नेपाल टेलिकमको ५५ रुपैयाँ नगद लाभांश पारित, माघ १ गतेदेखि नै वितरण गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रस्तावित ५५ रुपैयाँ नगद लाभांश पारित भएको छ । कम्पनीको पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम लगानीकर्ताले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् । उक्त लाभांश रकम माघ १ गते(भोलि)देखि एनएमबी बैंकमार्फत सेयरधनीहरुलाई वितरण गर्ने सभाले जानकारी दिएको छ । यसैैगरी, सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ. व. २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ । २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।
सानिमा माई हाइड्रोपावरको २१ लाख कित्ता बोनस सेयर सूचिकृत
काठमाडौं । सानिमा माई हाइड्रोपावरको २१ लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सोमबार मात्रै हाइड्रो सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो ।
पुस मसान्तसम्म १५ बैंकले मात्र गरे साधारणसभा, पाँचवटाको लाभांश घाेषणा हुनै बाँकी
काठमाडौं । पुस मसान्त सकिँदा राष्ट्रिय स्तरका ‘क’ वर्गका २८ वाणिज्य बैंकहरुमध्ये १५ ओटाले मात्र साधारणसभा गरेका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार वित्तीय विवरण बनाउनुपर्ने भएपछि साधारणसभा ढिलो हुन जाँदा ६ महिनाभित्र उक्त संख्याका कम्पनीहरुले मात्र साधारणसभा गर्न सकेका हुन् । साधारणसभा बोलाइसकेका बैंकहरुमा नेपाल एसबीआई बैंक, मेगा बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, जनता बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईशी एशिया बैंक र सानिमा बैंक छन् । बाँकी १३ ओटा कम्पनीहरुमध्ये बैंक अफ काठमाडौं र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी २ ओटा बैंकले साधारणसभाको मिति तोकेका छन् । ६ ओटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । ती बैंकहरुमा कृषि विकास बैंक, नबिल बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक र प्रभु बैंक छन् । बाँकी ५ ओटा अर्थात् राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, एनसीसी बैंक र सिभिल बैंकले भने न त लाभांश समेत घोषणा गरेका छैनन् । सामान्यतः अघिल्लो आर्थिकवर्षको लेखापरीक्षण सम्पन्न भएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालक समितिको बैठकमार्फत् शेयरधनीलाई बाँड्न चाहेको नगद तथा बोनस शेयर लाभांशहरु घोषणा गर्छन् भने त्यसपछिको बैठकले वार्षिक साधारणसभा बोलाउने गर्दछन् । अघिल्ला वर्षहरुमा अघिल्लो आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने भए पनि यस वर्ष नयाँ लेखापरीक्षण मानक लागु गर्दा ढिलाई हुने भएपछि नेपाल राष्ट्र बैंक उदार बनेको छ ।
चन्द्रागिरी हिल्सको १० प्रतिशत आईपीओ पारित
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १० प्रतिशत साधारण सेयर(आईपीओ) निश्कासन गर्ने विशेष प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको नवौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आगामी आर्थिक वर्ष भित्रमा १० प्रतिशत सेयर सर्बसाधारणलाई बिक्री गर्ने छ । साथै, उक्त सभाले संचालक समितिका सदस्यहरुको सर्बसम्मत चयन गरेको छ ।
बीमा समितिले बुझायो आधा अर्ब राजश्व, एकै दिन ढुकुटीमा जम्मा भयो ३८ करोड
काठमाडौं । बीमा समितिले आयकर वापत आधा अर्ब भन्दा बढी रकम राजश्व बुझाएको छ । समितिले आर्थिक बर्ष २०७१।७२ देखिको आयकर वापत सरकारलाई ५८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ तिरेको हो । समितिले सोमबार ३८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ राजश्व बुझाएको समितिका उप निर्देशक केशब दाहालले जानकारी दिए । यस अघि समितिले असार ३१ गते आर्थिक वर्ष २०७४।७५ र ७५।७६ को लागि २० करोड रुपैंयाँ अग्रिम कर भुक्तानी गरेको थियो । समितिले आर्थिक बर्ष २०७१।७२ को आय वापत ८ करोड ८८ लाख २६ हजार ६ सय, आव ७२।७३ को १२ करोड ४७ लाख २७ हजार २ सय ३५ रुपैंयाँ र आव ७३।७४ को आयकर वापत १६ करोड ७३ लाख ४६ हजार ८ सय १८ रुपैंयाँ सरकारी ढुकुटीमा पठाएको हो । महालेखा परिक्षकको कार्यालयले बीमा समितिसँग आयकर असुल्नुपर्ने लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरेपछि सरकारले समितिसँग आयकर असुलेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी तीन अर्ब नाघ्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पुस ३० गते अपरान्ह सम्पन्न इन्स्योरेन्स संचालक समितिको बैठकले गरेको हो । समितिको प्रस्ताव अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको सो मात्राको सेयर सेयरधनीलाई वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । साथै, उक्त लाभांशमा लाग्ने आय करको लागि समेत व्यवस्था प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । साढे १३ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।
सबै प्रदेशमा नेपाल बङ्गलादेश बैँकको प्रादेशिक कार्यालय विस्तार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । बैकले प्रदेश १को कार्यालय विराटनगरमा, प्रदेश दुईको लागि महोत्तरी जिल्लाको बर्दिबास, प्रदेश तीनको लागि काठमाडौं जिल्लाको न्युरोड, प्रदेश चार गण्डकी प्रदेशको लागि पोखरा, प्रदेश पांचको लागि बांके जिल्लाको नेपालगञ्ज, प्रदेश छ । कर्णाली प्रदेशको लागि सुर्खेतमा र प्रदेश सातको लागि कैलाली जिल्लाको धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरि प्रादेशिक प्रमुखहरु पनि तोकिएको जनाएको छ । प्रादेशिक कार्यालयको स्थापनासँगै आफ्नो मातहतका शाखा कार्यालयहरुको समन्वय, अनुगमन तथा सुपरिवेक्षण गर्ने, शाखा कार्यालयहरुलाई सहजीकरण गर्ने, जोखिम व्यवस्थापन, व्यवसाय विस्तारमा सहयोग गर्ने, सेवा सुधार गराउने, गुनासो सुनवाई लगायतका कार्यहरु गर्ने जिम्मेवारी तोकिएको जानकारी दिएको छ । बैकको देशभर ८१ वटा शाखा कार्यालयहरु रहेको उक्त बैकले हाल ५२ अर्ब निक्षेप परिचालन गरि ४९ अर्ब कर्जा प्रवाह गरेको छ । साथै बैकको ६३ वटा एटिएम संचालनमा रहेका छन ।
आरएसडिसी लघुवित्तको अध्यक्षमा राजेन्द्रप्रसाद दाहाल
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् । हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । संस्थाको ७८औँ सञ्चालक समितिको बैठक पुस २९ गते बसेको थियो ।