासीका कारण साे कम्पनीले लामाे समय अन्याैलता ब्यहाेरेकाे थियाे ।
सेयर काराेबार मंगलबारदेखि अनलाइनमा, कसरी हुन्छ अनलाइन ट्रेडिङ ?
काठमाडौं । नेपाली शेयर बजारमा मंगलबारदेखि अनलाईन प्रणालीको सुरुवात हुँदैछ । नेप्सेले २० करोड भन्दा बढी लगानी र डेढ बर्षभन्दा बढीको प्रयासपछि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहान साढे १० बजे होटल याक एण्ड यतिमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले त्यसको उद्घाटन गर्नेछन् । उद्घाटनपछि बजारमा जुनसुकै लगानीकर्ताले अनलाईनमार्फत् शेयर खरिदबिक्रीका लागि आदेश दिनसक्ने नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । नेप्सेले आम सर्वसाधारणका लागि अनलाइन ट्रेडिङ प्रणाली खुल्ला गरे पनि उक्त प्रणालीमार्फत् कारोबार गर्न लगानीकर्ताले आधारभूत पूर्वाधार पूरा गर्नुपर्ने हुन्छ । प्रवक्ता पराजुलीका अनुसार कुनै पनि व्यक्तिसँग बैंक खाता र सो बैंकखातासँग लिङ्क रहेको डिम्याट खातासँगै खरिदबिक्री आदेश प्रयोजनका लागि प्रयोगकर्ताको नाम र पासवर्ड हुनुपर्नेछ । त्यसबाहेक ग्राहकको डिम्याट खातासँग लिङ्क भएको बैंकसँग खातावालाले इन्टरनेटमार्फत् भुक्तानी गर्ने (इ–बैंकिङ) सुविधा लिएको हुनुपर्छ । अनलाइन ट्रेडिङबारेका यी भ्रम जुन त्याग्नु जरुरी छ १. शेयर राफसाफको समय घट्दैन अनलाइन ट्रेडिङलाई आम उपभोक्ताले शेयर बिक्रीलगत्तै बैंक खातामा पैसा आउने र खरिदलगत्तै डिम्याट खातामा शेयर थपिने प्रणालीको रुपमा बुझेका छन् । तर अनलाईन ट्रेडिङ प्रक्रियाले राफसाफको समयमा तत्काल कुनै प्रभाव नपार्ने प्रवक्ता पराजुलीको टिप्पणी छ । उनका अनुसार शेयर राफसाफ लागि अहिलेजस्तै ३ दिन समय लाग्नेछ । अनलाइन ट्रेडिङ लागु भएका अन्य देशहरुमा समेत राफसाफका लागि समय लाग्ने उनले बताए । एकै दिनमा कयौं पटक कारोबार गर्ने कारोबारीहरुका लागि भने ती देशहरुमा ‘डि—ट्रेडिङ’ नामको छुटै प्रणाली भएको र निकट भविष्यमा नेप्सेले त्यसलाई भित्र्याउनेछ । २. ब्रोकर, डिपी र सीडीएससीको भूमिका उस्तै सुरु हुनै लागेको कारोबार प्रणालीसँगै कतिपयले ब्रोकर तथा डिपीहरुको कुनै भूमिका नहुने र केन्द्रीय सूचना प्रणालीमार्फत् सोझै शेयर खरिदबिक्री हुने अनुमान गरेका छन् । तर अनलाइन कारोबारपछि पनि उनीहरुले हाल निभाइरहेको भूमिका कुनै परिवर्तन नहुने नेप्से स्रोतले जानकारी दिएको छ । ३. तत्काल कमिसन घट्दैन अनलाईन ट्रेडिङसँगै शेयर कारोबारमा ब्रोकरले लिने कमिसनको दरमा समेत भारी गिरावट आउने अपेक्षा गरेका छन् । तर नेप्से त्यो दर तत्काल घटाउने पक्षमा छैन । ब्रोकरहरुले अनलाइन ट्रेडिङका लागि ठूलो लगानी गर्नुपर्ने भएकोले तत्काल कमिसन घटाउँदा ब्रोकरहरुमाथि अन्याय हुने भएकोले तत्काल सो कमिसन नघट्ने नेप्से स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रत्येक ब्रोकरले अनलाइन ट्रेडिङको पूर्वाधार पुर्याउन डेढदेखि २ करोड रुपैंया खर्च गर्नुपर्नेछ सन्दर्भमा नेप्से ब्रोकरको लगानी सुरक्षित बनाउनेतर्फ उदार हुने देखिन्छ । अहिले भने ब्रोकरहरुले नेप्सेले किनिदिएको सिस्टमलाई भाडामा लिएर प्रयोग गर्नेछन् । ४. अहिलेको कारोबार प्रणाली निरन्तर रहन्छ नेप्सेले अनलाइन प्रणालीको सुरुवात गरे पनि अहिले प्रयोग भएको ‘म्यानुअल ट्रेडिङ प्रणाली’समेत निरन्तर रुपमा रहनेछ । शेयर अभौतिकीकरणको सन्दर्भमा जस्तो केही समय दुवै प्रणाली समानान्तर रुपमा अघि बढ्ने र पछि अनलाइन ट्रेडिङ प्रणालीमात्र लागु हुन्छ कि भन्ने आशंका नगर्न समेत नेप्सले आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि सम्झौता, पुनर्निर्माणकाे समय दैनिक दश घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग साेमबार निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएकाे छ । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुर्नसुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । धावन मार्ग स्तरोन्नतिको काम शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ । विमानस्थल दश घण्टा बन्द हुने हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका आगामी अप्रिल १ तारीखबाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनको साथमा राति धावनमार्ग बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुनेछ । धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम शुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी धावन मार्गको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । करिब चार महीनामा धावनमार्गको कालोपत्रको काम सकिनेछ । धावनमार्गको काम सकेपछि बाँकी अरु चार महीनामा ट्याक्सी चल्ने मार्ग लगायतका काम सकिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले धावनमार्ग मर्मत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्राथमिकतामा रहेकाले एक वर्षपछि दुवै विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने बताए । नेपाल पर्यटन वर्ष शुुरु हुँदा ती विमानस्थलका कारण पर्यटकको सङ्ख्या वृद्धि भई सन् २०२० मा २० देखि २५ लाख पर्यटक पुग्ने दाबी गरिएको छ । सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ । विमानस्थलका अनुसार धावनमार्ग खासगरी जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यसरी गरिन्छ मर्मत विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ । क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरणको व्यवस्था गर्नेछ । तीन वटा जोत्ने मेशिन, तीन वटा पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । महानिर्देशक गौतमले धावनमार्गबाहेक पूरै ट्याक्सी वे मर्मत गर्नुपर्नेछ । खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ । सो कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् । चुनौतीपूर्ण काम धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरण पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौं । समस्या आउन सक्छन् किनकी पहिलो पटक यो काम गर्दैछौँ”, प्राधिकरणाका महानिर्देशक संञ्जीव गौतमले भने । विमानस्थलमा अहिले दैनिक करीब १०० अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । यो विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा ३१ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस
मर्चेन्ट बचत तथा ऋण सहकारी गत वर्ष १७ करोड ५७ लाखको कारोबार
काठमाडौं । मर्चेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७४/७५ मा १७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको हो । सोमबार सम्पन्न संस्थाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष बिजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन् । सो अवसरमा विभिन्न सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरु तथा कान्तिपुरकर्मी लिला श्रेष्ठ लगायत पलिस्व पूखू संरक्षण समितिका संयोजक गणेशमान चक्रधरलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
बजाजकाे पल्सर एनएस १६० टिडि बाइक नेपाली बजारमा, मूल्य दुई लाख ८६ हजार
काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले ‘अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क(टिडि)’ लाई नेपाली बजारमा भित्र्याएको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याईएको छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एंड ग्लसी पेव्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको कम्पनीले जनाएको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आकर्षित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ । पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ । नेपाली बजारमा बजाज पल्सर १६० टिडिको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्गका अध्यक्ष श्रीमान श्रेष्ठद्धारा शपथ ग्रहण
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष श्रीमान श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट शपथ लिएका हुन् । साथै, संचालक सरोजनी श्रेष्ठ, रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र राजेश मानन्धरले अध्यक्ष श्रीमान श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । संस्थाको १७औँ वार्षिक साधारण सभाबाट संचालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट तथा डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित भएका थिए ।