आयल निगमः यी हुन् समस्या, यस्ता छन् चुनौती
काठमाडौँ । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ । भण्डार क्षमता विस्तारका नाउँमा जग्गा खरिद गर्दा व्यापक अनियमिता गरेको, तलदेखि माथिसम्मको ‘सेटिङ’मा तेल चोरी, विद्यार्थी सङ्गठनका नेतालाई ‘तेलका कुपन’ उपहार दिइएको घटनाले निगमको छवि निकै खस्केको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको ‘निगममा प्वालैप्वाल भएको’ भन्ने भनाइले पनि निगममा निकै अनियमिता भएको पुष्टि गर्छ । निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिनेतर्फ सरकारले निगम व्यवस्थापनको ध्यानाकर्षण गराइसकेको छ । निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) चन्द्रकुमार घिमिरे वर्तमान आर्थिक बजारले सहज, सुलभ, किफायती र गुणस्तरीय वस्तुको आवश्यकता बोध गरेको यथार्यलाई स्वीकार गर्दै सरकारले दिएको भूमिका निर्वाह गर्न निगम व्यवस्थापन सक्षम हुनुपर्ने बताउँछन् । निगमको ४९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले भन्नुभयो, “निगम र नेतृत्वले जिम्मेवारी निर्वाह गर्न नसकेको अवस्थामा सरकारले बिकल्प सोच्नुपर्ने अवस्था आउन सक्छ, त्यो बिकल्प भनेको बजारलाई खुला गर्दै प्रतिस्पर्धी भित्रयाउनुपर्ने हुनसक्छ ।” भण्डारण क्षमता विस्तार चुनौतीपूर्ण निगमको अर्को मुख्य चुनौती भनेको पेट्रोलियम पदार्थको पर्याप्त भण्डारण गर्न नसक्नु हो । विभिन्न बहानामा भइरहने ढुवानीकर्ताको आन्दोलन, ट्याङ्कर चालकको हड्ताल, सीमा क्षेत्रमा हुने गतिविधि तथा छिमेकी भारतका कारण आइपर्ने समस्याले नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने गर्छ । निगमसँग पर्याप्त मात्रामा भण्डारण क्षमता नहुँदा पटकपटक नेपाली जनताले सास्ती व्यहोर्दै आउनु परेको अवस्था छ । कालोबजारीमा तेल तथा ग्यास किनेर जीवन गुजारा गर्नुपर्ने अवस्थाको कारकका रुपमा निगमलाई ठह¥याइएको छ । हाल निगमको भण्डारण क्षमताले करीब एक साताको बजार माग मात्र धान्न सक्ने छ । भण्डारण क्षमता विस्तार गर्दै जनताको आवश्यकता धान्न सक्ने गरी इन्धनको मौज्दात राख्न निकै नै ढिला भइसकेको छ । २०५८ सालदेखि निगमले भण्डारण क्षमता विस्तार गर्न सकेको छैन । हाल निगमसँग पेट्रोल र डिजलको एक साताको बजार माग धान्न सक्ने भण्डारण क्षमता रहेको छ भने हवाई इन्धन झन्डै १५ दिनको माग धान्न सक्ने गरी भण्डारण गर्दै आएको छ । सरकारले १४ औँ योजनामार्फत तीन महीना अर्थात् ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य लिएको थियो । आव २०७२÷०७३ को बजेट बक्तव्यमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रत्येक प्रदेशमा तीन महिनाको माग धान्ने गरी भण्डारण क्षमता विस्तार गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । निगमसँग ६८ हजार ३६४ किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता रहेको छ । स्वचालित मूल्य नहुँदा घाटा बढ्दो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावसँगै निगमले १५-१५ दिनमा स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्दै आएपनि निरन्तर मूल्य समायोजन नगर्दा निगमको घाटा ह्वातै बढ्ने गरेको बताइएको छ । सरकार, जनप्रतिनिधिमूलक संस्थाको निर्देशन तथा चाडपर्वका अवसरमा निगमले मूल्य समायोजन गर्न सकेको छैन् । गत असोज÷कात्तिकमा निगमले इन्धनको मूल्य समायोजन नगर्दा एक महिनामै करीब दुई अर्ब घाटा बढेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् । इन्डियन आयल कर्पोरेशनले पठाउँदै आएको १५÷१५ दिनमा नयाँ मूल्यसूची अनुसार निगमले पनि सोहि अनुरुप मूल्य समायोजन गर्दै आएको छ । डिजल, पेट्रोलमा मूल्य समायोजन हुँदै आएपनि निगमले लामो समयदेखि एलपी ग्यासको मूल्य समायोजन गर्न सकेको छैन् । अझै पनि निगमले प्रतिसिलिण्डर ८० घाटा व्यहोर्दै आएको छ । विभिन्न मुलुकबाट पेट्रोल, डिजेल, मोविल, लुब्रिकेन्ट, मट्टितेल, ग्रीज, हवाई इन्धन, एलपी ग्यास तथा अन्य पेट्रोलियम पदार्थको आयात गरी नेपालभर बिक्री वितरण गर्ने उद्देश्यले ४९ वर्षअघि नेपाल सरकारको पूर्ण स्वामित्वमा नेपाल आयल निगमको स्थापना भएको थियो । स्थापनाकालदेखिनै निगमले पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरणको कार्य गर्दै आएको छ । विभिन्न बहानामा इन्धन ढुवानीमा देखिने अवरोधलाई परास्त गर्दै निगमको बिग्रेको छवि सुधार्दै प्रतिस्पर्धात्मक बजारमा आफूलाई खरो उतार्न वर्तमान नेतृत्वले कुनै कसर बाँकी राख्न नहुने पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले बताए । रासस
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा, भदौसम्म विद्युत उत्पादन हुने
काठमाडौं । बागलुङको बडीगाड खाेला र लमजुङको लोदीखोला जलविद्युत आयोजनाका पिपिए अन्तिम चरणमा पुगेको छ । हाल कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु अघि बढाएको छ । आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ । आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर (आईपिओ) जारी गर्न एनआईविएल एस क्यापिटलसँग सम्झौता भएकाे छ । यता, लिवर्टी इनर्जी कम्पनीको नवाैं वार्षिक साधारण सभामा उक्त कम्पनीका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा कम्पनीका प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीकाे उपस्थितिमा उक्त प्रस्तावहरु पारित भएको छ । उक्त आयोजनाको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन (आरसीओडी) आगामी २०७६ भाद्र महिनामा अगावै विद्युत उत्पादन गरिने जानकारी साधारण सभामा गराएको छ । साथै कम्पनीद्धारा सर्वेक्षण अनुमतिपत्र प्राप्त बागलुङ जिल्ला स्थित बडीगाड खोलामा २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्ला स्थित लोदोखोलाबाट १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईइइ रिपोर्ट बनाउने र पिपिए गर्ने चरणमा पुगेकाे छ ।
शिव श्री हाइड्रोको आईपीओ बिक्री शुरु, ७३८० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले पुस २७ गतेदेखि साधारण सेयर (आईपीओ) को बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई अंकित मूल्य १०० रुपैयाँ दरले १४ लाख ७३ हजार ४०० कित्ता आईपीओको निष्कासन शुरु गरेको हो । कम्पनीले जारी गरेको १४ करोड ७३ लाख रुपैयाँ बराबरको आईपीओमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । न्युनतम ५० देखि अधिकतम ७ हजार ३८० कित्तासम्म आईपीओ भर्न पाउने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । आगामी माघ ११ गतेसम्म खुल्ला हुने आईपीओको लागि इच्छुकले विभिन्न स्थानबाट आवेदन बुझाउन सक्नेछन् । सिन्धु विकास बैंकको बाह्रबिसे र खाँडीचौर, नेपाल बङ्गलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंकको बाह्रविसे शाखामा आवेदन बुझाउन सकिने छ । त्यस्तै, सिन्धुपाल्चोकमा रहेको शिव श्री हाईड्रोमा आवेदन दिन सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ । चालु आर्थिक वर्षमा प्रतिसयर नेटवर्थ ९५ हजार ९८० रुपैयाँ हुने कम्पनीको प्रक्षेपक्षण रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ४ हजार २० रुपैयाँले घट्ने र आगामी आवमा ५० रुपैयाँले बढेर २०७७÷७८ मा ६ हजार ३५० रुपैयाँ पुग्ने कम्पनीको अनुमान रहेको छ । हाइड्रोमा प्रति मेगावाट १६ करोड ५० लाख ८० हजार रुपैयाँ लागत रहेको छ । विद्युत उत्पादन अनुमति पत्र बाँकी रहने समय अझै २९ वर्ष बाँकी रहेको छ । उक्त पत्रको अवधि २१०३ साल ११ महिना ११ गतेसम्म रहेको कम्पनीले जनाएको छ । त्यस्तै, आगामी ७.८५ वर्षमा लगानी फिर्ता हुने र १६.०२ वर्षमा छुटमा लगानी फिर्ता हुने कम्पनीले जनाएको छ ।
जग्गाको कित्ता काट खुल्यो, कृषियोग्य जमिन चलाउन नपाइने
काठमाडौं । सरकारले जग्गाको कित्ता काट खुल्ला गरेको छ । २०७४ साउन २६ गते देखि रोकिएको जमिनको कित्ता काट खुल्ला गरिएको हो । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गाको कित्ता काट फुकुवा गर्न पुस २५ गते नै मन्त्री पद्मा कुमारी अर्याललाई सिफारिस गरिएको जानकारी दिए । स्थानीय तहले कृषि योग्य जमिन होइन भन्ने सिफारिस गरेपछि सम्बन्धीत नापी कार्यालयले कित्ता काट गर्ने पनि उनले जानकारी दिए । विचौलियाले चलखेल गरेर कित्ता काट गराएको, अंश वण्डामा समेत कित्ता काँट गराउँदा विचौलिया हावी भएको लगायतका कारण देखाउँदै मन्त्री अर्याल कित्ताकाट खोल्ने निष्कर्षमा पुगेकी हुन् ।
अपर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता शेयर सार्वजनिक गर्ने जिम्मा एनएमबि क्यापिटललाई
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २० लाख कित्ता शेयर सार्वजनिक गर्न एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता गरेको छ । यस सम्बन्धी सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्का र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ । कम्पनीले ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ । आगामी मंसिर सम्ममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई शेयर जारी गरी फागुन मसान्त भित्रमा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
जाडो मौसममा के खाने ? हेलचेक्राइ नगरौं है !
काठमाडौं। दिनदिनै जाडो बढ्दै छ र यो अहिले प्राय मानिसको तनावको बिषय बनेको छ। जाडो मौसम सुरु भएलगत्तै हामी सबैलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ। यो जाडो मौसममा प्राय सबैमा देखिने समस्या हो। जाडो मौसममा के खाने भन्ने कुरामा धेरै अन्विज्ञ छन्। त्यसैले पनि मानिसहरु आफ्नो शरीरलाई तागत दिने कुराको थाहा नभएर बिरामी पर्ने गरेका छन्। त्यसैले जाडो मौसममा खाने कुरा ध्यान दिन एकदमै जरुरी छ। एकदम बढी चिसोले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाईरहेको हुन्छ। त्यसैले यस मौसमा जिंक पर्याप्त भएका खानेकुरा जस्तै छा, अन्डा र चिज पनि खानुपर्छ । यस्तै, स्वस्थ र सक्रिय प्रतिरक्षा प्रणालीका लागि शरीरलाई आइरन पनि उत्तिकै आवश्यक छ । यसबाहेक बी– १२ पर्याप्त भएका खानेकुरा निरन्तर रुपमा खान जरुरी छ। यो समयमा तातो झोल पदार्थहरुलाई हामीले प्राथमिकतामा राख्नुपर्छ। जाडो मौसममा शरीरलाई न्यानो राख्न धेरै शक्ति चाहिन्छ । यसका लागि पर्याप्त मात्रामा कार्बोहाइड्रेट अथवा शक्तिबद्र्धक खाना खानुपर्ने चिकित्सकको सुझाव छ । शरीरलाई जाडो मौसममा धेरै पोषणको आवश्यकता हुन्छ। यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरूबाट लड्न सहायता मिल्ने गर्दछ । १. च्याउ : च्याउले तपाईंको प्रतिरक्षा प्रणालीलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ। २. लसुन : चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ । ३. चिकन सुप : चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ । ४. पालुङगो : पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ । ५. गाजर : चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ । ६. कोको : काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन । ७. मरिच : चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ । ८. अदुवा : चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् । ९. दही : दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला । १०. चिया : चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरू चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।
ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १० अर्ब नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पाउने छन् । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई उक्त बोनस दिन लागेको हो । उक्त बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकले हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त बैंकिङ् सेवा दिँदै आइरहेको छ ।
नियम परिवर्तन हुँदा सवारी चालकलाई सास्ती, ट्राफिक प्रहरी भन्छ-नियम उल्लंघन गर्ने बढेपछि बाध्य भयौं
काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी चलाउने चालकहरुले पटक-पटक फेरिने गरेका नियमहरुका कारण सास्ती खेप्दै आएका छन् । विभिन्न ठाउँका सडक कति बेला एकातर्फी(वान वे) हुन्छन् केही थाहा हुन्न । हिजोसम्म एउटा चोकबाट सवारी मोड्न पाइन्थ्यो, तर आज पाइन्न । ट्राफिक नियम परिवर्तन भइसकेको हुन्छ । त्यसकारण समय मै कार्यालय पुग्नु पर्ने कर्मचारी समयमा पुग्न सक्दैनन् । विभिन्न कार्यालयमा काम लिएर गएकाहरु गन्तव्यमा पुग्न लामो दूरी पार गर्न बाध्य हुनु पर्छ । यी समस्या काठमाडौँ उपत्यकामा सवारी चलाउनेहरुले आज मात्र होइन, विगत लामो समयदेखि भोग्दै आएका छन् । अहिलेपनि काठमाडौँको पद्मोदयमोड, कमलादी र पुतलीसडकमा सवारी चालकले यस्तै खाले समस्या झेलिरहेका छन् । यस सम्बन्धमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले सवारी चालकहरुले लेन अनुशासन नमानेकाले अहिले पद्मोदयमोड, कमलादी र पुतलीसडक क्षेत्रमा डोरीले लाइन तानिएको बताए । ट्राफिक प्रहरीले जनतालाई दुःख दिनका लागि पटक पटक ट्राफिक नियम परिवर्तन गरेको होइन । सवारी चलाउने भएपछि लेन नियम त पालना गर्नु पर्यो नि ? नियम नमान्ने अनि अहिले यही नियम पालना गराउनका लागि ट्राफिकले डोरी तान्न बाध्य भएको कुरालाई दुःख दिन खोजेको रुपमा नबुझ्न ट्राफिक प्रवक्ता सापकोटाले आग्रह गरे । ट्राफिक प्रहरी राखेरपनि भएन, सवारी चालकहरुले लेनक्रस गरेर हैरान पारे, त्यसकारण बाध्य भएर डिभाइडर राखेर डोरी टाग्न बाध्य भयौं-प्रवक्ता सापकोटाले भने । पिक आवरमा जाम हुन नदिन, भीआइपीहरुको आवतजावत हुने स्थान र सडकको अवस्थाको अध्ययन र विश्लेषण गरेर ट्राफिक प्रहरीले वान वे, डिभाइडर राखेर डोरी तान्ने जस्तो गतिविधि गरेको प्रवक्ता सापकोटाले बताए ।