नेप्से परिसूचक १०.०५ बिन्दुले बढ्यो, चार कम्पनीका शेयर सूचीकृत
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ । यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् । धितोपत्र बजारमा यस साता १० दशमलव शून्य पाँच बिन्दुले कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । साताको पहिलो दिन एक हजार १७० दशमलव ७९ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन बढेर एक हजार १८० दशमलव ८४ बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ । यस्तै स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् । शेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक हजार १२९ कित्ता शेयर कारोवार भए । त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाको ५२३, एनआइबिएल समृद्धि फण्ड एकको ४१८ एकाइ, नेपाल क्रेडिट एण्ड कर्मस बैंक ३७०, प्रभु बैंक २९२, नेशनल हाइड्रोपावर १९१, बैंक अफ काठमाडौँ १५१, एनआइसी एशिया १२५, कुमारी बैंक ११६ र एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको ११६ एकाइ खरिद बिक्री भए । रासस
माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै
काठमाडौँ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए । सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ । यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा शुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ । बाह्र वर्षदेखि यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाब बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला शुरु गर्न थालिएको छ । रासस
अमेरिका-चीन व्यापार विवादको असर, श्रमिकहरू प्रत्यक्ष मारमा
काठमाडौँ । सन् २०१८ को जनवरी २२ देखि लागु हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सोलार प्यानलमाथि ३० प्रतिशत करवृद्धिको घोषणा गरे । सोलार प्यानल निर्माणका लागि अग्रणी चीनले अमेरिकी निर्णयको विरोध गर्यो । सोही दिन चीनबाट खरिद हुने करिब १२ लाख वासिङ मेसिनको करमा पनि २० प्रतिशतको वृद्धि गरियो । सन् २०१६ मा अमेरिकाले ४२ करोड ५० लाख अमेरिकी डलर बराबरको वासिङ मेसिन खरिद गरेको थियो भने सोही परिणाममा सन् २०१७ मा पनि वासिङ मेसिन भित्रिएको अमेरिकी वित्त विभागको तथ्याङ्क छ । तर यसमा अमेरिकाको कर वृद्धिको प्रभाव परेपछि सन् २०१८ मा वासिङ् मेसिनको आयातमा निकै कमी आएको बताउने गरिन्छ । सन् २०१८ को मार्चमा अमेरिकाले विदेशी स्टिल आयातमा २५ प्रतिशत र आल्युमिनियममा १० प्रतिशतको कर वृद्धि गरेको छ । यसको प्रभाव चीन र अमेरिका बाहेक क्यानडा, दक्षिण कोरिया लगायतका अन्य मुलुकमा पनि परेको छ । यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधिलाई चिनियाँ सामानमा ५० देखि ६० अर्ब अमेरिकी डलर बराबरको कर लगाउँदा पर्ने प्रभावबारे अनुसन्धान गर्न लगाए । उनले यो नीति व्यापार ऐन १९७४ को धारा ३०१ मा टेकेर गरेका बताइएको छ । विदेशी सामान आयातमा खास गरी चीनमाथि कर वृद्धि गर्ने प्रस्तावलाई चीनको अन्यायपूर्ण व्यापार अभ्यासको प्रतिक्रियास्वरूप गरिएको अमेरिकाले जनाएको छ । अमेरिकाले चीनमाथि आफ्ना व्यवसायीलाई अनावश्यक दवाबमा पारेको, चिनियाँ कम्पनीलाई अत्यधिक सरकारी अनुदान दिएर चीनमा अमेरिकी सामानको आयातलाई निरूत्साहित गरेको र बौद्धिक सम्पत्तिको चोरी गरेकोजस्ता आरोपहरू लगाएको छ । अमेरिकी प्रशासनले करवृद्धि लागू गरिने चिनियाँ सामानको सूची एक हजार ३०० भन्दा बढी तोकेको छ । जसमध्ये विमानका सामान, व्याट्री, फ्लाट प्यानेल टेलिभिजन, स्वास्थ्यसम्बन्धी उपकरण, कृत्रिम उपग्रह तथा विभिन्न प्रकारका हतियारहरूमा करवृद्धि लागू भएको छ । अमेरिकी निर्णयलाई विरोध जनाएपनि चीनले अमेरिकाको करवृद्धि घोषणाको प्रतिक्रियामा अमेरिकी १२८ सामानमाथि कर बढाउने निर्णय सन् २०१८ को अप्रिल २ मा मात्र गरेको थियो । जसअनुसार आल्युमिनियम, विमान, कार, बँदेल र सोयविनमा २५ प्रतिशत र फलफुल, सुपारी, बदाम र स्टीलको पाइपमा १५ प्रतिशत करवृद्धिको घोषणा गरेको छ । गत बर्षको अप्रिल ५ मा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि अर्को चरणको करवृद्धि योजनालाई सार्वजनिक गर्नुभयो । चीनले वासिङ्टनको करवृद्धिपछि प्रतिक्रियामा गरेको निर्णयको जवाफस्वरूप चिनियाँ समानमा एक खर्ब अमेरिकी डलर बराबरको थप करवृद्धिको घोषणा अमेरिकाले गरेको हो । यसको अर्को दिन अर्थात् अप्रिल ६ मा चीनले अमेरिकी थप करवृद्धिको निर्णयबारे परामर्श गर्न विश्व व्यापार संगठनमा अनुरोध गर्यो । अमेरिकी कृषि, उड्ययन र उत्पादन उद्योगमा चीनसँगको व्यापार विवादको ठूलो प्रभाव परेको छ । अर्थशास्त्रीहरू चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपारेको बताउँछन् तर यसले देशैभर सबै खाले वस्तुको मूल्यमा भने वृद्धि भएको छ । ट्रम्प प्रशासनले यसको दोष अमेरिकी केन्द्रीय बैंकद्वारा गरेको ब्याजवृद्धिलाई लगाएको छ भने अधिकांश व्यवसायीहरूले चीन–अमेरिका विवाद नै यसको कडी मान्दछन् । अमेरिकाका स्टिल उद्योगहरूले आफ्नो उत्पादन बढाउने र सयौं कामदार थप गर्ने घोषणा गरिरहेका समय उनीहरूका उपभोक्ता भने चिन्तित देखिन थालेका छन् । चिनियाँ स्टिलमा भन्सार शुल्क लगाउने निर्णयले अमेरिकी स्टिलको माग बढेको र यसले मूल्यवृद्धि गराएको उपभोक्ताको चिन्ता हो । यसको असर स्टिलसँग सम्बन्धित उत्पादनहरूमा पनि परेको छ । ट्रम्प प्रशासन भने सरकारी निर्णयले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गरेको बताउन थालेको छ । चीनमा उत्पादित सयौं पार्टपुर्जा, उपकरणमा भन्सार शुल्क लगाउने निर्णयले व्यवसायीलाई झन् पिरोलेको छ । छ सय कामदार रहेको अमेरिकी कम्पनी रोडटेकका मार्केटिङ निर्देशक इरिक बेकर आफ्नो कम्पनीमा आउने अर्डरमा व्यापक वृद्धि भएको बताउँछन् । यो कम्पनीले रोड सम्याउने मेसिन उत्पादन गर्दै आएको छ । कसरी कम मूल्यमा उत्पादन गर्ने भन्ने विषयले कम्पनीलाई चिन्ता थपेको उनी बताउँछन् । “अहिले एकदमै अनिश्चय छ,” उनले भने, “यो कति समयसम्म रहला भन्ने नै अहिलेको सबैभन्दा ठूलो प्रश्न हो ।” चीन सन् १७०० देखि अमेरिकी जुडीबुटीको ग्राहक हो । अमेरिकामा उत्पादन हुने तीन चौथाइ जिनसेन एक प्रकारको जडीबुटी चीन निर्यात हुन्छ । चीनमा अमेरिकी जिनसेनलाई गुणस्तरीय मान्ने गरिन्छ । यही जिनसेन उत्पादन गरी अमेरिका र चीनमा ४ सय बढीलाई रोजगारीको अवसर मिलेको छ । तर वृद्धि गरिएको भन्सार शुल्कका कारण सामान महँगिएर किन्न नसक्ने भएकोप्रति चिनियाँ व्यवसायी पनि चिन्तित छन् । अमेरिकी कृषकहरूमा प्रतिस्पर्धाको चिन्ता पनि छ । अमेरिकामा उत्पादन हुने एक तिहाइ सोयाबिनको बजार चीन हो । अमेरिकाबाट वार्षिक १४ अर्ब डलर बराबरको सोयाबिन चीन निर्यात हुन्छ । चीनलाई सोयाबिन बेच्नमा अर्जेन्टिना र ब्राजिल पनि अग्रपंक्तिमा छन् । करवृद्धिपछि आफ्ना चिनियाँ ग्राहक ती देशतिर फर्किन थालेको चिन्ता अमेरिकी कृषि क्षेत्रमा रहेको छ । चीनमा बिक्री नभएपछि अमेरिकी सोयाबिनको मूल्य घट्ने र आफ्नो देशमा ल्याएर बेच्न सकिने विषय पनि उनीहरूले मौका हेरेका बताउने गरिएको छ । अमेरिका–चीन व्यापार विवादको पछिल्लो घटनाक्रम नियालिरहेका अमेरिकी किसान विल हचिन्सनले यो विवाद मत्थर हुने आशा व्यक्त गरे । “दुवै देशका लागि व्यापार आवश्यक छ,” उनी भन्छन्, ‘एक अर्कालाई दुःख दिनका लागि आपसमा नाक काटाकाट गर्नु पर्दैन ।’ अघिल्लो वर्ष अमेरिकाको आधा कवाडी आल्मुनियम चीन पुगेको थियो । तर, कवाडी बेचबिखन गर्ने अमेरिकी कम्पनीले अहिले अन्य देशमा बजार खोजिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले केही महिना पहिले राष्ट्रसङ्घमा गरेको सम्बोधनमा भने, “चीनको बजार विकृतिलाई अब सहन सकिँदैन ।” वास्तविक बिषयवस्तुमाभन्दा सैद्धान्तिक आरोपमा उत्रिएका ट्रम्पले थपे, “समाजवाद वा कम्यूनिष्ट शासनले निम्त्याएको पीडा र भ्रष्टाचार उत्पन्न गरेको छ । यसले विस्तारवाद, घुसपैठ र उत्पीडन निम्त्याएको छ”-जवाफमा चीनले अमेरिकाले विश्वमा राखेको एकपक्षीयता, संरक्षणवाद र आर्थिक आधिपत्य तोडिने डरमा चीनमाथि गलत आरोप लगाएको र यसबाट अमेरिकालाई नै घाटा पुग्ने बताएको थियो । अमेरिकाले करवृद्धि नै अन्तिम लक्ष्य नभएको तर असमान व्यापार अभ्यास, जसले अमेरिकी रोजगारीका महत्वपूर्ण औजार रहेको बताउँदै आएको छ । सन् २०१७ मा अमेरिकाले आफ्नो देश र सहयोगी मुलुकमा चीनद्वारा पु¥याएको क्षतिबारे गरेको अनुसन्धानबाट प्रत्येक बर्ष अमेरिकाले अनुमानित दुई खर्ब २५ अर्ब अमेरिकी डलरदेखि छ खर्ब अमेरिकी डलर गुमाएको निष्कर्ष निकालेको थियो । चीनले भने यसलाई भ्रामक भन्दै खण्डन गर्दै आएको छ । चीन र अमेरिका दुवैले व्यापार विवादबाट देशलाई घाटा नभएको बताइरहेका समयमा दुवै मुलुकका व्यवसायीहरू भने विवादको प्रभावका कारण खास गरी कृषि, प्रविधि तथा उद्योग क्षेत्रमा समस्या आएको बताउन थालेका छन् । शुक्रबार अमेरिकी मोटर्स कम्पनी जनरल मोटर्स जिएमले सन् २०१९ मा कम्पनीको पुनः संरचना गर्ने र रोजगारी कटौति तथा चीन र अमेरिकामा हुने ठोस विक्रीबाट आफूलाई नाफामा लाने बताएको छ । विश्लेषकहरूले भने व्यापार विवाद नै रोजगारी कटौति गर्नुपर्ने कारण रहेको बताएका छन् । रोजगारी कटौति गर्ने निर्णयका लागि अमेरिकी राष्ट्रपति तथा राजनितिज्ञबाट आलोचित हुनुपरेको जिएम कम्पनीले पुनः संरचनाबाट कम्पनीलाई दुई अर्ब अमेरिकी डलरदेखि दुई अर्ब ५० करोड अमेरिकी डलर थप नाफा गर्ने प्रक्षेपण गरेको छ । पुनःसंरचनाले कम्पनीलाई आर्थिक विश्लेषकको अनुमानभन्दा शेयरमा धेरै गुना वृद्धि गर्ने पनि जिएमले जनाएको छ । जिएमका कार्यकारिणीहरू चीन–अमेरिका व्यापार सम्झौताप्रति पनि आशावादी देखिएका छन् । उनीहरूले चीनमा यसै हप्ता भएको चीन–अमेरिका वार्तालाई दुवै मुलुकको हितका लागि गरिएको रचनात्मक पहल भनेका छन् । जिएमले विवाद विवादलाई छिट्टै अन्त्य गर्न अधिकारीहरू लाग्नेमा विश्वास राख्नु विवादले आफूलाई पारेको पीडा व्यक्त गरेको अवस्था हो । चिनियाँ राष्ट्रपति सी चिनफिङका आर्थिक सल्लाहकार लिउ हे भन्छन्, “अमेरिकाले चीनसँग भएको व्यापार घाटालाई चीनले घटाओस भन्ने चाहन्छ भने चीन पनि अमेरिकाको आग्रहलाई सम्बोधन गर्न आफूलाई चाहिने अमेरिकी सामानको आयातमा वृद्धि गर्न तयार छ ।” तर समाधान प्रयास चीनबाट मात्रै गरेर निकास ननिस्कने धारणा उनको छ । सन् २०१८ को जुलाईपछि व्यापार विवादका कारण दुवै देशका अर्थतन्त्रमा परेका सकारात्मक तथा नकारात्मक असर देखिन थाले । निर्णयले कतिपय उद्योगमा सकारात्मक प्रभाव देखिएको जनाइए पनि खास गरी अमेरिकी कृषि क्षेत्र र चिनियाँ प्रविधि क्षेत्रमा व्यापार विवादको नकारात्मक प्रभाव पर्न थालेको छ । कतिपय कम्पनीहरूमा विवादको प्रभाव पर्दा उनीहरूको शेयर बजार ह्वात्तै गिरेको छ । मोबाइल उत्पादन गर्ने अमेरिकी कम्पनी एप्पल र चिनियाँ टेलिकम हुवावेलाई प्रतिनिधिका रूपमा उल्लेख गर्न सकिन्छ । हुवावेसँगको अमेरिकी विवादले नोभेम्बर डिसेम्बरतिर अमेरिका र चीनको सम्बन्धमा थप समस्या आउने अवस्था आएको थियो । तत्काललाई यो टरेको जस्तो देखिएको छ । एप्पलको चिनियाँ बजारमा घटेको कारोबारले सन् २०१८ का लागि लिएको उसको आम्दानीको लक्ष्यभन्दा कम कारोबार गरेको एप्पलले गत हप्ताको समिक्षामा जनाएको थियो । विश्व शेयर बजारमा गिरावट आउनुलाई पनि चीन–अमेरिकाबीचको व्यापार विवादसँग लिने गरिन्छ । चीन-अमेरिका विवादबाट विश्व अर्थ बजार नै तनावग्रस्त रहेका समय यसलाई समाधानका लागि गरिएको वार्ता सकारात्मक रहेको गत मङ्गलबार ट्रम्पले गरेको एक ट्वीटमा उल्लेख छ । चिनियाँ पक्षले पनि वार्ता उपलव्धिपूर्ण बनेको प्रतिक्रिया दिएको छ । “चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार, गहिराईमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदानप्रदान गरेका छन् । जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका बिषयलाई समाधान गर्नका लागि आधार तयार पारेको छ । “दुवै पक्षले निकट सम्वन्धलाई स्थापित गर्दै अघि बढ्ने बिषयमा सहमति भएको छ ।” वार्तामा अमेरिकी पक्षले आफ्ना प्रबिधि र बौद्धिक सम्पत्तिको बलजफ्ती रूपान्तर र चोरी गरेको साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृत्तिलाई रोक्न माग गरेको छ । अमेरिकी बाणिज्य मन्त्री विल्वर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तवार्तामा दुवै मुलुकबीच सम्झौता हुने प्रवल सम्भावना रहेको बताएका थियो । व्यापार युद्धबाट अमेरिकीभन्दा चिनिया अर्थतनत्रलाई बढी नोक्सान हुनेछ । चीनले अरू मुलुककोभन्दा बढी सामान संयुक्त राज्य अमेरिकामा नै विक्री गर्छ ।” विश्वको ध्यान खिचेको चीन–अमेरिका वार्तापछि विश्व बजारमा सकारात्मक उर्जा प्रवाह भएको छ तर अझै विवाद सुल्झिहाल्नेमा विश्वस्त भैहाल्ने मजबूत आधारहरू बन्न बाँकी नै छ । रासस/विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
आइतबारदेखि हवाई भाडा घट्दै, धनगढी-काठमाडौं रुटमा ४४० रुपैयाँ घट्यो
काठमाडौँ । नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुने गरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन् । आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुने गरी एअर टर्बाइन फ्युल(हवाइ इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एअरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागु हुनेगरी हवाइ भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो । संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ । सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । काठमाडौंदेखि सुरु हुने पर्यटकीय रुटमा उडानमा ३४५, तुम्लिङटारमा १८५, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, सिमरामा ९०, भरतपुरमा ११० रुपैयाँ घटाइएको छ । पोखरामा १५५, भैरहवामा २०५, धनगढीमा ४४० र नेपालगञ्जमा ३२५ रुपैयाँ घटाइएको छ ।
माघे संक्रान्ति आउनै लाग्यो, तरुल मेलामा जाने होइन त ?
भक्तपुर । काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ । भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने थाहा पाएर तरुल किन्न आएको सानोठिमीका तरकारी व्यापारी कृष्णलाल श्रेष्ठले बताए । उनले भने, “तरकारी बजार खुल्दैछ भन्ने सुनेको थिए, तरुल बिक्री शुरु भएको थाहा पाएर यहाँ आए, अब होलसेलमा तरकारी किन्न कालीमाटी गइरहनुपर्ने आवश्यकता देखिन, यही बजार खुलेपछि यहीबाट लगेर व्यापार गर्न सजिलो भयो ।” भक्तपुर तरकारी बजारमा होलसेलमा तरुल बिक्री गर्दै आएको सिन्धुपाल्चोकका व्यापारी रामकुमार शिवाकोटीले कालीमाटीभन्दा सस्तोमा तरुल बिक्री भइरहेको बताए । उनले भने, “मेरो बल्खुमा पनि तरकारी पसल छ, त्यहाँ म कालीमाटीबाटै तरकारी लैजान्छु, यो तरकारी बजारमा सञ्चालक श्याम बस्नेतले ढुवानी आफैँले गरिदिने र स्टलको समेत भाडा नलिएकाले कालीमाटीमा भन्दा सस्तोमा तरुल बिक्री गरिरहेका छौँ ।” तरुल बिक्री शुरु भएपछि व्यापारी र स्थानीय उपभोक्ताको भीड लागेको बताउँदै भक्तपुर तरकारी बजारले व्यापारीदेखि उपभोक्ता समेतलाई राहत मिलेको उनको भनार्इ छ । भक्तपुर तरकारी बजारका सञ्चालक बस्नेतले यहाँ तराई, पहाड र भारतदेखि आयात गरिएको ११ जातका तरुल बिक्री भइरहेको बताए । तरुलको जातअनुसार ढकको २०० देखि ७०० सम्ममा बिक्री भइरहेको बताउँदै उनले माग बढ्दै गएकाले तरुलको आयात पनि बढाउँदै लगेको बताए । हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे सङ्क्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उनको भनाइ छ । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन १८ स्थानमा तरकारी सङ्कलन केन्द्र खोलिएको बताउँदै उनले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताए । माघदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उनको भनाइ छ । रासस
३१ विमानस्थल कालोपत्रे हुँदै, यसरी बढाइदैछ अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता
काठमाडौँ । मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको जनाएको हो । हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकमा ५० विमानस्थल रहेका छन् जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै, निर्माणाधीन पाँच विमानस्थल कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा रहेको प्राधिकरणको २० औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । एकतीस विमानस्थल कालोपत्रे हाल मुलुकभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आवमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप दुई वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ । त्यसैगरी, हालै मात्र जनकपुर विमानस्थलमा धावनमार्ग ओभरले कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आन्तरिक थप पाँच विमानस्थलःलामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् । क्यानका अनुसार जुम्ला विमानस्थलमा ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगञ्ज, सिमिकोट विमानस्थलमा एप्रोन विस्तार, लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तार तथा हेलिपोर्ट निर्माण कार्य जारी रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कार्य प्रभावकारी रुपमा अघि बढाइएको छ । विमानस्थलको ‘पार्किङ वे’ विस्तार कार्य अन्तिम चरणमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । उनका अनुसार विमानस्थलको धावनमार्गको पूर्वतर्फ सानो ठूलो गरी चार वटा र हालको अन्तर्राष्ट्रिय पाकिङ क्षेत्रको दक्षिणतर्फ दुई वटा वाइड बडी विमान पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलले मौजुदा ठूला जहाज पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले तीनवटा ठूला (वाइड बडी) र छ वटा साना (न्यारोबडी) गरी जम्मा नौ वटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ वटा ठूला जहाज पार्किङ गर्न सकिनेछ । विमानस्थलको टर्मिनल विस्तार कार्य चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धावनमार्ग विस्तारको कार्य पनि शुरु गर्ने योजना छ । धावनमार्ग कालोपत्रे प्रक्रिया शुरु अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन्वे तथा ट्याक्सी वेको रिह्याबिलिटेसन’ को लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भइसकेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए । विमानस्थलको पहिलोपटक धावनमार्ग पुनःकालोपत्रे गर्न लागिएको हो । सन् २०१९ को जुन महीनासम्म धावनमार्गको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । त्रिअवि विकास विस्तार तथा उड्डयन सुरक्षाको लागि विमानस्थलको पूर्वतर्फको करीब १४० रोपनी जग्गा अधिग्रहणतर्फ जग्गाको मुआब्जा वितरण सकिएको जनाइएको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ जडानका लागि खरिद सम्झौता सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवका आयोजना प्रगतितिर राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य तीव्र गतिमा अगाडि बढेको छ । उक्त विमानस्थलनिर्माण कार्य सन् २०१९ जुन २८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोेमा यथा समयमै सम्पन्न हुने प्राधिकरणले जनाएको छ । सो विमानस्थल सञ्चालनको लागि पूर्वतयारी परीक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भई उक्त विमानस्थललाई जिटुजी मोडेलमा सञ्चालन गर्न सरकारको स्वीकृतिका लागि पठाई सकिएको महानिर्देशक गौतमको भनाइ छ । त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीबाट थालनी भई द्रुत गतिमा कार्य भइरहेकोे छ । हालसम्ममा करीब २० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने जुलाई २०२१ सम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्राधिकरणको योजना रहेको छ । निजगढ विमानस्थलले गति लियो विगत लामो समयदेखि सर्वत्र चर्चाको विषय बनेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको छ । विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको महानिर्देशक गौतमले बताए । प्राधिकरणको विवरणअनुसार पछिल्ला वर्षमा हवाई यात्रुको सङ्ख्या बद्दो छ । सन् २०१७ को १० महिनाको तुलनामा आन्तरिक यावुयान आवागमनतर्फ सन् २०१८ को सोही अवधिमा २.७३ यात्रु वृद्धि भएका छन् । अन्तर्राष्ट्रियमा पनि २.२० प्रतिशतले वृद्धि भएको छ । अहिले विमानस्थलबाट नेपालका तीन तथा अन्य १३ मुलुकका २६ वायुसेवा गरी कूल २९ वायुसेवा प्रदायक कम्पनीले २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गरिरहेका छन् । सन् २०१८ को पहिलो १० महिनामा अन्तर्राष्ट्रिय उडानबाट त्रिअविमा ३५ लाख ४२ हजार ५७८ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिकतर्फ २३ लाख ८५५ यात्रुको आगमन भएको प्राधिकरणको रेकर्ड छ । रासस
नेपालगञ्ज नाका बन्द गर्ने भारतीयहरुको चेतावनी
काठमाडौं । नेपालगञ्जका सीमावर्ती भारतीयहरुले नेपालगञ्जस्थित रुपैडिया नाका बन्द गर्ने चेतावनी दिएका छन् । नेपालले भारतीय भूमिबाट नेपाल आउने दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि आक्रोशित सीमावर्ती स्थानीयहरुले बाँकेका भन्सार कार्यालयमा प्रमुख शान्तिराम निरौलालार्ई ज्ञापनपत्र बुझाउँदै त्यस्तो चेतावनी दिएका हुन् । भारतबाट नेपाल भित्रने दुध गुणस्तरहीन भएको गुनासो बढेपछि बिहीबारदेखि नेपालले आयातमा कडाई गरेको थियो । नेपालले दुध परीक्षण गरेर ५ प्रतिशत भन्सार तिरेपछि मात्र नेपालमा दुध प्रवेश गर्न दिन थालेपछि उनीहरुले दिदिनै दुध परीक्षण गराउन र भन्सार तिर्न नसक्ने बताउँदै आएका छन् । उता नेपाली पक्षले भने भारतबाट दुध आयातमा कडाई गर्ने कार्यायको निर्णयको सगत गरेका छन् । उनीहरुले ५ प्रतिशत भन्सारले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बन्न सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।
घरमै बसेर अनलाइनमार्फत खानेपानीको महशुल भुक्तानी
चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाईनमार्फत खानेपानीको महसुल बुझाउने व्यवस्था मिलाएको छ । यो सेवा सुरुआतसँगै अब घरमै बसेर ग्राहकले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् । ग्राहकको समय, लाईन बस्नुपर्ने अवस्थाको अन्त्यका साथै प्रविधिको विकास गर्ने उद्देश्यले अनलाईन सेवा सुरु गरिएको खानेपानी संस्थाका अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए । अनलाईन सेवाका लागि खानेपानी संस्थाले दियालो टेक्नोलोजीसँग सहकार्य गरिएको छ । संस्थाले रत्ननगरको वडा नम्बर ६ र ७ बाहेक अन्य सबै वडामा खानेपानीको सुविधा उपलव्ध गराउँदै आएको छ । संस्थाका अध्यक्ष पौडेलका अनुसार यस संस्थाको ७ हजार ६ सय ग्राहक रहेका छन् । दैनिक ५४ लाख लिटर शुद्ध खानेपानी संस्थाबाट खपत हुँदै आएको छ । नगरभित्र प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्याउन विपन्न, दलित, सुकुम्बासी , सीमान्तकृत समुदायका लागि खानेपानी धारा जडानमा ५० प्रतिशत छुटको व्यवस्थासमेत रहेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५५ घरधुरीले सो सुविधा पाइसकेका छन् । एउटा धारा जडान गर्न ९ हजार ५ सय रुपैयाँ लाग्छ ।