विकासन्युज

भाटभटेनीमा देव : विकास बैंकको नयाँ एटिएम संचालनमा

काठमाडौं । देव : विकास विकास बैकले भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । एनईपिएस् संञ्जालमा आवद्ध उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटिएम कार्डहरु प्रयोग गर्न सकिने छ । साथै देव : विकास बैकबाट जारी इएमभि भिजा कार्डहरु अन्य बैंकहरुको भिजा नेटवोर्कमा आवद्धहरूले एटिएममा प्रयोग गर्दा कारोबार शुल्क नलाग्ने व्यवस्था रहेको छ ।

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो, बिक्री १० प्रतिशतले कमी

सियोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनियाँ स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलब ७ प्रतिशतले कमी हो । गत साता पनि आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो । विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले हालैका वर्षमा उच्च नाफा आर्जन गरिरहेको थियो । कम्पनीका केही उत्पादनमा समस्या देखिए पनि सामसुङको बजारमा कुनै असर परेको थिएन । सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ । मेमोरी चिप्सको व्यापारमा देखिएको कठिन परिस्थितिका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानीमा कमी आउनेछ । दक्षिण कोरियाको अर्थतन्त्रमै प्रभाव पार्ने सामसुङ इलेक्ट्रोनिक्सको बजार खुम्चिएसँगै शेयर बजारमा पनि प्रभाव परेको छ । मङ्गलबार सामसुङको शेयर कारोबारमा शून्य दशमलब ५ प्रतिशतले कमी आएको छ । गत साता एप्पलले अक्टोबर–डिसेम्बरको अवधिमा ८४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको बताएको थियो । वर्षको शुरुमा एप्पलले यस अवधिमा ८९ देखि ९३ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । एप्पलले चीन र अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा आएको मन्दीले कम्पनीको आम्दानीमा प्रभाव परेको जनाएको छ । रासस\एएफपी

माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष डा.महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. विरेन्द्रप्रसाद महतो अध्यक्ष पदमा घोषित भएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । बैंकको देशभरि ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा छन्र ।

आरम्भ माइक्रोफाइनान्सको ७० प्रतिशत हकप्रद पारित, सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार(आज) सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम संस्थाले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको थियो । ७० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ पुगेको छ । साथै, सभाले सर्वसाधारण सेयरधनी (समुह ‘ख’) को तर्फबाट २ जनालाई सर्वसम्मत रुपमा सञ्चालक पदमा नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा सम्पन्न भएकोे उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ । संस्थाले गत २०७५ मंसीर मसान्तसम्ममा कार्यक्षेत्र रहेको १५ ओटै जिल्लाका विभिन्न स्थानमा २० वटा शाखा कार्यालयहरु मार्फत ग्राहकलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । जसमध्ये ७,८३० सदस्यले कर्जा लिई विभिन्न आयमुलक कार्यमा सहभागी भइ ऋणी सदस्य ५८.१६ प्रतिशत रहेको छ । लगानीमा रहीरहेको कर्जा रकमतर्फ करिब ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने बाँकी बचत तथा कोषतर्फ करिब १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बचत तथा कर्जा अनुपात ३१.९८ प्रतिशत रहेको संस्थाले जनाएको छ ।

नवलपरासीकाे पर्यटकीय क्षेत्रमा सडकमार्ग जीर्ण बन्दै, मर्मतप्रति सरकारको ध्यान नगएकाे गुनासाे

काठमाडौं । नवलपरासी पूर्व नवलपुरको पर्यटकीय क्षेत्र पुग्ने डण्डा–अमलटारी–कोल्हुवा सडक जीर्ण बन्दा यस क्षेत्रमा आउने पर्यटकलाई यात्रा गर्न समस्या भएको छ । अमलटारी घरबास, थारू अतिथि गृह, गङ्गेश्वर धाम, मध्यवर्ती र नारायणी आसपासका पर्यटकीय क्षेत्र जाने मुख्य मार्ग जीर्ण हुँदा यस क्षेत्रमा आउने पर्यटक लगायतका यात्रुलाई समस्या परेको हो । कावासोती १६ डण्डा हुँदै अमलटारी, मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने यो सडक ठाउँठाउँमा भत्किएर जीर्ण बनेको छ । पूर्व पश्चिम राजमार्गदेखि करीब १० किलोमिटरको यो सडक भत्किएर खाल्डाखुल्डी हुँदा जीर्ण बनेको छ । बाह्य तथा आन्तरिक पर्यटकको मुख्य गन्तव्य अमलटारी घरबास, मध्यवर्ती क्षेत्र र नारायणी तटीय क्षेत्रको अवलोकन हो । वासोती नगरपालिकाले सो सडक पर्यटकीय मार्ग भएकाले अघिल्लो आर्थिक वर्षमा नै आफ्नो नीति तथा कार्यक्रममा ‘ग्रिनरी सडक’का रुपमा विकास गर्ने योजना समावेश गरेको थियो तर उक्त नीति तथा कार्यक्रमअनुसार काम हुन नसकेकोमा यहाँका होटल व्यवसायीले गुनासो गरेका छन् । कावासोती–१६ का वडाध्यक्ष एकादत्त वस्तीले बाटोले सास्ती पाएको गुनासो जनस्तरबाट आइरहेको स्वीकार गर्दै छिट्टै बाटो बनाउन पहल गरिने बताएका छन्। नगरपालिकाले बनाउने भनेको चक्रपथ र शहरी विकास योजनाको सहयोगमा बाटो निर्माण गर्ने काम हुने जानकारी दिएका छन् । रासस

ललितपुरका सडकमा स्मार्ट लाइट, मान्छे धेरै हुँदा पूर्ण क्षमतामा बल्ने, मान्छे कम हुँदा बिस्तारै निभ्ने

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८ महिनासम्म देखिने गरी काम गर्न नसकेको स्वीकार गरेका छन् । पत्रकारसँगको भेटमा मेयर महर्जनले कानूनी झमेलाको कारण काम गर्न नसकिएको बताए । मेयर महर्जनले भने–अब हामी देखिने गरी काम गर्दैछौं । महानगरको सबै सडकमा स्मार्ट लाईट राख्ने काम प्रमुखताका साथ गर्छौँ–मेयर महर्जनले भने । उनका अनुसार स्मार्ट लाइट नेपालमै पहिलो पटक ललितपुर महानगरले प्रयोग गर्न लागेको हो । महानगरले विद्युत प्राधिकरणसँगको सहकार्यमा सडक लाइट प्रयोग गर्न लागेको हो । लाइट पूर्णरुपमा अटोमेटिक हुनेछ । मानिसहरुको संख्या धेरै भएको बेलामा लाइट पूर्ण क्षमतामा बल्नेछ भने मानिसको संख्या कम भएसँगै बिस्तारै निभ्ने छ । लाइटले रातिको समयमा इबोस्ड नम्बर प्रयोग गरिएको सवारीको समेत रेकर्ड राख्नेछ । लाइट राख्नका लागि महानगरले जनवरी २२ तारिखमा बोलपत्र आव्हान गर्ने भएको छ । ७९ जनालाई महानगरमा रोजगारी महानगरले ७९ जनालाई रोजगारीको दिए भएको छ ।महानगरलाई प्राप्त अधिकार अनुसार २९ जना इन्जिनियर र ५० जनालाई नगर प्रहरीमा रोजगारी दिन लागेको हो । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी र इन्जिनियर लिने महानगरले जनाएको छ ।

करिब ९० प्रतिशत भटमास आयात, व्यावसायिक खेती प्रवद्र्धनकाे तयारी

काठमाडौँ । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको छ । निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताउँदै किसानले आफूलाई चाहिने जति भटमास रोपेपनि बेच्नकै लागि भने नरोप्ने जानकारी दिएका छन् । भटमासको उपयोगबारे किसानलाई बुझाउन, यसबाट तेल बनाउन र खाद्यन्नकै रूपमा प्रयोग गर्नाका लागि उत्पादनमा आकर्षित गर्न सके आयात कम हुने वरिष्ठ बालीविज्ञ आचार्यले उल्लेख गरेका छन्र । भटमासको उपयोग नेवार समुदायले बढी गर्छन् भने ग्रामीण क्षेत्रमा तरकारी र खाजाको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । शहरी क्षेत्रमा यसको प्रयोग पहिले भन्दा बढेकाले यसको आयात बढेको हो । किसानलाई कसरी थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने र कसरी बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउनपर्छ । निर्देशनालयले मुख्य बालीको प्रवद्र्धनसँगै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिले जिल्ला कृषि विकास कार्यालय मार्फत कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसान लक्षित कार्यक्रम सञ्चालनमा ल्याउन पर्ने जानकारी दिए । रासस

माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै, सात दिनभित्र दोस्रो बजारमा कारोबार हुने

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ । स्टकका अनुसार १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । स्टकका प्रवक्ता पराजुलीले ‘धितोपत्र सूचीकरण नियमावली अनुसार’ कागजात अध्ययन गर्न एक महिना लाग्ने भएपनि सात दिनभित्र सूचीकरण गर्ने तयारी गरिएको छ । शुरुको कारोबार मूल्य के कति हुने भन्ने बारेमा भने स्टकले केही जानकारी दिएको छैन । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण हुन लागेको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ । रासस