विकासन्युज

सेयर बजार दोहोरो अंकले उक्लियो, सबै सूचक हरिया

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार शुरु भएदेखि सामान्य उकालो लाग्दै आएको बजार अन्त्यमा नेप्से परिसूचक १२.३७ अंकले उकालो लागेर १२१९.६५ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचकमा सुधार देखिएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । आइतबार ५६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको बजारमा सोमबार भने जम्मा २४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ । सो दिन प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन ४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २ करोड, एनआईसी एशिया बैंकको एक करोड ५५ लाख र जनता बैंक नेपालको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका १० वटै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६९, होटल ३७, माइक्रोफाइनान्स १७, विकास बैंक १३ र बैंकिङ् समूह ११ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहहरु सामान्य अंकले बढेका छन् । सो दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । उता सिर्जना फाइनान्स(वित्तीय संस्था)का लगानीकर्ताले सबैभन्दा बढी १.८७ प्रतिशत गुमाएका छन् ।

दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौं । सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा माथिका आयोजनाको सङ्ख्या ३६ रहेका छन् । ती आयोजनाको क्षमता १३ हजार ३१ मेगावाट छ । यस्तै २५ मेगावाटदेखि एक सय मेगावाटसम्मका ५२ परियोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता दुई हजार ७५४ मेगावाट रहेका छन् । पछिल्लो समय नीजि क्षेत्रसमेत सोही वर्गका जलविद्युत् आयोजना निर्माणमा केन्द्रीत छन् । विद्युत् विकास विभागले जारी गरेको सर्वेक्षण अनुमतिपत्र पाउने आयोजना मध्ये एक मेगावाटदेखि २५ मेगावाटसम्मका २०५ आयोजना छन् । ती आयोजनाको क्षमता दुई हजार ७१ मेगावाट छ । त्यस्तै एक मेगावाट क्षमता भन्दा कमका १९ आयोजनालाई समेत विभागले सर्वेक्षणको अनुमतिपत्र दिएको छ । ती आयोजनाको क्षमता १४ मेगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वैशाख २५ गते जारी गर्नुभएको मुलुकको ऊर्जाको अवस्था र भावी कार्यदिशा विषयक श्वेतपत्रमा आगामी दश वर्षमा आन्तरिक खपतका लागि दश हजार मेगावाट र बाह्य बिक्रीका लागि पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्नु भएको छ । आगामी तीन वर्षमा तीन हजार मेगावाट र पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । सरकारले निर्धारण गरेको अल्पकालीन र मध्यमकालीन लक्ष्य भने सजिलै पूरा हुने भएका छन् । नीजि क्षेत्रको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था९इपान०का अनुसार हाल तीन हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । ती आयोजना आगामी तीन वर्षभित्र पूरा हुने क्रममा छन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईका अनुसार सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न नीजि क्षेत्र नै सक्षम रहेको छ । यस्तै विद्युत् खरिद सम्झौता९पिपिए०को प्रतिक्षामा मात्रै ६ हजार मेगावाट क्षमताका आयोजना छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी आर्थिक वर्षमा मात्रै प्राधिकरणका सहायक कम्पनी मार्फत ७२६ मेगावाट क्षमताका आयोजना पूरा हुनेछन् । त्यसमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी र चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको क्षमता २७० मेगावाट छ । प्राधिकरणले नै निर्माण गरिरहेका १४ मेगावाट क्षमताको कुलेखानी, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए केही महिना भित्रै सम्पन्न हुने छन् । प्राधिकरणकै सहायक कम्पनीको रुपमा स्थापित ४० मेगावाट क्षमताको राहुघाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी, १४० मेगावाट क्षमताको तनहुँ सेती निर्माणमा जाने तयारीमा छन् । यस्तै प्राधिकरणका सहायक कम्पनीमार्फत नै निर्माण हुने एक हजार ८०० मेगावाट क्षमता बराबरका आयोजना बोलपत्रको प्रक्रियामा पुगेका छन् । त्यसमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौ, ८३० मेगावाट क्षमताको माथिल्लो अरुण, ८०० मेगावाट क्षमताको दुधकोशी, ६० मेगावाटको मोदी छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्ने लक्ष्यसाथ व्यवहारिक रुपमा नै काम भइरहेको बताउनुभयो । प्राधिकरण र मातहतका सहायक कम्पनी मार्फत नै रु तीन खर्ब बराबरको लगानी हुने अवस्था आएको उनको भनाइ छ । सर्वेक्षणमा रहेका आयोजनालाई शिघ्र निर्माणमा लैजाने र निर्माणमा रहेका आयोजनालाई पनि सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सरकारले हालसम्म ६ हजार ७८६ मेगावाट क्षमता बराबरका १८७ आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ । चालु आर्थिक वर्षको हालसम्म मात्रै ६ वटा आयोजनालाई त्यस्तो अनुमतिपत्र दिइएको छ । ती आयोजनाको क्षमता ९०० मेगावाट छ । विद्युत् विकास विभागले पछिल्लो समयामा नवीकरणीय ऊर्जालाई समेत प्रमुख प्राथमिकतामा राख्दै अनुमति दिने क्रम बढाएको छ । कूल ४९ सौर्य प्रणाली जडान सम्बन्धी आयोजनालाई हालसम्म सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता २४९ मेगावाट छ । त्यस्तै तीन वटा वायु ऊर्जा प्रणाली जडानका लागि विभागले सर्वेक्षण अनुमतिपत्र दिएको छ । ती आयोजनाको क्षमता पाँच मेगावाट छ । बायोमासबाट ऊर्जा उत्पादन गर्ने गरी तीन आयोजनाका प्रक्रियामा अगाडि बढेका छन् । ती आयोजनाको क्षमता २८ मेगावाट छन् । यस्तै रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिले तीन मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने अनुमति दिएको छ । रासस

कन्काई विकास बैंकको वार्षिक साधारणसभा मंसिर १० गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । कन्काई विकास बैंकको १२औँ वार्षिक साधारणसभा आगामी मंसिर १० गते बस्ने भएको छ । सो प्रयोजनको लागि बैंकको आगामी कात्तिक २८ गते बुक क्लोज हुने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकका अनुसार कम्पनीको साधारणसभा मंसिर १० गते दिउँसो १० बजे झापाको दमकमा रहेको गोरखा डिर्पाटमेन्ट स्टोरको सभाहलमा बस्ने भएको छ । सभाले कम्पनीको विभिन्न विशेष प्रस्तावहरु पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम नगद लाभांश र बोनस सेयरको करसहित ३ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश पारित गर्दै छ । त्यस्तै, विकास बैंकको जारी पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउने कम्पनीको विशेष प्रस्ताव रहेको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पुँजी ५० करोडमा एक करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने स्वीकृति प्रदान गर्ने छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचन गर्ने भएको छ ।

जन्मान्तर कति हुनु राम्रो ? नयाँ अध्ययनले यसो भन्छ

काठमाडौं। आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन। गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ। नयाँ अनुसन्धानका निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन्। ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ। सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ। जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। बीबीसी

३ लाख नगद सहित १६ जुवाडे रत्ननगरबाट समातिए, कोको परे हेर्नुहोस् (सुची सहित)

चितवन। चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट खटिएको प्रहरीको सँयुक्त टोलीले १६ जना जुवाडे सहित झन्डै ३ लाख रुपैयाँ बरामद गरेको हो । सोही जुवाको खालबाट चेक काटी तयार पारी राखिएको अवस्थामा १ लाख रुपैयाँको चेक समेत वरामद गरेको छ । रत्ननगर नगरपालिका ९ स्थित शुकराम दराईको घर भित्र च्यानलगेट लगाएर जुवा खेल्दै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिएका छन् । प्रहरीले यो सहित विभिन्न पाँच स्थानबाट जुवा खेल्ने र खेलाउने दुबैलाई पक्राउ गरी जुवा ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरि कार्वाही प्रक्रियालाई अगाडि समेत बढाइएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शुसिलसिंह राठौरले जानकारी दिए । चाडवार्डमा हुन सक्ने जुवातास नियन्त्रणका लागि चितवन प्रहरीले विशेष टोली नै गठन गरेको छ । भने, जुवा खेल भएको थाहा पाए वा देखे तत्काल चितवन प्रहरीको टेलिफोन नम्बर १०० नम्बर वा कार्यालय प्रमुखको ९८५५०१५५५५ मा सम्पर्क गरी सूचना दिन बारम्बार अनुरोध समेत गर्दै आएका छन् ।

आइएमईका ग्राहकलाई पल्पसा क्याफेमा १५ प्रतिशत छुट, दुई वर्षसम्म लागु हुने

काठमाडौं । आइएमई लिमिटेडका ग्राहकले बसन्तपुरमा अवस्थित पल्पसा क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच आइएमईका ग्राहकलाई सो मात्राको छुट दिने सम्बन्धि सम्झौता भएको हो । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफे उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने छन् । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेकाे तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज २४ गतेदेखि दुई वर्षसम्म लागु हुनेछ ।

१५ लाख लगानीमा वीरबहादुर कामीले सुरु गरे साबुन उद्योग

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए । पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ । उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ । प्रति गोटा मूल्य रु ५० कायम गरिएको सो साबुनको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको छ । साबुन उत्पादनका लागि स्थानीयवासी प्रेमवीर कामी, जयमती कामी, वीरबहादुर कामी, नवीना कामी र रत्ने कामीले रु १५ लाख लगानी गरेका छन् । उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउने योजना रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले बताए । उद्योगबाट हाल नुहाउने साबुन मात्रै उत्पादन भइरहेको छ । आगामी दिनमा कपडा धुने साबुन उत्पादन गर्ने लक्ष्य छ । साबुन उत्पादन गर्न चिउरीको बिजूला स्थानीयवासीले सङ्कलन गर्दछन् । उद्योग प्रवद्र्धन गर्न सहयोग गर्ने आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । रासस

दान गरेको रगतमा समेत मूल्यबृद्धि, प्रति युनिट बढ्यो एक सय रुपैयाँ

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकले दानबाट रक्तदाताद्धारा संकलित रगतको मूल्य आफू खुशी बढाएको छ । ब्लड बैंकले नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार व्युरोको निर्णय अनुसार भन्दै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्यबृद्धि गरेको छ । तर व्युरोले भने रेडक्रसको दावी झुटो भन्दै पुष्टी गर्न चुनौती दिएको छ । व्युरो प्रमुख डा. हरिषचन्द्र उप्रेतीले मूल्य बढाउने विषयमा कुनै निर्णय नभएको र व्युरोको नाम जोडेर केन्द्रका पदाधिकारीहरुले बदमासी गरेको बताए । ब्लड बैंकले गत १५ कात्तिकमा जारी गरेको सूचनामा रक्तसंकलनमा रिफ्रेसमेन्ट र अन्य खर्च व्यवस्थापन गर्न प्रति युनिट १०० रुपैयाँ थप लिने निर्णय भएको उल्लेख छ । सो सूचनामा व्लड बैंकको नियामक निकाय व्युरोको निर्णय अनुसार भनिएको छ । रिफ्रेसमेन्ट भनेको रक्तदान गरेपछि दातालाई दिइने फ्रुटी तथा फलफुल खर्च हो । मूल्य बृद्धिपछि दानबाट संकलित रगतका लागि विरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ६२५ रुपैयाँ र निजी अस्पतालका लागि भए ७७५ रुपैयाँ तिर्नुपर्छ । यसअघि व्लड बैंकले विभिन्न शीर्षकमा गरी प्रति युनिट सरकारी अस्पतालका बिरामीलाई ५२५ रुपैयाँ र निजी अस्पतालका बिरामीलाई ६७५ रुपैयाँ लिने गर्दथ्यो । रासस