विकासन्युज

नेशनल माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी नै ७५ रुपैंया माथि

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक ७५ रुपैंया भन्दा माथिको प्रतिशेयर आम्दानी हासिल गरेको छ । माइक्रोफाइनान्सले ५ करोड ७२ लाख रुपैंया खुद मुनाफा गर्दा उक्त प्रतिशेयर आम्दानी हासिल गरेको हो । अघिल्लो वर्ष पुँजी वृद्धिका बाबजुत माइक्रोफाइनान्सले अघिल्लो वर्षको सोही महिनामा कमाएको ६५ रुपैंया प्रतिशेयर आम्दानीलाई बढाएर ७५ रुपैंया पुर्याएको हो । अघिल्लो वर्ष उक्त कम्पनीले २० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी १२ करोडबाट बढाएर १५ करोड भन्दा माथि पुर्याएको थियो । नेशनलले दोस्रो त्रैमासको अन्त्यमा कुल २ अर्ब ९१ करोड रुपैंया ४८ लाख रुपैंया कर्जा प्रवाह गर्दा बचत सदस्यहरुबाट ९७ करोड रुपैंया बचत संकलन गरेको छ भने २ अर्ब ७ करोड ४२ लाख रुपैंया ऋण लिएको छ । उक्त ऋण परिचालनबाट नेशनलले ६ महिनामा २३ करोड ६१ लाख ब्याज आम्दानी गर्दा १२ करोड १८ लाख ब्याज खर्च गरेको छ । कर्मचारी र अन्य प्रशासनिक खर्चमा भने कम्पनीले १६ करोड ३७ लाख रुपैंया खर्च गरेको छ । नेशनलको पुँजी पर्याप्तता अनुपात १०.८९ प्रतिशत, एनपीएल १.४८ प्रतिशत, कस्ट अफ फण्ड ८.४६ प्रतिशत छ । पुस मसान्तको बजार मूल्यको आधारमा नेशनलको मूल्य आम्दानी अनुपात २२.०८ गुणा रहेको छ ।

सातामै २११% रिटर्न दिने अपर तामाकोशी उत्कृष्ट १० मा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएको हो । गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोबार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको छ । हरेक दिन करीब १० प्रतिशतका दरले शेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष दशमा पर्न सफल भएको हो । स्टकका अनुसार यही पुस ३ गते बिहीबार माथिल्लो तामाकोशीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ३११ मा खरीद बिक्री भएको छ । लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ प्रति कित्तामा किनेको शेयर कारोबार शुरु भएको एक साता मै सो स्तरमा पुग्ना लगानीकर्ताले कूल २११ प्रतिशत नाफा कमाएका छन् । तर सो कम्पनीको शेयर खरीद गर्न चाहनेको सङ्ख्या बढी भएपनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन् । बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको बजार पूँजीकरण एक खर्ब नौ अर्ब ९५ करोड छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण ६८ अर्ब २१ करोड छ । तेस्रोमा रहेको नवील बैंकको ६७ अर्ब ८४ करोड ५८ लाख छ । नेपाल लाइफ इन्स्योरेन्स ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४७ अर्ब १८ करोड, एभरेष्ट बैंक रु ४२ अर्ब ५४ करोड २३ लाख, हिमालयन बैंक ३८ अर्ब ७६ करोड, एनआइसी एशिया बैंक ३४ अर्ब ९८ करोड, नेपाल एसबिआइ बैंक ३२ अर्ब ९५ करोड र माथिल्लो तामाकोशीको ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ । रासस

चीन-अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा सुधार

न्यूयोर्क, संयुक्त राज्य अमेरिका । चीन-अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले देखाएका छन् । चीन र अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो । प्रमुख सूचकाङ्कमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ ।अमेरिकी स्टक बजार (डाउ)मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ । बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको ब्लुमवर्गले पनि उल्लेख गरेको छ । अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको संगठन (आइजी) का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भने, “विश्व शेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका सङ्केत देसखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेक थु्र’ हुने सम्भावनाले आएको सुधार हो ।” “व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,” एलबीबीडब्लुका कार्ल हेलिङले बताए । हेलिङले भने, “त्यहाँ एक प्रकारको कालो धुवाँका सङ्केत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगोपनि हुनु स्वभाविक हो । तर पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले शेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देसखिएका छन् । यो सबैका लागि खुशीको कुरा हो ।” “ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महशुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।” तर केही विश्लेषकहरूले व्यापार विवाद साम्य भै हाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै बिषयमा सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ती चारीसम्बन्धी अमेरिकाको दावीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि अमेरिकाले लगाएको उक्त आरोपलाई खुलारूपमा चीनले खण्डन गर्दै आएको छ । मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले विनासम्झौता यूरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो । बेलायती प्रधानमन्त्री टरिजा मे ले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिने छ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमतसङ्ग्रहको बाटो तय गर्नेछ । चीन-अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतिले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ । अमेरिकी कम्पनीहरूको शेयरमा चीनसँगको कारोबारसँगै नाफातर्फ देखिएका छन् । डाउका सदस्यहरू वोइङ, क्याटरपिलर र नाइकमा सुधारको सङ्केत देखिएको छ । तर अमेरिकी कम्पनी तेस्ला मोटर्सको कारोबारमा १३ प्रतिशतले गिरावट देखिएको छ । विद्युतीय कार निर्माण कम्पनीहरूले प्रविधिमैत्री अत्याधुनिक विद्युतीय कार बनाउने घोषणाले तेस्ला मोटर्सको आम्दानीमा ह्वात्तै गिरावट आएका हो । उक्त कम्पनीले विद्युतीय कारसँग सामना गर्नसक्ने समस्या र यसबाट हुने कमजोर आम्दानीलाई सन्तुलनमा राख्न कामदार कटौतिको घोषणा गरेको छ । नेटफिक्सको नाफामा विश्लेषकहरूको अनुमान विपरित चार प्रतिशतको गिरावट देखिएको छ । विश्लेषकहरूले ग्राहक सङ्ख्याको वृद्धिमा सुस्तता आउँदा नेटफिक्सको आगामी बजारप्रति विश्लेषकहरूले चिन्ता प्रकट गरेका छन् । रासस/एएफपी

खाद्य संस्थानमा ४५ जनालाई जागिरको अवसर, फर्म भर्ने म्याद माघ २४ सम्म

काठमाडौं । तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ। संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सबैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। फर्म भर्ने म्याद माघ २४ गतेसम्म रहेको छ । परीक्षा लोकसेवा आयोगले लिने जनाइएको छ ।

८६ करोडको माछामासु आयात, नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढी

काठमाडौँ । पर्याप्त सम्भावना भएपनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महिनामा करीब ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ । भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान, गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो । आयातित वस्तु यहाँ उत्पादन गर्न सकिन्छ । यद्यपि आयात गरिएको छ । आयात गरिएको घुङ्गी (शङ्खे किरा) सिमसार, घोल, जमेको पानी र दवदवे जमीनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ । आगोमा सिकाएको, सग्लो तर मरेको, (हिउँ) ले ढाकिएको र जिउँदो माछा आयात भएको हो । जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । एघार दशमलव दुई प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा कूल आयात छ खर्ब सात अर्ब छ भने निर्यात ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ । रासस

हुलाकी लोकमार्गको काम ११ वर्षमा ४१ प्रतिशत, सोचे अनुसार भएन प्रगति

काठमाडौँ । सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन नसकेको पाइएको छ । राष्ट्रिय योजना आयोगको पछिल्लो विवरणअनुसार उत्तर-दक्षिण (कोशी लोकमार्ग), कालीगण्डकी करिडोर, हुलाकी लोकमार्गलगायतका आयोजना सोचअनुसार अगाडि नबढेको पाइएको छ । सरकारले पछिल्लो समयमा ती आयोजनालाई गति दिने हरसम्भव प्रयास गरेको भए पनि सोचेअनुसार प्रगति भने हुन सकेको छैन । हुलाकी लोकमार्ग शुरु भएको ११ वर्ष भएपनि हालसम्म भौतिक प्रगति ४१ दशमलव नौ प्रतिशत मात्रै भएको छ । नेपालको पूर्वपश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यका साथ सो आयोजना शुरु गरिएको थियो । पूर्वको केचनाकलनदेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने यो लोकमार्गको कुल लागत ४७ अर्ब २७ करोड रहेको छ । आव २०६५/०६६ देखि शुरु भएको सो आयोजना आव २०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर तोकिएको समयमा आयोजना पूरा नभएपछि संशोधित तालिकाअनुसार आव २०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सो अवधिमा समेत आयोजना पूरा हुने देखिएको छैन । आयोजनामा पर्ने जग्गाको लगत कट्टा कार्यमा सम्बन्धित निकायको यथोचित सहयोग नहुनु र लगत कट्टाका लागि प्राविधिक जनशक्तिको अभाव हुनु यसको प्रमुख समस्याका रुपमा देखिएको छ । यस्तै, चितवनमा राष्ट्रिय निकुञ्जअन्तर्गत अमुवा पोष्टदेखि रिऊ खोलासम्मको खण्डमा विस्तृत सर्वेक्षण गर्ने अनुमतिसमेत प्राप्त भएको छैन । त्यस्तै, उत्तर दक्षिण कोशी लोकमार्ग तेह्रथुम जिल्लाको वसन्तपुरदेखि उत्तरी सीमाना किमाथांकासम्मको १६२ किलोमिटर लामो छ । त्यसमा ५० किलोमिटर क्षेत्रमा यातायात सञ्चालनमा आएको छ । आव २०६५/०६६ मा शुरु भएको आयोजना आव २०७०÷०७१ मा पूरा गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा भएको छैन । पछिल्लो पटक आव २०७७/०७८ मा पूरा गर्ने लक्ष्य राखिएको छ । सो आयोजनाअन्तर्गत चेपुवा किमाथांका खण्डमा रेखाङ्कनको विवाद देखिएको छ । यस्तै वनक्षेत्रमा काम गर्न अवरोध हुने तथा दरबन्दीअनुसार जनशक्ति नहुनु र विस्फोटक पदार्थको अभाव हुनुजस्ता समस्या देखिएका छन् । सरकारले वन क्षेत्रको काम गर्न सहज वातावरण बनाउने, चीनको बाटो भई निर्माण उपकरण तथा इन्धन ढुवानीको लागि अनुमतिको व्यवस्था गर्ने र सहजरुपमा जग्गाको उपलब्धताका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग पनि विगत नौ वर्षदेखि निर्माणमा रहेको छ । सो आयोजनाको हालसम्मको भौतिक प्रगति मात्रै आठ दशमलव चार प्रतिशत भएको देखिन्छ । आव २०६५/०६६ मा शुरु भएको आयोजना आव २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पछिल्लो पटक संशोधन गरेर आव २०७८/०७९ पु¥याइएको छ । सो आयोजनाअन्तर्गत नवलपरासीको गैँडाकोट महेश्वर खोलाखण्डमा रुख कटान गर्ने स्वीकृति नपाउँदा लामो समयसम्म समस्यामा परेको थियो । त्यस्तै, कर्णाली करिडोर शुरु भएको नौ वर्ष पूरा भएको छ । हालसम्म आयोजनाको कुल भौतिक प्रगति १२ प्रतिशत मात्रै भएको छ । सो आयोजनाअन्तर्गत खुलालु सिमिकोट खण्डमा १९६ किलोमिटर र हिल्सा सिमिकोट खण्ड ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । आव २०६५÷०६६ देखि शुरु भएको आयोजना आव २०७०/०७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तोकिएको समयमा पूरा नभएपछि आयोजनाको संशोधित तालिकाअनुसार आव २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सामग्री प्राप्त नभएको, इन्धन आयातामा समस्या रहेको, अनुगमनमा कठिनाइ देखिएको तथा दरबन्दीअनुसार जनशक्ति प्राप्त नभएको जस्ता समस्याका कारण आयोजनाले गति लिन सकेको छैन । पछिल्लो पटक सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारले समेत चासो देखाएका कारण आयोजनाले गति लिने विश्वास गरिएको छ । यसैगरी, मध्यपहाडी पुष्पलाल लोकमार्गको हालसम्म भौतिक प्रगति करीब ५० प्रतिशतको हाराहारीमा रहेको छ । समष्टिगत वित्तीय प्रगति गति ४२ प्रतिशतको हाराहारीमा पुगेको छ । भौतिक पूर्वाधारका क्षेत्रमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई गति दिन सरकारले विशेष कार्ययोजनाका साथ काम गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । रासस

अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन शुरु, ‘युवाशक्ति देश विकासको इञ्जिन’

काठमाडौँ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ । भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको इञ्जिन भएको बताए । प्रविधिको प्रयोगमा समेत युवा शक्ति अगाडि रहेकाले उनीहरुसँग साझेदारी गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले समाजको आवश्यकताअनुसार चल्न सकेन भने विकास सम्भव नहुने धारणा व्यक्त गरे । “समाज विकासका लागि नयाँ खोज र योजना जरुरी हुन्छ”, सल्लाहकार रिमालले भने, “त्यो क्षमता युवामा हुन्छ, उसले सरकारलाई समेत गाईड गर्न सक्छ ।”उनले भाडामा यात्रु ओसार्नका लागि प्रयोगमा आएको मोबाइल एप्लिकेशन ‘टुटल’ र ‘पठाओ’को उदाहरण दिँदै मान्छेले के चाहन्छ र सरकारले के गरिरहेको छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ भने । नेपालमा भएका ९१ लाख युवालाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सहभागी गराउने सरकारको योजना रहेको पनि सल्लाहकार रिमालले बताए । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए । उनले नेपाली जनता विदेशमा गएर काम गर्ने मात्रै नभई स्वदेशमै श्रम लगानी गरेर शिक्षा, प्रविधिसँगै आर्थिक विकासमा सघाउन सक्ने क्षमताका रहेको बताए । राजदूत पुरीले विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल र भारत फाइदा लिने चरणमा रहेको उल्लेख गर्दै सम्मेलन युवा उद्यमीका लागि महत्वपूर्ण अवसर भएको विश्वास व्यक्त गरे । पछिल्लो ३०-४० वर्षमा सूचना र प्रविधिको तीव्रतर विकास भएकाले यसबाट फाइदा लिने बेला आएको छ भने । सम्मेलनमा नेपाल र भारतका ५०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धि जानकार सहभागी छन् । नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा गहन छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास रहेको आयोजक क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी दिए । सम्मेलनका लागि सामाजिक सञ्जालमार्फत विभिन्न विषयमा नयाँ खोज र योजनासहितको १०० आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजना छनोट गरिएको छ । यसरी छनोट गरिएका कम्पनीमा एयर लिफ्ट टेक्नोलोजी, स्वदेशी इनोभेसन, अफरिङ्ग ह्याप्पीनेस, मेकर भ्याली, अन स्कूल र वाकमेन ग्रिन क्वीन रहेको जनाइएको छ । सम्मेलनमा विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत १८ जना प्रमुख वक्ताले आफ्ना अनुभवसहित उद्यमशीलताको विकास र सम्भावनाका विषयमा प्रस्तुतीकरण दिने जनाइएको छ । रासस

साताको शेयर बजारः १ अर्ब ८५ करोडको कारोबार, नेप्से परिसूचक १२.७२ बिन्दुले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा कायम रह्यो । उक्त दिन कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । यस्तै गत सोमबार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ बिन्दुले बढेर एक हजार १८६ दशमलव ८० बिन्दुमा पुग्यो । उक्त दिन कुल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन् । यस्तै साताको तेस्रो दिन शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ बिन्दुले बढेर एक हजार १९५ दशमलव ५४ बिन्दुमा पुग्दा कुल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए । यस्तै बुधबार नेप्से परिसूचक सात दशमलव ५७ बिन्दुले घटेर एक हजार १८७ दशमलव ९७ बिन्दुमा झर्यो । कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर ५३ करोड छ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव दुई बिन्दुले घटेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा सीमित भयो । कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए ।