विकासन्युज

प्रभु बैंकको ऋणपत्र निष्काशनमा सनराइज क्यापिटल, एक अर्बको बिक्री गर्दै

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले “प्रभु बैंक डिबेन्चर २०८६”काे १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच हस्ताक्षर भएको छ । सम्झौता सँगै बैंकले यस क्यापिटल मार्फत १० प्रतिशत ब्याज सहित दश वर्षको लागि सो मात्राको ऋणपत्र निष्काशन गर्ने छ ।

सिद्धार्थ बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँले हस्ताक्षर गरेका छन् । सो अवसरमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरुमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

नेपाली बैज्ञानिकले विकास गरे अति सुक्ष्म-प्रकाशकीय चिप, स्वासप्रस्वासका बिरामीलाई उपयोगी

काठमाडौ । फुटुंग रिसर्च इस्टिच्यूटका बैज्ञानिकहरुले नेपालको पहिलो अती–सुक्ष्म–प्रकाशकीय चिपको विकास गर्न सफल भएका छन् । सो चिप नेपाली बैज्ञानिकहरुले नेपालमै सिमुलेशन (गणितिय) डिजाइन तथा भौतिक परीक्षण गरी निर्माण गरेका हुन् । स्वासप्रस्वासका बिरामीलाई उपयोगी हुने चिप बनाइएको हो । नेपाली बैज्ञानिकको यो उपलब्धीमा फ्रीवेयर, थ्रिडी प्रिन्टीङ प्रविधिको व्यापक विकास र प्रयोग र थोरल्याब्स (यूएसए), ल्यूमेरिकल (क्यानाडा) र लुसीडा फोटोनिक्स (बेल्जियम) लगाएतका कम्पनीहरुले फुटुङका बैज्ञानिकलाई सहयोग गरेका छन् । बुधबार राजधानीमा बैज्ञानिक संस्थाहरुले आफ्नो खोजको बारेमा समेत जानकारी दिएका छन् । कार्यक्रममा शिक्षा विज्ञान र प्रविधि मन्त्रालयका अधिकारीहरु, नास्टका तथा त्रिवि बैज्ञानिकहरु, समाज कल्याण परिषद्का अधिकारीहरु, अभियन्ता महाबिर पुन, चिकित्सकहरु, म्यान्चेस्टर विश्व विद्ययालयका प्राध्यापकहरु, वोल्ड इनोभेसन फोरम (जेनेभा) का अध्यक्ष लगायत स्वदेशी र विदेशी बिज्ञहरुले सहभागिता जनाएका थिए । प्राविधिक विकासका लागि छलफल गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल उपस्थित थिए । कार्यक्रममा डाक्टर गोपाल लामाले नेपालमा बढ्दो वायू प्रदुषणले दमको रोग वृद्धीमा सघाउ पुर्याएको भन्दै आगामी दिनमा यसको औषधी खोज्न भन्दापनि सकेसम्म रोग नै नलाग्ने बातावरण निर्माण गर्न जोड दिनुपर्ने बताए । साथै, आगामी दिनमा फोक्सोको समस्याका लागि अती–सुक्ष्म–प्रकाशकीय चिप सहयोगी हुने बताए ।

नेप्से र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच

काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत बढी हो । बुधबारको बजारमा नेप्सेका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन कुल १६५ कम्पनीको ४८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँ बढी सेयर किनबेच भएको छ । अघिल्लो दिन(मंगलबार) कुल २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ रहेको छ ।  त्यस्तै, शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा बराबर रहेकाे छ । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बढी गुमाउनेमा यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशत गुमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँमा झरेको छ । जुन मंगलबार प्रतिकित्ता २१९ रुपैयाँमा रहेको थियो । बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या

ओपोको कलर ओएस ६ सार्वजनिक, रोचक फिचर्स र आकर्षक डिजाइन

काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याट फर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केहीबजारमा भर्खरै सार्वजनिक ओपो एफ११ र एफ ११प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृत र एप ड्रअरपनि उपलब्ध गरिएको छ । सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र सुक्ष्म ग्राडियण्ट अपनाइएको छ । न्यून रेखा, नयाँआइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन सहितको यो ओएस, ओएस परिमार्जन रुचाउनेहरुका लागि राम्रो छनोट हुन सक्ने कम्पनीले जनाएको छ ।

उदयपुर र सप्तरीमा कामना सेवाकोे शाखा बिस्तार

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले उदयपुर र सप्तरी जिल्लामा शाखा बिस्तार गरेको छ । उदयपुरको त्रियुगा र सप्तरीको राजविराजमा बुधबार ७६औं र ७७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा बिस्तारलाई निरन्तरता दिने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।

एनसीसी बैंक अवकाश काेषले बाढ्यो ७० प्रतिशत लाभांश

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक अन्तर्गत संचालित एनसीसी बैंक अवकाश काेषले अवकाश पाएका कर्मचारीहरुलाई ७० प्रतिशत लाभांश वितरण गरेको छ । काेषले उक्त कर्मचारीहरुलाई २०७५ असार मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत अर्थात ३ करोड ६२ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको हो । कोषले करिब २०० भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ । उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नाे संचित बचत भएको रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको छ । साथै, सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा पनि दिँदैै आईरहेको कोषले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

होण्डा ‘सम्बन्ध सपनाहरुको’ विजेता घोषित, काभ्रेका विशालले जिते ५० लाख बम्बर उपहार

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा दशैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरुको’को विजेता घोषित गरेको छ । २५ माघदेखि २५ फागुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।