ओम र महालक्ष्मीबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न छ । सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लि.ले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमाकारोबार सञ्चालनको तयारी गरिरहेको जनाएको छ । सम्झौतामा ओम डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्याः उर्मिला श्रेष्ठ
बिर्तामोड । नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले उक्त धारणा राखेकी हुन् । अध्यक्ष श्रेष्ठले महिलाहरु समेत व्यवसायमा लाग्नुपर्ने बताईन् । उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’ अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी गराएकी थिईन् । कार्यक्रममा चेम्बर अफ कमर्स, १ नम्बर प्रदेश का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवसायमा साथ दिएर पनि महिला अब सशक्तिकरणका निम्ती जाग्ने बेला आएको बताए । झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए । सो कार्यक्रममा नेकपा बिर्तामोड नगरका अध्यक्ष ज्ञानुराम प्रसाई, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष शुभ कुमाई पाठक लगायतले मन्तव्य राखेका थिए । अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सचिव लिमा अधिकारीले सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिएकी थिइन् । नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा झापा चेम्बर अफ कमर्सका सचिव सुवास भट्टराईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रेमा भट्टराईले गरेकी थिइन् । प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा गठन नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता माझ बिर्तामोडमा आयोजित अन्तरक्रिया सहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा रेखिका शर्मा, महासचिवमा शर्मिला शाक्य, उद्योग सचिवमा बिनु कट्टेल, वाणिज्य सचिवमा देवी पोखरेल र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा शुभकुमाईं पाठक, अनिता मैनाली, भावना घिमिरे, लुना सुवेदी, प्रमिला खरेल प्रसाई, बिना बिमली, पार्वता खतिवडा, सुनिता शर्मा, हिमा भण्डारी, पारु श्रेष्ठ, गंगा मेचे, कविता पौडेल, जानुका ओली, यशोदा प्रसाईं र गीता पौडेल चयन भएका छन् ।
नबिलले एक अर्ब २० करोडको म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । नबिल ब्यालेन्स फण्ड-२ले एक अर्ब २० करोड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । फण्डले गत चैत १० गते सो मात्राको फण्ड बिक्री गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डको अनुमतिसँगै फण्डले कोष प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्ने छ ।
सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने
काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ । स्वास्थ्य योजना अनुसार बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बैंकले जनाएको छ । चैत १ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट दिदै आएको जनाएको छ । यसअघि सनराइज बैंकले भारत स्थित अपोलो, बीएलके सुपर स्पेशालिटी र नानाभाटी हस्पिटलसँग पनि सम्झौता गरेको थियो । सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने छन् ।
अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमाः भारतीय प्रधामन्त्री मोदी
नयाँदिल्ली । भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन् । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।” भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताए । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उनले स्पष्ट पारे । भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।रासस/एएफपी
लगानी सम्मेलनः शोकेसमा ३७ अर्बका ३ सिमेन्ट उद्योग, चन्द्र ढकालको १० अर्ब, अरुको कति ?
काठमाडौं । सरकारले लगानी सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सम्मेलनको अन्तिम तयारी भैरहँदा स्वदेशी निजी क्षेत्रले पनि उल्लेख्य रुपमा सहभागिता जनाएका छन् । निजी क्षेत्रले २७ वटा आयोजनाको लागि विदेशी लगानी प्रस्ताव गरेका छन् । जसमध्ये सिमेन्ट उद्योगका ३ वटा प्रस्ताव छन् । सिमेन्ट उद्योगका लागि आईएमई ग्रुप, विशाल सिमेन्ट इण्डस्ट्री प्रालि र गरुड सिमेन्ट इण्डस्ट्री प्रालिले प्रस्ताव पेश गरेका छन् । ३ प्रालिले ३ सय ६५ मिलियन अमेरिकी डलर(३७ खर्ब रुपैयाँ)को लगानी प्रस्ताव गरेका हुन् । आइएमई सिमेन्ट प्रालि आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलनमा १० अर्बको योजना अघि सारेका छन् । आइएमई सिमेन्ट लिमिटेड कम्पनीको लागी १०० मिलियन अमेरिकी डलरको आयोजना अघि सारेका हुन् । सम्मेलनमा ढकालले सिमेन्ट उद्योग प्रस्ताव गरेका हुन् । नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिकामा बन्ने सिमेन्ट उद्योगमा आइएमई ग्रुपले विदेशी लगानी भित्र्याउन लागेको हो । उद्योग ०.२३७ स्वायर किलोमिटरमा फैलिनेछ । आइएमई ग्रुपले तयार गरेको योजना अनुसार उद्योगको खानी पाल्पा मदनपुर स्थीत निस्डी गाउँ पालिकामा रहनेछ । जसको क्षेत्रफल १६ वर्ग किलोमिटर रहेको छ । कम्पनीले १८.७२ मिलियन टन चुनढुङगा मौजाद राखिसकेको छ । उद्योगको लागि ढुङ्गा २५ किलोमिटर सडकमार्गबाट ल्याइनेछ । कम्पनीले सिमेन्ट उत्पादन गरी ठूला पूर्वाधार निर्माणको लागि प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले आयोजना पूर्वअध्ययनका लागि १ वर्ष, आर्थिक व्यवस्थापन १ वर्ष र २ वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । आइएमई ग्रुपले सिमेन्टमा लगानी गर्न लागेको यो पहिलो उद्योग हो, यसअघि सो ग्रुपले केबलकार, बैंक तथा वित्तीय क्षेत्रमा लागनी गर्दै आएको छ । विशाल सिमेन्ट इण्डस्ट्री प्रालि विशाल ग्रुपले १५० मिलियन डलर (करिब १५ अर्ब रुपैंया)को सिमेन्ट उद्योगमा लगानी प्रस्ताव गरेको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बन्ने सिमेन्ट उद्योगको खानी खानीबाट ४ किलोमिटर मात्रै टाढा रहेको छ । ६ महिना पूर्वअध्ययनको ररकम व्यवस्थालाई पनि ६ महिना कै समय राखिएको छ । २ वर्षमा निर्माण सम्पन्न भैसक्ने उद्योगको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र आइईईको काम भैरहेको छ । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । उद्योग सुर्खेत जिल्लाको लखरपाटा पोखरीखण्ड नगरपालिकाको १.९६६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । गरुड सिमेन्ट इण्डस्ट्री प्रालि गरुण सिमेन्ट प्रालिले सिन्धुलीको मरिनमा ११५ मिलियन अमेरिकी डलर लागतमा सिमेन्ट उद्योग खोल्ने तयारी गरेको छ । लगानी बोर्डको शोकेसमा राखिएको सो परियोजनामा प्रालिले काभ्रे खानीखोलामा खानी स्थापना गरी सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । खानीको क्षेत्रफल ६.९६ वर्ग किलोमिटरमा फैलिनेछ । १ वर्ष पूर्वअध्ययन राखिएको आयोजनालाई १ वर्षभित्र आर्थिक व्यवस्थापन गर्ने तयारी छ । करिब साढे ११ अर्ब लागत अनुमान गरिएको छ ।
बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्सको बोनस सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा थपिएको हो । सो मध्ये बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हनार २७० कित्ता बोनस नेप्सेम थपिएको हो ।
भवानी, हरिभक्त र राजेशकाजीलाई सँगै राखेर अर्थमन्त्रीले भने-‘स्वदेशी र विदेशी लगानीकर्ता बराबर’
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको बताएका छन् । शुक्रबार र शनिवार हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रका प्रतिनिधिहरु नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई संगै राखेर उनले यस्तो कुरा बताएका हुन । नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) ल्याइएको र स्वदेशी लगानीकर्ताका लागि समेत सार्वजनिक औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको बताए । लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन बुधाबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले अहिलेको लगानी सम्मेलन २०७२ सालमा गरिएको लगानी सम्मेलनको निरन्तरता भएको बताए । विगतमा भन्दा व्यवस्थित ढंगले परियोजना प्रस्तुत गर्न लागेको उनले बताए । नेपालको कर प्रणाली विश्व कै उत्कृष्ट भएको पनि अर्थमन्त्री बताए । लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुबाट आउने प्रतिबद्धता अनुसारको लगानी आउने नआउने बारेमा निरन्तर फलोअप गर्ने बताउने उनले भने–‘मे महिनासम्म कुन क्षेत्रमा कति लगानी आउने भन्ने तय भइसक्छ ।’ लगानी सम्मेलन शुक्रबार र शनिवार २ दिने हुने भएपनि सम्मेलन अघिल्लो दिन र समापनपछि पनि लगानीकर्ताहरु सँग छलफल हुने अर्थमन्त्री खतिवडाले बताए । पत्रकार सम्मेलनमा निजी क्षेत्रका प्रतिनिधिहरु राणा, शर्मा र श्रेष्ठले लगानी सम्मेलन हुन लागेकोमा आफूहरु उत्साहित भएको बताए । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपाली अठोठ पूरा गर्न स्वदेशी लगानीकर्ताहरुले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रस्तुत गरिने परियोजना तयार भइसकेको बताए । प्रधानमन्त्रीबाट उद्घाटन, ६ सय विदेशी लगानीकर्ताको सहभागिता सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने छ । त्यसमध्ये १२० जना भारतीय लगानीकर्ता सहभागी हुनेछन् । त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैह्र आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ । उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा बताइयो । सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी पत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको जनाएको छ । सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ । उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुने जनाइएको छ । त्यसैगरी, सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । लगानी सम्मेलन सफल रुपमा आयोजना गर्न अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।