सिटामोलका लागि सातघण्टा हिड्नु पर्ने स्थानियमा स्वास्थ्यसंस्थासँगै हर्ष थपियो
काठमाडौं । मार्मा गाउँपालिका–६ जन्नीगाउँमा सिटामोलका लागि दैनिक सात घण्टा उकाली ओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नु पर्ने थियो। सिटामोलको लागि घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा धाउनुपर्ने अवस्था अवस्था रहेको थियो । स्थानीय सरकार गठन भएको डेढवर्षमै मार्मा गाउँपालिकाले गाउँगाउँमा सुविधा पुग्नेगरी सामुदायिक स्वास्थ्य एकाई थपेसँगै दुर्गम गाउँका नागरिकले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् । स्थानीय सरकारले स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ थपेपछि स्थानीयवासीको स्वास्थ्य चेकजाँच गर्ने गरेको छन् । मार्मा गाउँपालिका–६ को विकट बस्ती जन्नीगाउँ, माङदाङ र छिपान बस्तीका लागि माङदाङमा एकाइ स्थापना गरेपछि समस्या समाधान भएको स्थानीयवासीले जनाएका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति बल्ल गर्न पाएको भन्दै माङदाङमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका छन् । सामुदायिक स्वास्थ्य एकाइसँगै सामुदायिक स्वास्थ्य एकाइमा अहेब श्यामसिंह महता र अनमीको रुपमा कान्ती डडाललाई नियुक्त गरिएको छ । दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य समस्याबाट वञ्चित नहोस् भन्नका लागि सो एकाइ स्थापना गरिएको छ । गाउँसभाको निर्णय अनुसार स्वास्थ्य एकाइ स्थापना गरिएको हो । भवन निर्माणका लागि यसवर्ष छ लाख बजेट विनियोजन गरिएको छ । चाँडै सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर स्थापनाको प्रक्रिया थालिने बताउँदै गाउँपालिकाले प्रसूति गर्न महिलालाई टाढा हिँड्न नदिने लक्ष्य लिएको जनाएको छ । यसैवर्ष गाउँपालिका–१ ताकुमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरि सकिएको छ । आउँदा जाँदा आठ घण्टा बढी लाग्ने ठाउँका नागरिकको लागि सहजताका लागि स्थापना गरिएको हो । ताकुमा स्थापना गरिएको स्वास्थ्य एकाइको भवन निर्माणका लागि यसवर्ष १३ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेकवर्ष दुर्गम बस्तीमा स्वास्थ्य सेवा पर्याउने लक्ष्य राखेको जनाएको छ । यसैवर्ष गाउँपालिका–६ शेरीमा बर्थिङ सेन्टर स्थापना गरिएको मार्मा गाउँपालिका एकाइ प्रमुख चक्रसिंह धामीले बताएका छन् । मार्मा गाउँपालिका केन्द्र लटिनाथमा रहेको स्वास्थ्यचौकीलाई क्रमशःअस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अगाडी बढेको छ । सुविधा सम्पन्न भवन निर्माण गरिएकाले डाक्टरको खोजी भइरहेको बताइएको छ । गाउँपालिकाबाटै भए पनि लटिनाथमा डाक्टर व्यवस्थापन गरेर मार्मा र अपी हिमाल गाउँपालिकाका लागि सेवा पुग्ने अध्यक्ष धामीको भनाइ छ । रासस
आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो ?
काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो । यी तीन कम्पनीको बोनस सेयर पछि सेयरको मूल्य समायोजन भएको हो । नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४१३.४७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३८६.७४ रुपैयाँ रहेको थियो । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको २० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको मूल्य प्रतिकित्ता १४२.६४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८८.३२ रुपैयाँ थियो । २२.०६ प्रतिशत बोनस पछि नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९१.४९ रुपैयाँ रहेको छ । कम्पनीको आधार मूल्य प्रतिकित्ता २५५४.७४ रुपैयाँ थियो ।
एनएलजी इन्स्योरेन्सका संचालक पाण्डेले दिए राजिनामा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक भुपेन्द्र पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । हालै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले मंसिर १४ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामालाई स्वीकृत गरेको हो ।
धौलागिरी यातायातको अनलाईन टिकेटिङ सुरु, अब मुस्ताङ जान काउन्टरमा धाउन नपर्ने
काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिले टिकट अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातले बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाईनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको जनाएका छन् । यात्रायात क्षेत्रलाई पनि अब प्रविधी मैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सक्ने भएका छन् । करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका उक्त समितिमा पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्ने भएका छन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो । यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्ने भएका छन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।
निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गराउँनु समृद्धिको आधार : मन्त्री पौडेल
काठमाडौं । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाउने जानकारी दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई सम्बोधन गर्दै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि रहेको भनाई व्यक्त गरेका छन् । निजी र सार्वजनिक क्षेत्रलाईसँगै र प्रतिस्पर्धी ढङ्गले अघि बढाउन सक्दा विकास प्रभावकारी हुनसक्ने बताउँदै कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसङ्ख्यकलाई आर्थिक रुपमा सवल बनाउने जनाएका छन् । कृषिको व्यावसायिक विकास गर्न सक्दामात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुने छ । प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले छलफलको अवधारणा पत्र प्रस्तुत गर्दै दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा सम्बन्धमा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरेको जानकारी दिएका छन् । गोष्ठीमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेश सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ । रासस
कहाँ पुग्यो लगानीकर्ता र ब्रोकर सम्झौताको मस्यौदा ? कहिले आउँछ युजरनेम र पासवर्ड ?
काठमाडौं । अनलाइन शेयर कारोबारअघि लगानीकर्ता र ब्रोकरबीचको सम्झौताबारे सुझावका लागि ब्रोकरहरुले तयार पारेको प्रारुप सार्वजनिक भएपछि लगानीकर्तामा हलचल मच्चियो । सबै लगानीकर्ता संघका पदाधिकारीहरुले यसमा विरोध जनाए । लगानीकर्ताहरुको सहमतिविना ल्याइएको सम्झौतापत्रकाे मस्याैदा आफूहरुले कुनै पनि हातमा स्वीकार नगर्ने उनीहरुको भनाई रह्यो । तर, ब्रोकर एशोसिएसनका पदाधिकारीहरुले त्यो एउटा प्रारुप मात्र भएको र त्यसमा व्यापक छलफल गरिने बताएपछि उक्त विषय साम्य भयो । त्यसो त त्यो मस्याैदा पत्रलाई अन्तिम रुप दिने अधिकार नेपाल स्टक एक्सचेञ्जलाई छ । उसले मस्याैदा पत्रका लागि ब्रोकरले दिएको प्रारुपका सबै बुँदाहरुलाई सुक्ष्म ढंगले केलाइरहेको बताएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले यसबारे नेप्से व्यवस्थापनले छलफल चलाइरहेको बताए । उनले १/२ दिनभित्रै निर्णयमा पुग्ने समेत शुक्रबारको कुराकानीमा जानकारी दिए । कुन कुन विषयमा लगानीकर्ताको असहमति ? ब्रोकरले तयार गरेको प्रारुपका प्रत्येक बुँदाहरुले ब्रोकर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको र सबै दोष जति लगानीकर्तालाई दिन खोजेको आरोप लगानीकर्ता संघका पदाधिकारीले लगाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उक्त बुँदाहरु हुबहु आए त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए । त्यस्तै लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि उक्त मस्यौदा देख्दा आफूहरु अचम्मित भएको बताएका थिए । उक्त मस्यौदाका अधिकांश बुँदामा रहेको भाषामा ब्रोकरहरुको असहमति रहे पनि मुख्य बुँदा भनेको कालोसूचिमा नरहेको प्रमाणपत्र पेश गर्नुपर्ने भन्ने विषय प्रमुख हो । यस्तो प्रमाणपत्र पेश गर्नुपर्ने अवस्थामा शेयर बजारका १५ लाख लगानीकर्ता र थप हुने लगानीकर्ताहरुले समेत कालोसूचिमा नपरेको प्रमाणपत्रका लागि कर्जा सूचना केन्द्र धाउनुपर्ने बाध्यता रहन्छ । यसो गर्दा केन्द्रसँग पनि एकैचोटी ठूलो मात्रामा त्यस्तो प्रमाणपत्र जारी गर्न प्राविधिक, भौतिक संसाधनका साथै जनशक्तिको समेत आवश्यकता हुन्छ । अनलाइन तालिम के हुन्छ ? प्रवक्ता पराजुलीका अनुसार अनलाइन तालिमका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न उक्त सम्झौता आवश्यक छैन । यसअघि मोक ट्रेडिङका क्रममा पासवर्ड दिइएको जस्तै ब्रोकरले लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन सक्छन् । त्यसैका अाधारमा नेप्सेले प्रत्येक दिन गराउने तालिममा सहभागी हुन सक्नेछन् । काराेबारका लागि भने साे सम्झाैता अावश्यक पर्ने पराजुलीले बताए ।
सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि
काठमाडाैं । पांचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएकाे छ । फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।
अबदेखि त्रिविले प्राईभेट परिक्षा संचालन नगर्ने, जागिरे विधार्थीलाई समस्या
काठमाडौं। नियमित क्याम्पस जान नपाउने विधार्थीहरुको लागि त्रिभुवन विश्वविद्यालयले घरमै बसेर पढ्ने र परीक्षामा सहभागी हुन पाउने प्राइभेट परीक्षा कार्यक्रम यो वर्षदेखि बन्द गरेको छ। यसबाट धेरै विधार्थीहरु प्रभावित हुने देखिन्छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष मात्र यो कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। यसरी परिक्षा दिनेमा अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेका थिए। यस कार्यक्रममा राजनीतिशास्त्र र मास्टर्स इन पब्लिक एड्मिनिस्टेसन (एमपीए) पढ्न पाइन्छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष स्नातकोत्तर तहको प्राइभेट परीक्षा दिनेमा राजनीतिशास्त्रतर्फ ३ हजार २ सय १५ र एमपीएमा २ हजार ९ सय ३१ विद्यार्थी थिए। त्रिविले यसै वर्षदेखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ। उपत्यकाबाहिर भने यसलाई अनिवार्य बनाइएको छैन। यसअन्तर्गत भर्ना विद्यार्थी कक्षामा नियमित उपस्थित हुनुपर्छ। शिक्षकले दिएको ‘असाइनमेन्ट’ पनि पूरा गर्नुपर्छ। कक्षाको गतिविधिलाई आधार मानेर प्रयोगात्मक परीक्षामा अंक दिइने हुँदा सेमेस्टर प्रणालीमा कक्षामा विद्यार्थी नियमित उपस्थित हुनुपर्छ।