विकासन्युज

शिखर सुजको एकल मेलामा झुम्मिए उपभोक्ता, आइतबार अन्तिम दिन

काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी शिखर सुज एकल जुत्ता मेलामा उपभोक्ताहरुको व्यापक भिड लागेको छ । पुस २० गतेदेखि सुरु भएको मेला माघ १३ गते अर्थात आइतबार सम्पन्न हुँदैछ । मेला समापन तर्फ उन्मुख हुँदै गर्दा उपभोक्ताहरुको व्यापक घुइँचो लागेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । मेलामा एकै व्यक्तिले एक दर्जन जोर भन्दा बढी जुत्ता समेत खरिद गरिरहेका छन् । काठमाडौंका राजकुमार श्रेष्ठले आफु र आफ्नो परिवारका लागि ९ जोर जुत्ता खरिद गरेका बताए । ‘सस्तो र बलियो भएकाले शिखर सुज किनेको हुँ, परिवारकै लागि ९ जोर जुत्ता किनेँ’, उपभोक्ता श्रेष्ठले भने । उनले यस अघि पनि शिखर सुजका जुत्ता किनेर लगाएको र राम्रो तथा बलियो रहेको पुष्टि भएपछि पुनः खरिद गरेको पनि स्पष्ट पारे । शिखर सुजका प्रबन्ध निर्देशक प्रसाइँले पनि मेलाको अन्त्यतिर आईपुग्दा उपभोक्ताहरुको माया बढ्दै गएको बताए । ‘आइतबार मेलाको अन्तिम दिन हो, तर उपभोक्ताहरुको भिड झन झन बढीरहेको छ, यसले हामी स्वदेशी उद्योगीलाई प्रोत्साहन मिलेको छ’, प्रसाईले भने । माघ महिना बिहेको समय भएकाले नव विवाहिता जोडी र पार्टीमा सहभागी हुनेहरुको रोजाईमा शिखर सुज परिरहेको छ । मेलामा एक हजार डिजाइनका जुत्ता चप्पल उपलब्ध छन् । १५ प्रतिशतको छुट सिमालाई पनि वृद्धि गरिएको प्रसाईले जानकारी दिए । १७५ रुपैंयाँदेखि ८ हजार रुपैंयाँ मूल्यका जुत्ता चप्पल मेलामा पाइन्छन् । पुस २० गते प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले उद्घाटन गरेका थिए ।

हवाई सुरक्षा सम्बन्धी छलफल, ‘नेपालमा हवाई उडान उच्च जोखिममा’

काठमाडौँ । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उडड्यन सुरक्षा एजेन्सी(इएएसए) ले यही माघ १० र ११ गते काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यासहरु र जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (सिएएएन) को संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकोप्टर उडानमा केन्द्रित रह्यो । जसमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए । “यहाँको उच्चभौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवतः विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा पर्दछ ।”सिएएएनका महानिर्देशक सञ्जय गौतमले भने । एयरबसले नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल, देशमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् । आफ्ना सबै उडानहरुमा सुरक्षाप्रबन्धलाई विशेष चासो दिने हाम्रो कटिबद्धतालाई ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ । सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो ।

स्वीड्जरल्याण्डबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने-भ्रमण सफल रह्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताएका छन् । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताए । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुँदा आफूले उद्यमशीलताको विकास, गरीब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र ‘प्रेस’ स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धनलगायत विषयमा नेपालको धारणा व्यक्त गरेको जानकारी दिए । “लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरेँ” लोकतन्त्रमा अरुको अधिकारको सम्मान गर्ने तथा व्यक्ति, परिवार र समाजमा गलत सूचना प्रवाह गर्न नहुने प्रेसको दायित्व र नेपाली प्रेसले उपभोग गरेका प्रेस स्वतन्त्रताका विविध पक्ष ती छलफलमा उजागर गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने । मञ्चमा भाग लिन आउनुभएका विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, आर्थिक क्षेत्रका विज्ञ, विद्वत् समुदाय, बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत विशिष्ट व्यक्तिसँग भएका आफूले अनौपचारिक विचारविमर्श गरेको चर्चा गर्दै ती सबै छलफलमा आफूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार पार्न वर्तमान सरकार दत्तचित्त भएर लागेको जानकारी दिएको बताए । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सङ्घीय प्रतिनिधिसभाबाट शुक्रबार पारित भएकामा त्यसको प्रतिपक्षी दललगायत अन्य असन्तुष्ट पक्षले गरेको विरोधसम्बन्धी जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले सबै समस्याको समाधान वार्ता र संवादबाटै गर्नुपर्नेमा जोड दिए । “आवेश र उत्तेजनामा होइन देशको संविधान, कानून तथा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, संविधानभन्दा माथि कोही छैन,” उनले भने । प्रधानमन्त्रीलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका सचिव निमित्त परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरे ।

परिणाम दिने योजनामा लगानी गरौंः मुख्यमन्त्री पौडेल

दोलखा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताएका छन् । योजना बनाउँदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । दोलखाको भीमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अब काम गर्ने शैली पनि परिबर्तन गर्नु पर्ने बताए । बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताए । उनले भने–‘ परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले शुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेल अगाडि थपे-‘ हामी काममा बिश्वास गर्ने मान्छे हौं, कामप्रति हाम्रो लगाव छ ।’ प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताए । प्रदेशले स्थानीय स्तरमा छलफल गरेर आबश्यकता अनुसार बिकाशका योजना तयार गर्ने उनले जानकारी दिए । विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अव छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने स्पष्ट पारे । नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकांश खेतबारी बाँझो रहेको बताउँदै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उनको भनाई थियो । योजना बैंकमा नराखी बजेट विनियोजन नहुने बताउँदै आफ्ना योजनाहरु योजना बैंकमा राख्न सुझाव दिए । अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उनको भनाई थियो । उनले भने-‘ ६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’

पब्लिक स्पीकर नेपाल २ मा प्रथम भए धरानका रमेश प्रसाईँ

काठमाडौँ । अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी  वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनालेका साथै पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो । माघ ११ गते पब्लिक स्पीकर नेपाल २ को अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करिब ११०० युवाका माझबाट छनौटमा पर्न सफल ६ जना युवाहरुले आफ्नो सशक्त प्रस्तुति प्रदर्शन गरेका थिए । अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमी फाइनल चरणहरु पार गर्दै मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्ववलविक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गले निर्णायकहरु तथा मुख्य आयोजक समितिको निर्णयका आधारमा कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए । सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकूरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् । पब्लिक स्पीकर नेपाल २ का उत्कृष्ट ६ प्रतियोगीहरुले अन्तिम चरणमा दुई भिन्नभिन्न विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । निकै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा अन्ततः धरानका रमेश प्रसाईंले बाजी मारे र पब्लिक स्पीकर नेपाल २ को विजेता घोषित भए । प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधाको विजेता समेत रमेश नै बने । त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकूरले द्वीतिय उपविजेताको उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । ग्रान्ड फिनाले पश्चात सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितीय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख रुपैयाँ, दुई लाख रुपैंया र एक लाख लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रमका निर्माता तथा आयोजक एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेको जानकारी दिए । साथै, पब्लिक च्वाइस अवार्ड विधाका विजेताको निर्धारण भने जनताबाट प्राप्त मतको आधारमा गरिएको उनले बताए ।

नेपालीलाई सहज बन्दै अन्तर्राष्ट्रिय श्रमबजार, ओमान र युएईबाट कस्तो आउँला सन्देश ?

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम बजार नेपालीहरुका लागि सहज बनाउन सरकारको सक्रियता बढेको छ । पछिल्लो समय नेपालीहरुका लागि अव्यवस्थित रहेको अन्तर्राष्ट्रिय श्रम बजारलाई सहज बनाउन नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सक्रिय भएर लागेको छ । हालैमात्र मलेसियासँग श्रम संझौता भएको थियो । यही शिलशिलामा नेपालीका लागि अन्तराष्ट्रिय श्रमबजार व्यवस्थित बनाउन ओमान र युएईसँग श्रम सम्झौताको विषयमा छलफल गर्न नेपाली प्रतिनिधि प्रतिनिधि मण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । आइतबार र सोमबार हुने ओमानसँगको छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेदी रहेका छन् । नेपालले आइबारबाट हुने ओमानसँगको छलफलमा नेपाली कामदारको सुरक्षा र शून्य लागतको विषयलाई प्राथमिकता दिने भएको छ । यस्तै कम्पनीमार्फत जाने व्यवस्थामा पनि जोड दिने भएको छ । ओमानसँग श्रम सम्झौताको विषयमा पहिलो पटक छलफल हुन लागेको हो । नेपाली टोली ओमानसँग छलफल गरेर मंगलबार त्यहीँबाट युएईका लागि प्रस्थान गर्ने बुझिएको छ । युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएपनि त्यसलाई परिमार्जन गर्न लागिएको छ । दुई देशबीच श्रम सम्झौताको मस्यौदा आदान प्रदान भइसकेको छ । ओमानसँगभन्दा नेपालले युएईसँग थप सुविधा दिन प्रस्ताव गर्ने भएको छ । युएईसँग बुधबार र बिहीबार छलफल तय भएको छ । युएईसँग नेपाली कामदारले पाउने सामाजिक सुरक्षा, जानु पहिले तालिम र फर्किंदा पाउने सुविधाका कुरा पनि सम्झौतामा नै राख्न नेपालले प्रस्ताव राख्नेछ । स्वदेशमै रोजगारी सिर्जना गरी आफ्नो देशको श्रमशक्तिलाई यही रोक्नु पर्ने हो । यो तत्काल संभव छ्रन्, बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सामाजिक सुरक्षा लगायतका अन्य सेवा सुबिधाको बारेमा श्रमसंझौता गर्न राज्य स्तरबाट भइरहेको पहल/प्रयासलाई श्रम क्षेत्रका जानकारहरुले सकारात्मकरुपमा लिएका छन् ।

जुकरबर्गको नयाँ योजना: इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्दा के हुन्छ ?

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई मर्ज गर्ने तयारी गरेको छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरिएको हो । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन हुनेछन् तर एकअर्कासँग जोडिने अवस्था निर्माण गर्न लागिएको छ । यसरी मर्ज भइसकेपछि तीनवटै माध्यमबाट जुन कुनैमा म्यासेज गर्न र हेर्न सकिन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने फेसबुकको योजना रहेको छ । यो लामो प्रक्रिया रहेको र अहिले सुरुवाति चरणमा रहेको फेसबुकले बताएको उल्लेख गरेको छ ।यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको योजनाका रुपमा लिइएको छ । मर्जरको प्रक्रिया पूरा भएपछि फेसबुक म्यासेन्जरमा रहेको व्यक्तिले वाट्सएपमा मात्रै रहेको व्यक्तिसँग सीधा म्यासेज गर्न वा संवाद गर्न सक्ने बताइएको छ । (बीबीसी हिन्दीबाट)

लालपुर्जा र नक्सापास विनै रामपुर नगरपालिकामा ठूलाठूला घर बन्दै, ८५६ घरधनी परे समस्यामा

रामपुर नगरपालिका बेझाड/कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन । लालपुर्जा नै नभएपछि नक्सापास हुने कुरै भएन । लालपुर्जा पाउने आशैआशमा घर/घडेरी जोड्न पुगेका यहाँका स्थानीयवासीको हातमा अहिलेसम्म पनि लालपुर्जा उपलब्ध हुन नसक्दा निराशा छाएको छ । रामपुर नगरपालिका–५ स्थित रामतुलसी मावि र वडा नं ६ का दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले विसं २०३५/२०३६ तिर जग्गा बिक्री गरेको थियो । तर सो जग्गाको लालपुर्जा अहिलेसम्म स्थानीयवासीले प्राप्त गर्न सकेको छैनन्। रामपुर नगरपालिका वडा नं ५, ६ र ७ का ८५६ घरधुरी लालपुर्जाविहीन बनेका छन् । विद्यालयको नाममा रहेको घडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउनका विभिन्न दलका राजनीतिक नेतृत्वले आशा देखाएको पनि तीन दशक नाघिसक्यो । तर यहाँका स्थानीयवासीले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरिरहेका छन् । रामपुर नगरपालिका–५ बेझाड बजारका शिशुराज तिवारीले रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा बसोबास गरेका छन् । “पटक–पटक लालपुर्जा दिन्छाैं भन्छन् तर अहिलेसम्म पाउन सकिएको छैन”, उनले भने, “यस क्षेत्रबाट चुनाव जितेर संसद्मा नेतृत्व गरेका व्यक्ति, राजनीतिक दलसमक्ष धेरै पटक लालपुर्जाका विषयमा कुरा उठाइयो, सबैले अब हुन्छ, दिन्छाैं, लालपुर्जा पाउने विषयमा ढुक्क हुनुहोस् भन्छन् तर अहिलेसम्म पाउन सकिएको छैन ।” लालपुर्जा नहुँदा घर/घडेरी किनबेचमा समस्या परेको रामपुर नगरपालिका–६ विजयपुरका स्थानीयवासी बिजुला पाठक बताउछन्। पाठक दरैठाटी माविको नामबाट वितरण गरेको जग्गामा बसोबास गर्दै आएका छन् । “लालपुर्जा पाइन्छ भन्ने आशा पनि लाग्नै छाड्यो, नेतृत्व तहसम्म पुगेका व्यक्तिले झुठा आश्वासन बाँडेर जनतालाई निराश बनाएका छन्”, पाठकले भने । लालपुर्जा पाउने आशैआशमा यहाँका स्थानीयवासीले तीन दशक बिताइसके अझै कति समय बिताउनुपर्ने हो कुनै निश्चित नभएको रामपुर नगरपालिका–५ बेझाडका अर्जुन पौडेल बताए । २०७१ वैशाख २५ गते रामपुर गाउँ विकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घर/घडेरीको लालपुर्जा नपाउँदा किनबेचमा पनि समस्या पर्ने गरेको गुनासो गरेका छन् । सुकुम्वासी समस्या, अव्यवस्थित बसोबासका लागि राज्यले अधिकार दिए पनि विधि, विधान र ऐनहरु नबन्दा लालपुर्जा उपलब्ध गराउन ढिलाइ भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा बताए । “अव्यवस्थित रुपमा रहेका घर÷घडेरीको सम्पूर्ण कागजात तयार पारी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पेश गरिएको छ, मन्त्री पद्मामा अर्यालबाट छ महीनाभित्र समस्याको समाधान हुने जानकारी पाइएको छ”, नगरप्रमुख थापाले भने । स्थानीयवासीबाट यस विषयमा धेरै गुनासा आएका छन् तर राज्यबाट पूर्णरूपमा अधिकार नपाउँदा काम गर्न अप्ठ्यारो परेको नगरप्रमुख थापाको भनाइ छ । हातमा लालपुर्जा नहुँदा रामपुरका ८५६ घरधनीले आफूहरु सुरक्षित नभएको बताए ।