काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिले टिकट अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातले बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाईनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको जनाएका छन् । यात्रायात क्षेत्रलाई पनि अब प्रविधी मैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सक्ने भएका छन् ।
करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका उक्त समितिमा पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्ने भएका छन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो ।
यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्ने भएका छन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।