एनएमबि बैंक सहित तीन कम्पनीको बोनस सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एनएमबि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यी तीन कम्पनीको कूल एक करोड ३८ लाख ७७ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस नेप्सेमा थपिएको छ । त्यस्तै, सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको हो ।
अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन
काठमाडौं । अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । प्याङ्क्रियाजको रोगबाट पीडित उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा दिउँसो १ बजे निधन भएक हो । मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका डा. दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत रहेका थिए । पारिवारिक श्रोतका अनुसार उनलाई उपचारका लागि एक हप्ताभन्दा अघिदेखि अस्पताल भर्ना गरिएको थियो । अर्थशास्त्री दाहाल लामो समय त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग प्रमुख थिए । उनी कर आयोगका अध्यक्ष समेत भएका थिए । स्वर्गीय दाहालको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा अब चलचित्रको पनि बीमा, एलजीआईको नयाँ प्रोडक्ट कस्तो ?
काठमाडौँ । चलचित्र निर्माण गर्दा आईपर्ने जोखिमको बहन गर्ने बीमा योजनामा लुम्बिनी जनरल ईन्स्योरेन्स(एलजीआई) ले सक्रियता देखाएको छ । चलचित्र निर्माण गर्न लामो समय लाग्ने तथा सो क्रममा निकै क्षती हुने भन्दै बीमा कम्पनीले यस्तो योजनाको सुरुवात गरेको हो । यस्तो बीमा पोलिसीबारे बीमा समितिले लुम्बिनी जनरललाई ३ महिना अघि नै स्विकृती दिईसकेको छ । लुम्बिनी जनरल ईन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत डिके श्रेष्ठले भन्छन्-‘बीमाले जोखिम बहन गर्ने हो, चलचित्र निर्माण गर्दा समेत आफ्नै किसिमका जोखिम रहँदै आएका छन्, त्यसैले आगामी दिनमा त्यस्ता जोखिमको बहन बीमा मार्फत गरेमा निर्देशकहरुले ढुक्कसँग काम गर्न सक्छन् ।’ श्रेष्ठले बीमा बजारमा आधुनिकता ल्याउन यस्तो कदम चालेको समेत जानकारी दिएका छन् । चलचित्र बीमामा के के हुन्छ ? चलचित्रको बीमा गर्नु पूर्व निर्माताहरुले बीमा कम्पनीसँग एक किसिमको सम्झौता गर्न आवश्यक हुन्छ । यसरी सम्झौता गरे पश्चात ४ महिनाको अवधिसम्म बीमा सुविधा पाईन्छ । सोही बीमा मार्फत कलाकारहरुलाई चोटपटक लागेमा, कुनै किसिमका दुर्घटना भएमा, क्यामेरा लगायतका सामाग्री टुटफुट भएमा बीमा कम्पनीले जोखिम बहन गर्ने गर्छ । चलचित्र बीमाको प्याकेज निर्जीवन बीमा अन्र्तगतको हो । चलचित्र निर्माण गर्दा भैपरी आउने समस्यालाई बीमा गरिएपनि चलचित्रले बजार नलिएको खण्डमा भने बीमा योजनाले काम गर्दैन । सो बीमा योजना सार्वजनिक भए लगत्तै फिल्म नचलेको अवस्थामा पैसा पाईने हो की भन्ने विषय निकै चासोको विषय बनेको पाईन्छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रमा रहेको जोखिमका बारेमा लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीलाई जानकारी गराएको बताए । अहिलेसम्म कुनैपनि चलचित्रको बीमा भइसकेको छैन । बीमा बजारमा प्रतिस्पर्धालाई स्वच्छ बनाउन नयाँ बीमा योजनाको आवश्यकता रहेकोमा लुम्बिनी जनरल ईन्स्योरेन्सले जोड दिएको छ ।
कैलालीको अत्तरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरियामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सांसद भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लि.ले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।
रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु
नानजिङ्, चीन । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मृत्यु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । चीनमा केही वर्षमा यता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक भएको बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोटको यति शक्तिशाली थियो कि कारखानाको भवनहरूको भग्नावशेषहरू परसम्म लागेर कामदारहरू घाइते भएका थिए । विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहने पाइन्छ । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो। हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए। बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
धनगढी-अछाम पहिलोपटक हवाई सेवा शुरु, भाडादर ३ हजार ३ सय ५० रुपैयाँ
अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए । धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधामन्त्री ओलीले गरे आग्रह
भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए । उनी पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै थिए । पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए । उनले भने, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिए । उनी आज बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही पुगेका हुन् ।
वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ । नासु फुयाँलले सेवाग्राहीसँग ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।