पूर्वाधार विकास बैंकको सीईओमा अनिल ज्ञवाली नियुक्त, ८ अर्बकाे साधारण सेयर निष्काशन गरिने
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेकाे बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो । पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकाे छ तर काराेबार सञ्चालन स्वीकृति पाउन बाँकी छ । ‘संचालनकाे लागि सबै तयारी पुरा भएकाे छ, सीइअाे पनि नियुक्त गरेका छाैं । अब राष्ट्र बैंकमा सञ्चालनकाे लागि अन्तिम स्वीकृति माग गर्छाै’ पूर्वाधार विकास बैंकका एक सञ्चालकले बताए । सोमबार नियुक्त भए पनि ज्ञवालीले एक महिना पछि मात्र कार्यभार सम्हाल्नेछन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग बैंकिङ क्षेत्रमा तीन दशक काम गरेकाे अनुभव छ । हाईप्रोफाइल बैंकरको रुपमा नेपाली वित्तीय क्षेत्रमा पहिचान बनाएका ज्ञवालीले नबिल बैंकबाट बैंकिङ करियस सुरु गरेका थिए । उनी एक पटक नबिल बैंककै प्रमुख कार्यकारी अधिकृत र दुर्इ पटक ग्लाेवल अार्इएमर्इ बैंककाे प्रमुख कार्यकारी अधिकृत भए । बीचमा ज्ञवालीले भारतको सिटी बैंकमा काम गरेका थिए । जारी पुँजी २० अर्ब रहेकाे यस बैंककाे चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । ८ अर्ब रूपैयाँ बराबर साधारण सेयर सर्बसाधारणमा निष्काशन गर्ने भएकाे छ । यस बैंकमा धेरै वाणिज्य बैंकहरू प्रमाेटर रहेका छन् । यस बैंककाे अध्यक्ष डा विमल काेइराला छन् भने सञ्चालक समितिमा अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल, नुमनाथ पाैडेल र अर्थ मन्त्रालयका प्रतिनिधि मुकुन्द पाैडेल रहेका छन् ।
सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् । यसअघि उनी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । आरम्भ माइक्रोफाइनान्सभन्दा अघि आचार्यले राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।
माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन व्यवसायी सक्रिय
काठमाडाैं । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू जुट्ने भएका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमसँगै व्यवस्थित बनाउन अभियानका रूपमा काम सुचारु भएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउन सरकारी कार्यक्रमलाई शसक्त ढङ्गले कार्यान्वयन गर्ने जनाएका छन् । जिल्लाको माई पश्चिमका मदिरा व्यवसायीहरूले चरणबद्ध अभियान शुरु गरेका हुन् । मेची मदिरा व्यवसायी सङ्घ, माई पश्चिम क्षेत्रीय समितिका अनुसार कारोवारलाई व्यवस्थित बनाउन माई पश्चिमका पाँचैवटा स्थानीय तहमा त्यससम्बन्धी जनचेतना कार्यक्रम शुरु गरिने भएकाे छ । सङ्घका अध्यक्ष प्रेम पाण्डेले मदिरा कारोवारलाई व्यवस्थित बनाउन स्थानीय सरकार, व्यवसायी, राजनीतिक दलसहित सरोकारवासगै छलफल गरी अभियान शुरु भएको हो । छलफलपछि माई पश्चिमका पाँचै स्थानीय तहमा मदिरा कारोवारसँगै सेवनमा समेत नियन्त्रण हुने अभियानको लक्ष्य रहेको मदिरा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य भरत चम्लागाईंले बताएका छन् । मदिरा कारोवारमा देखिएको विकृति नियन्त्रण गर्न तथा कारोवार व्यवस्थित गर्न पहल थालिएको छ । सङ्घले अभियान सफल बनाउन प्रारिम्भक चरणमा स्थानीय सरकारका प्रतिनिधिहरूसँग छलफल थालेको जनाएको छ । यसैक्रममा आइतबार दमक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरूसँग छलफल गरिएको थियो । छलफलपछि दमकमा यही मङ्सिर २७ गते सरोकारवाला पक्षहरूको सहभागितामा नगरस्तरीय वृहत छलफलतय समेत गरिएको अध्यक्ष पाण्डेको भनाई रहेको छ । छलफलमा नगरप्रमुख रोमनाथ ओलीले नगर क्षेत्रमा मदिरा व्यवस्थित बनाउने अभियान सबै पक्षको सहकार्यमा शुरु गरिने जनाएका छन् । मदिरा कारोवारलाई व्यवस्थित बनाउन बेचबिखन र सेवन बारेमा सरोकारवालासँग छलफल, अन्तरक्रिया थालेर अघि बढ्ने जानकारी दिएका छन् । छलफलमा नगर उपप्रमुख गीता अधिकारीले मदिराका कारण सामाजिक विकृति, अपराध निम्तिँदै आएकाले यसलाई अब व्यवस्थित बनाउन स्थानीय सरकार लाग्नु पर्ने भएको छ । माई पश्चिम क्षेत्रमा मात्र मदिराको कारोवार गर्ने व्यवसायीहरू करिव चार हजार बढी रहेको अनुमान छ । ती मध्ये ११ सय व्यवसायीले मात्र सरकारी अनुमति लिएर मदिराको कारोवार गरिआएको सङ्घका अध्यक्ष पाण्डेले बताएका छन् । जिल्लामा मदिरा कारोवारलाई नियन्त्रण गर्न जिल्लास्तरमा आन्तरिक राजस्व कार्यालयका प्रमुखको संयोजकत्वमा उद्योगी, व्यवसायी, प्रहरी, प्रशासन तथा सरोकारवालाहरूको सहभागितामा समिति गठन गरिएको छ । रासस
१ जना कर्मचारी सरुवा गर्न खोज्यो ५० जनाको फोन आउँछ: मातृका यादव
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले मन्त्री भन्दा कर्मचारी बलियो हुदैं गएको बताएका छन् । नेपाल खाद्य संस्थानको ४४ औं वार्षिक उत्सवमा बोल्दै मन्त्री यादवले कर्मचारीलाई उपत्यका बाहिर पठाउन नसकिएको बताएका हन् । यादवले भने ‘एक जना कर्मचारीलाई सरुवा गर्न लाग्यो ५० जनाको फोन आउँछ, कति शक्तिसाली भए कर्मचारी मन्त्रीलाई त टेर्दैनन् अरुको के कुरा गर्ने ?’ उनले कर्मचारीकै कारण संस्थान घाटामा गएको आरोप लगाए । वर्षभरी संस्थामा अनुचित कार्य गर्ने अनि एक दिन पुजा गरेर उम्कन खोज्ने यस्तो परिपाटीले संस्थानै नरहने स्थीतीमा पुगेको मन्त्री यादवले थपे । कार्यक्रमका संस्थानका महानिर्देशक योगेन्द्र गौचनले पनि कर्मचारी र सञ्चालक समितिले गर्दा संस्थान घाटामा गएको बताए । कर्मचारीहरु काम नगरेपनि तलब पाकिहाल्छ किन काम गर्ने महानिर्देशक गौचनले थपे संस्थानको वर्षभरीको आम्दानी खर्चको विवरण समेत पाउन मुस्किल छ कसरी संस्थानले कृषककोे लागि काम गर्न सक्छ । संस्थान सोमबारबाट ४५ वर्षमा प्रवेश गरेको छ । यो संस्थानको अन्तिम वार्षिक उत्सव भएको वत्ताहरुले बताएका थिए । आगामी वर्षबाट संस्थान राष्ट्रिय आपुर्ति कम्पनीमा रुपान्तरण हुनेछ ।
पर्साका बिनोद अग्रहरीले भए सिटी एक्स्प्रेस योजनाको दोस्रो महिनाको विजेता, जिते एक लाख रुपैयाँ
काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत दोस्रो महिनाको विजेता पर्साका बिनोद अग्रहरी घोषित भएका छन् । अग्रहरीले मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई एक लाख रुपैयाँको मासिक लक्कीड्रमा परी दोस्रो महिनाको विजेता हुन सफल भएका हुन् । उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ९२४ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार रुपैयाँ र १ जनाले १ लाख रुपैयाँ जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार रुपैयाँ र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्ने छन् । योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो योजनाअसोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।
मकवानपुरमा निशुल्क स्वास्थ्य परीक्षणमा शिविर तथा बाली /पशु संरक्षण कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय विरगंज र शाखा कान्तिपथ मकवानपुरको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण तथा बाली, पशु संरक्षण कार्यक्रम संचालन गरिको छ । आयोजित कार्यक्रममा कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंजका निर्देशक बाबुकाजी थापाले आवश्यक औषधी सहितको बाकस प्राथमिक स्वास्थ्य केन्द्रका डा.प्रविण पाण्डेलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका छन् । स्थानीय दाजुभाई तथा दिदीबहिनीको व्यापक उपस्थित रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिय निर्देशक थापाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउने कृषि विकास बैंक हो भन्ने कुरालाई स्पष्ट पारेका छन् । ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापित बैंकले हाल आधुनिक प्रविधी मार्फत लागेकाे छ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरेको छ । कृषि विकास बैंक कान्तीपथका प्रबन्धक देवीप्रसाद पोखरेल, समाजसेवी भक्तबहादुर खत्री र डा.प्रविण पाण्डेले कार्यक्रमको अनिवार्य रहेको जनाएका छन् । उक्त कार्यक्रम पश्चात पावस दुग्ध उत्पादन सहकारी संस्था बकैया, ५ मकवानपुरमा पशु तथा वाली वीमा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम समेत संचालन भएको भएको हो । कार्यक्रममा बैंक एसएमई विभागका शाखा प्रमुख प्रेम खनाल, शा.अ मधुसुदन खकुरेलले बाली वीमा तथा पशु वीमा सम्बन्धी प्रशिक्षण समेत दिएका थिए । कार्यक्रमको संचालन कृषि विकास बैंकको शाखा कार्यालय कान्तिपथका शा.अ. कृष्णप्रसाद पराजुलीले गरेका छन् ।
धुुलिखेलमा फ्रि वाइफाइ, एक पटकमा १०० जनासम्मले प्रयोग गर्न सक्ने
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ ।” प्रमुख ब्याञ्जूका अनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रीत फ्रि वाइफाइ सेवा उपलब्ध गराइनेछ । उनले भने, “नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, साइक्लिङ सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौँ ।” फ्रि वाइफाइ कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरको सरस्वती बजार, भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका कार्यालय, खेल मैदान, सरकारी कार्यालय र बजार क्षेत्र, टुँडिखेल मनोरञ्जन पार्क, हजार सिँढी क्षेत्र देवीस्थान मन्दिरसम्म, बिपी मार्ग चोक र नारायणस्थान मन्दिर वरिपरि फ्रि वाइफाइ जडान गरिने भएकोे छ । नगरपालिकाका अनुसार एक पटकमा एक सय जनासम्मले प्रयोग गर्न सक्ने गरी वाइफाइको क्षमता विस्तार गरिने छ । रासस
ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा
काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोतीमा औपचारिक रुपमा शाखा संचालन गरेको छ । प्रमुख अतिथि कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उदघाटन गरेका छन् । हाल बैंकको ८० शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । उक्त बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको २ अर्व ५९ करोड चुक्तापूँजी कायम रहेका उक्त बैकको प्राप्ती गरी एककृत कारोवार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ ।