विकासन्युज

मुहार फेर्दै कमलपोखरी, तयार भयो यस्तो डिजाईन

काठमाडौं । कमल पोखरीले एक बर्षभित्रै मुहार फेर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी एक बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि कमल पोखरीको नयाँ डिजाइन तयार पारेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको नयाँ डिजाइन सार्वजनिक गरेका हुन् । कमल पोखरीको अस्थित्व जोगाउँदै निर्माण गर्ने मेयर शाक्यको भनाई थियो । उनले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हातेमालो गरेर अघि बढ्न आग्रह गरे । उनले सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने दाबी गरे । छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको भनाई छ । मेयर शाक्यले पार्क, पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिए । ‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौँ,’ मेयर शाक्यले भने, ‘हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौँ ।’ उनले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताए । ‘नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि खुशी हुँदै भन्नुभयो, ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ । मलाई एकदम मन पर्यो । हामी महानगरपालिकासँग मिलेर कामगर्न तयार छौँ । अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔँ ।’ सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्नेलगायतका कुरामा पनि पहल गर्नुपर्ने उनको भनाई थियो । ‘योजना राम्रो बनेको छ । कमल पोखरी विकास समाजसँग पनि छालफल गरौँ, त्यहाँका क्लवका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौँ,’ थापाले भने, ‘यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस ।’ प्रदेश सभा सदस्य नरोत्तम वैद्यले भने पोखरीको डिलमा राजनीतिक दलका लागि भाषण गर्ने ठाउँ थप्नुपर्ने धारणा राखेका थिए ।

मल्टिमिडिया अवार्ड जितेर श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा

काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी थिईन्। पराजित भएसङै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेको भनेर धेरै नेपालीहरु निरास बनेका थिए। तर श्रृंखलाले सबैलाई आँफु उत्कृष्ट ३० मा पर्ने सम्भावना रहेको अाफ्नो सोसल मिडिया मार्फत जानकारी गराएकी थिईन्।

पेट्राेल, डिजेलको भाउ प्रतिलिटर २ रुपैंयाले घट्यो

काठमाडौं । आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । निगमले प्रतिलिटर पेट्रोल र डिजेल दुबैमा २ रुपैंया घटाएको हो । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि तेलको मूल्य नेपालमा पनि घटेको हो । निगमले सोमबार राती १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो । अब डिजेलको प्रतिलिटर ९९ रुपै‌या पर्नेछ भने पेट्रोलको मूल्य ११२ रुपैंया कायम गरिएको निगगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा हाल निगमलाई धेरै राहत मिलेको निगमले जनाएकाे छ । यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु. १२।३२ प्रति लि.ले र डिजेल रु. १५।७१ प्रति लि. ले नेपाल तर्फ नै अझै सस्तो कायम हुन पुगेको निगमले जनाएकाे छ । विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी एक महिनामा नै निगमलाई २ अर्व भन्दा बढी घाटा भएकाे र संचित नाेक्सान रु. ३ अर्व ८४ करोड घाटा भएकाे निगमकाे हिसाव छ ।

चार महिनादेखि तलव नपाएपछि जेट एयरवेजका पाइलटहरू हडतालमा

नयाँ दिल्ली । विगत चार महिनादेखि तलब नपाएपछि भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका पाइलटहरूले विरामी भएकाे बहाना गर्दै हडताल गरेका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै काममा नअाएपछि सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ व्यवस्थापकहरू, चालक, इन्जिनियरलगायतलाई तलब दिएको छैन । उडानहरू रद्ध भएपछि कम्पनीले एक वक्तव्य जारी गर्दै अप्रत्यासित रूपमा उडान सेवा दिन नसकिएको जनाएको छ । विषेश परिस्थिति र विमान चालकहरूको असहयोगका कारण विमान सेवा सुचारु हुन नसकेको भन्दै कम्पनीले विमान चालकहरूलाई दोष दिएको छ । कति उडान रद्ध भएका छन् भन्ने बारेमा भने कम्पनीले वक्तव्यमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ ।

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे बढुवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका थिए । नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आइका थिए । नायब प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेले सोमबार नै पदभार ग्रहण गरेका छन् ।

बीमा ऐनः भत्ता, लाभांश र लाइसेन्समा व्यवसायीको बिशेष चासो

काठमाडौं । प्रस्तावित बीमा ऐनको मस्यौदामा बीमा व्यवसायीले एक दर्जन भन्दा बढी संसोधनको आवश्यकता औँल्याएका छन् । प्रतिनिधी सभाको अर्थ समितिमा बीमा ऐनको मस्यौदामा सुझाव दिन पुगेका बीमा व्यवसायीहरुले बर्सेनी लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था खारेजी, बीमा करार लिखित नै हुनुपर्ने व्यवस्था खारेजी लगायतका एक दर्जन सुझाव दिएका हुन् । व्यवसायी कमलेश कुमार अग्रवालले बीमा करार लिखित नै हुनुपर्ने व्यवस्थाले बीमा क्षेत्रको विकास हुनै नसक्ने बताए । अर्का व्यवसायी राजेन्द्र मल्लले बीमा कम्पनीले बर्सेनी लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने धारणा राखे । उनीहरुले बीमा सेवा शुल्कलाई कुल प्रीमियमको ०.२५ प्रतिशतमा झार्नुपर्ने माग पनि राखे । हाल कुल बीमा शुल्कको १ प्रतिशत सेवा शुल्क बीमा समितिले लिँदै आएको छ । नयाँ ऐनमा भने त्यस्तो शुल्क ०.५० प्रतिशत प्रस्ताव गरिएको छ । व्यवसायीहरुले सञ्चालक समितिको भत्ता बीमा प्राधिकरणले तोक्ने व्यवस्था पनि खारेज गर्नुपर्ने धारणा राखे । त्यस्तै, त्रैमासिक तथा आर्थिक बर्ष सकिएको ३० दिनभित्र वित्तिय विवरण पेश गर्नुपर्ने धारालाई संसोधन गरेर त्रैमासिक वित्तिय विवरण मात्रै ३० दिनभित्र पेश गर्नुपर्ने तर बार्षिक वित्तिय प्रतिवेदन भने आर्थिक बर्ष सकिएको ६ महिनाभित्र पेश गर्न पाउनुपर्ने बताए । स्वतन्त्र सञ्चालकको कार्यकाल एक बर्ष मात्रै हुने व्यवस्था पनि खारेज गरेर २ कार्यकाल बनाउनुपर्ने उनीहरुको अडान थियो । चुक्ता पुँजी नपुगेको अवस्थामा लाभांश दिन नपाउने व्यवस्थाको साटो नगद लाभांश लेख्नुपर्ने पनि उनीहरुले बताए । एक व्यक्ति, कम्पनी वा एकाघरले बीमा कम्पनीको १५ प्रतिशत भन्दा बढि सेयर लिन नपाउने व्यवस्था पनि अव्यवहारिक रहेको उनीहरुको भनाई थियो । समितिका अध्यक्ष कृष्ण प्रसाद दाहालले बीमा ऐनका बारेमा सरोकार राख्ने सबैसँग छलफल थालिएको बताए । ‘बीमा ऐनमा मेरो चासो छ भनेर आउनेहरुको राय लिने काम भैरहेको छ, हामी उप समिति नबनाई काम गर्छाै’, अर्थ समिति सभापति दाहालले भने । उनले बीमा ऐनमा अनावश्यक चलखेल हुन नदिने पनि स्पष्ट पारेका छन् ।

युनाइटेड इन्स्योरेन्स र जनता बैक बीच बैंकास्योरेन्स सम्झौता

                काठमाडौं । जनता बैंक नेपाल र युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्री र इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता भए सँगै जनता बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरुबाट लिन सक्ने भएको छ ।

एउटा मोबाइल किन्दा अर्को सित्तैमा अफर, चाहिने भए जानुस्, मोबाइल हब

काठमाडौं । सिटीसी मलमा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि मोबाइल एक्सचेञ्जन अफर सुरु हुने भएको छ । साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । मोबाईल एक्सचेञ्जज अफरका साथै एउटा ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने जनाएका छन् । हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिने छ । १५ दिन सम्म चल्ने उक्त मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ । सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले जानकारी दिएका छन् । उक्त मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिने छ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किङंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्ने जनाएको छ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।