त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि सम्झौता, पुनर्निर्माणकाे समय दैनिक दश घण्टा बन्द हुने 

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग साेमबार निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएकाे छ । सन् [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग साेमबार निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो ।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएकाे छ । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुर्नसुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । धावन मार्ग स्तरोन्नतिको काम शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ ।

विमानस्थल दश घण्टा बन्द हुने 

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका आगामी अप्रिल १ तारीखबाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनको साथमा राति धावनमार्ग बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुनेछ ।

धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम शुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी धावन मार्गको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । करिब चार महीनामा धावनमार्गको कालोपत्रको काम सकिनेछ । धावनमार्गको काम सकेपछि बाँकी अरु चार महीनामा ट्याक्सी चल्ने मार्ग लगायतका काम सकिनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले धावनमार्ग मर्मत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्राथमिकतामा रहेकाले एक वर्षपछि दुवै विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने बताए । नेपाल पर्यटन वर्ष शुुरु हुँदा ती विमानस्थलका कारण पर्यटकको सङ्ख्या वृद्धि भई सन् २०२० मा २० देखि २५ लाख पर्यटक पुग्ने दाबी गरिएको छ ।

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ । विमानस्थलका अनुसार धावनमार्ग खासगरी जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ ।

यसरी गरिन्छ मर्मत 

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।

क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरणको व्यवस्था गर्नेछ । तीन वटा जोत्ने मेशिन, तीन वटा पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । महानिर्देशक गौतमले धावनमार्गबाहेक पूरै ट्याक्सी वे मर्मत गर्नुपर्नेछ । खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ । सो कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् ।

चुनौतीपूर्ण काम

धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरण पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौं । समस्या आउन सक्छन् किनकी पहिलो पटक यो काम गर्दैछौँ”, प्राधिकरणाका महानिर्देशक संञ्जीव गौतमले भने ।

विमानस्थलमा अहिले दैनिक करीब १०० अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । यो विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा ३१ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

Share News