खाली पेटमा औषधी खानु भनेको के हो ? औषधी कुन खानासँग नखाने ?
काठमाडौं। के तपाईंलाई थाहा छ खाली पेटमा औषधी खानु भनेको के हो ? तपाईं पक्कैपनि सोच्नुहुन्छ होला कि खाली पेटमा औषधी खानु भनेको केही पनि नखाइ बिहान भोको पेटमा औषधी खानु हो । यो साँचो हो तर यो आधा साँचो हो। हामी धेरैले यस कुरालाई अहिलेसम्म आधा मात्र बुझीरहेका छौं। खाली पेटमा औषधी खानु भनेको : १. औषधी खाएपछि करिब दुई घण्टा केही पनि नखाने । २. पहिला खाना खाइसकेको भए दुई घण्टा कुरेर मात्र औषधी खाने । कुनै औषधी खाली पेटमा खानु भनिन्छ किन भने खाना र केहि पेयहरूले औषधिको काम गर्ने तरिकालाई असर गर्न सक्छ। उदाहरणका लागि, केहि औषधीहरु खाना खाए लगत्तै खाँदा अथवा पछि खाँदा उक्त औषधी र खाना मिसिन गई औषधीको प्रभावलाई कम गराउन सक्छ। कुनै खानेकुरा वा पेय पदार्थहरूले औषधिको प्रभावलाई कम गराउँदछ। जस्तै: – अंगुरको जुस – क्रेनबेरीको रस – भिटामिन ई बढी पाईने खाने कुरा जस्तै हरियो सब्जिहरु – नुनिलो खानेकुरा वा उच्च मात्रामा पोटासियम पाईने खानेकुरा जस्तै केरा । त्यसैले, जहिले पनि डाक्टरले दिएको सुझावलाई राम्रोसँग पालना गर्नुहोस्।
कार्गो ढुवानी लागत प्रतिकन्टेनर ४० हजारले घट्ने, सामान ल्याउन १ महिना कुर्नु नपर्ने
काठमाडौँ । विभिन्न मुलुकबाट आयात गरिएका उपभोग्य वस्तु तथा सामाग्रीलाई स्वदेश ल्याउन अब एक महिनासम्म कुर्न नपर्ने भएको छ । नेपाल र भारत सरकारबीचमा ‘अनलाइन क्लियरिङ सिस्टम’ मा केही दिनमा हस्ताक्षर गर्ने समझदारी कायम भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । उक्त अनलाइनअन्तर्गत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) लागू गरी एक साताभित्र मालसामान ढुवानी गर्न सकिनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विगतमा भारतको कोलकात्ताबाट वीरगञ्जसम्मको ढुवानी करीब एक महीना लाग्ने गरेकामा नयाँ प्रणालीका माध्यमबाट चार-पाँच दिनभित्र ढुवानी गर्न सकिने जानकारी दिए । नेपाल कार्गो व्यवसायी सङ्घका अध्यक्ष प्रकाशसिंह कार्कीले विगतमा सामग्री ढुवानी गर्दा आवश्यक पर्ने आठ प्रकारका कागजात तथा दुवै देशका अधिकारीको हस्ताक्षर गर्नुपर्ने समस्या अन्त्य हुने र प्रत्येक कन्टेनरमा करीब ४० हजारको दरले लागत घट्ने बताए । सोही सङ्घका कोषाध्यक्ष नरेशकुमार अग्रवालले आयातित वस्तुको लागतमा केही कमी आएपछि उपभोक्ता पनि लाभान्वित हुने बताउँदै स्वदेशी वस्तु विदेशमा निर्यात गर्दा पनि समय अवधि छिटोछरितो हुने हुँदा लागतमा कमी आउने विश्वास व्यक्त गरे । आयात र निर्यातसम्बन्धी खर्च पारदर्शीरुपमा राख्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएको उक्त प्रणालीले वार्षिक तीन अर्बदेखि सात अर्बसम्म लागत घट्ने छ । गत बुधबार दुवै मुलुकका अधिकारीबीच मौखिक समझदारी कायम भएको महासङ्घले जनाएको छ ।
कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड, दूधमात्रै एक करोडको बिक्री
गलकोट । बागलुङ काँठेखोला गाउँपालिका-६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले बिहुँ अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । यस वर्ष मात्रै यहाँका कृषकले एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् । त्यस्तै बिहुँमा सुन्तला र कागतीको बिक्रीबाट एक करोड ५० लाख ३० हजार २५०, केरा खेतीबाट आठ लाख ९५ हजार २००, अम्बा बेचेर ७५ हजार ३५०, कुखुरा पालनबाट पाँच लाख २० हजार १५० तथा अन्य अन्न बालीबाट रु तीन लाख ९० हजार भित्रिएको वडा कार्यालयले जनाएको छ । ब्राह्मण र दलित समुदायको बाहुल्य रहेको यस वडावासीको मुख्य आम्दानीको स्रोत कृषि पेशा नै रहेको छ । स्थानीय तहले पनि यस वडालाई कृषि क्षेत्रबाटै विकास गर्ने लक्ष्य लिएको छ । समुद्री सतहदेखि एक हजार २५ मिटरदेखि एक हजार ७९० मिटर उचाइमा खेतीयोग्य जमीन रहेको यस क्षेत्रमा दुई हजार १०० मिटर उचाइसम्म वन क्षेत्र फैलिएको छ । “कृषि पेशाकै माध्यमबाट यस वडालाई समुन्नत बनाउने योजना आगाडि बढाएका छौँ,” अध्यक्ष कँडेलले भने, “किसानलाई व्यावसायिक कृषिखेती गर्नका लागि विभिन्न अनुदानका कार्यक्रमसहित अगाडि बढेका छौं ।” वडा कार्यालयले कृषि प्रोफाइल तयार गरेर उचाइ तथा मोहोडा, माटो, भू–बनोट तथा हावापानीको हिसाबले कुन ठाउँमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनेर किसानलाई मार्गदर्शन समेत गरेको छ । वडा कार्यालयले यस क्षेत्रका किसानलाई भूगोलका हिसाबले उपयुक्त मानिएको व्यावासायिक रुपमा सुन्तला, कागती, अम्बा, केरा, अलैँची, कफी र अम्रिसो लगाउन सिफारिस गरेको छ । परम्परागत तरिकाले खेती गर्दा जीविकोपार्जन गर्न मुस्किल भएको भन्दै वडाध्यक्ष कँडेलले युवाको बढ्दो विदेश पलाएन रोकी बाँझो जमीनलाई उर्वरभूमिमा रुपान्तरण गरेर सिङ्गो वडालाई नै समृद्ध बनाउने योजना रहेको बताए । वडा कार्यालयले कृषकलाई वर्गीकरण समेत गरेको छ । वडा कार्यालयमा सूचीकृत भएका ४७६ कृषकमध्ये २६८ सीमान्तकृत, १८१ निर्वाहमुखी, १९ साना कृषक, चार व्यवसायतर्फ उन्नमुख कृषक र चार सौखिन कृषक रहेको अध्यक्ष कँडेलले जानकारी दिए । रासस
नानो कारको उत्पादन बन्द गर्ने घोषणा, ‘एउटा सपनाको अन्त्य’
मुम्बई । विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । “हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं,” टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले हैदराबादमा बताए । टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो । भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उनमा थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा थियो । विश्लेषकहरु पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौं भारतीयलाई यो कार बरदान सावित हुने अपेक्षा थियो । त्यसलगत्तै, विश्वभर यो कारले “विश्वकै सस्तो कार” को उपनाम पाएको थियो । तर, यो कारको बिक्रीमा मन्दी आयो । “यो मार्केटिङमा भएको असफलता हो,” अटोकार इन्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जीले बताए । “यो कारलाई गरिबको कार भनियो र भारतीयहरु आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजार प्रबद्र्धन त्यस किसिमबाट भएन ।” यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए । शुरुका दिनहरुमा यो कार प्रति महिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक दुई वर्षभित्रै यसको प्रति महिना बिक्री सयमा झरेको थियो । सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानो समेतका सानो मोडेलका अरु कारहरुको पनि बिक्री बढ्न सकेन । “एउटा सपनाको अन्त्य,” दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ । रासस/एएफपी
नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण
काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए । चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।
साधना लघुवित्तले दोश्रो त्रैमासमा कमायो ५६ लाख नाफा
काठमाण्डौ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको र २०७४ मंसिर ३ गतेबाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद मुनाफा अर्जान गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको संस्थाले यसपटक प्रगति गरेको हो । चालु आवको प्रथम त्रैमासिकमा २३ लाख ४६ हजार संचालन मुनाफामा रहेको लघुवित्त ३ महिनामा ६५ लाख ८४ हजार रुपैयाले संचालन मुनाफा बढाई ८९ लाख ३१ हजार पुर्याएको छ । कुल ४ करोड ९० लाख चुक्ता पूँजी रहेको यो कम्पनीको खराब कर्जा शुन्य रहेको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड १०.५१ प्रतिशत रहेको छ भने तरलता अनुपात ९.०२ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.७७(बार्षिक) र सम्पत्तिमा प्रतिफल १.५८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
डा. भेषबहादुर थापाको प्रश्नः ईपीजी प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ ?
काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल-भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । डा. थापाले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउनका लागि इपीजी प्रतिवेदन महत्वपूर्ण हुने दावी पनि गरे । थापाले आफूहरु इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा रहेको बताए । नेपाल र भारतबाट प्रवुद्ध समुहमा आवद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दावी गर्दै संयोजक थापाले उक्त प्रतिवेदनलाई महत्व दिन आग्रह पनि गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भने,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’ यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’ नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् । डा. महतले नेपाल र भारतबीचको युगौँ युगदेखिको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् । एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए । उनले भने,‘२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ ।’ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा ईन्कार गर्ने चेतावनी दिए । उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । बोर्डरमा के समस्या छ ? हाम्रो रोजीबेटीको सम्बन्ध भनेपछि त्यो कुन प्रकारले अघि बढ्ने हो र कुन प्रकारले बढिरहेको थियो ? र कुन प्रकारले बढ्नुपर्छ भनेर निर्णय गर्दा हाम्रो कुनै पनि सहभागिता नभएकोले त्यो प्रतिवेदन हामी कुनैपनि हालतमा स्विकार्दैनौं ।’
सुजुकी हायातको प्रत्येक मोटरसाइकल खरिदमा टिभी उपहार, ५ वर्षको वारेन्टी
काठमाडौं । नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोबाइलस प्रा. लि ले प्रत्येक सुजिकी हायात मोटरसाइकलको खरिदमा टिभी उपहार दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै उक्त योजना बजारमा ल्याएको हो । सुजुकी हायात बाईक माइलेज धेरै दिने र कम लागतमा चढ्न सकिने बाइक हो । बाइकसँगै परिवारका सदस्यहरु पनि खुसी मनाउन सकुन् भनेर कम्पनीले सुजुकी हायात किन्दा आफ्ना ग्राहकका लागि एउटा टिभी उपहार दिने भएको छ । यस योजना माघ १ गतेदेखि माघ ३० गतेसम्म नेपाल अधिराज्यभरिका सुजुकी बाइक तथा स्कुटर शोरुमबाट सजिलै पाउन सक्नेछन् । साथै, यस योजनाले ग्राहकको मन जित्ने साथै सुजुकी जापानिज कम्पनी भएकोले ५ वर्षको वारेन्टी दिएको कुरा सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए ।