विकासन्युज

सार्कका व्यवसायिक नेताहरू काठमाडौंमा, क्षेत्रीय समृद्धिमा जोड

काठमाडौँ । सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठक काठमाडौंमा शुरु भएको छ । बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विहीबार एक समारोहका बीच चन्द्रागिरीमा उद्घाटन गरे । बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो । बैठकलाई संवोधन गर्दैसभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पुर्याउने विश्वास प्रकट गरे । दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताए । उक्त कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एशियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताइन् । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्क लगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उनले बताइन् । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडी बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव राख्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे । सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले सार्क उवासंघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकोमा खुशी प्रकट गरे । अध्यक्ष रूवान इदरिसिंघेले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरू बीच सामूहिक प्रयासमा जोड दिए । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउंदै अगाडि बढ्नु पर्नेमा जोड दिए । उपाध्यक्ष ढकालले यस क्षेत्रमा पूर्वाधार निर्माण, उर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य र संयुक्त लगानीको खा“चो औल्याए । सार्क उवासंघका पूर्व अध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिकले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेण्डालाई अगाडि बढाउनु पर्नेमा जोड दिंदै सार्क उवासंघले क्षेत्रीय विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने धारणा राखे । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, सार्क उवासंघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरू, साधारण सदस्यहरू, नेपाल लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । संघको बैठक शुक्रबारसम्म चल्नेछ ।

ग्लोबल आइएमईद्वारा करुण फाउण्डेशनलाई २१ थान व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशील रहँदै आएको छ ।

बेलायतको रोयल कलेजले मेडिसिटीमा गर्यो प्रि–कन्फ्रेन्स, चिकित्सा शिक्षाका ६० जना सहभागी

काठमाडौँ । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुक चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्समा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफरोयल कलेज अफ फिजिसियनस हो । द रोयल कलेज अफ फिजीसियनस एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता हासिल गर्न मद्दत पुुग्ने जानकारी गराइन् । संसारका विभिन्न स्थानबाट चिकित्सकहरुको परीक्षा लिइने प्रक्रिया सञ्चालन गर्दै आएको रोयल कलेज अफ फिजिसियनले यस पटक नेपालमा समेत यस किसिमको कार्यक्रमको आयोजना गरेको हो । ललितपुरमा स्थित नेपाल मेडिसिटी अस्पतालकमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्समा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरु सहभागी रहेका थिए ।

सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस र मेडीसिटी हस्पिटलमा विशेष छुट

काठमाडौँ । सिभिल बैंक लिमिटेडले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटलसंग बैशाख १९ गते सम्झौता भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्पmबाट ब्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रमका बीच हस्ताक्षर गरे । अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउने छन् ।

प्रदेश २ को राजधानी जनकपुर, वीरगञ्ज, सिमरौनगढ र बर्दिवास प्रस्तावित, नाम के ?

जनकपुरधाम । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो । मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए । आयोगका अध्यक्ष डा झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए । आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान

काठमाडौँ । मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ । त्यसमध्ये २४ घटनामा १६ माथि रु एक अर्ब ६५ करोडको विगो जरिवाना र तीन वर्ष कैद मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरिएको र बाँकीको अनुसन्धानपछि मुद्दा दर्ता गरिने विभागको भनाइ छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, “सामान्य आँखाले हेर्दा सबै प्रक्रिया ठिकै छ, एसीपे चेक छ, आय विवरण पनि देखिन्छ, राजश्व तिरेको पनि छ, खरिद के छ भनेर खोज्दै जाँदा केही छैन, आर्थिक हैसियत पनि देखिँदैन, नक्कली बिल बनाएको हुन्छ, यो सबै भित्री तहमा गएर सुक्ष्म अनुसन्धानपछि मात्रै पत्ता लाग्छ ।” असी जनामा गरिएको अनुसन्धानमा भने कारोवार नगरी बिलमात्रै बेच्ने गरेको समेत पाइएको छ । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्नेसमेत छन् । कतिपयले भने आफ्नै कर्मचारीसँग खरिद बिक्री गरेको बनाएर भुक्तानी दिँदै कर छली गरेका छन् । सार्वजनिक क्षेत्रको निर्माण, व्यापार र सेवा क्षेत्रमा यस्ता गतिविधि पाइएकाले आर्थिक अनुशासनको कारवाही तीव्र पारिएको हो । भन्सार चोरीपैठारी, अण्डर बिलिङ, खरीदबिक्रीसम्बन्धी कागजमा मूल्य मिलाएर कर छली गरिएका घटना छन् । व्यवस्थापन र सञ्चालक एउटै भएकामा बढी यस्ता घटना देखिएको महानिर्देशक मैनालीको भनाइ छ । जसमा कर सहयोगी र अडिटरसमेत संलग्न भएका पाइएका छन् । एक पटक आयात गरेपछि त्यसैलाई देखाएर सामान पटकपटक ल्याउने अवस्था पनि देखिएकाले यसलाई पनि विभागले कानूनको दायरामा ल्याएको छ । “प्रधानमन्त्रीको स्पष्ट निर्देशन छ, भोटर होस् या नेता, कसैलाई छाडिँदैन”, मैनालीले भने । विगतमा सङ्गठित रूपमा आर्थिक अपराध हुने गरेको भए पनि पछिल्लो समयमा व्यक्तिगत रूपमा आर्थिक अपराध भइरहेको उनले बताए । अहिले राजश्वको उच्च जोखिमका क्षेत्र पहिचान गरेर अनुसन्धान केन्द्रित गरेर प्रणालीगत सुधारमा विभाग लागेको जनाइएको छ । यसअघि फागुन मसान्तसम्ममा विभागले ६४ मुद्दामा १६७ विरुद्ध रु १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरिसकेको छ । जसमा एक भन्सार अधिकृतसहित आठ सरकारी कर्मचारीसमेत छन् । मूल्य अभिवृद्धि कर (भ्याट) बिल/प्यान बिल नक्कली बिजक बिक्री गरी राजश्व छल्नेदेखि नक्कली कारोवार गर्ने, अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्ने, वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत अवैधरूपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने गिरोह र अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराधविरुद्ध कारवाही चलाएको थियो । मजदुरलाई प्रलोभनमा पारी फार्म खडा गरेर झुटा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गरेका घटनासमेत छन् । उक्त आरोपमा जयकिशोर साह र परमेश्वर साहमाथि रु एक अर्ब ७५ करोड बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । वैदेशिक रोजगारीमा कामदार पठाएवापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजश्व छली गरेको कसुरमा स्काई ओभरसिज सर्भिसेस प्रालि काठमाडौँका सञ्चालक बलबहादुर तामाङमाथि बिगो र जरिवानासहित रु १९ करोड ५७ लाख र तीन वर्ष कैदसजाय मागदाबीसहितको मुद्दा चलाइएको छ । नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठ निर्माणका काम तथा सेवा सुविधामा ढिलासुस्तीका समस्या कायमै रहे पनि सरकारले चालेका कदमलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । अर्थ मन्त्रालयबाट विसं २०७४ फागुन १३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएको विभागले अनुसन्धान गरी सरकारी वकिलको रायअनुसार अदालतमा मुद्दा चलाउने अधिकार प्राप्त छ । रासस

नालामा सनराइज बैंकले खोल्यो शाखारहित बैंकिङ्ग सेवा

  काठमाडौँ । सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा २९ औँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ उद्घाटन गरे । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर शाखाका प्रवन्धक भीमनारायण श्रेष्ठले हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

महालक्ष्मीले धुलिखेलमा गर्यो बीमा जनचेतना कार्यक्रम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बुधवार धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा समारोहका मुख्य अतिथि रमेशकुमार भट्टराईले उद्घाटन गरे । दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमाज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालले जानकारी गराएका थिए । दोस्रो सेसनमा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले प्रशिक्षण दिएका थिए भने महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिएका थिए । सहकारी संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरूषोतम देवकोटाले धन्यवाद ज्ञापन सहित बीमा जागरण कार्यक्रम निकै प्रभावकारी भएको जानकारी गराए ।कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।