सानिमा लाइफले ल्यायो ‘सानिमा दम्पती’ योजना, धितोमा ९० प्रतिशत कर्जा पाइने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा दम्पती(सावधिक) नामक नयाँ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ । उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम् असिमित रहेको छ । कम्पनीले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्युनतम बीमा अवधि १५ वर्ष, अधिक्तम ३० वर्ष र अधिक्तम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित भएको इन्स्योरेन्सले जनाएको छ । कम्पनीको प्रबिधिक तथा व्यवस्थापन समुह र जीवन बीमा व्यवसाय सम्बन्धमा विशेष योग्यता प्राप्त दक्ष बीमाङ्कीको समुहबाट विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना बजारमा ल्याएको इन्स्योरेन्सले जनाएको छ । बीमाङ्क रकम भुक्तानी दिने अवस्था बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जीवीत रहेमा बीमाङ्क र पुरा अवधिको बोनस एक मुष्ट प्रदान गरिने छ । बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बीमीत दम्पती मध्य कुनै एकको मृत्यु भएमा बीमाङ्क र रकम भुक्तानी गरिने छ । त्यस्तै, बीमा लेख चालु रहेको अवस्थामा बीमीत दम्पती मध्य बाँकी जीवीत बीमितको मृत्यु भएमा बीमाङ्क समानुपातिक आर्जित बोनस एक मुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ । सामान्य शर्त तथा सुविधा यस सानिमा दम्पती जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गरी न्यूनतम २ वर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ । त्यस्तो बीमा लेखबाट बीमितले चाहेमा सम्पूर्ण मूल्य प्राप्त गर्न सकिने छ । बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले सम्पुर्ण मुल्य निधारण गरिने छ र बीमा लेखको धितोमा सम्पुर्ण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । ऐक्षिक सुविधा बीमीतले यस बीमा योजनामा थप बीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ(एडीबी) अपाङ्ग र अशक्त(पीटीडी/पीडब्लुडी)सुविधा लिन सक्नेछन् ।
दुई अर्ब खर्चेर नारायणगढ-मुग्लिन खण्डमा १४ वटा पुल बन्दै, १८ महिनाभित्र सक्ने लक्ष्य
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुल विस्थापन गरी नयाँ बनाउने प्रक्रिया शुरु भएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो । सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ । महाशाखा प्रमुख थापाका अनुसार वि.सं. २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको छ । उनका अनुसार चीनको थोङजी विश्वविद्यालयका प्राध्यापक डा सेनलाई पुल नक्साङ्कनको अन्तिम रुप दिनका लागि छलफल गर्न बोलाइएको छ । उक्त पुलहरु निर्माणका लागि माघको तेस्रो साताभित्र बोलपत्र आह्वान हुने गरी काम अगाडि बढाइएको छ । ११ मिटर फराकिलो दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना रहेको आयोजनाले बताएको छ । पुल बनेका छेउमा अग्ला पहाड भएकाले अर्को ठाउँबाट पुल बनाउन सहज भने नभएको थापाको भनाई छ । हाल सोही सडक खण्डमा चार ठाउँमा नयाँ पुल बन्दै गरेका छन् । सडक फराकिलो भइसक्दा पनि पुल साँघुरो भएपछि यातायात आवागमनमा समस्या हुँदै आएको छ । सो सडक विस्तार गरी नौदेखि ११ मिटर फराकिलो बनाइएको छ । नयाँ बन्ने र मर्मत गरिने सबै सडककै चौडाइअनुसार हुनेछन् । ती पुल नयाँ बनाउन र मर्मतका लागि दुई अर्ब लाग्ने अनुमान गर्दै विश्व बैंकले अर्थ मन्त्रालयसँग बुधबार अन्य योजनामा लगानी गर्ने सम्झौता गरिसकेको छ । तर नयाँ पुलभन्दा पुल भएकै ठाउँमा विस्तार गर्नुपर्ने देखिएकाले रु एक अर्ब हाराहारीमै काम सम्पन्न हुनसक्ने अनुमान गरिएको छ । १८ महीनामा पुल सम्पन्न हुने गरी काम गर्ने तयारी गरिएको सडक विभागको लक्ष्य छ । रासस
दोलखाको सिङ्गटीखोला जलविद्युत आयोजनाको निर्माणकार्य ८० प्रतिशत सम्पन्न
काठमाडौं । दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । २५ मेघावाटको उक्त आयोजना असोज २० मा पहिलो सुरुङ ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिएका छन् । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुर्याएको हो । अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले बताएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ । विद्युतगृहको काम पनि करीब ६० प्रतिशत सम्पन्न भएको आयोजनाको जनाएको छ। चैत मसान्तभित्र विद्युत्गृहको काम पनि सकिने अयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको यस अयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । कुनै कारणवश निर्माणमा ढिलाइ भए ढिलोमा २०७६ असारसम्ममा विद्युत् उत्पादन शुरु हुने आयोजनाले जानकारी दिएको छ । चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजना निर्माण शुरु गर्दा १६ मेगावाट क्षमता रहेपनि पछि क्षमता वृद्धि गरी २५ मेगावाट पुर्याइएको आयोजनाले बताएको छ । रासस
पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको बढ्दो आकर्षण
काठमाडौं । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको प्राविधिक शिक्षामा आकर्षण बढ्दै गएको छ । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय अध्यापनका लागि उक्त शिक्षालयले स्थापनाको पहिलो वर्ष वन विज्ञानबाट पढाइ शुरु गरेको हो । सातवटै प्रदेशमा एक/एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले (आर्थिक वर्ष २०७३/०७४) को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा स्थापना गरिएकोे उक्त शिक्षालयमा आगामी शैक्षिकसत्रदेखि सबै विषय पढाइ हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटीए) कक्षा शुरु गरेको छ । सीटीईभीटीको मान्यता प्राप्त उक्त विद्यालयमा प्राविधिक एसएलसीतर्फ १८ महिने अध्यापनको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् । छैसठ्ठी जनाको आवेदन परेकामा प्रवेश परीक्षा लिइ कोटाअनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताएका छन् । २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने विद्यालयले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ । ज्योति मावि जालपा र सरस्वती मावि दिक्तेलले यसै वर्षदेखि पठनपाठन शुरु गरेको हो । खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालीममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अवस्थामा प्राविधिक शिक्षालयको लहर चलेको पञ्च मावि दिक्तेलका प्रधानाध्यापक भवकृष्ण ढकालले बताएका छन् । पञ्च माविले आर्थिक वर्ष २०६९/०७० देखि मावि तहमा बाली विज्ञान विषयअध्यपन गराउँदै आएको छ । यस्तै साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको जनाएको छ । रासस
मालिकाले अाइतबारसम्म ६० हजार लाइसेन्स विभागलार्इ दिने, अनलाइन फाराम मंसिर ७ देखि खुल्ने
काठमाडौं । ६ लाख स्मार्ट लाइसेन्स्को जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले अाइतबारसम्म ६० हजार कार्ड यातायात व्यवस्था विभागलाई उपलब्ध गराउने भएको छ । कार्पोरेटले हालसम्म छापिएको कार्ड मंसिर २ गते विभागलाई दिने तयारी गरेको हो । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्ने दाबी गरे पनि आवश्यक डाटा विभागले उपलब्ध गराउन नसकेको भन्दै थोरै संख्यामा मात्र कार्ड छपाई गरिरहेको छ । प्राविधिक समस्या हल भएपछि लाइसेन्स छपाइको संख्या बढ्ने इन्कार्पोरेटका प्रबन्ध निर्देशक सुरेद्र ढकालले बताए । ‘हामी छापिएको कार्ड विभागलाई उपलब्ध गराउने तयारी गरिरहेका छौं, आइतबारसम्म ६० हजार कार्ड विभागलाई दिन्छौं प्रबन्ध निर्देशक ढकालले भने प्रविधिक समस्या समाधान भए द्रुत गतिमा कार्ड छाप्छौं ।’ विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई लाइसेन्स छाप्ने जिम्मेवारी दिएको थियाे । एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए। मालिकाले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी विभागसँग सम्झौता गरेकाे थियाे । कार्ड छापेबापत कम्पनीले प्रतिकार्ड १५ रुपैंयाका दरले ९० लाख रुपैंया प्राप्त गर्नेछ । लाइसेन्स छापिने कार्ड, बिजुली लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने सम्झाैता भएकाे छ । कार्ड विभागको मीनभवन स्थित कार्यालयमा इन्कार्पोरेटले कार्ड छापिरहेको छ । लाइसेन्स परीक्षा फाराम मंसिर ७ गतेदेखि सुरु हने विभागले मंसिर ७ गतेबाट लाइसेन्स परीक्षा सुचारु गर्ने भएको छ । दशैं, तिहार र छठ पर्व बिदाको लागि बन्द गरिएको अनलाइन फाराम पुन: सुचारु गर्न लागिएको हो । विभागका अनुसार ७ गते बिहान १० बजेबाट अनलाइनमार्फत फाराम भर्न सकिनेछ ।
पाल्पाको स्थानीय विकासलाई मध्यनजर गर्दै, जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान
काठमाडौं । जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे स्काभेटर प्रदान गरेको छ । सहकारीका सदस्य दमनसिं पाटा र व्यवस्थापक हेमबहादुर खाम्चालाई बिहीबार मित्यालमा आयोजित कार्यक्रम टोहोकु कुरोसावा केन्सेत्सु कम्पनीका सिओ साटो र हाशिमोटो केन्की कम्पनीका सिओ हासिमोटोले स्काभेटरको साँचो हस्तान्तरण गरेका छन् । पाल्पा जिल्लामा २० वर्षभन्दा बढी सेवा गरेका जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा आफ्नो आठ वर्षदेखिको उपहार दिने सोच बल्ल पूरा भएको बताएका छन् । कोबेल्को कम्पनीको विभिन्न उत्पादन नेपालमा प्रयोगमा हुँदै आएपनि यो उपकरण पहिलो पटक आएको कम्पनीले जनाएको छ । रासस
छात्रवृत्तिमा पढेका विद्यार्थीले सरकारले खटाएको ठाउँमा काम नगरे राहदानी खारेज हुने
काठमाडौं। सरकारी छात्रवृत्तिमा स्वदेशी तथा विदेशी शिक्षण संस्थामा पढेर सरकारले खटाएको ठाउँमा सेवा गर्न नमान्ने विद्यार्थीको राहदानी रद्द गरिने भएको छ। शिक्षा मन्त्रालयले सरोकारवालासँगको छलफलमा बनाएको संघीय शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ।मस्यौदाको दफा ३५ मा छात्रवृत्तिमा अध्ययन वा अनुसन्धानका लागि विदेश गएको व्यक्तिले सम्झौताअनुसार सेवा नगरे सरकारले निजको राहदानी रद्द गर्न वा नयाँ राहदानी जारी नगर्न सक्ने उल्लेख छ। यो व्यवस्था चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वनविज्ञान वा तोकिए बमोजिमका अन्य प्राविधिक विषयमा देश भित्रका शिक्षण संस्था तथा सरकारी छात्रवृत्ति र विदेशी शिक्षण संस्था वा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गर्ने सबै विद्यार्थीमा लागू हुने मन्त्रालयले जनाएको छ। मस्यौदालाई अन्तिम रूप दिन अहिले मन्त्रालयमा छलफल भइरहेको छ। मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले सरकारी छात्रवृत्तिमा पढेर राज्यले तोकेको ठाउँमा काम गर्न जान्नँ भन्ने व्यक्तिमाथि कारवाही गर्न यस्तो व्यवस्था गर्न छलफल भइरहेको बताए। ‘विभिन्न कोणबाट छलफल भइरहेको छ।मस्यौदाले अन्तिम रूप दिउन्जेल अन्य व्यवस्था पनि आउन सक्छन्’, उनले भने। शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका अनुसार यी विषयमा स्वदेशी र विदेशी विश्वविद्यालयमा बर्सेनि ५ सय हाराहारीमा विद्यार्थी छात्रवृत्तिमा पढ्न छानिन्छन्। पढ्न जानुअघि विद्यार्थीले छात्रवृत्ति अन्तर्गत अध्ययनरत वा अनुसन्धान पूरा गरेपछि सरकारले तोकेका ठाउँमा ५ वर्ष काम गर्न मञ्जुर गरी करार गर्नु पर्नेछ। अध्ययन वा अनुसन्धान सकिएको ३ महिनाभित्र मन्त्रालय वा सम्बन्धित निकायमा प्रतिवेदन दिनु पर्ने मस्यौदामा उल्लेख छ। मस्यौदामा सरकारी छात्रवृत्तिमा अध्ययन गर्नेले सरकारबाट खटाइने ठाउँमा सेवा नगरे पढाइमा लागेको खर्च बराबर रकम जरिवाना गर्ने उल्लेख छ। यो व्यवस्था यसअघि छात्रवृत्तिसम्बन्धी ऐनमा भए पनि प्रभावकारी कार्यान्वयन गरिएको थिएन।
दार्चुलाको धार्चुला नगरपालिकामा स्थानीय निर्वाचन हुँदै, खलङ्गा झोलुङगे पुल ४८ घन्टासम्म बन्द
काठमाडौं । भारतको पिथौेरागढमा महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द गरिने भएको छ । नेपाल भारत जोड्ने उक्त पुल धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी दिएका छन् । नोभेम्बर १८ (मङ्सिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म पिथौरागढमा स्थानीय निकायको निर्वाचन हुने भएको छ । सुरक्षाका कारण ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताएका छन् । निर्वाचनलाई लक्षित गरी बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म पुल बन्द हुने भएको छ । रासस