सेयर बजार तीन वर्ष यताकै न्युन विन्दुमा, नेप्सेको आश्वासनपछि पनि सुध्रिएन बजार
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । वि.सं. २०७२ साल पुस २३ गते ११६४.१४ विन्दुमा रहेको नेप्से त्यसपछिका दिनहरुमा क्रमशः बढ्दै १८८१ अंकको ऐतिहासिक रेकर्ड कायम गर्दै तल झरेको थियो । त्यसपछि पहिलोपटक त्योभन्दा कममा झरेको हो । साताको दोस्रो दिन आज ६.३५ अंकले घट्दा बजार परिसूचक ११६०.२८ विन्दुमा झरेको छ । गत वर्ष चैत १२ गते नेप्से न्यूनतम ११६६.०१ विन्दुसम्म झरे पनि त्यसपछिका दिनहरुमा नेप्से फेरि उकालो लाग्दै १४३८.४९ विन्दु सम्म पुगेको थियो । बजारको यो गिरावटलाई बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको लगानीयोग्य पुजीको अभाव, बढ्दो नगद लाभांशको प्रवृत्ति र नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आएको खराबीलाई मुख्य कारणको रुपमा हेरिएको छ । अनलाइन प्रणालीमा लगानीकर्ताले युजरनेम र पासवर्ड नपाएको र मार्केटडेफ्थ, फ्लोरसीट जस्ता विवरणहरु सिस्टममा नदेखाएको र यसमा नेप्से तथा ब्रोकरहरुको समेत संलग्नता रहेको भन्दै लगानीकर्ताहरुले बिहान नेप्से घेराऊ गरेका थिए । उनीहरुले ग्राहकले युजरनेम र पासवर्ड कहिले पाउने मिति तय गर्नुपर्ने अडान लिएपछि नेप्से, वाइको र डाटा हव कम्पनीहरुको संयुक्त बैठक बसी लगानीकर्तालाई मंसिर २३ गतेदेखि युजरनेम र पासवर्डमार्फत् कारोबार गर्न पाउने व्यवस्था गर्ने बताएका थिए । नेप्सेको आश्वासनपछि लगानीकर्ताहरु बाहिरिए पनि उनीहरुले बजारप्रति भरोसा गर्न सकेनन् । फलस्वरुप बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै ११६० को अंकमा झरेको हो ।
पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने, विभिन्न संघसंस्थाले राेप्न पाउने
काठमाडौं । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ । कार्यक्रममा कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान शुरु गरिएको बताए । पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उनले बताए। कार्यक्रममा बैंकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताए । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ । रासस
एनआईसी एशिया बैंकको मंसिर १९ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको अागामी मंसिर १९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि पुस ४ गतेसम्म (१५ दिन) बुक क्लोज गर्न लागेको हो । बैंकको २१औँ वार्षिक साधारणसभा आगामी पुस ४ गते बस्दै छ । बैंकको सभा बिहान ९ बजे सानेपाको हेरिटेज गार्डेनमा बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै छ । साभाले पारित गरे पश्चात बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५३६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने छ ।
डाक्टर केसी फेरी अनसन बस्दै
काठमाडौं । डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने तयारी गरेका छन् । सरकारले आफ्नो माग पुरा नगरेको भन्दै केसीले अनसनको घोषणा गरका हुन् । उनले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटन दिएका हुन् । डा.केसीले आफूसँग सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाहि गर्नुपर्ने लगायतका विभिन्न ३ बुदे माग राख्दै अनसन बस्ने चेतावनी दिएका हुन् । यस्तो छ डा. केसीका मागहरु १. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् । क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् । ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । २. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् । ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडाैं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।
एनसीसी बैंकको एक करोड ५४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको एक करोड ५४ लाख ८४ हजार ०१० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । हालसम्म बैंकको ७ करोड एक लाख ८५ हजार ८७३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ ।
नुवाकोटमा २० वटा सिसी टिभी क्यामरा सञ्चालनमा
विदुर । नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा सोमबारदेखि सञ्चालनमा आएका छन् । विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । अपराध नियन्त्रण र कुनै पनि घटनाको निगरानी तथा अनुसन्धानका लागि बजारकासडक र चोकमा क्यामरा राखिएको छ । विसं २०७२ फागुनदेखि सिसी टिभी क्यामरा सञ्चालनमा ल्याइएको र केही समयदेखि खराबी देखिएकाले सञ्चालन भएको थिएन । कुँवर भन्छन्, “हामीसँग अहिले २४ वटा क्यामराहरुमध्ये चार वटा बनाइरहेका छौँ र बाँकी २० वटा आजदेखि सञ्चालनमा आएको छ । हरेक घटनाहरुको निगरानी गर्न हाम्रा प्रहरीहरुले चोकचोक र विभिन्न ठाउँमा ड्युटी गरिरहेका छन् । ” रासस
‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम पछ्यात, ५० मुसहर समुदायका बालबालिका दलान शिक्षातर्फ आकर्षित
काठमाडौं । मुसहर बालबालिका अहिले ‘दलान (पाहुना घर) शिक्षा’तर्फ आकर्षित भएका छन् । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा माछा तथा घोंघी मार्ने र बाख्रा चराएर दिन बिताउने बालबालिका अहिले शिक्षा तर्फ उत्साहित रहेका छन् । मुसहर बालबालिकालाई शिक्षामा पहुँच बढाउन जयश्री सबरी माता मुसहर एकता समाजले सहयोग जुटाएको छ । उक्त शिक्षामा ५० मुसहर समुदायका बालबालिका कखरा सिक्दै आफ्नो उज्जवल भविष्य कोर्दै आइरहेको छ । प्रदेश नं २ को सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम ल्याएपछि दिनभरि बराल्लिने मुसहर बालबालिका पढ्न थालेका छन् । सन्तानको उज्ज्वल भविष्यप्रति जिम्मेवार हुन थालेका छन् । सिहरा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं १२ तिलासी गाउँमा सङ्घीय सरकारले बनाइदिएको दुईकोठे दलान अहिले कुनै सरकारी विद्यालयभन्दा कम नभएको स्थानीयले बताएका छन् । मुसहर बस्तीको बीचमा रहेको सो दलानमा मुसहर समुदायकै दुई शिक्षकले प्रत्येक दिन बिहान बेलुका अतिरिक्त कक्षा लिँदै आएका छन् । सो संस्थाले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत तराईका जिल्लामा शिक्षाबाट बञ्चित मुसहर बालबालिकालाई शिक्षामा पहुँच बढाउन दलान शिक्षालाई अगाडि बढााउँदै आएके सल्लाहकार सोनामतीदेवी सदाले जानकारी दिएका छन् । तराईका विभिन्न जिल्लाबाट काम गर्न खाडीमुलुक गएका दलित समुदायका युवाले खोलेको सो संस्थाले केही रकम जम्मा गरी उक्त समुदायका बालबालिकालाई शिक्षामा पहँुचका साथै असहाय र अपाङ्गता भएका बालबालिकालाई कलम, कापी उपलब्ध गराउँदै आएको छ । दलान शिक्षामा पढने दलित विद्यार्थीसँग प्रतिविद्यार्थी १०० शुल्क लिने र सो रकममध्ये केही रकम पारिश्रमिक स्वरूप शिक्षकलाई दिने गरेको स्थानीय गनोरी सदाले बताउनुभयो । करीब ४० घर मुसहर रहुको सो बस्तीमा दलान शिक्षा सञ्चालन भएपछि यसप्रति दलित बालबालिकाको आकर्षण बढ्न थालेकाले अन्य गाउँका दलितले पनि यसलाई निरन्तरता दिने भएका छन् । रासस
तोकिएको समयभन्दा १३ महिनाअघि नै बन्यो सुन्दर भवन, ठेकदारलार्इ १ करोड ८२ लाख पुरस्कार
तस्बिर/प्रकाश देवकोटा काठमाडौं । धैरै आयोजना एकसाथ ओगट्ने र लामो समयसम्म आयोजनाको काम नसक्ने नेपाली ठेकदारको रोग नै भइसकेको छ । तर उपत्यका विकास प्राधिकरणको भवन तोकिएको समयभन्दा १३ महिनाअघि नै सकिएको छ । ६ तले भवनको निर्माण जिम्मा दानफी, समानान्तर र कमलजित जेभीले लिएका थिए । यी ठेकदारले २०७३ पुस २४ गते निर्माणकाे जिम्मा लिएका हुन्। भ्याट सहित २० करोड ६३ लाख ८ सय ९३ रुपैयाँमा निर्माण शुरु गरिएको सो भवन २०७६ असार १८ सक्ने गरी सम्झौता भएको थियो । तर निर्माण कार्य १३ महिना अगावै सकेर प्राधिकरणलाई हस्तान्तरण गरको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । कम्पनीहरुले भवन २०७५ साउन २० गते नै तयार पारेका हुन् । ६ तले भवन कुल ३ रोपनी ४ आना क्षेत्रफलमा फैलिएको छ । यसमध्ये ४३.२३ प्रतिशत ग्राउण्डले ओगटेको छ । भवनले कुल २५२६.३१ स्क्वायर मिटर क्षेत्रफल ओगटेको छ । भवनको सबैभन्दा तल्लो तहमा अन्डर ग्राउण्ड पार्किङ रहेको छ । ग्राउण्ड तल्लाले ६४४२ स्क्वायर फीट ओगटेको छ भने पहिलो, दोस्रो, तस्रो र चौथो तल्लाले समान ५०११ स्क्वायर फीट ओगटेको छ । यस्तै ५औं तल्लाले १८२० स्क्वायर फीट ओगटेको छ । यसैगरी, सबै भवनले कुल ३५ हजार ६१२.८१ स्क्वायर फीट क्षेत्रफल ओगटेको छ । विकास आयुक्त, भाइकाजी तिवारी ठेकदार कम्पनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन अर्थ मन्त्रालयमा फाइल पेश गरेको आयुक्त तिवारीले बताए । उनका अनुसार कम्पनीले आयोजनाको १० प्रतिशतसम्म पुरस्कार पाउनेछ । कुल लागतको भ्याट बाहेक हुन आउने रकमको १० प्रतिशत झन्दै १ करोड ८२ लाख रुपैंया पुरस्कारको माग गर्दै प्राधिकरणले शहरी विकास मन्त्रालयमा फाइल पेश गरेको छ । शहरी मन्त्रालयले पनि फाइल अर्थ मन्त्रालयमा पेश गरिसकेको तिवारीले जानकारी दिए । अब अर्थ मन्त्रालयले निकासा गरेपछि कम्पनीहरुले पुरस्कार रकम प्राप्त गर्न सक्नेछन् । भवन निर्माणको काम दानफी र समानान्तरले ३५/३५ प्रतिशत र कमल जितले ३० प्रतिशत काम गरेका थिए ।