‘सरकारी अस्पतालको विकासमा सरकार प्रतिबद्ध’ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादव
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशभरका सरकारी अस्पतालमा सेवा, सुविधा र प्रविधिको विकास गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समिक्षामा बोल्दै गुणस्तरीय सेवा र अस्पतालमा भएको प्रविधिको विकास गर्न सके मात्रै बिरामीले पनि सेवा सुविधाबाट बच्चित हुनु नपर्ने जानकारी दिएका छन् । देशभर सञ्चालित अस्पताल र स्वास्थ्य चौकीमा कस्तो सेवा सुविधा प्रदान भइरहेको छ, त्यसको अनुगमन गरी समस्या भए छिट्टै समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । स्वास्थ्य बीमाको प्रथम किस्ता तिर्नेको सङ्ख्या धेरै भएपनि दोस्रो किस्ता तिर्नेको सङ्ख्यामा कमी आउनुको कारण खोज्नु पर्ने भएको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अस्पतालको सङ्ख्यामा वृद्धि गर्दै सेवा र सुविधाबाट कोही पनि बञ्चित नहुने गरी सेवा दिनु आवश्यक रहेको छ । कार्यक्रममा देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय कार्यालय, प्रदेश कार्यालय लगायतका प्रतिनिधि र दातृ राष्ट्रका प्रतिनिधीको सहभागिता रहेको छ । रासस
निजी स्कुल, सरकारी पाठ्यक्रमः नपाल्नुस् है नम्बरको भ्रम
काठमाडौं । शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो । शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षा विषयगत अध्ययन मात्र नभएर सभ्यता, समाज, जीवनशैली, संस्कृति र परम्परा लगायतबाट प्राप्त हुने अनुभव र ज्ञान पनि हो । अरुभन्दा धेरै राम्रो अंक ल्याउनु, अरुलाई जित्नु नै राम्रो शिक्षा हासिल गरेको भन्ने मानसिकता नेपाली समाजमा दह्रोसँग स्थापीत छ । तर पाठशाला नेपालका सञ्चालक यस धारणा प्रति बिल्कुलै सहमत छैनन् । शिक्षा भनेको जीवन जिउने कला सिक्नु हो भन्ने उनलाई लाग्छ। पाठशाला नेपाल आज भन्दा १३ बर्ष अघि पाठशाला नेपाल फाउन्डेसनद्वारा स्थापना गरिएको विद्यालय हो । कक्षा १ देखी १० सम्म पढाइ हुने यो विद्यालय काठमाडौंका उत्कृष्ट मध्येमा पर्दछ । ललितपुरको बागडोल र बानेश्वर गरी यसका दुई ठाउँमा पूर्वाधार छन् । काठमाडौंमै फराकिलो र शान्त वातावरणमा उपलब्ध हुने नगन्य विद्यालयहरुमध्येकै एक हो यो पाठशाला । यहाँ १३ सय विद्यार्थी पढ्छन् । उनीहरुलाई केवल पढ्ने मात्रै होइन जीवन दर्शनलाई बुझ्ने कला पनि सिकाइन्छ । विद्यालयको अर्काे महत्वपूर्ण बिशेषता भनेको एउटा कक्षामा ३० जनाभन्दा बढी विद्यार्र्थी नराख्नु पनि हो । यो विश्वस्तरिय मापदण्ड भएको विद्यालयको दावी छ । ‘देशमै राम्रो शिक्षा दिएर राम्रो जनशक्ती उत्पादन गराउन सकिन्छ भन्ने लक्ष्य र उद्देश्यका साथ पाठशाला नेपालको स्थापना गरेका थियौं, आफ्नो लक्ष्य प्राप्तिको बाटोमा सफलता पाईरहेको अनुभूत गरेका छौं’, पाठशाला नेपालका प्रिन्सिपल भन्छन् । लामो समयदेखि शिक्षण पेशामा संलग्नहरुले मिलेर स्थापना गरेको पाठशालामा ‘गरेर सिक’ भन्ने मुल सिद्दान्तलाई अवलम्बन गरिएको छ । त्यसैले विद्यालयमा पढाईका साथै प्रशस्तै अतिरिक्त कृयाकलाप पनि गराइन्छ । ‘ज्ञान भनेको महासागर हो, जत्रो भाडोँ लिएर गइन्छ, त्यति नै पानी पाइने हो, हामी ज्ञान रुपी महासागरमा ठूलो भाँडो बोक्ने जनशक्ति उत्पादन गर्न उद्यत छौं’, उनले भने । हरेक मान्छेसँग बराबर क्षमता हुन्छ, फरक यत्ति हो की ऊ हुर्के÷बढेको समाजले उसको कति क्षमता प्रस्फुटन गराउन भूमिका खेल्छ । पाठशालाले भने बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान र त्यसको प्रवद्र्धनमा बिशेष ध्यान दिँदै आएको छ । धेरै नम्बर ल्याउनुलाई अब्बल मान्ने सोँचकाबीच ‘सार्थक शिक्षाः सार्थक जीवन’ भन्ने मर्मलाई आत्मसात् गर्दै जीवनोपयोगी र व्यवहारिक शिक्षा विद्यालयले प्रयोगमा ल्याएको दावी गरिएको छ । बोर्ड मेम्बर अर्जुन पराजुली – अध्यक्ष टंक आचार्य – प्रबन्ध निर्देशक ईश्वरी बहादुर अधिकारी -प्रमुख कार्यकारी अधिकृत विश्वनाथ कँडेल (बागडोल) र अनिता कुमारी तामाङ (बानेश्वर)- प्रधानाध्यापक विद्यालयले हरेक चाडवाड रित पूर्वक धुमधामको साथ मनाउने गरेको छ । कक्षा १ देखी १० सम्म अध्ययन गर्दा विद्यार्थीले १० वटा संस्कृतिसंग पूर्ण रुपमा परिचित हुने अवसर पाउँछन् । विद्यालयले सरकारी पाठ्यक्रमबाट टाढा नगएर त्यसैमा अन्य महत्वपूर्ण पठन सामग्री जस्तै आर्ट क्लास, नृत्य, संगीतहरु राखेको छ । त्यति मात्रै होइन, अंग्रेजी र नेपाली भाषालाई विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ । ‘एउटा पाइला नेपालमा, एउटा पाइला विश्वमा’ भन्ने कुरालाई पछ्याउँदै विद्यालयले दुवै भाषालाई प्राथमिकता दिएको संचालक बताउँछन् । यातायातको सुविधा, अत्याधुनिक प्रविधिको प्रयोग सहित अध्ययन–अध्यापन लगायतका व्यवस्थाहरूले यहाँको वातावरणलाई विद्यार्थी मैत्री बनाएको छ । जिम्मेवारी बोधसहितको पूर्ण स्वतन्त्रता त्यहाँ विद्यार्थीहरुले पाएको अर्काे उपहार हो । आत्मानुशासन र स्वतन्त्रता भित्रको अनुशासन आफुहरुको सबैभन्दा ठुलो सम्पत्ति भएको संचालक बताउँछन् । पाठशालाका शिक्षकहरु विद्यालय छुट्टी भएपछी १ घण्टा भन्दा बढी समय विद्यालयमै बस्छन र दिनभरका घट्नाक्रमहरुको विश्लेषण गर्छन् । भोली के पठाउने भनेर व्यापक छलफल गर्छन् । यसरी एउटा निजी विद्यालय जसले सरकारी पाठ्यक्रम अध्ययन गराउँछ तर विश्वस्तरीय शिक्षा दिलाउँछ ।
आँधिखोला लघुवित्तले ४० कराेडकाे आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुमा ४० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता आईपीओ जारी गर्न लागेकाे हाे । लघुवित्तले सो मात्राको सेयर निष्काशनको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल आँधिखोला लघुवित्तको अधिकृत पुँजी १५ करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनेछ । स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिब ४९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, संस्थाले बचत संकलन १४ करोड ४५ लाख रुपैयाँ गरी करिव ८० लाख रुपैयाँ नाफा गरेको छ ।
ऐलानी जग्गा मुआब्जाको नाममा २२० केभीकाे कोसी करिडोर रोकिँदैन: शेरधन राई
काठमाडौं । धरान उपमहानगरपालिकाले कोसी करिडोरको विस्तारमा अवरोधको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोसी करिडोर २२० केभी लाइन विस्तारमा समस्या आएपछि आयोजनाले जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा आफ्नो विचार राख्दै प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले पर्यटन विकासको नाममा उपमहानगरपालिकाले आयोजनामा अवरोध गर्नु सुहाउदो विषय नभएको बताए । ‘आयोजनाको विकास गर्दा चुप लाग्ने अहिले सिमित व्यक्तिको स्वार्थको लागि आयोजनामा अवरोध गर्नु मिल्दैन यो विषय अब प्रदेश सरकारले हेर्छ मुख्यमन्त्री राईले भने विकासमा अवरोध स्वीकार्य हुदैन ।’ हरेक व्यक्तिले पोल रोक्न थाले विद्युत विस्तारको काम अघि बढाउन नसकिने विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए । विद्युत विस्तारमा देशैभरी समस्या रहेको भन्दै समाधानको लागि समाधानका लागि जनप्रतिनिधिसँग अपिल गरे । कार्यक्रममा आयोजना प्रमुख राजन ढकालले कोरिडोरको समस्याको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोरिडोरमा उपमहानगरपालिका, रुख कटान र बालुवा गिट्टीको समस्या रहेको बताए । प्रदेश १ का सभामुख प्रदिप भण्डारीले ऐलानी जग्गाको मुअब्जाको लागि स्थानियलाई उचाल्ने काम भएको बताए । उनले सो स्थानमा निजी जग्गा भन्दा पनि ऐलानी जग्गा धेरै रहेको र सो जग्गा स्थानीयको नाममा नभएकोले समस्या उब्जिएको बताए । उपमहानगरपालिका वडा नं. २० मा केबलकार, प्याराग्लाइडिङ, पार्क, विमानस्थलको लागि आयोजनाले असर गर्ने स्थानीयको भनाई छ । आयोजनाबाट १ जनाले मअब्जा समेत लिइसकेका छन् ।
नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ बीच द्विपक्षीय व्यापारी सम्झौंता
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ (द फेडरेशन अफ थाइ इन्डस्ट्रिज) बीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्ने बारे सम्झौंता भएको छ । थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा भएको सम्झौंतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरेका छन् । थाइ उद्योग महासंघका अध्यक्ष मोङकोलोस्थ्रीले नेपाल चेम्बर अफ कमर्ससँग सम्वन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्धिपक्षीय व्यापार तथा लगानी विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताएका छन् । नेपाल भारत र चीनजस्तो ठूलो जनसंख्या भएको देशको बीचमा रहेको बताउँदै त्यसबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने जानकारी दिएका छन् । नेपालबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने वस्तुमा भारतमा शुन्य भन्सारमा निकासी हुन पाउँछ । पछिल्लो समयमा ट्रान्जिट लागत घट्दो क्रममा रहेको बताउँदै विस्तारै पूर्वाधार क्षेत्रमा समेत लगानी भएकाले सामान विश्वबजारमा प्रतिस्पर्धी हुन थालेको बताएका छन् ।
अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडाैं । अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंक बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्ध सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकहरूलार्इ अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।
जनता बैंकले ल्यायो नयाँ सुविधा, अनलाईनबाट समान किन्दा तुरुन्तै भुक्तानी गर्न सकिने
काठमाडौं । जनता बैंकले अनलाइनबाट कुनैपनि वस्तु तथा सेवाको खरिद गर्दा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको छ । यो सेवाको शुरुवातसँगै बैंकका कार्डहोल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन् । जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसँग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । साथै, बैंकले विदेश स्थित विश्व विद्यालय/कलेजसँग सम्बन्धि विभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय/कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरु गरेको छ । भिसा इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ । यस सेवामार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने बैंकको विश्वास छ ।
लक्ष्मी लघुवित्तको २६ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २६.३२ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम सेयरधनीले हाल कायम चुक्ता पुँजीको कर सहित सो मात्राको नगद लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले कर समेत ६ करोड ३८ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट साविककै सञ्चालक सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोध रुपमा चयन गरेको छ । हाल संस्थाले ४७ जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । ३ अर्बभन्दा बढी कर्जा लगानी गरेको यस संस्थाले १ अर्ब भन्दा बढी बचत संकलन गरेको विज्ञप्तिमा उल्लेख छ ।