विकासन्युज

अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन, सबै मापदण्ड पूरा गर्नेमा सुष्मा मेमोरियल र बिएण्डबी मात्रै

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो । वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, सङ्क्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्र त्यस्ता सबै मापदण्ड पूरा गरेको पाइएको विभागका उपमहानिर्देशक सफला श्रेष्ठले जानकारी दिए । “अनुगमन गरिएका अस्पतालमध्ये सुष्मा मेमोरियल र बिएण्डबी अस्पतालले मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको देखियो”, उनले भने । नरदेवीस्थित आयुर्वेद चिकित्सालयले त अस्पतालबाट निस्कने सङ्क्रमण फोहर नछुट्याइ सिधैँ नगरपालिकाको फोहरमा फाल्ने गरेको अनुगमनमा गएका वातावरण निरीक्षकले जानकारी दिए । टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने शहीद मेमेरियल अस्पताल, विनायक, बिपी स्मृति, ग्रिन सिटी, नेपाल आँखा अस्पताल, नर्भिक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, मनमोहन मेमेरियल सामुदायिक (ठमेल), काठमाडौं भ्याली, ओम, नोबेल, कान्तिपुर, एभरेष्ट, सशस्त्र प्रहरी बल अस्पताल, किष्ट मेडिकल कलेज, सुमेरु अस्पताल व्यवस्थापन पक्षसँग बयान लिएको उपमहानिर्देशक श्रेष्ठले बताए । अनुगमनका क्रममा केही सुधारका लागि मनमोहन मेमेरियल (स्वयम्भू), गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौं मोडेल, वीरेन्द्र सैनिक, नेपाल मेडिकल कलेज (जोरपाटी), अर्थोपेडिक अस्पताल, मेडिकेयर, हेल्पिङ हेन्ड्सलगायतलाई सुधारका लागि सुझाव दिइएको थियो । विभागले मापदण्ड पालना नगरी वातावरण प्रदूषण गर्ने अस्पताललाई शुरुमा सुझाव दिई त्यसपछि सुधारका लागि प्रतिबद्धता दिलाउने गरेको छ । त्यसको पालना गरे/नगरेको पुनः अनुगमन गरी सुधार नगर्नेलाई कारवाही गर्न मन्त्रालयलाई सिफारिश गर्ने गरेको विभागले जनाएको छ । रासस

एन्टिबायोटिक प्रयोग गर्दा के-के कुरामा ध्यान दिने ? मात्रा पूरा नगरी औषधी बिचमै नछोडौं

काठमाडौं। ग्रीक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ। कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने संक्रमण र एन्टीवायोटिक अनुसार फरक फरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरुको सल्लाह अनुसार मात्र एन्टीवायोटिकको प्रयोग गर्नुपर्दछ । के-के कुरामा ध्यान दिने १. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना विरामी स्वयंले एन्टीवायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना एन्टीवायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिने मात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्नसक्छ । २. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुशी एन्टीवायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असर पर्नसक्छ तथा अंगभंग भएको वा सुस्त मनस्थिति भएको वच्चा जन्मन सक्दछ । ३. एन्टिवायोटिकको पूरा मात्र नखानाले व्याक्टेरियाले एन्टीवायोटिक विरुद्धमा लड्ने क्षमता ९प्रतिरोध० को विकास गर्द र अर्को पटक सो एन्टीवायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुनसक्छ । ४. प्रतिरोध विकास गरेको व्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टीवायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुनसक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टीवायोटिकको प्रयोग गरौं, गराऔं । ५. नियम र अवधि नपुर्याएर एन्टीवायोटिक सेवन गरेमा रोगका लक्षणहरु नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुनसक्छ र अरुलाई उक्त रोगृ सर्न सक्दछ जसले गर्दा उनीहरुमा पनि त्यो समसया देखापर्दछ । ६. भाइरसबाट हुने रुघाखोकी लगायत अन्य साधारण रोगमा एन्टवायोटिकले असर गर्दैन । ७. एन्टीवायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रुपमा प्रयोग गरौं । औषधिको दुरुपयोग नगरौं १. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं । २. निन्द्रा लाग्ने तथा मनोद्वीपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं । ३. लागु तथा मनोद्वीपक औषधिको लगत नराखी विक्री वितरण गर्नु गैरकानूनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं । ४. औषधि रहरले होइन आवश्यकता अनुसार मात्र प्रयोग गरौं । ५. जीवन अमुल्य छ, दुव्यर्सनी वनी यसलाई खेर नफालौं । दुर्व्यसन मुक्त समाज निर्माण गरौं । ६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरुले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरुलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं । ८. औषधिको प्रयोग गर्दा विल लिन नभुलौं । बिल दिँदा औषधि व्यवसायीले चनाखो भई औषधि विक्री वितरण बारे पुनm हेर्ने भएकाले गलत औषधि पर्नबाट बचिन्छ, कानूनसम्मत किसिमले दर्ता भएको औषधि मात्र प्राप्त हुन्छ । औषधिको उचित मूल्यबारे आश्वस्त हुन सकिन्छ, म्याद नाघेको औषधि पर्ने सम्भावना कम हुन्छ र गलत औषधि परेको अवस्थामा भूलसुधार गर्न सक्ने अवस्था रहन्छ । एजेन्सीको सहयोगमा

आइएमईको ‘दशैंमाबिस लाख’ योजना अन्तर्गत मल्लले जिते एक लाख रुपैयाँ

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमाबिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । उक्त योजनाको विजेतामा सफ्टवेयर पद्धतीमा आधारित ‘लक्की ड्र’ बाट नेत्रबहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन् । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गरेका सेवाग्राही मल्लले उक्त योजना अन्तर्गत एक लाख रुपैयाँ जितेका छन् । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले उपहार स्वरुपको उक्त रकमको चेक मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरेका छन् । यही गत असोज ७ गतेदेखि शुरु भई आगामी मंसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना सेवाग्राहीहरू विजेता घोषित भइसकेका कम्पनीले जनाएको छ । योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

‘सातौं राष्ट्रिय कर दिवस’ शनिबार मनाइँदै , बढी कर तिर्ने १५ करदाता सम्मानित हुँदै

काठमाडौं । सरकारले शनिबार ‘सातौं राष्ट्रिय कर दिवस–२०७५’ मनाउँदै छ । नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ६ बर्ष अघिदेखि प्रत्येक मंसिर १ गते यो दिवस मनाइँदै आएकोमा शनिबार सातौं दिवस मनाउन लागेको हो । उक्त अवसरमा सरकारले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहको आयोजना गरेको छ । उक्त समारोहलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्नेछन् । शनिबार आयोजना हुने कार्यक्रम अघि काठमाडौं र ललितपुर जिल्लाका सबै आन्तरिक राजश्व कार्यालयहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र राष्ट्रिय उद्योग व्यापार संगठन र तीसँग सम्बन्धित वस्तुगत संघ संगठनहरु समेतको सहकार्यमा प्रभातफेरीको आयोजना गरिनेछ । उक्त प्रभातफेरी प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामा परिणत हुने जनाइएको छ । आन्तरिक राजश्व विभागको आयोजना केन्द्रीय तहमा मनाइने उक्त हुने कार्यक्रममा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने १५ जना करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, प्रत्येक आन्तरिक राजश्व कार्यलयबाट १/१ जना उत्कृष्ठ कर्मचारीलाई समेत पुरस्कृत गरिने जनाइएको छ । त्यस्तै कर दिवसको दिनमा देशभर विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिनेछ चने अघिल्लो वर्ष उक्त कार्यक्रममा प्रथम हुनेहरुलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कृत समेत गरिनेछ । उक्त कार्यक्रम आयोजनाका लागि आन्तरिक राजश्व विभागका महानिर्देशकको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सो समिति अन्तर्गत ७ ओटा उपसमिति समेत गठन गरिएको आन्तरिक राजश्व विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

एनआईसी एशिया बैंकले १० प्रतिशत लाभांश दिने, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ को लागि १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव शुक्रबार बसेको बैंकको ३७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई सो लाभांश वितरण गरिने छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा कर्जा सापटीतर्फ ६१ प्रतिशतले वृद्धि गरी १३९ अर्ब तथा निक्षेप तर्फ ५८ प्रतिशतले वृद्धि गरी १६३ अर्ब रुपैयाँ संकलन गरेको छ । साथै, सो अवधिमा बैंकको नाफा १७० प्रतिशतले बढेर ७५ करोड ५३ लाख रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् । बैंकको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, लागत एक अर्ब छ करोड

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिने भएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण हुने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेका छ । अबको पाँच महीनामा निर्माण कार्य सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा ५९ करोड खर्च हुने भएको छ। विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटिआर) जहाज तथा दक्षिणपश्चिमतर्फ दुईवटा वाइड बडी र तीनवटा एटिआर जहाज राख्न सकिने छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उत्तरपूर्वतर्फको रिमोट पार्किङ-वे आगामी फागुनभित्र सम्पन्न गरिनेछ भने दक्षिणपश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढाइने भएको छ । पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा रहेको छ । हाल विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङका लागि नौवटा विमानको क्षमता छ जहाँ तीनवटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ-वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ । विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० वटा विमान पार्किङ गर्न सकिन्छ । रासस

छिमेक लघुवित्तका सीईओ रामचन्द्र जोशीको कार्यकाल थपियो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो । जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो । कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख राजश्व सङ्कलन

काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । सो नाका भएर गत आर्थिक वर्षको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । गत आर्थिक वर्ष भन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीको भनाइ छ । गत आर्थिक वर्षमा सो अवधिमा एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ । रासस