विकासन्युज

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग

काठमाडौं। सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ । प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा शनिबार आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरेका हुन् । पछिल्लो समय नेपालमा सूर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ५० लाखभन्दा माथि रहेको बताइन्छ । सूर्तीजन्य पदार्थकै कारण वर्षेनि २५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने गर्दछ । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन तथा नियमावलीलाई कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग तथा स्वास्थ्य मन्त्रालयको समन्वय आवश्यक रहेको बताए। उनले राजश्व उठाउने बहनामा स्वास्थ्यस्थित खेलवाड गर्न नहुने चर्चा गर्दै सूर्तीजन्य पदार्थको उत्पादनमा नै रोक लगाइनुपर्छ भनेका छन् । पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ऐन तथा नियमावली कार्यान्वयन गर्न अटेर गर्ने उद्योगको दर्ता खारेज गर्न माग गर्दै सूर्तीजन्य पदार्थले सेवन नसर्ने रोग बढाइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। सांसद रामनारायण विडारीले सार्वजानिक पद धारणा गर्ने व्यक्तिले सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने गरी नियमावली संशोधन गर्न माग गर्दै यसका लागि आफूले पहल गर्ने र सूर्तीजन्य पदार्थमा असिमित कर लगाउनुपर्छ भनेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा शुसीलनाथ प्याकु¥यालले नसर्ने रोग रोकथामका लागि सरकारले रु दुई अर्बभन्दा बढी रकम जनतालाई सहयोग गरिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थसम्बन्धी ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन गरिने छ भने। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले ऐन तथा नियमावली कार्यान्वयनको अनुगमन गरिने बताए। आयोजक संस्था एक्सन नेपालका कार्यकारी निर्देशक आनन्द चन्दले सूर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगीका सङ्ख्या बढिरहेको तथ्याङ्क प्रस्तुत गर्दै यसका रोमथाम गर्न सूर्तीजन्य पदार्थ उत्पादनमा रोक लगाउन जोड दिए। कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बराल र मुटरोग विशेषज्ञ डा ओममूर्ती अनिलले सूर्तीजन्य पदार्थ सेवनले मुटु, मिर्गाैला, मधुमेह तथा क्यान्सर रोगको जोखिम उच्च रहेको बताए। स्वास्थ्य मन्त्रालयमा सहसचिवद्वय डा राजेन्द्र पन्त, महेन्द्र श्रेष्ठ र रमेश खरेलले सूर्तीजन्य पदार्थ सेवनका कारण जनस्वास्थ्यमा प्रमुख समस्या देखिँदै गएको उल्लेख गरेका छन्।

सरकारसँग विवाद बढेपछि राष्ट्र बैंक ऐन संशोधनको तयारी, पाँच जनाको मस्यौदा समिति गठन

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकबीच क्षेत्राधिकार विवाद बढ्दै गएको बेला सरकारले ऐन संशोधनको तयारी थालेको छ । २०७३ कात्तिकमा दोस्रो संशोधन भएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को तेस्रो संशोधन गर्न लागिएको हो । ऐन संशोधनको मस्यौदा बनाउन ५ जनाको कार्यदल गठन गरिएको छ । त्यसमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी संयोजक छन् । नियमन विभाग प्रमुख नारायण पौडेल, अर्थमन्त्रालयका सह-सचिव उत्तर कुमार खत्री, कानुन शाखा प्रमुख रेवतीप्रसाद नेपाल सदस्य छन् भने नियमन विभागका निर्देशक बमबहादुर मिश्रलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । ऐनमा संशोधन गर्न खोजिएको विषयमा भने राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच स्वार्थ बाझिएको छ । स्रोतका अर्थमन्त्री युवराज खतिवडा सरकारको नीतिमा असहयोग गर्ने गभर्नरलाई हटाउन सक्ने व्यवस्था कानुनमा नै राख्ने पक्षमा रहेका छन् । सरकारको नीति कार्यन्वयन गर्न गभर्नरले असहयोग गरेको, गभर्नरको कार्यसम्पादन सन्तोषजनक नभएको अवस्थामा छानविन गरी मन्त्रिपरिषद्ले हटाउन सक्ने व्यवस्था राख्न खोजेका छन् । तर राष्ट्र बैंक भने राष्ट्र बैंक ऐन २०५८ को दोस्रो संशोधनसँग राष्ट्र बैंकको स्वायत्तता खोसिएकोमा असन्तुष्टि छ । राष्ट्र बैंकलाई अन्तराष्ट्रिय मुद्रा कोषले पनि साथ दिएको छ । मुद्रा कोषले ‘मुद्रा, बैङ्किङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने’ र ‘सरकारले दिएका निर्देशनको पालना गर्नु राष्ट्र बैंकको कर्तव्य हुनेछ’ भनि ऐनमा लेखिएकोमा असन्तुष्टि जनाउँदै आएको छ । आईएमएफले राष्ट्र बैंक ऐनको दफा १०६ ‘ग’ मा आपत्ति जनाएको र अर्थमन्त्रालयले संशोधनको प्रतिवद्धता जनाएकोले ऐन संशोधन गर्न लागिएको राष्ट्र स्रोतले बतायो । सरकारले ‘मुद्रा, बैङ्किङ्ग र वित्त सम्बन्धमा राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने भनिएको छ । “मुद्रा” भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनु पर्छ र सो शब्दले बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारको मौद्रिक उपकरण समेतलाई जनाउँछ’ भनिएको छ । यसले राष्ट्र बैंकको स्वायत्तता खोसिएको आईएमएफको ठहर छ । साथै, राष्ट्र बैंक ऐन २०७३ सालमा संशोधन भएपनि नयाँ संविधान आएको, नेपाल सरकारको सट्टा संघीय सरकार हुनुपर्ने, प्रदेश सरकार र स्थानीय तहको बारेमा स्पष्ट बनाउनु पर्ने, संघीय संरचना अनुसार राष्ट्र बैंकको संरचना र कार्यक्षेत्रमा केही परिवर्तन आवश्यक भएको, डेपुटी गभर्नरको संख्या थप्नु पर्ने देखिएकोले ऐन संशोधन जरुरी भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

रिटगनले नेपालको सडकमा क्रान्ति ल्याउँदैछ-विवेक दुगड

२३ बर्षदेखि व्यापार व्यवसायमा संलग्न विवेक दुगड यतिबेला एमभी दुगड ग्रुपको उपाध्यक्ष छन् । विगत ३ बर्षदेखि एमभी ग्रुपको अटोमोबाइल सेगमेन्टको नेतृत्व गरिरहेका उनले बजार बिस्तारमा आक्रामक रफ्तार कायम गराईरहेका छन् । दुगड परिवारको पाँचौं पुस्ताका रुपमा व्यससाय अघि बढाईरहेका विवेक आफ्नो ‘रगतमै व्यापार’ भएको बताउँछन् । १४० बर्ष अघि कपडा व्यापारबाट दुगड परिवारले व्यवसायीक यात्रा आरम्भ गरेको थियो र आज त्यसको एउटा महत्वपूर्ण हिस्सा विवेकले सम्हालिरहेका छन् । भारतको कलकत्ता स्थित सेन्ट जेभियर्स कलेजबाट बि.कम अध्ययन गरेर नेपाल फर्किएपछि व्यवसायमा हात हालेका विवेकसँग देशविकासले गरेको विकास बहस । विवेक दुगड, उपाध्यक्ष-एमभी दुगड ग्रुप एमभी दुगड ग्रुपले कुन कुन क्षेत्रमा लगानी गरेको छ ? एमभी दुगड ग्रुपले मुलतः तीन वटा क्षेत्रमा लगानी गरेको छ । एउटा वित्तिय क्षेत्र हो, जसमा सनराइज बैंक, गुराँस लाइफ इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी हो । यी कम्पनीमा हामी मुख्य लगानी कर्ताका रुपमा छौं । हामीले लगानी गरेको दोश्रो क्षेत्र भनेको अटोमोबाइल हो । ४५ बर्ष अघि सुरु गरिएको अटोमोबाइल व्यवसायमा हामी देशमै पायोनियर भैसकेका छौं । हामीले बेच्ने हरेक सेगमेन्टमा टप ३ भित्र पर्छौ । अटोमोबाइल क्षेत्रलाई चाँही मैले नै नेतृत्व गरिरहेको छु । र म गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुँ । एमभी दुगड ग्रुपले लगानी गरेको तेश्रो क्षेत्र भनेको उर्जा हो । यसमा पनि निजी क्षेत्रको सबै भन्दा ठुलो प्रोजेक्ट हामी नै बनाउँदैछौं । लिखु १, लिखु २ र लिखु ८ को काम अहिले अघि बढिरहेको छ । ४५ बर्ष पहिले अटोमोबाइल क्षेत्रमा आउँदाको अवस्था र अहिले तपाईले नेतृत्व गर्दाको अवस्थामा के फरक आएछ ? तपाईका अग्रजहरुको अनुभव कस्तो रहेछ ? मैले ४५ बर्ष पहिले अटोमोबत्राइल क्षेत्रमा हाम्रो ग्रुप प्रवेश गर्दाको अनुभव बुवा र काकाहरुबाट पाएको छु । उहाँहरुको अनुभवले नै म अहिले काम गरिरहेको छु । त्यतिबेला अटोमोबाइल भनेको बिलासीको साधनका रुपमा हेरिन्थ्यो । थोरै मान्छे मात्रै गाडी चढ्ने हैसियतमा थिए । व्यवसायीहरुका लागि पनि कुनै कम्पनीको आधिकारीक बिक्रेता हुनु भनेको समाजमा रवाफ देखाउने वा हामी फलानो कम्पनीको बिक्रेता हौं भन्ने कुरा जस्तो मात्रै थियो । बर्षमा मुस्किलले १०/१२ वटा गाडी बेच्न सकिन्थ्यो । तर पछिल्लो १० बर्षदेखि भने नेपालका व्यापारिक घरानाहरुले अटोमोबाइल क्षेत्रलाई लगानीको प्रमुख क्षेत्रका रुपमा लिँदै आएका छन् । निरन्तर वृद्धि भैरहेको अटोमोबाइलको बजारले नेपाली जनताको प्रगतिको संकेत दिईरहेको छ । यतिबेला हामी ५/१० बर्षको व्यवसायीक योजना बनाएर काम गरिरहेका छौं । आज भन्दा ३ बर्ष पहिले १५ वटा सर्भिस सेन्टर थिए, आज ४० वटा भन्दा बढि सर्भिस सेन्टर खोलिसकेका छौं । आगामी ३ महिना भित्र ४५ वटा पुर्याउँछौं । यसरी शाखा विस्तारको काम पनि योजनावद्ध ढंगले नै गरिएको हो । हामी पछिल्लो तीन बर्षदेखि अटोमोबाइल क्षेत्रको बजारमा आक्रामक ढंगले अघि बढ्ने प्रयासमा छौं । हाम्रा बुवाहरु तीन बर्ष अघि छुट्टिनु भएको हो । परिवार छुट्टिएपछि हामीले वित्तिय क्षेत्र, अटोमोबाइल र उर्जालाई रोजेका हौं । अटो मोबाइलमा चाँही कुन कुन कम्पनीका के के उत्पादन बेचिरहनु भएको छ ? हामीले मोटर साइकलमा रोयल इनफिल्ड बेचिरहेका छौं । यो नेपालका लागि सर्वाधिक रुचाईएको मोटरसाइकल हो । यसले सडक पर्यटनको विकासमा पनि सघाईरहेको छ । अफ रोड टुरिजममा राम्रो भूमिका खेलिरहेको छ । हामीले १९ बर्षदेखि जोन डियर ट्याक्टर बेचिरहेका छौं र यो विश्वकै एक नम्बरमा पर्छ । नेपालको ट्याक्टर बजारमा जोन डियरको बजार हिस्सा तेश्रो नम्बरमा छ । तेश्रो प्रडक्टका रुपमा २७ बर्षदेखि महिन्द्राका कमर्सियल सवारीसाधनहरु बेचिरहेका छौं । लोड किंग त काठमाडौं शहरमा सर्वाधिक गुडिरहेको देख्न सकिन्छ । चार बर्ष पहिलेदेखि महिन्द्राकै स्मल कमर्सियल भेईकल(एससीभी)का रुपमा म्याक्सिमो बेचिरहेका छौं । यसै बर्षमा यो सेगमेन्टमा एक नम्बरको हुनेछौं । यसै बर्ष ट्रक र टिपर बेच्न सुरु गरेका थियौं, त्यसको बजार पनि राम्रो छ । २ बर्ष पहिलेदेखि सार्वजनिक यातायातका साधन पनि बेच्न थालेका छौं । साना बाटाहरुका लागि थ्रि ह्विलर पिआजिओ बेचिरहेका छौं । यसको बजार पनि निकै राम्रो छ । ८ महिनामै दुई नम्बरको बजार हिस्सा ओगट्न सफल भएका छौं । यसमा हामीले बैंकबाट फाइनान्सको सुबिधा पनि दिईरहेकै छौं १५ प्रतिशतसम्मको ब्याजदरमा । महिन्द्राकै एक्साभेटर र ग्रेडर मेसिन पनि बेचिरहेका छौं । यसको बजार पनि राम्रो छ । ब्याक्हो लोडरमा तीन नम्बरमा आईपुगिसकेका छौं । दशैंमा मध्यम साइजको ग्रेडर ल्याएका थियौं १० वटा बेचिसक्यौं । अटोमोबाइलमा नयाँ प्रडक्ट के आउँदैछन् ? यतिबेला भने हामीले नेपाली बजारमा ब्रेक थ्रुका रुपमा रिटगनका नयाँ उत्पादनहरु भित्र्याउँदै छौं । त्यसले नेपालको सडक पूर्वाधारमा क्रान्ति ल्याउँदैछौं । चार महिना पहिले मात्रै रिटगन कम्पनीले हामीलाई नेपालका लागि आधिकारिक बिक्रेताको प्रमाणपत्र दिएको छ । यो विश्वकै एक नम्बरको कम्पनी हो जसले सडक पूर्वाधारका समान उत्पादन गर्छ । ह्याम रोलर त नेपालमा पनि लोकप्रिय बनिसकेको समान हो । अब चाँही हामी ह्याम सहित अन्य तीन उत्पादन ल्याउँदैछौं । ह्यामको बजारलाई थप व्यवस्थित गराउँदै पेभर भित्र्याउँदै छौं । सडक विभागको ठेक्कामा आवेदन दिएका थियौं, ४ वटा छनौटमा परेका छन् । केहि समयभित्रै सडक विभागलाई पेभर हस्तान्तरण गर्दै छौं । यो भोग्ले अन्तर्गतको पेभर्स नेपाल ल्याउन लागेका हौं । हामीले ल्याउनु भन्दा अघि नै सडक विभागलाई टेण्डर मार्फत बेच्न सफल भएका छौं । यसले बिटुमिन, रोडा, ढुंगालाई आफैं पेलेर मेसिनले नै केमिकल कम्पोजिसन मिलाएर सडकमा बिछ्याउँछ । यसमा हिटिंग प्रबिधि हुन्छ, त्यसले कालोपत्रे गर्ने अलकत्रा, रोडा लगायतका पदार्थहरु आफैं पेलेर सेन्सरले आवश्यक मात्रामा सडकमा खन्याईदिन्छ । पेभरले गरेको कालोपत्रे अहिलेको भन्दा धेरै बलियो हुन्छ । यसले दिनभरमा ८ किलोमिटरसम्म कालोपत्रे गर्न सक्छ । टिपरमा अलकत्रा ल्याएर पिच गर्ने जमानाको यसले अन्त्य गर्छ । यसको मूल्य भने २ करोड ६० लाखदेखि ३ करोडसम्म पर्छ । पे ब्याक पिरियड एक बर्ष हो र १५ बर्षसम्म चलाउन सकिन्छ । रिटगनकै कोल्ड बिलिंग टेक्नोलोजी पनि ल्याउँदै छौं । त्यसले कालोपत्रे सडकलाई आवश्यक मात्रामा काट्छ र पुनः प्रयोगका लागि उपयुक्त बनाउँछ । आवश्यक मात्रामा मेसिनले काटिएको कालोपत्रेलाई पुनः प्रयोग गरेर ३५ प्रतिशतसम्म लागत जोगाउन सकिन्छ । अहिले पिच माथी पिच गर्ने चलन छ । पिच काटेर पुनः पिचमै त्यहि समान उपयोग गर्न सकिन्छ र त्यसले सडकहरु घर भन्दा अग्लो हुने समस्या पनि समाधान गर्छ । ब्लेडले कालोपत्रे काट्छ र कालोपत्रे गर्नु अघि सडक प्रयोग गर्न पनि सकिन्छ । यो प्रबिधिले सडकमा हुने उबड खाबड(होचो अग्लो)को समस्या पनि समाधान गर्छ । यसको मूल्य करिब ४ करोड पर्छ । चौथो उत्पादनका रुपमा हामीले रिटगनकै क्लिम्यान ल्याउन लागेका हौं । यसलाई मोबाइल क्रसर भन्ने गरिन्छ । यसमा गाडीको माथी नै क्रसर लागेको हुन्छ । यसले सडक खन्दा निस्किएका ढुंगालाई जहाँको त्यहि क्रसर गरेर गिट्टी बनाउन सकिन्छ । अहिलेसम्म सडक खन्दा निस्किएका ढुंगालाई क्रसर उद्योगसम्म लगेर गीट्टी बनाएर ल्याउनुपर्ने थियो । तर यसले सडक खन्दा निस्किएका ढुंगालाई त्यहिँ गिट्टी बनाइदिन्छ । क्लिम्यानलाई गाडीमा राखेर सहजै ठाउँ सार्न सकिन्छ । त्यसकारण यसलाई मोबाइल क्रसर भनिएको हो । यो विश्वमा अत्याधिक रुचाईएको प्रबिधि हो । यी समानहरु भित्रिएपछि नेपालको सडक पूर्वाधार निर्माणमा ठूलै क्रान्ति हुनेछ । यी प्रडक्टहरु बेच्नका लागि सम्भावित बजार अर्थात निर्माण व्यवसायीसँग कत्तिको छलफल गर्नु भएको छ ? प्रतिक्रिया कस्तो पाउनुभयो ? हामीले सुरुमै सडक विभागलाई ४ वटा पेभर बेच्न सफल भएका छौं । हामीले क वर्गका निर्माण व्यवसायीहरुलाई पहिलो चरणमा लक्षित वर्गका रुपमा हेरेका छौं । उनीहरुसँग नियमित छलफल गरिरहेका छौं । राम्रो प्रतिक्रिया पाईरहेका छौं । २४ घण्टा भित्र सर्भिस दिनेगरि ४० वटा सेन्टर विकास गरिसकेका छौं । अझै ४ वटा थप्ने तयारी गरिरहेका छौं । राम्रो बजार पाउने पूर्वानुमान गरेका छौं । ह्याम बाहेकका प्रबिधिहरु अलि जटिल खालका देखिए, जनशक्ति कसरी व्यवस्थापन गर्नु हुन्छ ? हामीले अहिलेदेखि नै भारतमा लगेर इञ्जिनियरहरुलाई तालिम दिईरहेका छौं । चालक, सहचालकहरुको तालिम पनि उतै लगेर गर्छाै । गाडी चलाउनेहरुलाई भारत पठाएर निःशुल्क तालिम दिन्छौं । एक डेढ महिनामै तालिम दिएर सक्षम बनाउँछौं । इञ्जिनियरहरुको तालिम त सम्पन्न गरिसकेका छौं । यी उत्पादनहरु कहिलेसम्म नेपाली बजारमा आईपुग्छन् ? ह्यामका उत्पादनहरु अहिले पनि बजारमा उपलब्ध छन् । सडक विभागलाई केहि महिना भित्रै ४ वटा पेभर उपलब्ध गराउँछौं । कोल्ड रोलिङ र अन्तिममा मोबाइल क्रसर ल्याउँछौं । आगामी ६ महिनाभित्र चार वटै उत्पादन नेपाल भित्र्याईसक्छौं ।

पोखरामा ११ हजार तिरेर बेलुनमा उड्न पाइने, ८ जनासम्म अट्ने दुर्इअाेटा बेलुन ल्याइयाे

पोखरा ।  पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो । को रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका हुन् । बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट ल्याएको उक्त्त बेलुनलार्इ शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको उद्घाटन गरेका थिए ।  उक्त बेलुनमा ६ देखि ८ जनासम्म चढ्न मिल्नेछ । नेपालीका लागि प्रतिव्यक्ति ११ हजार रुपैंया शुल्क तेकिएको उक्त सेवाका लागि विदेशी नागरिकले भने १६० डलर तिर्नुपर्ने बेलुन प्रालिका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । उनका अनुसार प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री गुरुङले पर्यटनविना समृद्धि प्राप्त नहुने उल्लेख गरे । प्रदेश सरकारले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको उनको भनार्इ थियो ।

सुचिकृत २७ वाणिज्य बैंककाे नाफा ११ अर्ब नजिक, प्रतिस्पर्धामा अघि सर्दै ‘समस्याग्रस्त’ बैंकहरु

काठमाडौं । सर्वसाधारण जनतासमेतको लगानी रहेका २७ ओटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्रैमास सकिएको १५ दिनभित्र सार्वजनिक रुपमा सूचना जारी गर्नुपर्ने भए पनि नेपाल वित्तीय रिपोर्टिङ प्रणाली अनुसार वित्तीय विवरण बनाउन निर्देशन दिएसँगै अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणलाई समेत त्यही ढाँचामा लैजानुपर्ने भएपछि बैंकहरुलाई १५ दिनको थप समय दिइएको थियो । उक्त समयभित्र सबैले बैंकहरुले सोही ढाँचाअजनसार वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको उक्त अपरिष्कृत वित्तीय विवरणका आधारमा २७ ओटा बैंकहरुले कुल तीन महिनामा १० अर्ब ९० करोड २१ लाख ४१ हजार रुपैंया नाफा गरेका छन् । यो नाफा नियामकीय समायोजनपछिको स्वतन्त्र नाफा हो । अघिल्लो आर्थिक वर्षमा सोही प्रकृतिको नाफा ८ अर्ब १६ करोड ६२ लाख ६० हजार भएकोमा यो त्रैमासमा उक्त आकारमा २९.५४ प्रतिशतको सुधार गरेका हुन् । नाफाका आधारमा यो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सबैभन्दा माथि रहेको छ । उसले १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैंयाको फ्रि प्रोफिट कायम गर्दा यस्तो प्रकृतिको नाफा अर्ब कटाउने एकमात्र बैंक बनेको छ । दोस्रोमा रहेको नेपाल बैंक र तेस्रोमा रहेको नबिल बैंकले पनि खुद नाफा एक अर्ब कटाए पनि स्वतन्त्र नाफा अर्ब पुर्याउन भने उनीहरु चुकेका छन् । रिपाेर्टअनुसार, राष्ट्र बैंककाे मर्जर प्रक्रियाअघि समस्यामा रहेका वा त्यस्ता संस्थाहरुलार्इ गाभेर अघि बढेका बैंकहरुले याे त्रैमासदेखि तीव्र सुधार गर्न थालेका छन् । प्रभु बैंक, जनता बैंक, कुमारी बैंक लगायतकाे नाफामा ठुलाे सुधार भएका छन् । उक्त अवधिमा भारतीय बैंकहरुको संयुक्त पुँजीमा सञ्चालित २ बैंकहरु एभरेष्ट बैंक र एसबीआई बैंकको नाफा घट्दा अन्य २५ बैंकहरुको नाफा वृद्धि भएको छ । नेपाल बैंकले सबैभन्दा कम अर्थात् २.८१ प्रतिशत नाफा बढाउँदा जनता बैंकले सबैभन्दा बढी २९४.९५ प्रतिशत नाफा वृद्धि गरेको देखिएको छ । उक्त अवधिमा जनता बैंकसहित कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले दोब्बर भन्दा बढी नाफा गरेका छन् । एक अंकमा नाफा वृद्धि गर्ने बैंकमा नेपाल बैंक सहित नबिल बैंक, एनएमबी बैंक, कृषि बिकास बैंक, सिटिजन्स बैंक र सिभिल बैंक छन् । वाणिज्य बैंकको रिपोर्टमा देखिएका केही उल्लेखनीय तथ्यहरु निक्षेपभन्दा कर्जा धेरै : सिभिल बैंक सामान्यतया बैंक तथा वित्तीय संस्थाले १ रुपैंया निक्षेप लिँदा ८० पैसा मात्र कर्जा प्रवाह गनुपर्छ भन्ने मान्यता राखिन्छ । यद्यपि बैंकहरुको चुक्ता पुँजी र रिजर्भमा रहेको रकमको हकमा भने त्यस्तो व्यवस्था हुँदैन । यो आर्थिक वर्षमा सिभिल बैंकले ३९ अर्ब रुपैंया निक्षेप संकलन गरी ४३ अर्ब कर्जा प्रवाह गरेको रिपोर्ट सार्वजनिक गरेको छ । पुँजी धेरै तर व्यवसायको आकार सानो भएकोले यस्तो देखिन गएको हो । घट्दो निक्षेप : नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक पहिलो त्रैमासमा अघिल्लो त्रैमासको भन्दा निक्षेप घटेको अवस्था नेपाल बैंकको रिपोर्टमा देखिएको छ । असार मसान्तमा ९९ अर्ब ८३ करोड रुपैंया निक्षेप रहेको बैंकको तीन महिनाको अवधिमा ६ अर्ब ४० करोड रुपैंयाले निक्षेप घटेको देखिएको हो । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि ६७ अर्बबाट घटेर ६५ अर्बमा झरेको छ । बैंकमा निक्षेपलाई व्यवसाय विस्तारको महत्वपूर्ण सूचक मानिन्छ । यसले दीर्घकालमा नाफामा समेत असर गर्नसक्छ । नाफा घटाउँदै ‘भारतीय बैंक’ भारतीय बैंकहरुको संयुक्त लगानीमा स्थापित दुई प्रतिष्ठित बैंकहरुले यो त्रैमासमा नाफा घटाएका छन् । एभरेष्ट बैंक ४ करोड र एसबीआई बैंकले साढे ४ करोड नाफा घटाएका हुन् । देशमा वामपन्थी सरकार रहेको अवस्थामा भारतीय व्यवसायीहरुले व्यवसायमा सहजता महशुस नगरिरहेको अवस्थामा भारतीय व्यापारीहरुमै बढी निर्भर रहेका दुई बैंकहरुको नाफा घट्नुलाई महत्वपूर्ण मानिएको छ । नाफा दोब्बर, ईपीएस तेब्बर : एनआईसी एशिया बैंक अघिल्लो आर्थिक वर्षको तीन महिनाको २७ करोड ८६ लाख नाफालाई दोब्बर बढीले ५८ करोड २२ लाख स्वतन्त्र नाफा गरेको एनआईसी एशिया बैंकले प्रतिशेयर आम्दानी भने करिब तेब्बर रहेको देखाएको छ । बैंकले ईपीएस १३ रुपैंया ८८ पैसाबाट बढाएर ३६ रुपैंया ७८ पैसा खुद नाफामा गणना गरिने ईपीएस खुद नाफा बढेसँगै बढेको हो, बैंकको चुक्ता पुँजी भने अघिल्लो वर्ष बराबर नै छ । तीन महिनामै अर्बपति : नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक खुद नाफाको आधारमा इन्भेष्टमेन्ट बैंक र नबिल बैंक तीन महिनामै ‘अर्बपति’ बनेका छन् । इन्भेष्टमेन्ट बैंकले स्वतन्त्र नाफा नै अर्ब कटाए पनि नबिल बैंकले भने खुद नाफा मात्र अर्ब कटाएको छ । नबिल बैंकको स्वतन्त्र नाफा भने ९३ करोड मात्र छ ।

भारतले चिनीमा अनुदान दिँदा अस्ट्रेलियाको आपत्ति, विश्व व्यापार संगठनमा मुद्दा हालिने

सिड्नी । अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजूरी दिने शुक्रबार घोषणा गरेको छ । विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पुर्याएको अस्ट्रेलियाको भनाइ छ । विश्वमै भारत दोस्रो सबैभन्दा बढी चिनी उत्पादन गर्ने राष्ट्र हो । भारतले आफ्ना उखु कृषकहरुलाई अनुदान दिने गरेको छ । गत वर्ष भारतमा सबैभन्दा धेरै उखु उत्पादन भएको थियो । “हामी हाम्रो चिनी उद्योगको अधिकारका पक्षमा छौं र कृषकको सर्वोत्तम हितका लागि कार्य गर्नेगरी डब्लुटिओका नियमहरु सबैले पालना गर्नु पर्दछ,” व्यापार मन्त्री सिमोन बर्मिङ्घामले बताए । अस्ट्रेलिया विश्वमै चिनी उत्पादन गर्ने तेस्रो ठूलो राष्ट्र हो । व्यापार मन्त्री सिमोनले उखुको अनुदानका बारेमा भारतका वरिष्ट अधिकारीहरुसँग चासो राखेको तर भारतले अस्ट्रेलियाको चासोमाथि कुनै ध्यान नदिएको बताए । अस्ट्रेलियाले भारत र विश्व व्यापार संगठनसँग आबद्ध सदस्य राष्ट्रहरुसँग औपचारिक छलफल गर्ने योजना बनाएको छ । भारतले उपलब्ध गराएको अनुदानका कारण विश्वमा चिनीको मूल्यमा कमी आएको अस्ट्रेलियाको आरोप छ । डब्लुटिओले गर्ने कारबाहीलाई अरु राष्ट्रले पनि समर्थन गर्ने मन्त्री सिमोनले बताएका छन् । अस्ट्रेलियाको २ अर्ब अस्ट्रेलियाली डलरको चिनी उद्योग छ । यस व्यवसायमा चार हजार उखु कृषक र २४ वटा चिनी मिल छन् । अस्ट्रेलियाली उत्पादकहरुका अनुसार भारतले उपलब्ध गराएको अनुदानका कारण आफ्नो उद्योगले घाटा व्यहोरेका छन् ।

सौगात मन्टेश्वरीद्धारा ११५ कुमारीको पुजा, नेपारी संस्कार सबैले मनाए

काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरीले शनिबार कुमारी पुजा कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ११५ जना कुमारीको पुजा गरिएको छ । कुमारी पुजा नेवारी समूदायमा चलिआएको संस्कार भए पनि स्कूलले आयोजना गरेको पुजामा सबै समूदाय सहभागि हुने गरेको, काठमाडौंभन्दा बाहिरका मानिसहरु पनि सहभागी हुने गरको सौगात मन्टेश्वरीकी प्रिन्सिपल राज्यलक्ष्मी बैदारले बताइन् । स्कूलले यस्तो कार्यक्रम हरेक वर्ष गर्ने गरेको र यस पटकको कार्यक्रम चौथो भएको उनले जानकारी दिइन् । जयप्रकाश मल्लको पालामा शुरु भएको कुमारी पुजाको परम्परालाई जोगाउने, नारीहरुको शुस्वास्थ्यको कामना गर्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कुमारीको आत्मामा तलेजु भवानीको बास हुन्छ, कुमारीलाई पुँजा गर्दा धेरै लाभ हुन्छ भन्ने विश्वास भएको उनले बताइन् । सानासाना बाबुनानीलाई कुमारी पुजा सिकाउन, परम्परा र संस्कार सिकाउन, अभिभावक र अभिभावकका आफन्तहरुसँग स्कूलको सम्बन्ध सुमधुर बनाउन यस्तो कार्यक्रम फलदायी भएको उनले बताइन् । कुमारी पुजामा स्थानीय महिलाहरुले नानीहरुलाई टिका लगाउने, माला लगाउने, पैसा दिने, कापी, कलम, मिठाई, वितरण गर्ने गरेका थिए । स्कूलले मैत्रीनगरस्थित इसानेश्वर मन्दीर परिसरमा कुमारी पुजा आयोजना गरेको हो । उक्त कार्यक्रमलाई कीर्तिपुर इनर व्हिल क्लब र स्थानीय समूदायले सहयोग गरेका छन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय समूदायको बाक्लो उपस्थिति थियो । सम्बन्धित समाचार अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर

कर्मचारी संचय काेष र नागरिक लगानी काेषकाे ३३ अर्ब रूपैयाँ लगानी जाेखिममा

काठमाडौं । कर्मचारी संचय काेष र नागरिक लगानी काेषले नेपाल वायुसेवा निगमलार्इ प्रवाह गरेकाे ३३ अर्ब रूपैयाँ कर्जा जाेखिममा पुगेकाे छ । निगमकाे व्यवस्थापनमा सरकारले गरेकाे हस्तक्षेप, कमजाेर बन्दै गएकाे व्यवस्थापन, घट्दाे बजार हिस्साले दुर्इ काेषले गरेकाे कर्जा लगानी जाेखिममा परेकाे छ । निगमले कर्मचारी संचय काेषसँग करिब २१ अर्ब रूपैयाँ ऋण लिएकाे छ । पछिल्लाे समय एयर बस किन्न निगमले १२ अर्ब ऋण लिएकाे र त्यसअघिकाे पुरानाे कर्जा करिव ९ अर्ब रूपैयाँ भएकाे काेषका प्रशासक तुलसी गाैतमले जानकारी  दिए । त्यस्तै नागरिक लगानी काेषबाट निगमले १२ अर्ब ऋण लिएकाे छ । सम्झाैता अनुसार सबै रकम निगमले लगिसकेकाे काेषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए । गत साता निगमले स्वेश्तपत्र जारी गर्दै अार्थिक संकट देखाएपछि कर्जा लगानी गर्ने दुबै संस्था चिन्तित भएका छन् । ‘निगमले सरकारसँग सहयाेग लिनुपर्छ, सरकारले पनि निगमलार्इ युराेप, अमेरिकासम्म सेवा विस्तार गर्न सहयाेग गर्नुपर्छ’ काेषका प्रशाशक गाैतमले भने-‘निगमलार्इ कसरी बलियाे बनाउने भनेर सबैले सहयाेग गर्नुपर्छ । निगम ढुब्याे भने काेषकाे ऋण मात्र डुब्दैन, नेपालकाे पर्यटन उद्याेग र समग्र अर्थतन्त्रलार्इ नै धक्का लाग्छ ।’ गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ ।  नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । निगमले जारी गरेको स्वेतपत्रअनुसार अघिल्लो वर्षको तुलनामा निगमको विदेशी बजार हिस्सा १.८ प्रतिशतले घटेको छ भने आन्तरिकतर्फ १.३ प्रतिशतले बढेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष निगमको आन्तरिक बजार कमजोर थियो । निगमले हालै भित्र्याएको वाइड बडी ए३३० जहाजले नयाँ गन्तव्य पाउन सकेको छैन । पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । वाइड बडी जहाजले जापान, कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य भइरहेको बताइएको छ । व्यवसायिक अवस्थालाई सुधार्न उक्त जहाजलाई लामो गन्तव्यमा यथासक्य चाँडो सञ्चालन गर्नुपर्ने स्वेतपत्रमा औँल्याइएको छ । निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ । निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बैंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ । निगमले आन्तरिक बजारतर्फ हाल आफ्नो आन्तरिक बजारलाई २५ वटा सेक्टरमा विस्तार गरेको छ । ट्रङक सेक्टरमा भद्रपुर, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, सिमरा, सुर्खेत र पोखरा उडान गर्छ भने स्टल सेक्टरतर्फ बागलुङ, बाजुरा, भोजपुर चौरजहारी, डोल्पा, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला, मेघौली, मुगु, फाप्लु, रुकुम, सिमिकोट, ताप्लेजुङ र थामखर्कमा सेवा विस्तार गरेको छ । गत आव भन्दा चालू आवको साउन र भदौमा ‘सेट फ्याक्टर’ घटेको र यसलाई तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाई अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । आन्तरिकतर्फ सम्पूर्ण सेक्टर गत आवमा ८३ प्रतिशत रहेकोमा चालू आवको साउनमा ६६ प्रतिशतमा आएको तथा भदौमा ७४ प्रतिशत ‘सेट फ्याक्टर’ रहेको निगमले जनाएको छ । निगमको अन्तर्राष्ट्रिय उडानतर्फ बजार अंश आव २०७०/७१ मा ५.६, आव २०७१/७२ मा ७.३५, २०७३/७४ मा ४ र २०७४/७५ मा ९.७५ प्रतिशत रहेको छ । निगमले दुई थान एयरवस ए ३२० थपे पश्चात निगमको बजार अंशमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४/७५ मा अन्तर्राष्ट्रियतर्फ निगमको बजार अंश केही तल झरेको देखिएको छ । आन्तरिक उडानतर्फ निगमको बजार अंश आव २०७४/७५ मा ३.३ बाट ४.६ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रियतर्फ कार्गोमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४/७५ मा एक हजार २३१ टन कार्गो निगमले बोकेको छ । दीर्घकालीन कर्जा तथा ब्याज दायित्वले निगमलाई उच्च वित्तीय जोखिममा पारेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुईवटा नयाँ वाइड बडी जहाज भित्र्याएको निगमले ऋणाभार बढी भएकै कारण अधिकृत पूँजी विस्तार गर्न सरकारलाई गुहारेको छ । निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक रहेकाले तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय जोखिम न्यूनीकरणका लागि तत्काल पूँजी वृद्धि गर्नुपर्ने औँल्याएको छ । वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । “निगमलाई कर्जाको असमानताले तत्कालै आर्थिक समस्या देखिएको हो, वित्तीय सन्तुलन र व्यावसायिक योजनालाई प्रभावकारी बनाउन सरकारसँग पूँजी अभिवृद्धिका लागि आग्रह गरेका हौँ”, उनले भने । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो बडी ए ३२० जहाज र एक थान बोइङ जहाज छन् । आन्तरिक उडानका लागि तीन टुइनटर, दुई एमए–६० र चार थान वाई–१२ इ विमान छन् ।