१० प्रतिशत बोनस पारित गर्न एनआईसी एशियाले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर दिने लगायतका साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न एनआईसी एशिया बैंकले आफ्नो २१ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पौष ४ गते सानेपा स्थित हेरिटज गार्डेनमा बस्ने गरी साधारणसभा बोलाएको हो । बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त स्थान तथा समयमा साधारणसभा बस्ने गरी निर्णय गरेको बैंकले जनाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १९ गते देखि साधारणसभाको दिनसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार बैंकको १० प्रतिशत बोनस सेयर प्राप्त गर्न यही मंसिर १८ गतेसम्म शेयर खरिद गर्न लगानीकर्ताले शेयर खरिद गरिसक्नुपर्नेछ भने हालका शेयरधनीले उक्त दिनसम्म शेयर होल्ड गर्नु पर्नेछ । बैंकले आफूसँग रहेको ८ अर्ब ३ करोड चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ८० करोड ३० लाख थप गरी चुक्ता पुँजी ८ अर्ब ८३ करोड पुर्याउनेछ । साथै कर प्रयोजनका लागि लाग्ने ०.२५६ प्रतिशत हुने गरी ४ करोड २२ लाख कराबरको नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । त्यसैगरी बैंकले आफु र आफ्ना सहायक कम्पनीहरु एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त समेतको एकीकृत वित्तीय विवरण समेत पारित गर्ने एजेन्डा तय गरेको छ ।
कर्मचारी विरामी भए सबै उपचार खर्च कम्पनीले गर्नुपर्ने, अशक्त भए जीवनभर पाल्नु पर्ने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् । योगदानकर्ता वा योगदानकर्ताकी श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महीनासम्मको शिशुको उपचार खर्च, अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकामा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवाबापतको शुल्क निश्चित सीमाभित्र रहेर पाइनेछ । अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा रु एक लाख नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ । योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत उल्लिखित रकमको हदमा नबढ्ने गरी दाबी गर्न सकिने छ । अस्पताल भर्ना हुनु नपर्ने योगदानकर्तालाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’का आधारमा सुविधा वार्षिक रुपमा बढीमा रु पच्चीस हजार प्रदान गरिनेछ । महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महीनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा प्राप्त गर्नेछन् । रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि (कम्तीमा वार्षिक १२ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिशमा घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले त्यस्तो अवधिमा निजको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम बिरामी सुविधाबापत पाइनेछ । पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि (कम्तीमा साठी दिन) बाहेक प्रसूति बिदा बस्नु पर्दा सो अवधिका लागि निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशतका हिसाबले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधाबापत भुक्तानी गर्नुपर्नेछ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई दुर्घटना र अशक्तता बापतको सुविधा प्राप्त गर्नेछन् । योगदानकर्ता श्रमिक रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषबाट पाउनेछन् । दुर्घटनाजन्य सुविधा योगदान गरेकै मितिदेखि लागू हुनेछ भने व्यवसायजन्य रोगको उपचार खर्च योगदान गरेको दुई वर्षपछि मात्र पाइनेछ । रोजगारदाताले तोकेको काम गर्दा वा कार्य समयभित्र भएको वा कामको लागि आउने वा जाने क्रममा भएको जुनसुकै प्रकारको दुर्घटनालाई रोजगारीजन्य दुर्घटनामा मानिएको छ । रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले रु सात लाखसम्मको मात्र उपचार खर्च व्यहोर्ने छ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकामा वा सडक दुर्घटना भएकामा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्यहोर्ने छैन । रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउनेछ । रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएका योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शत्प्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधाबापत मासिक रुपमा रकम पाउनेछ । रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्जेल निजलाई वा निज आफैँ हिँड्डुल गर्न नसकेमा निजलाई हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने व्यवस्था कार्यविधिले गरेको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा आश्रित पति वा पत्नी निवृत्तिभरण, सन्ततिका लागि शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई सुविधा, अन्तिम संस्कार खर्चबापतको रकम पाइनेछ । दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउने छन् । योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा नदिइने कार्यविधिमा उल्लेख गरिएको छ । योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउनेछ । एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ । रोजगारदाताले श्रमिकका आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्नेे १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ । योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबु आमा रहेछन् भने निजलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको जीवनकालभर मासिक रुपमा कोषले प्रदान गर्नेछ । यदि योगदानकर्ताको बाबुआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ । योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारका लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई रु २५ हजार एकमुष्ठ उपलब्ध गराइनेछ । वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले निवृत्तिभरण योजना र अवकाश सुविधा योजना प्राप्त गर्नेछन् । रोजगारदाताले श्रमिकका आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्नेे १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ । विसं २०७६ साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिक निवृत्तिभरण योजनामा सहभागी हुन पाउनेछन् । निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताका तर्फबाट भएको योगदानसमेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १८० महीना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर पाउनेछन् । कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगदान रकम नियमानुसार एकमुष्ट रुपमा प्रदान गरिनेछ । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महीना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । सो योजना लागू हुनुअगावै रोजगारीमा रहेका योगदानकर्ताले कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदानबापतको योगदान रकम, रोजगारदाताका तर्फबाट गरेको योगदान र कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउनेछ । कार्यविधिले निवृत्तिभरणका लागि दर किटान गरी बाँकी रकम भुक्तानी गर्न वा अन्य योजना सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ । कोषले श्रमिक र रोजगारदाताका तर्फबाट गरिने कूल योगदान २८.३३ प्रतिशत पूरै निवृत्तिभरण योजनामा प्रयोग नगरी सोभन्दा कम दरमा उक्त योजना सञ्चालन गर्ने निर्णय गर्न सक्नेछ । योजनामा कम दर किटान भएको अवस्थामा कोषले बाँकी रकम अवकाश सुविधाबापत सम्बन्धित श्रमिकलाई अवकाश उमेर पूरा भएपछि फिर्ता गर्न वा अन्य योजनामा प्रयोग गर्न सक्नेछ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४०, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँड गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच मङ्गलबार लामो समय योगदान गरेका श्रमिकले ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सकिने ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ । सरकारले कार्यक्रमको घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णयसमेत गरेको छ ।
स्पर्स लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न, २० शाखाका प्रवन्धकहरुको सहभागी
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम व्यवस्थापन गोष्ठि सम्पन्न गरेको छ । मंसिर ९ र १० गते २ दिनसम्म सञ्चालनमा रहेको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले संस्थाको यस आ.ब.को प्रथम त्रैमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीति सँगै नेपाल राष्ट्र बैंकले हाल सालै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनका बारेमा सहभागीहरुलाई बताएका थिए । कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका कर्जा तथा विजनेश विभाग प्रमुख हरिशरण गिरीले सहभागी २० वटा शाखाको प्रथम त्रैमासिक समिक्षाको लागि सहजिकरण गरेका थिए । यस क्रममा शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति तथा भावि रणनीतिहरुको बारेमा प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेलले उपस्थित सम्पुर्णलाई व्यवसायमा देखिने जोखिम न्यूनीकरणका उपायका बारेमा सहजीकरण गरेका थिए । साथै, यस अवसरमा वित्तीय संस्थाले सदस्य विस्तार, कर्जा लगानी, बचत तथा समग्र व्यवसाय वृद्धि, शुन्य भाखा नाघेको कर्जा आदि जस्ता विधामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रवन्धकहरुलाई पुरस्कृत समेत गरेको थियो । वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेल, प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो ।
आठौँ वार्षिकोत्सवको अवसरमा सिभिल बैंकले विभिन्न कार्यक्रम गर्दै
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । उक्त अवसरमा बैंकले वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरु आयोजना गर्दै छ । वार्षिकोत्सवको दिन(सोमबार) बैंकले पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा बैंकले ३०० वटा वृक्षारोपण गरेको छ । उक्त बिरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । बैंकले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको बैंकले जनाएको छ ।
१७५ रुपैंया बजारमूल्य भएको कम्पनीको शेयर कसले किन्दैछ १९० रुपैंयामा ?
काठमाडौं । भारतको मुत्तुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्सको २१ लाख कित्ता शेयर किन्ने भएको छ । फाइनान्सको शेयर मुत्तुटले प्रतिकित्ता १९० रुपैंयामा उक्त परिमाणको शेयर खरिद गर्ने भएको हो । फाइनान्सको २१ लाख कित्ता शेयर मुत्तुटले १८ करोड ९० लाख रुपैंया प्रिमियम थप गरी खरिद गर्नेगरि गत कात्तिक ३० गते नै संयुक्त पुँजी लगानीसम्बन्धी सम्झौता भएको युनाइटेड फाइनान्सले जनाएको छ । उक्त लगानी भित्रिएपछि फाइनान्सको हाल रहेको ८० करोड ५० लाख चुक्ता पुँजी बढेर १ अर्ब १ करोड ५० लाख कित्ता पुग्नेछ । २१ लाख कित्ता शेयर किन्दा मुत्तुट फाइनान्सको युनाइटेड फाइनान्समा २०.६८ प्रतिशत हिस्सा कायम हुन्छ । मुत्तुट फाइनान्स भारतको प्रतिष्ठित फाइनान्स हो । १३१ बर्षअघि खुलेको सो फाइनान्सको भारतमा ४५०० भन्दा बढी शाखा र २५ हजार भन्दा बढी कर्मचारी छन् । ६० लाख भन्दा बढी ग्राहक रहेको उक्त फाइनान्समा दैनिक २ लाख ग्राहकले कारोबार गर्ने गरेको बताइएको छ । यो कम्पनी भारतमा सबैभन्दा बढी सुन कर्जा प्रवाह गर्ने बैंक रहेको समेत बताइएको छ । युनाइटेड फाइनान्सको हालको १७५ रुपैंया छ । मुत्तुट फाइनान्सले बजारमूल्य भन्दा बढी मुल्य दिएर युनाइटेड फाइनान्समा लगानी गर्न लागेको हो ।
एनआईसी एशिया बैंक सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा
काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । उक्त खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेको छन् । हाल बैंकको शाखा संख्या २६६ पुगेको छ । त्यस्तै, बैंकले २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।
जनता बैंकको १२७ औं शाखा ताप्लेजुङमा, स्थानीय तहमा ७६६ शाखा पुर्याउने
काठमाडौं । जनता बैंकले ताप्लेजुङको फक्त्ताङलुङमा नयाँ शाखा स्थापना गरेको छ । स्थानीयतहमा सेवा प्रदान गर्ने क्रममा सेवा दिनको लागि बैंकिङ्ग सेवा मार्फत सुदुर पूर्वको जिल्ला ताप्लेजुङको विकट गाँउ फक्त्ताङलुङ गाउँपालिकामा नयाँ शाखा सुरु गरिएको छ । ७६६ वटा शाखा स्थानीय तहमा पुग्नुपर्ने नियम निकाय र सरकारको लक्ष्य अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म बैंकिङ्ग सेवा सुचारु गरिएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो । भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखामार्फत वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्ने भएको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।
कनम्याक मेलामा केशका ३० मेसिन बुकिङ्ग, करिब एक हजारले गरे अवलोकन
काठमाडौं । भारतको कनफेडेरेसन अफ इन्डिया इन्डस्ट्री(सीआईआई)ले आयोजना गरेको कनम्याक २०१८मा केश कन्ट्रक्सनको ३० वटा मेसिन बुकिङ्ग भएको छ । भक्तपुरको खुल्ला चौरमा भएको उक्त मेलामा करिव एक हजार दर्शकले अवलोकन गरेका छन् । मेलामा १५० स्टलहरु रहेका थिए । कनम्याकको मुख्य गेटमै रहेको स्टलमा केश कन्ट्रक्सनले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर प्रर्दशनीमा राखेको थियो । ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो भने भारतको मध्यप्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डि एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो । उक्त प्रर्दशनीमा मेसिन खरिद गर्ने ग्राहकको लागि उपहारको व्यवस्था गरिएको थियो । केशमोटर ग्रेडर खरिदमा ब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइब्रेसन रोलरमा टिभिएस अपाचे बाइक सितैमा र ४५० डि एक्स मिनि रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो ।