विकासन्युज

राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक २६ गतेदेखि घरबिदामा बस्दै, क-कसले पाउँदैछन् कामु ?

काठमाडौं । राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरु बैशाख २६ गते विहीबारदेखि घर बिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यको कार्यकाल जेठ २५ मा सकिने भएपछि कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि घरबिदामा बस्ने भएका हुन् । लघुवित्त नियमन विभागका जनकबहादुर अधिकारी भने बैशाख १० देखि नै घरबिदामा बसिसकेका छन्, उनको कार्यकाल जेठ १० गतेदेखि सकिँदैछ । ‘राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरु सामान्यतया एक महिना अघिदेखि घरबिदामा बस्ने चलन छ । सोही अनुसार उनीहरु घरबिदामा बस्न लागेका हुन् । एकजना १० गतेदेखि नै बिदामा हुनुहुन्छ, बाँकी ४ जना २६ गतेदेखि बिदामा बस्नुहुन्छ ।’ राष्ट्र बैंक जनशक्ति विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले विकासन्यूजसँग भने । कार्यकारी निर्देशकहरु घरबिदामा बस्ने भएसँगै नेपाल राष्ट्र बैंकले रिक्त हुने पदका लागि निर्देशकहरुलाई कायम मुकायम कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिने तयारी गरेको छ । सम्बन्धित शाखाका वरिष्ठ निर्देशकले नै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए । ‘कार्यकारी निर्देशकहरु बिदामा हुँदा वा अनुस्थित हुँदा सोही विभागका वरिष्ठ निर्देशकहरुले कामुको जिम्मेवारी स्वतः पाउने राष्ट्र बैंकको चलन नै हो, त्यसैअनुसार जिम्मेवारी पाउनुहुन्छ ।’ उनले भने । तर, बढुवाका लागि भने आन्तरिक रुपमा कार्यसम्पादन मूल्याङ्कन समिति बन्ने र त्यसको सिफारिस अनुसार हुने उनको भनाई थियो । हाल नियमन विभागमा बमबहादुर मिश्र, वैदेशिक विनिमय विभागमा सरिता भट्ट, नरेश शाक्य बैंकिङ कार्यालय र सुष्मा रेग्मी सार्वजनिक ऋण व्यवस्थापन विभागमा वरिष्ठ निर्देशकका रुपमा छन् ।

२५ प्रतिशत बोनस पछि नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०१६.८० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३५०.९० रुपैयाँ तोकिएको छ । मूल्य समायोजन भएपछिको बिहीबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । सो दिन करिब १२ बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९५ रुपैयाँमा झरेको छ ।

बिहीबार सुन ३ सय रुपैयाँ घट्यो, प्रतितोला ५९ हजार ३ सयमा कारोबार

काठमाडौं । सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन बुधबारको तुलनामा ३ सय रुपैयाँ कमि भई बिहीबार प्रतितोला ५९ हजारमा कारोबार भईरहेको छ भने विहिबार चाँदी प्रतितोला ७१५ रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

थियटरमा नाटक हेर्नेको भीड, ‘जोखाना’ले कमायो १६ लाख

काठमाडौं । पछिल्लो समयमा युवावर्गको नाटक प्रति रुचि बढ्दै गएको छ । विभिन्न थिएटरमा युवावर्गको घुईचो दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । अनामनगरको मण्डला थिएटरमा चैत ८ गते देखि प्रदर्शन भएको ‘जोखना’ ले ५ हप्ताको अवधिमा १६ लाख कमाएको निर्देशक किरण चाम्लिङ राई भन्छन् । हाल विद्यालय, कलेज पढ्ने विद्यार्थीहरूले थिएटर नजिकैबाट दिन प्रतिदिन नियाल्दै गरेको निर्देशक राईले बताए । सो नाटक प्रदर्शन सम्पन्न भएसँगै अझै समय थप्नु पर्ने माग आईरहेको निर्देशक बताउँछन् । नाटकबाट आम्दानी नभईरहदाँको समयमा निर्देशक राईको निर्देशनमा रहेको उक्त नाटकले १६ लाख कमाएर पछिल्लो समय आफ्नो स्थान कायम राखेको छ । सिनेमाको प्रदर्शनसँगै नाटक प्रति सर्वसाधारणको चाँसो कम हुँदै गर्दा हाल युवाबर्गको ध्यान नाटक/ थिएटर बन्न पुगेको छ । गत चैत ८ गते देखि मण्डला थिएटरमा ‘जोखना’ ले राम्राे छाप छोड्न सफल भयाे । नाटक गत चैत्र ८ गतेदेखि बैशाख १४ गते सम्म हरेकदिन साँझ ५ः१५ बजेदेखि शुरु हुने गरेको थियो । सोमबार बाहेक हरेक शनिबार दिउँसो १ बजे पनि प्रदर्शन गरेका थिए । १० वर्षे जनआन्दोलनलाई मध्यनजर गर्दै श्रीमान गाँउबाट बेपत्ता भएको समयमा एउटा महिलाले भोग्नु परेको समस्यालाई नाटकमा चित्रण गर्ने काम निर्देशक किरण चाम्लिङ राईले गरेका थिए । वियस् राईको कथा ‘जोखना’ मा आधारित रहेको छ । सबै खर्चलाई कटाएर ‘जोखना’ले खुद नाफा १० लाख कमाएको निर्देशक राईले बताए। पछिल्लो समय नाटक हेर्नेको संख्यामा कमि आउँदै गर्दा जोखना हेर्न आउनेहरुमा घुइँचो रहेको निर्माता टिमले जानकारी दिएको छ । नाटकमा समावेश विषयवस्तु समाजमा अझैपनि स्थिर रहेको परम्परागत विषयलाई भएका ‘जोखना’ कथाकार वियस् राईको ‘हिउँमाझी’ कथाकृति पढिसकेपछि उक्त नाटक निर्माण गरेको राईले बताए । नाटकमा ११ जना पात्रले यस नाटकको विषय वस्तुलाई सहज एवंम सरल ढंगबाट प्रस्तुत गरेका छन् । पात्रमा संगीता थापा, रुपेश लामा, सञ्जिव राई, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, रवि राई, सुद्धर्शन क्षेत्री, दिवान रसाइली, मणीराज राई आदी रहेका थिए । भने नाटकको उत्पादन व्यवस्थापन सञ्जिव राईले गरेका हुन् । आफु आर्दशमा टेकेर समाधान खोजिरहने आर्दशवादी समाजको कर्तव्यलाई प्रष्ट पार्दै अग्रमन तिर जानुपर्ने विषयवस्तुलाई नाटकले स्पष्ट रुपमा जानकारी दिएको छ । द्धन्दसँगै घटेका धेरै घटना जुन अझै समाजका कुनामा रहेका छन् भन्ने विषय वस्तुलाई प्रस्तुत गर्न खोजिएको थियो । ‘जोखना’ कथालाई आधारभूमि मान्दै ‘पूर्वी संस्कृति’का लय, बिम्ब र जीवन दर्शन समेतलाई नाटकका माध्यमबाट भन्ने प्रयास गरिएको थियो । पूर्वी सांस्कृति रंगमा सशस्त्र द्धन्द्धको मिसावट रहेको ‘जोखना’ लाई नाटकको रुपमा प्रस्तुत गरेका थिए । प्रदर्शन पछिको प्रतिक्रियाले उपत्यका बाहिर नाटक प्रस्तुत गर्ने माग आईरहेको जानकारी दिँदै निर्देशक राईले आगामी दिनमा यस्तै प्रस्तुती दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।          

सिभिल सहकारी वित्तीय जोखिममा, साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण

काठमाडौँ । सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यताविपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ ।सञ्चालकहरूको स्वार्थका कारण बचतकर्ताको झन्डै आठ अर्ब रुपैयाँ जोखिममा परेको हो । ‘सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ,’ सहकारी विभागले उपलब्ध गराएको वित्तीय विवरणमा भनिएको छ, ‘सिभिल समूहका तीनवटा कम्पनीलाई मात्रै कुल ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ दिइएको छ ।’ यो कुल कर्जाको ८८ दशमलव ९३ प्रतिशत हुन आउँछ । विवरणअनुसार उसले सिभिल होम्सलाई ७ अर्ब १ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन समग्र कर्जाको अनुपातको ८३ दशमलव ९८ प्रतिशत हुन्छ । सिभिल सेभिङ एन्ड को-अपरेटिभ लिमिटेडले आफ्नै समूहको सिभिल अपार्टमेन्टलाई ३४ करोड ६७ लाख रुपैयाँ र त्यही समूहको सिभिल स्टेटलाई ६ करोड ६८ लाख रुपैयाँ कर्जा दिएको छ । धितोबाट कर्जा उठाउने सम्भावना अत्यन्त कम छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

नयाँ पेट्रोल पम्पका लागि आवेदन माग, के छन् मापदण्ड ?

काठमाडौँ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेको हो । पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको, सवारी साधनको सङ्ख्या पनि वृद्धि भइरहेको र पेट्रोलियम पदार्थको बिक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ आवेदन खोलिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनले भने,‘‘पेट्रोल पम्पमा लगानी गर्न व्यवसायी उत्साहित छन्, पम्पको आवश्यकता पनि बढेको छ, बजारमा प्रतिस्पर्धा हुनुपर्छ, जिल्ला र गाउँगाउँमा बाटो पुगेको छ त्यहाँ सवारी साधन पनि चलेका छन् तर पम्प जिल्ला सदरमुकाममा मात्र केन्द्रित छन्, घरघरमा मोटरसाइकल हुनु सामान्य भइसक्यो तर पम्प टाढा छन् । ’ निगमको सेवा अझ सर्वसुलभ बनाउन नयाँ आवेदन खुला गरिएको बताइएको छ । पम्प सञ्चालनका लागि नयाँ मापदण्ड तोकिएको छ । निवेदन शुल्क ५० हजार रुपियाँ छ । निगमले नमुना पेट्रोल पम्प र साधारण पेट्रोल पम्प गरी दुई वर्गमा वर्गीकरण गरेको छ । नमुना पेट्रोल पम्प जुनसुकै बेला पनि सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ तर साधारण पम्पका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था गरिएको छ । साधारण पम्प सञ्चालनका लागि नयाँ मापदण्ड निर्धारण गरिएको छ । पूर्वपश्चिम राजमार्गमा १० कठ्ठा जमिन हुनुपर्ने प्रावधान छ । राजमार्गमा मोहडा कम्तीमा ५० मिटर हुनुपर्नेछ । सहायक तथा व्यापारिक सडकमा २५ सय वर्गमिटर आठ कठ्ठा वा पाँच रोपनी र सडकतर्फको मोहडा कम्तीमा ३४ मिटर तोकिएको छ । सहायक तथा जिल्ला सडकहरूमा कम्तीमा १२ सय वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी छ आना जमिन हुनुपर्नेछ । सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्नेछ । काठमाडौँ र ललितपुर महानगरपालिकालाई भने भिन्नै मापदण्ड तोकिएको छ । कम्तीमा ७५० वर्गमिटर वा एक रोपनी आठ आना जग्गा हुनुपर्नेछ । सडकतर्फको मोहडा भने २० मिटर तोकिएको छ । यी दुवै महानगरमा पेट्रोल बिक्रीका लागि मात्र आवेदन खुला गरिएको छ भने अन्यमा पेट्रोल, डिजेल दुवै बिक्री गर्न खुला गरिएको छ । प्रवक्ता गोइत भन्नुहुन्छ ‘ललितपुर र काठमाडौँमा डिजेलभन्दा पेट्रोलको खपत बढी छ, पम्पमा मोटरसाइकलको लाइन बढी देखिन्छ त्यसैले यहाँ पेट्रोलका लागि मात्र खुला गरिएको हो । ’’ साधारण पम्पको लागि एकदेखि अर्को पम्पको दूरी तीन सय मिटर तोकिएको छ । पूर्वपश्चिम राजमार्गको हकमा पाँच सय मिटर तोकिएको छ । नमुना पम्पको बिक्रेताको दूरी भने १० किलोमिटर तोकिएको छ । आगामी छ महिनाभित्र बिक्रेताको नियुक्ति गरिसक्नुपर्ने प्रवक्ता गोइतको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख

काठमाडौं । गोर्खाज फाइनान्सले चैच मसान्तसम्म ६ करोड ३५ लाख रुपैंया नाफा कमाएको छ । फाइनान्सले साउनदेखि चैतसम्मको उक्त अवधिमा सो आकारको नाफा कमाएको हो । गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको मुख्य भूमिका छ । कुल ५ अर्ब ८२ करोड रुपैंया निक्षेप र ५ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले अघिल्लो वर्षको सञ्चालन घाटाको अवस्थामा करिब ९५ प्रतिशत सुधार ल्याएको छ । फाइनान्सको ८६ करोड रुपैंया चुक्ता पुँजी भएको फाइनान्सको उक्त निक्षेप र कर्जाको आधारमा सीसीडी अनुपात ७४.७२ प्रतिशत छ । फाइनान्सको कस्ट अफ फण्ड ९.७० रहँदा आधार ब्याजदर १२.८० प्रतिशत कायम भएको छ । यसको स्प्रेडदर ४.८७ प्रतिशत छ ।

अध्ययनबिना होमस्टेलाई ३० करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ । सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन। पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो। गाउँगाउँमा होमस्टे सञ्चालन गर्ने भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्ट्याएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।