सेञ्चुरी बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ पुनः चयन भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । श्रेष्ठ ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् । बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको बैंकले जनाएको छ ।
प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने, प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी
हेटौँडा । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् । चालू आवमा हालसम्म पूँजीगत र चालू खर्च गरी ३० प्रतिशत मात्र बजेट खर्च भएको छ । बजेट खर्चको अनुपात हेर्दा यो आवको अन्त्यसम्म पनि प्रदेश सरकारले पूँजीगत खर्च ५० प्रतिशतसम्म पुर्याउन नसक्ने देखिएको । यद्यपि प्रदेश सरकार सतप्रतिशत खर्च गर्ने दाबी गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको शुरुआती दिनमा कानून अभावलगायतका समस्या देखिए पनि अब त्यस्तो नहुने हुँदा बजेट खर्च हुने प्रदेश सरकारको दाबी छ । राजश्व सङ्कलनको महत्वपूर्ण हिस्सा मानिएको ढुङ्गा, गिट्टी, बालुवाको सबै कर स्थानीय तहले मात्र लिन पाउने सङ्घीय सरकारले निर्णय गरेपछि प्रदेशको आर्थिक स्रोत घट्ने चिन्ता बढेको छ । तर राजश्व सङ्कलनको दायरा बढाएर आर्थिक स्रोत वृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले सचिवविहीन छ । लामो समयदेखि सचिव नभएका कारण बजेटको तयारीमा धेरै समस्या परेको मन्त्री ढुङ्गेलले बताए । सङ्घीय सरकारले सचिव नपठाएकोमा मन्त्री ढुङ्गेल आक्रोश पोख्नुहुन्छ । लामो समयदेखि सङ्घीय राजधानी समेत रहेको प्रदेश नं ३ मा समेत सचिव पठाउन नसकेको अवस्थामा अन्य प्रदेशमा कस्तो समस्या होला ? उनले चिन्ता व्यक्त गरे । रासस
त्रिविको प्राइभेट परीक्षा फारम बुझाउने अन्तिम मिति बैशाख २३ गते, यो साल अन्तिम मौका
काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षाको फाराम बुझाउने अन्तिम मिति तोकिएको छ। परीक्षामा सामेल हुन इच्छुक विद्यार्थीले बैशाख २३ गतेसम्म फारम बुझाइसक्नु पर्नेछ। बैशाख १६ गते सम्म त्रिविले १३०० शुल्क सहित भर्ना गरेको थियो भने अब बैशाख २३ गते सम्म डबल दस्तुर गराई २६०० बनाएको छ। यो साल प्राइभेट परीक्षा अन्तिम पटक हुने र आउँदो सत्र देखी प्राइभेट परीक्षा फारम भर्न नपाईने परीक्षा नियणत्रक पुष्पराज जोशिले बताए। विद्यार्थीहरुले प्राइभेट परीक्षा अन्तर्गत स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषय पढ्न पाउने छन्। अन्य बिषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राईभेट परिक्षाको व्यवस्था गर्न नपाएको जोशीले बताए। प्राइभेट परिक्षामा विद्यार्थीले क्याम्पस नगई स्वअध्ययन परिक्षामा मात्र सहभागी हुनसक्ने व्यवस्था रहेको छ। त्रिविले भने अहिले धेरै जसो स्नातकोत्तर तहका अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। सेमेस्टर प्रणाली अनुसार विद्यार्थीको ८० प्रतिसत हाजिर र सबै ‘प्र्याक्टिकल’ बिषयको टर्म पेपर तयार गर्नुपर्ने हुन्छ। कहाँ बुझाउने फारम ? विद्यार्थीले फारम बल्खु स्थित परीक्षा नियन्त्रण कार्यलयमा बिहान १०-५ बजे को समयमा बुझाउनुपर्ने छ। के के चाहिन्छ ? -एसएलसीको सटिफिकेट र चारित्रिक प्रमाणपत्र -प्लस २ को ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र -ब्याच्लरको ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र -२ पासपोर्ट साईज फोटो
५२ उद्योगबाट चार करोडभन्दा बढी जरिवाना असुल
वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड गरी विद्युत् चोरी गर्दै आएकाले ती फार्मलाई नेपाल विद्युत् वितरण नियमावली २०६९ बमोजिम कारवाही गरी रु चार करोड २२ लाख २८ हजार जरिवाना रकम असुल गरिएको वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले बताए । यद्यपि, प्रमुख ठाकुरले विद्युत् चोरी गर्ने ती ५२ वटा फार्मको नाम भने सार्वजनिक गर्न चाहेनन् । यसैगरी प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि चैत मसान्तसम्ममा कालोसूचीमा रहेका ७५ ग्राहकसँग रु ३९ लाख ९४ हजार जरिवाना रकम असुल गरेको छ भने विभिन्न प्रकारले विद्युत् चोरी गर्ने ८३ ग्राहकबाट रु २६ लाख ५० हजार ९४० जरिवानाबापत रकम असुल गरेको छ । यसैगरी केन्द्रले विगत लामो समयदेखि विद्युत् प्रयोग गरी रकम नतिर्ने ५९८ ग्राहकको विद्युत् लाइन काटी ५९५ ग्राहकबाट रु पाँच करोड १४ लाख ५७ हजार २८३ असुल गरेको छ । वीरगञ्ज महानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर तथा विश्रामपुर गाउँपालिकामा विद्युत् वितरण गर्दै आइरहेका नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रसँग ४५ हजार ग्राहक रहेका छन् । बढ्दो विद्युत् चोरीलाई नियन्त्रण गर्न केन्द्रले ठूला ग्राहकको मिटर निरीक्षण, सही विलिङ भएको छ छैनजस्ता अभियान चलाएपछि चोरी नियन्त्रण भई सात प्रतिशतबाट तीन प्रतिशतमा सीमित भएको दाबी केन्द्रको छ । रासस
नेप्से २५०० पुग्छ भन्दै उचालिनेलाई बजारको सन्देशः विचार पुर्याउनू
काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको बजार मंगलबार करेक्सन तर्फ लागेको छ । नयाँ वर्षयता ११८८ अंकमा रहेको नेप्से दुई सातासम्म निरन्तर बढेर १३१४ अंकसम्म पुगेको थियो । तर मंगलबार दोहोरो अंकले घटेर १२९८.६० अंकमा झरेको छ । जुन यस वर्ष यताकै पहिलो दिन दोहोरो अंकले घटेको हो । सोमबारको तुलनामा मंगलबारको बजारमा ११.७० अंकको गिरावट आएको छ । केही सातायता बजारको गतिविधि ‘शंकास्पद’ थियो । सो अवधिमा कहिले वाणिज्य बैंकमात्रै एक्कासी उचालिन्थे भने कहिले बीमा कम्पनीहरु । जस्ताेकि गत बिहीबार वाणिज्य बैंंक समूहको उपसूचक बढेको थियो भने आइतबार बीमा समूहको उपसूचकमा वृद्धि देखिएको थियो । यी कम्पनीका लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा बजारमा पालैपालो परिसूचकमा उतारचढाव देखिएको हाे । बजार अनिश्चित हुन्छ । अनिश्चित बजारकाे जाेखिम घटाउने प्रयास मात्रै लगानीकर्ताले गर्ने हाे । आधारभूत र प्राविधिक विश्लेषणहरु त्यस्तै अनिश्चितता कम गर्ने औजार मात्रै हुन् न कि याे नै बजारकाे भविश्यद्रष्टा । तर प्राविधिक विश्लेषणका केही औजारहरुकाे हवाला दिँदै नेप्से २५०० अंक पुग्छ, ३००० पुग्छ भन्नु तथ्याङ्ककाे गलत ब्याख्याबाहेक केही हाेइन । तेस्राे त्रैमासमा चलायमान देखिएकाे शेयर बजारले केही सकारात्मक सूचक भने देखाउँछ । खासगरी बजारमा रहेका स्क्रिपहरुकाे मूल्यमा क्रता र विक्रेताबीच तीव्र बार्गेनिङ भएकाे अवस्था देखिन्छ । यस्तो प्रवृतिले बजार परिपक्व भएको संकेत भने गर्छ । तर बजारमा आर्थिक गतिविधिले गर्दा अब बजार बढेर ३०००/४००० पुग्छ भन्ने हल्ला छ, जुन गलत हल्ला हो त्यसले आम लगानीकर्तामा असर पुर्याउने देखिन्छ । किनभने यसअघिको बजारमा कहिले कुन समूहको उपसूचक कहिले कुन समूहको उपसूचक मात्रै घट्ने भइरहेको थियो । जसले लगानीकर्ताहरुको व्यक्तिगत पोर्टफोलियोमा घटबढ देखाएको थियो । तर आज परिसूचक सहित कारोबार रकममा पनि गिरावट देखिएको छ । परिसूचक दोहोरो अंकले घटेको बजारमा कूल ९५ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जबकी पछिल्लो समय बजारमा अर्बौ बढीको कारोबार भएको थियो । हिजो सोमबार तीव्र उतारचढाव भएको बजारमा पनि एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दुई सातायताको बजारको गतिविधि हेर्दा बजार परिपक्व भएको छ । बजारमा त्यस्ता नयाँ लगानीकर्ताहरु पनि थपिएका छैनन् जसले आजको भोलिनै बजारलाई निरन्तर उकास्न सक्ने प्रवृति छैन । त्यसैले, बजारमा लगानी गर्ने विवेकशील लगानीकर्ताले बजारको फैलिएको हल्लाको पछि लागेर भन्दा पनि बजारको गतिविधिलाई नियालेर लगानी गर्दा उपयुक्त हुने देखिन्छ । बजार बढेर यति पुग्छ उति पुग्छ भन्नु भन्दा पनि बजारका आधारभूत पक्षलाई विश्लेषण गरेर लगानी गर्दा फाइदा हुने देखिन्छ । बीमा समितिले आइतबार मात्रै जारी गरेको निर्देशनले पनि बजारमा काम गरेको छैन । समितिको निर्देशनले बढ्नु पर्ने निर्जीवन बीमा समूहको सूचक मंगलबार २०५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक २०१ अंकले ओरालो लागेको छ । यसरी नीतिकाे प्रभाव बजारमा परेकाे नदेखिनु भने बजारकाे परिपक्वतामा कमी हुनु हाे । बजारकाे क्षेत्रगत अवस्था, कम्पनीकाे समग्र अवस्था र बजारकाे गतिलाइ अध्ययन गरेर लगानी निर्णय लिनु अहिलेकाे आवश्यकता हाे । अन्यथा बजार हल्लाकाे भरमा उचालिँदा बजारले धाेका दिने खतरा मात्रै हाेइन, हरियाे बजारमै पनि पाेर्टफाेलियाे हेरेर टाउकाेमा हात राख्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
सनराइज बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
अर्थमन्त्री खतिवडा फिजी प्रस्थान, वित्तीय स्रोत जुटाउन पहल गर्ने
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार फिजी प्रस्थान गरेका छन् । आगामी मे ०२-०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले धारणा राख्ने छन् । बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बंैक, ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेतसहभागी हुने कार्यक्रम छ । नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै उनले नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिनेछन् । अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ ।
गणपति माइक्रोफाइनान्सको आईपीओ शुक्रबार बाँडफाँड हुँदै
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले उक्त आईपीओ आगामी शुक्रबार अर्थात वैशाख २० गते बाँडफाँड गर्ने जानकारी दिएको हो । साथै, क्यापिटलले सम्भव भएसम्म मंगलबार(आज) नै प्री एलोटमेन्ट गर्ने जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा ३ लाख २९ हजार ४१ आवेदकबाट ६७ लाख ४९ हजार ३३० कित्ताका लागि आवेदन परेको थियो । जुन कम्पनीको मागभन्दा २१ गुुणा बढी हो । कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरेको हो । संस्थाले कर्मचारीका लागि ५ हजार १६७ कित्ता र म्युचुअल फण्डलाई १६ हजार ७५० कित्ता छुट्याएको थियो । उक्त आईपीओमा न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियोे ।