भवानी, हरिभक्त र राजेशकाजीलाई सँगै राखेर अर्थमन्त्रीले भने-‘स्वदेशी र विदेशी लगानीकर्ता बराबर’

<p>काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको बताएका छन् । शुक्रबार र शनिवार हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रका प्रतिनिधिहरु नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई संगै राखेर उनले यस्तो कुरा बताएका [&hellip;]</p>

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको बताएका छन् । शुक्रबार र शनिवार हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रका प्रतिनिधिहरु नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई संगै राखेर उनले यस्तो कुरा बताएका हुन ।

नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) ल्याइएको र स्वदेशी लगानीकर्ताका लागि समेत सार्वजनिक औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको बताए । लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन बुधाबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले अहिलेको लगानी सम्मेलन २०७२ सालमा गरिएको लगानी सम्मेलनको निरन्तरता भएको बताए ।

विगतमा भन्दा व्यवस्थित ढंगले परियोजना प्रस्तुत गर्न लागेको उनले बताए । नेपालको कर प्रणाली विश्व कै उत्कृष्ट भएको पनि अर्थमन्त्री बताए । लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुबाट आउने प्रतिबद्धता अनुसारको लगानी आउने नआउने बारेमा निरन्तर फलोअप गर्ने बताउने उनले भने–‘मे महिनासम्म कुन क्षेत्रमा कति लगानी आउने भन्ने तय भइसक्छ ।’

लगानी सम्मेलन शुक्रबार र शनिवार २ दिने हुने भएपनि सम्मेलन अघिल्लो दिन र समापनपछि पनि लगानीकर्ताहरु सँग छलफल हुने अर्थमन्त्री खतिवडाले बताए । पत्रकार सम्मेलनमा निजी क्षेत्रका प्रतिनिधिहरु राणा, शर्मा र श्रेष्ठले लगानी सम्मेलन हुन लागेकोमा आफूहरु उत्साहित भएको बताए । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपाली अठोठ पूरा गर्न स्वदेशी लगानीकर्ताहरुले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रस्तुत गरिने परियोजना तयार भइसकेको बताए ।

प्रधानमन्त्रीबाट उद्घाटन, ६ सय विदेशी लगानीकर्ताको सहभागिता

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने छ । त्यसमध्ये १२० जना भारतीय लगानीकर्ता सहभागी हुनेछन् । त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैह्र आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ ।

उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा बताइयो । सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी पत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको जनाएको छ ।

सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुने जनाइएको छ । त्यसैगरी, सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । लगानी सम्मेलन सफल रुपमा आयोजना गर्न अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।

Share News