विकासन्युज

१० लाख आप्रवासीलाई भित्र्याउने तयारीमा क्यानडा

  काठमाडौं। के तपाईँ क्यानडा जानेबारे सोचिरहनुभएको छ ? अब झोला प्याक गर्न थाल्नुभए हुन्छ । क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढीआप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ । क्यानडाको यस्तो कदम ल त्यहाँ प्रतिवर्ष १ प्रतिशत जनसंख्या थपिनेछ । २०१८ मा क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ । क्यानेडियन अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री अमिद हुसेनले भने –‘विश्वभरबाट यहाँ पाल्नुहुने महानुभावहरुलाई इतिहासले स्वागत गरेको छ । विकसित एवं सवल यस क्यानडा देशमा तपाइँहरु खुसी हुनुहुनेछ ।’ हुसेन आफैं पनि सोमालियाबाट आएका शरणार्थी हुन् । हुसेनले क्यानडाको यस्तो कार्यले घट्दो जनसंख्याकाबीच बढ्दो श्रम आपुर्ति समस्यालाई समाधान गर्नेछ । क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । हालसम्म क्यानडाका कुल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ । ( सिएनएनबाट नेपालीमा उल्था गरिएको )

८ कम्पनीलाई एक अर्ब ३० करोडको हकप्रद सेयर बिक्री गर्न स्वीकृति, हेराैँ क-कसले पाए ?

काठमाडौं । धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर १४ करोड तीन लाख ३२ हजार ५०० रुपैयाँमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद सेयर ११ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ । बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद सेयर तीन करोड रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले दुई करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ४० हजार २५० कित्ता सेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले तीन करोड २९ लाख ८९ हजार रुपैयाँको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौं क्यापिटल रहेको छ । त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले एक करोड १० लाख रुपैयाँको एक लाख दश हजार कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । रासस

खानेपानी मन्त्री मगरले भनिन्- विकासको काममा कसैले अवरोध नगरौं

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भुमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गरेकी छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुगेकी खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भुमिका अपरिहार्य भएको बताइन् । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्याउन नहुने धारणा राखिन् । थारू संस्कृतिको सम्बर्द्धनको विषयमा उनले गाउँगाउँ बीच संस्कार तथा परम्पराहरु आदानप्रदान हुनुपर्ने बताइन् । नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उनले घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको जानकारी दिइन् । उनले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघि खेल्न आएको बताइन् । उनले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको प्रतिबद्धता जनाएकी छिन्। मन्त्री मगर यसै क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । थारूहरूको महान पर्व माघे सकान्तिको अवसरमा थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिन सम्म चल्नेछ । कार्यक्रममा उपस्थित कार्यक्रमका विशिस्ट अतिथि प्रदेश सभा सदस्य सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गरिन् । उनले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । “थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पौर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलौरीमा पहिलो पटक आयोजना भएको बृहत् मेलामा जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताइन् । तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गरे । मेलामा थारू खानाका परिकार बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदी राखिएका छन् । कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ । छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्नागर्दै नयाँ पुस्तालाई आफ्नो कलासंस्कृति प्रतिको सम्मान र सम्बर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले जानकरी गराए । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजारभन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी दिएका छन् ।

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रह अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । यस्तै, राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । रासस

५ लाखको बीमासहित एभरेष्ट बैंकले ल्यायो दुई बचत योजना, कर्मचारी र रोजगारदाता दुवै लाभान्वित

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो । उक्त सेवाको लागि बैंकले द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरी एमओयूमा हस्ताक्षर गरेको छ । लाजीम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा ५ लाख रुपैयाँ बराबरको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाखको बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ । एभरेष्ट बैंकले आँफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने बैंकले जनाएकाे छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बाह्य सन्जाल मार्फत बैंकिङ् सेवाहरु दिँदै आएको छ ।

१३ महिनासम्म कस्ले रोक्यो कमोडिटिज एक्सचेञ्जको लाइसेन्स, अर्थमन्त्रालय भन्छः हामीलाई थाहा छैन

काठमाडौं । आवेदन दिएको १३ महिनासम्म ५ वटा कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुको लाइसेन्स टुंगो लागेको छैन । स्वायत्त भनिएका नियामक निकायहरुमा हस्तक्षेप गरेको आरोप खेपिरहेको अर्थ मन्त्रालयले भने आफुलाई कुनै जानकारी नभएको स्पष्ट पारिसकेको छ । २०७४ भदौ ११ गते वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ जारी भएको थियो भने मंसिर ९ गते नियमावली कार्यान्वयनमा आएको थियो । तर नियमावली कार्यान्वयनमा आएको १३ महिनासम्म बितिसक्दा समेत नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई पूर्व स्वीकृति दिएको छैन् । बोर्डमा हाल पाँच वटा कम्पनीले प्रबन्ध पत्र, लगानी कर्ता, सेयर संरचना, लगानीको श्रोत र सम्भाव्यता अध्ययन रिपोर्टसहितका विवरण बुझाएर पूर्व स्वीकृति कुरिरहेका छन् । बोर्डले पूर्व स्वीकृति दिएपछि मात्रै कम्पनीहरुको दर्ता प्रक्रिया तथा पूर्वाधार निर्माणको काम अघि बढ्न पाउँछ । तर बोर्डका कार्यकारी निर्देशक निरज गीरीले भने कमोडिटिज कम्पनीहरुलाई पूर्व स्वीकृति दिने प्रक्रिया अध्ययनकै क्रममा रहेको बताए । ‘विज्ञ समुहले अध्ययन गरिरहेको छ, त्यसको प्रतिवेदन आएपछिसोही अनुसार गर्छाै’, प्रवक्ता गिरीले भने । यद्यपी कति समयमा ती कम्पनीहरुले पूर्व स्वीकृति पाउँछन भन्नेबारे भने उनले पनि केहि भन्न सकेनन् । ‘कहिले पूर्व स्वीकृति दिने भन्ने समय एकिन भएको छैन, अहिले नै केहि भन्न चाँही सकिन्न’, गिरीले भने । अर्थ मन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले भने कमोडिटिज एक्सचेञ्ज कम्पनीलाई लाइसेन्स दिनेबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताए । ‘कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुको लाइसेन्सबारे अर्थमन्त्रालयलाई थाहा छैन्, मन्त्रालयले कुनै दबाव पनि दिएका छैन’, डा. खरेलले विकासन्युजसँग भने । कमोडिटिज एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि आवेदन दिन बोर्डले उपलब्ध गराएको समय अवधीभित्र ५ वटा कम्पनीले निवेदन दिएका थिए । नेपाल कमोडिटिज एक्सचेञ्ज लिमिटेड, मर्कन्टाइल एक्सचेञ्ज लिमिटेड, कमोडिटिज फ्युचर्स एक्सचेञ्ज लिमिटेड, मल्टी डेरिभेटिभ एक्सचेञ्ज नेपाल लिमिटेड र राइजल कमोडिटी एण्ड एक्सचेञ्ज लिमिटेडले पूर्व स्वीकृतिका लागि निवेदन दिएका हुन् । ती कम्पनीहरुले न्युनतम ५० करोडको पुँजी संरचना तयार पारेर सैद्धान्तिक सहमतिका लागि धितोपत्र बोर्डमा बुझाएका हुन् । पुराना कम्पनीलाई नयाँ करार गर्न रोक लगाउँदै नयाँ कम्पनीका लागि आवेदन मागिएपछि एनआरएनदेखि ठुला व्यवसायिक घराना पनि कमोडिटिज एक्सचेञ्ज कम्पनीमा लगानी गर्न आकर्षित भएका छन् । नेपालको ठुला व्यवसायिक घराना दुगड, अग्रवाल, जैन, गोल्छा ग्रुप र मुरारका अर्गनाइजेशनले मर्कन्टाइल एक्सचेञ्जमा लगानी गरेका छन् । नेपाल कमोडिटिज एक्सचेञ्जमा एनआरएनहरुको लगानी रहनेछ । त्यस्तै, कमोडिटिज कम्पनीमा बिभिन्न बाणिज्य बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले समेत लगानी गरेका छन् । कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने थियो । त्यस्ता कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनुपर्ने व्यवस्था थियो । बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । आर्थिक बर्ष २०७२।७३ मा कमोडिटिज मार्केट्समा २ खर्ब ९५ अर्ब ३२ करोड रुपैंयाँको कारोबार भएको थियो । आर्थिक बर्ष २०७३।७४ को ८ महिनामै २ खर्ब २६ अर्ब ८३ करोड रुपैंयाँको कारोबार भएको थियो । जबकी गत आर्थिक बर्ष २०७४।७५ को ८ महिनामा सेयर बजारमा जम्मा ८५ अर्ब ९ करोडको मात्रै सेयर कारोबार भएको थियो । अर्थात् नेपालमा कमोडिटिज बजारको आधार सेयर बजारको भन्दा ठुलो छ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीबजारमा

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको डल्ली बजारमा उद्घाटन भएको छ । नलगाड नगरपालिका वडा नं ७, जाजरकोटस्थित डल्ली बजार शाखाको उद्घाटन नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल गरेका छन् । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा १४ लाख ग्राहकको संख्या रहेको छ ।

मुम्बइमा आयोजित ‘पार्टनरशीप समिटमा सम्मेलन २०१९ ’ मा नेपाल उद्योग परिसंघ सहभागिता

काठमाडौं । मुम्बइमा आयोजित ‘पार्टनरशीप समिटमा नेपाल उद्योग परिसंघ ’ ले सहभागिता जनाउने भएकाे छ । भारतको कन्फेडेरेशनअफ इण्डियन इण्डष्ट्रिज (सीआईआई) द्वारा आयोजित २५ औँ संस्करणको पार्टनरशीप सम्मेलन २०१९ मा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा मुम्बइ प्रस्थान गरेका छन् । प्रतिनिधि मण्डलमा नेपाल उद्योग परिसंघको तर्फबाट परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहितको टोलीपुस भारतको मुम्बइ प्रस्थान गरेको छ । मुम्बइमा जनवरी १२,१३सम्म हुने कार्यक्रम रहेको छ । भारतीय सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित उक्त सम्मेलनको विषय वस्तु समझदारीको विकासबाट नयाँ लगानीका अवसर पहिचान गर्नु रहेको छ । प्लेनरी सेसन, देशगत सेसन, बिटूबि मिटिङ्गमा समेत परिसंघको प्रतिनिधि मण्डलले भाग लिने कार्यक्रम रहेको छ । नवीकरणीय ऊर्जा, नवीनतम प्रयोग कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवा, पर्यटन, डिजिटल प्रविधि लगानी प्रवद्र्धन आदि विषयमा विषयगत छलफलको कार्यक्रम रहेको छ । परिसंघका तर्फबाट अन्य सहभागीहरुमा परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोर र राष्ट्रिय परिषदका सदस्य शरदकुमार तिवरेवाला समेतको सहभागिता रहेको छ ।