विकासन्युज

धेरै रोजगारीको प्रतिबद्धता जनाउनेमा रोल्पा सिमेन्ट पहिलो, टपटेन उद्योगमा १८ हजारलाई रोजगारी

काठमाडौं । नेपालमा सबैभन्दा धेरै रोजगारी दिन्छु भनेर प्रतिबद्धता जनाउने उद्योग कुन होला ? यो जिज्ञासाको विषय हो । धेरै जनालाई यो कुरा थाहा नहुन सक्छ । उद्योग विभागको तथ्याङ्क अनुसार रोल्पा सिमेन्ट उद्योगले ४ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । सो प्रतिवद्धताले रोल्पा सिमेन्ट सबैभन्दा बढी रोजगारी दिने उद्योगका रुपमा देखिएको छ । विभागका अनुसार नेपालमा सबैभन्दा धेरै रोजगारी दिने प्रतिवद्धता जनाउने उद्योगहरुमा रोल्पा सिमेन्ट, हिमालय कन्फेक्शनरी प्रडक प्रालि, माथिल्लो तामाकोशी जलविद्युत परियोजना, हिमाल पावर लिमिटेड, हसंराज हुलास चन्द जुटमिल्स, माइलुङग खोला जलविद्युत, लड बुद्ध, तनहुँ हाइड्रो, जय स्प्रीङ्ग मिल्स र मध्य भोटेकोसी जलविद्युत आयोजना रहेका छन् । विभागका अनुसार रोल्पा सिमेन्टले २ हजार ५४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा विसं २०६६ मा स्थापना भएको उक्त उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । विभागको तथ्याङ्क अनुसार १० वटा उद्योगले १८ हजार ५६० रोजगारीलाई को प्रतिवद्धता जनाएका छन् । धेरै रोजगारी प्रतिवद्धता जनाउनेमा जनविद्युत क्षेत्रका धेरै छन् । जलविद्युत क्षेत्रमा मात्रै ७ हजार ९६३ जना रोजगारीको प्रतिबद्धता छ । धेरै रोजगारीको प्रतिप्रबद्धता जनाउने टपटेन उद्योगहरुः    

यस्तो देखियो अन्तर्राष्ट्रिय मजदुर दिवस(फोटो फिचर)

काठमाडौँ । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस बुधबार देशभरी नै विभिन्न कार्यक्रमका साथ मनाइएको छ । काठमाडौँमा संयुक्त ट्रेड युनियन केन्द्रले संयुक्त रुपमा मजदुर दिवस मनााएको छ । संयुक्त मजदुर दिवस समारोहमा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, उपप्रधान तथा संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादव, नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधी लगायतका नेताहरुले संबोधन गरेका थिए । संघीय राजधानी काठमाडौँ सहित बुटवल, वीरगञ्ज, भरतपुर लगायत देशका प्रमुख शहरहरुमा पनि मजदुर दिवस मनाइएको छ । देशका प्रमुख शहरमा मनाइएको मजदुर दिवस र मजदुर दिवस कै दिन पनि श्रममा खटेका मजदुरका केही तश्वीर यहाँ समेटिएको छः (तश्वीरः रासस)  

मजदुरलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘रोजगारदाता, श्रमिक र सरकारबीचको सम्बन्ध समधुर’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन् । संयुक्त टे«ड युनियन समन्वय केन्द्रद्वारा १३० औँ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पुर्याइएको छ ।” संविधानले हामीलाई अघि बढ्न श्रमिक वर्गीय चिन्तनलाई आधार मानेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको छ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदूर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ ।” मजदूर सङ्गठनले विभिन्न विचार धारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै उनले सरकारले गरेका कामको जति नै आलोचना गरे पनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको छ भने । प्रधानमन्त्री ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ ।” अर्को एक प्रशङ्गमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेकामा खुशी हुनुपर्नेमा समर्थन फिर्ता लिने काम भएको छ आउनुस् मिलेर काम गरौँ भने । विगतमा मिलेर काम गर्दा साझा आन्दोलन र साझा उपलब्धि हासिल भएको बताउँदै उनले भने, “हामी मिलेर अगाडि बढौँ मिलेर उपलब्धि हासिल गरौँ, मजदूर सङ्गठनबाट सिकेर एकताका साथ अघि बढौँ ।” लगानीका लागि नेपालमा अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले भने, “देशले अहिले सुशासन र विकास खोजे छ, पृथकतावाद टुङ्गिएको छ देशमा शान्ति सुव्यवस्था कायम भएको छ ।” नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्ने बताउनुभयो । उहाँले भने, “विकास, समृद्धि र समाजवादको सफल नयाँ ढाँचा हामीबीच एकता, समझदारी र सङ्कल्पबाट मात्र सम्भव छ, त्यसका लागि के सत्ता पक्ष के प्रतिपक्ष एक भएर अघि बढ्नु पर्दछ ।” राजनीतिक परिवर्तनको आन्दोलनमा श्रमिकको बलिदानीपूर्ण योगदान नभएको भए अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन भन्दै उहाँले अझै पनि ठूलो सङ्ख्यामा अभाव र अपमानमा बसेका मजदूरको हितका खातिर कम्युनिष्ट आन्दोलन आक्रमकरुपमा अघि बढिरहेको बताए । उपप्रधानमन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र प्राप्तिका लागि मुलुकमा भएका हरेक आन्दोलनमा श्रमिक वर्गका श्रम र पसिना बगेको बताए । उनले भने, “सामाजिक सुरक्षा र श्रमिकको हित तथा अधिकारका लागि कानून बने पनि व्यवहारमा लागू गर्न निकै चुनौती छ, श्रमको सम्मान गर्ने विधि र प्रणाली हामीले स्थापित गर्न आवश्यक छ ।” नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनआन्दोलनका बलमा प्राप्त गरेको प्रणालीलाई सफल बनाउन सङ्घीय सरकार गठन गरेर मात्र पुग्दैन अधिकार हस्तान्तरण हुन आवश्यक छ भने । उनले भने, “भू–माफिया र विभिन्न काण्डमा संलग्न व्यक्तिलाई खबरदार उम्काउने काम नहोस्, रोजगारी बढाउने, लगानी भित्र्याउने र उत्पादन बढाउने काममा लाग्नुहोस्, तर विपक्षका लागि अरिगाल उत्पादन र बुद्धिजीवीलाई थलो पार्ने काम नगर्नुस् ।” श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी पाँच वर्षभित्रमै काम विशेषले बाहेक बाध्यात्मक परिस्थितिले रोजगारीका लागि विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले भने, “श्रमिकमाथि कुनै नाममा हुने शोषण अन्त्य गर्न सरकार प्रतिबद्ध छ, सामाजिक न्यायसहितको सुरक्षा ऐन कार्यान्वयन गरिनेछ, लगानीमैत्री वातावरण र गुणस्तरीय रोजगार तयार हुनेछ ।” राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले मात्र विकास सम्भव नहुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप काम गर्न सरकारलाई सुझाव दिए । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ जिफण्टका अध्यक्ष विनोद श्रेष्ठलगायतका श्रमिक नेताले अन्तर्राष्ट्रिय श्रमिक दिवस र श्रमिका हक अधिकारका विविध पक्षका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा प्रधानमन्त्री ओली आन्दोलनमा महत्वपूर्ण योजना पुर्याउने लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल र शालिकराम जम्मरकट्टेललाई सम्मान गरिएको थियो ।

रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओ भोलि कहाँ र कति बजे बाँडफाँड हुँदै ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले वैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरेका आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ । यी दुबै कम्पनीले म्याद थपेर ६ दिनसम्म निष्काशन गरेका आईपीओको बाँडफाँड भोलि दिँउसो ३ बजे सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा हुन लागेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार रसुवागढीको आईपीओमा ४० कित्तासम्म माग गर्ने जतिले सबै पाउने छन् । साथै, बाँकी रहेको सेयर ग्रोलाप्रथाबाट थप १० कित्ता बाढिने छ । अर्थात उक्त आईपीओमा केही आवेदकले अधिकतम ५० कित्ता पाउने बिक्री प्रबन्धकले जनाएको छ । रसुवागढीको सेयरमा कूल तीन लाख सात हजार आवेदकले आवेदन दिएका थिए । कम्पनीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । त्यस्तै, साञ्जेनले ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश भएका यी दुबै कम्पनीको सेयर तत्कालै नेप्सेमा सूचीकरण हुनेछ ।

अपाङ्ग मैत्री छैनन् अधिकाँश बैंक तथा वित्तीय संस्थाका भौतिक संरचना

काठमाडौं । नेपालमा अपाङ्ता भएकाहरुको संख्या ३ लाख भन्दा बढी छ । तर, अपाङ्गमैत्री भौतिक पूर्वाधार नहुँदा अपाङ्गता भएकाहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । विद्यायल, बैंक तथा वित्तीय संस्था सहित विभिन्न खाले संघसंस्था र कार्यालयहरुको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्ता भएकाहरु मर्कामा परिरहेका छन् । बैंकिङ क्षेत्रलाई अरु भन्दा व्यवस्थित क्षेत्र मानिन्छ । कारण यो क्षेत्रमा आकर्षक तलब, सुरक्षित रोजगारी र शिक्षित जनशक्ति संलग्न हुन्छन् । त्यतिमात्रै होइन सुशासनका हिसाबले पनि यो अन्य क्षेत्र भन्दा अगाडि नै छ । तर, सबै मामलामा अग्रणी रहेको भएपछि यो क्षेत्रका भौतिक संरचना अपाङ्ग मैत्री छैनन् । बैंक तथा वित्तीय संस्थाका भौतिका संरचना अपाङ्ग मैत्री हुन नसक्दा फरक क्षमता भएका नागरिकले सहजरुपमा बैंकिङ सेवा पाउन सकेका छैनन् । सरकारले सरकारी तथा गैरसरकारी संस्थाका भौतिक संरचना अपाङ्ग मैत्री बनाउनु पर्छ भनेको छ । तरपनि सबै क्षेत्रले सरकारी निर्देशन पालना गरेका छैनन् । बिस्तातै बनाउँदैछन् अपाङ्गमैत्री भौतिक संरचना बैंक तथा वित्तीय संस्थाका सबै शाखा र कार्यालयहरु अपाङ्गमैत्री भइसकेका छैनन्, तर यसको शुरुवात भने भएको पाइन्छ । बैंकिङ सेवालाई अपाङ्ग नागरिकको पहुँचमा पुर्याउन काठमाडौं स्थिति प्रभु बैंक, एभरेष्ट बैंक र सन्राइज बैंकका केन्द्रीय कार्यालय अपाङ्ग मैत्री बनाइएका छन् । गैरीधारमा रहेको सनराइज बैंकको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा रहेको एभरेस्ट बैंकको केन्द्रीय कार्यालय र अनामनगरमा रहेको प्रभु बैंकको केन्द्रीय कार्यालय अपाङ्ग मैत्री रहेका छन् । ‘देशको संघीय राजधानी काठमाडौंका बैंक तथा वित्तीय संस्थाहरुका भौतिक संरचना अपाङ्ग मैत्री बन्न थालेपनि त्यहाँ कार्यरत कर्मचारीको व्यवहार अपाङ्ग मैत्री हुँदैन’- राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रराज शर्मा बताए । महासंघका महासचिव राजु बस्नेतका अनुसार ३ लाख भन्दा बढी संख्यामा अपाङ्ता भएका व्यक्तिहरु रहेका छन् । भाडाको घर र माथिल्लो तलामा हुने कार्यालयले समस्या पार्यो प्रायः बैंकको कारोबार माथिल्लो तलामा हुने हुँदा दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई असहज हुने हुँदा समस्या भोग्दै आएका छन् । अब बन्ने भवन अपाङ्ग मैत्री हुनु पर्ने र बैंकमा कार्यरत कर्मचारीहरुको व्यवहारपनि राम्रो हुनु पर्ने महासंघका महासचिव बस्नेतले बताएका छन् । आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री बनाउनु पर्ने आवश्यकता औल्याएका छन् । अपाङ्ग संरक्षण तथा कल्याण ऐनमा के छ ? शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई मध्यनजर गर्दै वि.स २०३९ सालमा ‘अपाङ्ग संरक्षण तथा कल्याण ऐन’ निर्माण भएको थियो । नेपाल अधिराज्यको संविधान २०४७ ले पहिलो पटक अपाङ्गता भएका व्यक्तिको अधिकारलाई निर्देशक सिद्धान्तमा उल्लेख गरेको थियो । पछि ‘अपाङ्ग संरक्षण तथा कल्याण नियमावली’ २०५१ साल बन्यो । हाल सरकारी तथा निजी संस्थाहरु अपाङ्ग मैत्री बनाउनु पर्ने सरकारी अभियान सुरु भएसँगै केही विद्यालय र कलेजहरुमा अपाङ्ग मैत्री भौतिक संरचना निमार्णको अभ्यास शुरु भएको छ । अब बन्ने सरकारी तथा निजी भवन अपाङ्ग मैत्री बनाउनु पर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालको माग रहेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालि ‘अन्तराष्ट्रिय वितरक अवार्ड २०१८’ बाट सम्मानित

काठमाडौँ । टाटा मोटर्स लिमिटेड आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले युएइको दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘बर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ । विश्वभरिका वितरकहरुको कार्यहरुको मूल्यांकन गरी विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उद्देश्यका साथ हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो । बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि बर्षको वितरक, सर्बश्रेष्ठ ग्राहक सेवा गरी विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ । यो उपलब्धि र सफलता ग्राहकहरुको भरोसा र बिश्वास, सम्पूर्ण कर्मचारीहरुको कठिन परिश्रम र इमान्दारिताले प्राप्त भएको कम्पनीले जनाएको छ ।

हिरण्यलालले व्यक्तिगत पुस्तकालय सार्वजनिक बनाए, गोर्खा इको प्यानलको प्रयोग

काठमाडौं। निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ उत्पादित गोर्खा इको प्यानलको प्रयोगबाट काठमाडौंको भंगालमा अन्तराष्ट्रिय पुस्तकालय निर्माण गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ भंगालमा अन्तराष्ट्रिय मैत्री पुस्तकालय निर्माण गरिएको हो । पुस्तकालयको बुधबार शताव्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरे । गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो ।पुस्तकालय निर्माणमा गोर्खा इको प्यानलको प्यानलका साथै गोर्खा इको प्यानलको भगिनी कारखाना गोर्खा प्रिकाष्ट एण्ड विण्डोरका झ्यालढोका पनि प्रयोग गरिएका छन् । पुस्तकालय आरसीसी ढलानको दुईतल्ले छ । पुस्तकालय तीन सय २० स्क्वायर फिट (झण्डै एक आना)को क्षेत्रफलमा रहेको छ । परराष्टविद् हिरण्यलाल श्रेष्ठले पुस्तकालय स्थापना गरिदिएका हुन् । व्यक्तिगत पुस्तकालयलाई थप परिष्कृत गरी उनले सवै जनताले प्रयोग गर्न सक्ने औपचारिक रुपमै कार्यक्रम गरी सार्वजनिक गरिदिएका हुन् । कार्यक्रममा पूर्व राजदूतसमेत रहेका उनले सवैले सार्वजनिक जग्गा व्यक्तिको बनाइरहेको खबर आइरहेको बेला आफूले व्यक्तिगत पुस्तकालयलाई सार्वजनिक गरेको भन्दै गर्व प्रकट गरे । प्रमुख संस्कृतिविद् जोशीले अन्तराष्ट्रिय पुस्तकालयले नेपालको कुटनीतिलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेशनल लाईफको १०० औ शाखा कोहलपुरमा, अमृतश्री बीमा योजना शुभारम्भ

कोहलपुर । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुरमा शाखा बिस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी/आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमाप्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउँदै अब बीमा गाउँ केन्द्रित हुन आवश्यक बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको विचार व्यक्त गरे । केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति÷क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए । ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए । कम्पनीको प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले कम्पनीको नयाँ बीमालेख अमृत श्री अग्रीम भुक्तानी÷आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराए । कार्यक्रमको सहजिकरण कम्पनीका नेपालगञ्ज शाखा प्रमुख दीपनारायण खनालले गरेका थिए ।