समृद्ध चीनको ४० बर्षे यात्राः बन्द राजनीतिभित्र खुल्ला अर्थतन्त्र, नजरअन्दाज नगर्न सी जिनपिङको चेतावनी
बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए । चिनीया ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौं र अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम नगर्ने स्पष्ट पारे । “समाजवादको झण्डा चिनीया भूमिमा अझै उचाईका साथ सदैब फर्फराइरहनेछ,” राष्ट्रपति सीले भने । “चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनीया विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनीया विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।” चिनीया सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनीया अर्थतन्त्रले अनेक सङ्कटको सामना गर्नु परिरहेको छ । दुबै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ । संयुक्तराज्य अमेरिकामाथि प्रत्यक्ष सङ्केत नगरी राष्ट्रपति सी जिनपिङले भने, “चीन कुनै पनि मुलुकका लागि चुनौती होइन तर यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ । चिनीया जनताले के गर्नु पर्दछ वा के गर्नु हुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन ।” “हामीले गर्न सकिने सुधारका कार्यहरुलाई निरन्तरता दिनै पर्दछ, तर कतिपय काम हामी गर्न सक्दैनौं, त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ,” राष्ट्रपति सीले चेतावनीयुक्त भाषामा भने । राष्ट्रपति सीले बढीभन्दा बढी सुधारका बारेमा चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गरेनन् । संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन् । तर, उनीहरुले चिनीया कम्पनीहरुले पश्चिमा मुलुकको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाइरहेको गुनासो गरिरहेका छन् । देङको खुला नीतिले करोडौं चिनीया जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा उभ्याएको छ । तर पछिल्ला वर्षहरुमा चीनको ऋण बढ्दो क्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ । गत वर्ष ६ दशमलब ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलब ५ प्रतिशतमा छ । चिनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरुले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गरेका थिए । ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा मुलुकको विकासमा महत्वपूर्ण योगदान गरेका १०० भन्दा बढी व्यक्ति एवं संस्थालाई विशेष पदकद्वारा विभूषित गरिएको थियो । विभूषित हुनेहरुमा ग्रामीण क्षेत्रमा कार्यरत व्यक्तिदेखि चीनका सर्वाधिक धनी व्यक्ति अलिबाबाका संस्थापक ज्याक मा, एनबीए खेलाडी याओ मिङ समेत छन् । खुलापनका पिताका रुपमा चिनिने देङ सियाओपिङले हङकङसँग सीमा जोडिएको सेन्जेनमा चीनकै पहिलो विशेष आर्थिक क्षेत्र निर्माण गरेका थिए । यो आर्थिक क्षेत्र मुलुकका बाँकी स्थानका लागि नमूनाका रुपमा स्थापित भएको थियो । सेन्जेन हाल विश्वव्यापी प्रविधि केन्द्रका रुपमा स्थापित छ । यहाँ टेन्सेन्ट र टेलिकम क्षेत्रको मसहुर कम्पनी हुवावेका मुख्यालय छन् । चालीस वर्षअघि ग्रामीण क्षेत्रमा ९७.५ प्रतिशत रहेको गरिबी गत वर्षसम्म आइपुग्दा ३.१ प्रतिशतमा झरेको छ ।
अब मालपोतमा बिचौलियालाई प्रवेश निषेध
काठमाडौँ । अब मालपोत र भूमि सुधार कार्यालयहरुमा बिचौलिया नचाहिने भएको छ । सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको हो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज भूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको हो । लेखापढी गर्ने अभिवक्ताले आफ्नो पेशा धरापमा परेको उल्लेख गर्दै नापी तथा मालपोतको काममा आफूहरुले फारम भर्ने काम गर्न पाउने उल्लेख गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको केन्द्रीय समितिका तर्फबाट कृष्णप्रसाद दाहालले भूमि सुधार मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश मिश्र र न्यायाधीश मोक्तानको अन्तरिम आदेशलाई निरन्तरता नदिई भूमि सुधार मन्त्रालयले बनाएको नीतिका पक्षमा आदेश जारी गरको छ । यसअघि लेखापढी गर्न जान्ने व्यक्तिको पनि अभिवक्ताले फारम भर्ने व्यवस्था थियो ।
पोखरा काण्ड: कक्षा ११ का विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको ऐक्यवद्धता
काठमाडौं । कक्षा ११ को नतिजामा अन्याय भएको भन्दै आन्दोलनरत विद्यार्थीहरुको मागमा ७ विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । राष्ट्रिय परिक्षा बोर्डले २०७५ जेठमा सञ्चालन गरेको विज्ञान संकायको कक्षा ११ को परिक्षाको नतिजा प्रकाशनमा गम्भिर लापरवाही गरेको थियो । त्यसका विरुद्ध विद्यार्थीहरुले ९ दिनदेखि अनसन लगायतका आन्दोलनका कार्यक्रम सुरु गरेका थिए । बोर्डको लापरवाहीका कारण आफुहरुको भविष्य नै अन्यौलमा परेको भन्दै विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा ७ विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्धता व्यक्त गरेका हुन् । मंगलबार अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली, केन्द्रिय सदस्य अशोक थापा लगायतले अनसनस्थलमै पुगेर आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । पोखरामा क्रियाशिल ७ विद्यार्थी संगठनको प्रदेश नेतृत्वले आन्दोलनमा यस अघि नै ऐक्यवद्धता जनाईसकेको थियो । २७६८ जना विद्यार्थीहरुको कपी जाच्ने क्रममा लापरवाही भएको थियो । पोखरामा नाम चलेका कलेजका विद्यार्थीहरुको ग्रेडिङ ई मात्रै आएपछि विद्यार्थी, अविभावक र कलेजहरुले रि टोटलिङ गराएका थिए । सो क्रममा कैफियत देखिएको परिक्षा बोर्डले स्वीकार गरिसकेको छ । बोर्डले पुनः परिक्षा दिलाउने आश्वासन दिएको छ तर विद्यार्थीहरुले भने रि टोटलिङबाटै आफुहरुले न्याय पाउनुपर्ने बताउँदै आएका छन् । उनीहरुको आन्दोलनमा अविभावक र कलेज व्यवस्थापनको समेत समर्थन रहेको छ । आन्दोलनमा समर्थन जनाउन पुगेका अनेरास्ववियुका सचिव सुदेश पराजुलीले लापरवाही गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले सुन्दर भविष्य बनाउने सपना बोकेर अध्ययनम तल्लिन रहेका विद्यार्थीहरुको भविष्यमाथी भैरहेको खेलबाड सह्य नहुने बताए ।
पेट्रोल र डिजलको मूल्य घट्याे, तराईमा पेट्राेल प्रतिलिटर १०८.५० र डिजेल ९५.५० रूपैयाँमा किन्न पाइने
काठमाडौं। नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ। निगमले आज राती १२ बजे देखी लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैया घटाएको हो। नयाँ मूल्य सूचि अनुसार तराईमा पेट्राेल प्रतिलिटर १०८ रूपैयाँ ५० पैसामा किन्न पाइने छ । डिजेल ९५ रूपैयाँ ५० पैसामा किन्न पाइने छ । तर राजधानीसहित पहाडी जिल्लाहरूमा बढी मूल्य पर्ने निगमले जनाएकाे छ ।
अब सिभिल बैंकबाटै ज्योती लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात अब सिभिल बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाबाट ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । हाल बैंकको शाखा संख्या ७१ रहेको छ एन.एफ.आर.यस.अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ कमाएको छ । जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।
लिवर्टी इनर्जी कम्पनीले साढे ३७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि कुल ३५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्ने छ । त्यस्तै, थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुने कम्पनीले बताएको छ । यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविकफलेनी र ढोडेनीगा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु साईटसम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको काम हालसम्म करीब ८५ प्रतिशत सम्पन्न भई सकेको छ । साथै, आगामी चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
हिमालयन हाइड्रो एक्स्पाेको दोस्रो संस्करण माघ ४ गतेदेखि शुरु, १०० बढी स्टल रहने
काठमाडौं । हिमालयन हाइड्रो एक्स्पाेको दोस्रो संस्करण आगामी माघ ४ देखि ६ गतेसम्म हुने भएकोे छ । एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागेका हो । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेका छन् । एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इपानले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन्। नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् । एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रो सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ । हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिनेछ । एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने आयोजककाे विश्वास छ ।
गुराँस लाइफ इन्स्योरेन्सले पायाे ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको हो । इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकाेले उक्त अवार्डबाट सम्मानित भएकाे हाे । साथै, सिएचआरओले त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको छ ।