विकासन्युज

प्रधानमन्त्री ओली १ करोड १३ लाख रुपैयाँको पुरस्कारबाट सम्मानित

काठमाडौं । युनिभर्सल पिस फेडरेशन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर (करिव १ करोड १३ लाख रुपैयाँ) राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ । राजधानीमा आयोजित एशिया प्यासिफिक शिखर सम्मेलनको समापन अबसरमा आइतबार संस्थाकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त स्वर्ण अवार्ड र सम्मानपत्र हस्तान्तरण गरिन् । प्रधानमन्त्री ओलीले पुरस्कार पाएपछि मन्तब्य दिँदै उक्त रकम बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्ने बताए । ‘मैले ब्यक्तिगत रुपमा यो पुरस्कार पाएको हैन,’ उनले भने,‘ राज्यले पाएकाले त्यसको रकमबाट बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गर्ने छु । ’ प्रधानमन्त्री ओलीले शुसाशनबिना विकास सम्भव नहुने बताउँदै आफू शुसासन स्थापनामा प्रतिबद्ध रहेको बताए । युपिएफले सुशासन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विश्वका नेताहरु मध्येबाट उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त, वासलात २ खर्ब नजिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार(आज) बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा नियुक्त गरेको हो । उनकाे कार्यकाल ४ वर्षकाे लागि ताेकिएकाे छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात नवनियुक्त सीईओ न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ । नवनियुक्त सीईओ न्यौपाने आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । उनले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गर्दै आएका छन् । साथै, उनी चार्टड एकाउण्टेण्ट समेत हुन् । सीईओमा नियुक्त भएकै दिन न्यौपानेलाई बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । साथै, उनले सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्तलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि”भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हर हमेसा प्रतिबद्ध रहने प्रण उनले गरेका छन् । गत असाेज मसान्तमा यस बैंककाे वासलात १ खर्ब ९५ अर्ब रूपैयाँ छ । यस बैंकमा सर्बसाधारणकाे निक्षेप १ खर्ब ६३ अर्ब रूपैयाँ छ । १४ लाखभन्दा बढि ग्राहक रहेकाे बैंकले जनाएकाे छ । २६८शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अजोड इन्स्योरेन्स र ग्रान्डि हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच नगदरहित उपचार सेवा(क्यासलेस) सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा.चक्रराज पाण्डे तथा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ग्रान्डि हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । इन्स्योरेन्सको विभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।

‘अहिलेकाे तरलता संकट बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै हाे’-अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभावलार्इ बच्चाको दाँत आउने बेलामा पखाला लागेको अवस्थासँग तुलना गरेका छन् ।  उनले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको संकेत हो । कामहरू हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ । अहिलेको अवस्था पनि यस्तै भएको हो ।” बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत भएको उनकाे विश्लेषण छ । राजधानीमा अायाेजित दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलनकाे समापन कार्यक्रममा बाेल्दै मन्त्री खतिवडाले यस्ताे विचार राखेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पुर्याउने बताए । उनले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गरे । साथै, सम्मेलनले जारी गरेको पन्ध्र सूत्रीय घोषणापत्र कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, “तपाईंहरू अघि–अघि दौड्नु भएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ । पन्ध्रबुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्था जुन तपाईंहरूलाई चित्त बुझदैन, त्यसमा कार्यदल बनाएर अघि बढौं । हामी समस्या भएका व्यवस्थाहरू संशोधन गर्न तयार छौं ।” समापन समारोहमा बोल्दै सांसद लीलानाथ श्रेष्ठले गरिबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गरे । देशको समृद्धिका लागि सबैपक्षबाट काम हुनुपर्ने उनको भनाइ छ । यस्तै उनले अहिले केही लघुवित्तहरू आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चिन्ता व्यक्त गरे । ऋणीको क्षमता नहेरी आवश्यकताभन्दा बढी कर्जा दिने, ऋण लिनेले पनि बढी माग गर्ने जस्ता कुरा नम्र्सभन्दा बाहिर भएको सांसद श्रेष्ठको भनाइ छ । अर्का सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलाहरूलाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताइन् । सम्मेलनमा देखिएको उपस्थितिले पनि अब महिला एक्लै छैनन् उनीहरूलाई साथ दिन लघुवित्त छ भन्ने प्रमाण दिएको उल्लेख गरिन् । किसान लघुवित्त विकास बैंकका सञ्चालक शुभनाथ देवकोटाले लघुवित्तबाट हुने कर्जा प्रवाहमा इमान्दारिता र प्रयोगमा पनि इमान्दारिता भयो भने विपन्नको जीवनस्तर सुधार्न मद्दत पुग्ने बताए । उनले बैंकहरूले धनीलाई मात्र ऋण दिने तर लघुवित्तले विपन्नलाई ऋण दिने भएकाले त्यसको सही सदुपयोगका लागि सचेत गराए । आयोजकको तर्फबाट बोल्दै पद्यमासना शाक्यले (स्वावलम्बन विकास केन्द्रको सदस्य) लघुवित्तले विपन्नलाई बाहिर ल्याएको र महिला सशक्तीकरणमा टेवा दिएको बताइन् । ऋणको रकमलाई सदुपयोग गर्न सकियो भने असल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण सम्मेलनमा उपस्थित महिलाहरूले प्रस्तुत गरेको स्मरण गराइन् । सम्मेलनमा विभिन्न क्षेत्रबाट आएका र लघुवित्तले आफ्नो जीवनमा ल्याएको परिवर्तनका बारेमा १६ जना महिलाले आत्मकथा सुनाएका थिए । पद्यमासनाले लघुवित्तकर्मीलाई सरकारले नीतिगत रूपमा सम्बोधन गर्न माग गरिन् । लघुवित्तले जीवन परिवर्तन गरेको प्रसंग सुनाउँदै गीता चौधरी (लघुवित्तबाट ऋण लिएर आफैं व्यवसाय गरेको व्यक्ति) पहिले काम नपाएको र अहिले आफू चार/पाँच जना कामदार राख्ने हैसियतमा भएको बताएकी थिइन् । पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनमा सहभागीहरूले परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने, वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्ने, लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बिमा कार्यान्वयनमा बिमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तर वृद्धि मापन कार्ड प्रदान गर्नेलगायत १५ बुँदा समेटेको छ । यसअघि २०७३ मा पहिलो राष्ट्रिय लघुवित्त सम्मेलन भएको थियो । सम्मेलन प्रत्येक दुई/दुई वर्षमा हुनेछ ।

नेबिकोले पायो नेपाल गुणस्तर चिन्ह, उपभोक्ताको विश्वास जित्न सफल

काठमाडौं । विगत ५४ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गरिरहेको नेबिको प्रा. लि.ले नेपाल गुणस्तर(एनएस) चिन्ह पाएको छ । उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न सफल भएकोमा यस प्रा.लि ले गुणस्तर चिन्ह तथा आईएसओ ९००१ः२००८ क्वालिटी म्यानेजमेन्ट सिष्टम लिएको हो । उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण एवं सन्तुलन राख्न हाई इनर्जी एण्ड हाई फाइबर राखी उत्कृष्ट स्वादमा यो बिस्कुटलाई उत्कृष्ट बनाइएको कम्पनीले जनाएको छ । स्थापनाकालदेखि नै आफ्नो उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको यस प्रा. लि.को स्वामित्वमा बिस्कुट, कन्फेक्नरी, मैदा मिल र ट्रेडिङ कम्पनीहरु रहेका छन् । डी-२० बिस्कुट नेबिको प्रा.लि.का उत्कृष्ट उत्पादन मध्ये एक हो । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन उत्कृष्ट मेटालिक म्याट प्याकेजिङ्ग मेटेरियल प्रयोग गरिएको छ । यो डी-२० बिस्कुटको नेट वेट ९० ग्राम रहेको छ । यसको बजार मूल्य २० रुपैयाँ तोकिएको छ । कम्पनीले आगामी दिनमा विभिन्न प्रकारका पोषक तथा स्वास्थ्यवर्धक उत्पादनहरु बजारमा ल्याउने प्रतिवद्धता गरेको छ ।

पहिरो पीडितलाई मुक्तिनाथ विकास बैंककाे सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पहिरो पीडितलाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको छ । बैंककाे ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडाैं समाजका सचिव महेशकुमार राईलाई सो मात्राको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले गत भदौं १३ गते राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहित चार जनाको मृत्यु भएकोले निजको बाच्न सफल नाबालक छोराछोरीलाई चेक प्रदान गरेको छ ।  

क्यानोनिङ व्यावसायिक सञ्चालनका लागि मन्त्री गुरुङकाे चासो

काठमाडौं । इन्द्र झरनालाई व्यावसायिक रुपमा सञ्चालन गर्नका लागि चासो बढेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको  उक्त झरनाको सफल परीक्षण सम्पन्न भएकाे छ । झरनाको अवलोकन गर्दै मन्त्री गुरुङले यसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि चासो देखाएका छन् । मन्त्री गुरुङकै आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङले झरनामा क्यानोनिङको परीक्षण गरेको थियो । परीक्षणबाट उक्त ठाउँमा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्न सम्भव देखिएको छ । मन्त्री गुरुङले यस ठाउँको विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउँदै पर्यटनबाटै समृद्धि सम्भव रहेको धारणा व्यक्त गरेका छन् । झरनाकाे  सफल परीक्षण पछि  यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने तर्फ स्थानीयवासी लागेमा प्रदेश सरकारको सधैँ सहयोग गर्ने बताएका छन् । कृषिसँग जोडेर पर्यटनको विकास गर्ने उद्देश्यसहित यस ठाउँमा बाख्राको स्रोत केन्द्र स्थापना गरिएको छ, भने निकट भविष्यमा नै होमस्टे समेत सञ्चालन गर्ने तयारी थालिएको वडा अध्यक्ष इमानसिंह थापाले जानकारी दिएका छन् । कृषि र पर्यटनलाई एकसाथ अगाडि बढाएर वडालाई नमूनाको रुपमा विकास गर्ने उद्देश्य रहेको छ । थापाले यस ठाउँलाई क्यानोनिङ गन्तव्यको रुपमा विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकोले यसको पूर्वाधार निर्माणमा जोड दिइने बताएका छन् । स्थानीय अगुवा युवा शिवकुमार आलेले झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि तालीम समेत आयोजना गर्न लागिएको जानकारी दिएका छन् । नेपालका प्रख्यात क्यानोनिङ व्यवसायीलाई बोलाएर क्यानोनिङ तालीम आयोजना गर्न लागिएको हो । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमि पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ । रासस

अंधेरी नगरी चौपटी राजा : नेपालको वास्तविकता

काठमाडौं। प्रसिद्द भारतीय साहित्यकार भारतेदु हरिचन्दको सर्वाधिक लोकप्रिय नाटक “अंधेरी नगरी चौपटी राजा” को नेपाली अनुवाद मंसिर ७ गते देखी अनामनगरको मण्डला थिएटरमा मञ्चन भईरहेको छ। उक्त भारतीय नाटकलाई पूर्ण रुपमा नेपाली परिवेशमा भावनुवाद गरिएको छ । नाटकका नेपाली अनुवाद निर्देशन भने संगित सापकोटा र आसिस घिमिरेले गरेका हुन्। नाटकको पहिलो मञ्चन दर्शकद्धारा एकदमै रुचाईेएकोले उक्त नाटक यो दोस्रोपटक मञ्चन गरिएको हो। नाटकलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा ‘अँधेरी नगरी’ का  जनताको दिनचर्या देखाइएको छ  भने दोस्रो भागमा चाहिँ ‘चौपट राजा’ को शासन शैलीमाथि व्यङ्ग्य हानिएको छ। नाटकले नेपालको हरेक क्षेत्रेको जातजातीलाई समेटेको छ। सुमधुर संगितबाट शुरु हुने नाटकले १ घण्टासम्म लगातार तपाईंलाई बेस्सरी हसाउँछ र बिस्तारै गम्भिर बनाउँदै लैजान्छ। १ घण्टा ३० मिनेटको उक्त नाटकले हास्य शैलीमा गम्भीर सन्देश बोकेको छ। गम्भीर बिषयलाई पनि हास्यशैलीमा प्रस्तुत गर्नसक्नु नाटकको सबल पक्ष रहेको छ।  अल्छिपन र मुर्खताले निम्ताउने नतिजा र सासक कमजोर हुँदा जनताले खेप्नुपर्ने दु:खलाई नाटकले मुख्य बिषयको रुपमा उठाएको छ। नाटकले पदको लागि जे पनि गर्ने हाम्रा विवेकहीन नेताहरुलाई व्याङ्ग्यात्मक चोटीलो प्रहार गर्दै जुन जोगी आए पनि कानै चिरेको वास्तविकतालाई ठ्याक्कै उतारेको छ।  नाटकको सबैभन्दा बलियो पक्ष उसको संगित रहेको छ। कथामा परिस्थिती अनुसार बज्ने समय प्रतिकुल धुनले हरेक भावनालाई उर्जागर गरेको छ। धुनले तपाईंलाई एकैछिनमा हसाउँछ भने  एकैछिन मै तपाईंको मनलाई अमिलो बनाउँछ। संगितिक पाटोले नाटकलाई उच्च स्तरमा पुर्याउन मद्त गरेको छ र यस कुरालाई तपाईंले बुझ्न नाटक हेर्न जानै पर्छ। नाटकको अर्को सबल पक्ष भनेको कलाकारहरुको अभिनय रहेको छ। कलाकारहरुको अभिनय क्षमताले नाटकलाई पूर्ण रुपमा न्याय दिएको छ। क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनको प्रस्तुति रहेको यो नाटक मंसिर २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । अतिरिक्त शो शनिबार १ बजे पनि राखीएको छ । नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आरजेश रेग्मी, सागर दाहाल,बारात लिम्बू, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डेलगायतको अभिनय हेर्न सकिन्छ ।