काठमाडौं । नेपालमा अपाङ्ता भएकाहरुको संख्या ३ लाख भन्दा बढी छ । तर, अपाङ्गमैत्री भौतिक पूर्वाधार नहुँदा अपाङ्गता भएकाहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । विद्यायल, बैंक तथा वित्तीय संस्था सहित विभिन्न खाले संघसंस्था र कार्यालयहरुको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्ता भएकाहरु मर्कामा परिरहेका छन् ।
बैंकिङ क्षेत्रलाई अरु भन्दा व्यवस्थित क्षेत्र मानिन्छ । कारण यो क्षेत्रमा आकर्षक तलब, सुरक्षित रोजगारी र शिक्षित जनशक्ति संलग्न हुन्छन् । त्यतिमात्रै होइन सुशासनका हिसाबले पनि यो अन्य क्षेत्र भन्दा अगाडि नै छ । तर, सबै मामलामा अग्रणी रहेको भएपछि यो क्षेत्रका भौतिक संरचना अपाङ्ग मैत्री छैनन् ।
बैंक तथा वित्तीय संस्थाका भौतिका संरचना अपाङ्ग मैत्री हुन नसक्दा फरक क्षमता भएका नागरिकले सहजरुपमा बैंकिङ सेवा पाउन सकेका छैनन् । सरकारले सरकारी तथा गैरसरकारी संस्थाका भौतिक संरचना अपाङ्ग मैत्री बनाउनु पर्छ भनेको छ । तरपनि सबै क्षेत्रले सरकारी निर्देशन पालना गरेका छैनन् ।
बिस्तातै बनाउँदैछन् अपाङ्गमैत्री भौतिक संरचना बैंक तथा वित्तीय संस्थाका सबै शाखा र कार्यालयहरु अपाङ्गमैत्री भइसकेका छैनन्, तर यसको शुरुवात भने भएको पाइन्छ । बैंकिङ सेवालाई अपाङ्ग नागरिकको पहुँचमा पुर्याउन काठमाडौं स्थिति प्रभु बैंक, एभरेष्ट बैंक र सन्राइज बैंकका केन्द्रीय कार्यालय अपाङ्ग मैत्री बनाइएका छन् । गैरीधारमा रहेको सनराइज बैंकको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा रहेको एभरेस्ट बैंकको केन्द्रीय कार्यालय र अनामनगरमा रहेको प्रभु बैंकको केन्द्रीय कार्यालय अपाङ्ग मैत्री रहेका छन् ।
‘देशको संघीय राजधानी काठमाडौंका बैंक तथा वित्तीय संस्थाहरुका भौतिक संरचना अपाङ्ग मैत्री बन्न थालेपनि त्यहाँ कार्यरत कर्मचारीको व्यवहार अपाङ्ग मैत्री हुँदैन’- राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रराज शर्मा बताए । महासंघका महासचिव राजु बस्नेतका अनुसार ३ लाख भन्दा बढी संख्यामा अपाङ्ता भएका व्यक्तिहरु रहेका छन् ।
भाडाको घर र माथिल्लो तलामा हुने कार्यालयले समस्या पार्यो
प्रायः बैंकको कारोबार माथिल्लो तलामा हुने हुँदा दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई असहज हुने हुँदा समस्या भोग्दै आएका छन् । अब बन्ने भवन अपाङ्ग मैत्री हुनु पर्ने र बैंकमा कार्यरत कर्मचारीहरुको व्यवहारपनि राम्रो हुनु पर्ने महासंघका महासचिव बस्नेतले बताएका छन् । आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री बनाउनु पर्ने आवश्यकता औल्याएका छन् ।
अपाङ्ग संरक्षण तथा कल्याण ऐनमा के छ ?
शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई मध्यनजर गर्दै वि.स २०३९ सालमा ‘अपाङ्ग संरक्षण तथा कल्याण ऐन’ निर्माण भएको थियो । नेपाल अधिराज्यको संविधान २०४७ ले पहिलो पटक अपाङ्गता भएका व्यक्तिको अधिकारलाई निर्देशक सिद्धान्तमा उल्लेख गरेको थियो ।
पछि ‘अपाङ्ग संरक्षण तथा कल्याण नियमावली’ २०५१ साल बन्यो । हाल सरकारी तथा निजी संस्थाहरु अपाङ्ग मैत्री बनाउनु पर्ने सरकारी अभियान सुरु भएसँगै केही विद्यालय र कलेजहरुमा अपाङ्ग मैत्री भौतिक संरचना निमार्णको अभ्यास शुरु भएको छ । अब बन्ने सरकारी तथा निजी भवन अपाङ्ग मैत्री बनाउनु पर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालको माग रहेको छ ।