विकासन्युज

नेपाल टेलिकमले ५५ रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयलाई नेपाल सरकारले स्वीकृति तथा कम्पनीको आगामी ११औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

सिटिजन्स बैंकद्वारा प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले पाल्पा जिल्लाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग गरेको छ । केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई रू दुई लाखको चेक हस्तान्तरण गरेका हुन्र । सिटिजन्स बैंक इन्टरनेसनलले फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गर्दै आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा जानकारी दिएको छ । कृषिबाली विज्ञान अध्ययनगर्ने पी जेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिदका साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रदान गरेकाे अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।

चिलिमे जलविद्युतले पुस २७ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको आगामी पुस २७ गते २२औँ वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्न लागेको छ । कम्पनीको वार्षिक साधारणसभा उक्त दिन बिहानको ११ बजे काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसियल क्लबमा बस्दै छ । सभाले सञ्चालक समितिको २५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको बैठकले चुक्ता पुँजीकाे २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ लाख रुपैयाँ रहेको छ ।

महोत्तरीकाे निर्माणाधिन सडक चिरा पर्दै, हुलाकी सडक विभागको ध्यानाकर्षण

काठमाडौं । महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको छ । स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयवासीले प्रहरीको सहयोगमा सडक बिग्रन नदिनका लागि भारी क्षमताको सवारीसाधन चलाउनमा रोक लगाउँदै आएको छ । हुलाकी सडकको निर्माणका क्रममा सडक विभागले दिएको निर्देशन विपरीत सो सडकमा पछिल्लो समयमा ३० टन बराबरको तौलका १० चक्के सवारीसाधन चलेको गौशाला बडा नं– २ का वडा सदस्य कुमरकान्त झाको भनाई रहेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा चल्ने सवारी साधनको भार क्षमताको निगरानी गर्ने कार्य प्रहरीको नभएको बताएका छन् । यसको निगरानी जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक विभागको रहेको प्रहरी निरीक्षक आचार्यले बताएका छन् । सडक निर्माणको क्रममा गुणस्तरीय कार्य हुन नसक्दा सडक बिग्रन थालेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोको भनाई रहेको छ । आइतबारको नगरकार्यपालिकाको बैठकमा समेत केही बेर यस विषयमा छलफल भएकोले आफूले यस सम्बन्धमा सम्बन्धित निकायलाई निगरानी गर्नका लागि अनुरोध गर्ने नगरप्रमुख भनाई रहेको छ । रासस

युनाईटेड इन्स्योरेन्सद्धारा मृतक थापाको परिवारलाई ५ लाख बीमा भुक्तानी

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले मृतक शेर बहादुर थापाको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । कम्पनीले निजकी श्रीमती कल्पना थापालाई सो रकमको चेक दिएको हो । उक्त चेक अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद बेल्बासे, कम्पनीका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समिति अध्यक्ष योगेन्द्र ब. खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । मृतक शेर बहादुर थापाको जीप चलाउने क्रममा दुर्घटना भएको थियो । त्यसपछि उपचारको क्रममा उनकाे मृत्यु भएको हो । इन्स्योरेन्सले कम्पनीको नियमानुसार साे मात्राकाे बीमा भुक्तानी गरेको बताएकाे छ ।

सेयर कारोबार रोक्न अवाञ्छित गतिविधि भएको धितोपत्र बोर्डको भनाई, प्रतिवेदन छिट्टै सार्वजनिक गरिने

काठमाडौं । दोस्रो बजारमा सेयर कारोबार रोक्न अवाञ्छित गतिविधि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । सेयर बजार सम्बन्धि माग राखेर नेपाल स्टक एक्स्चेञ्जको कार्यालयमा थालिएको आमरण अनसन र सेयर ब्रोकर कम्पनीहरुलाई कारोबार रोक्न दिएको धम्कीहरुलाई लक्षित गर्दै धितोपत्र बोर्डले अवाञ्छित गतिविधि रोक्न लगानीकर्तालाई आग्रह गरेको छ । विगत केही दिनदेखि लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी राखेका मागहरु तथा दोस्रो बजार कारोवार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । बोर्डले दोस्रो बजार कारोवार संचालनमा संयमताको लागि अनुरोध गर्दै बजारलाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको अपिल गरेको छ । सेयर बजारका केही लगानीकर्ताहरूकाे समूहले अर्थमन्त्री, गभर्नर, धिताेपत्र बाेर्डका अध्यक्ष, नेप्सेका महाप्रबन्धककाे राजीनामासहित १४ बुँदे माग राखेर अनसन थालेका छन् । पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृतिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्न बोर्डको प्रतिनिधि सहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी सरकारबाट उच्च स्तरीय समिति गठन भएको स्मरण गराउँदै उक्त समितिले चाडै नै आफ्नाे प्रतिवेदन बुझाउने क्रममा रहेको बोर्डले जनाएको छ । उक्त समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको छ । सम्बन्धित समाचार धितोपत्र बोर्डले भन्यो-‘सेयरमा लगानी गर्न उत्तम समय हो अहिले’, २० वटा आधार समेत प्रस्तुत  

मुक्तिनाथ विकास बैंकको २१५ औं वित्तीय साक्षरता कार्यक्रममा ४० हजार उपस्थित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २१५ औ वित्तीय साक्षरता कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल आशयको साथ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्षेत्र भित्रका स्थानियहरुलाई कार्यक्रममा सहभागी गराउदै आएको बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो । विद्यार्थीहरुको आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ, भन्ने विषयवस्तु उक्त कार्यक्रममा समावेश गरिएको थियो । बैंकले हालसम्म २१५ स्थानमा करीब ४० हजार स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेका छन् । आगामी दिनमा कार्यक्षेत्र भित्रमा व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दैनिक अध्यापनमा समेत सघाउ पुग्ने र अध्ययनमा साक्षर भएपनि वित्तीय रुपमा साक्षर नभएको महशुस गरी आफूले अब वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए ।

ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते, १६ प्रतिशत बोनस पारित गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आगामी पुस २७ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले बोनस पाउनेछन् । बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब नाघ्ने छ । साथै, बैंकले कम्पनी अधिकृत पुँजी १० अर्ब रुपैयाँलाई वृद्धि गरी १६ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ । बैंकको साधारण सभा पुस २७ गते नक्सालको नक्साल ब्याङ्क्वेटमा बिहान १० बजे बस्दै छ ।