आशा लघुवित्तद्वारा कैलालीको मसुरियामा सीपमूलक तालिम संचालन
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७६,बैशाख १७, १८ र १९ गते सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय मसुरिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रम उद्घाटन गर्दै शाखा प्रमुख आशिष थारुले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५७६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
रसुवागढीको आईपीओ बाँडफाँडः ४० कित्तासम्म हाल्नेलाई सबै पर्यो, २५ हजारलाई थप १० कित्ता
काठमाडौं । रसुवागढीको हाइड्रोपावर कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै र ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकालाई थप १० कित्ता सेयर परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ११ हजार ०७१ जना आवेदकलाई कुल ३५ लाख १५ हजार ९३० कित्ता सेयर बाँडफाँडमा समावेश नगरी माग गरेजति सबै कित्ता वितरण गरिएको छ । त्यस्तै, ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेका आवेदकहरुलाई ४० कित्ताका दरले ५५ लाख ६६ हजार ६०० कित्ता सेयर बाँडफाँड गरिएको छ । साथै, ५० देखि ५ हजार कित्तासम्म माग गर्ने २५ हजार ६९३ जनालाई गोलाप्रथाबाट थप १० कित्ता सेयर बाँडिएको छ । बाँकी रहेको ७ कित्ता सेयरको लागि ५० वा सो भन्दा बढी कित्ता सेयर माग गरेका गोलप्रथा बाहेक ४० कित्ता पाएका ७ जनालाई १/१ कित्ता सेयर वितरण गरिएको हो । रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर २ लाख ९१ हजार २७२ जनालाई वितरण गरिएको हो । कूल ३ लाख २ हजार ३४३ जना आवेदकमध्ये ११ हजार ०७१ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उक्त आईपीओमा सबैभन्दा बढी काठमाडौं वासीले आवेदन दिएका थिए । त्यस्तै, आईपीओमा मुगु, मनाङ्, दैलेख जस्ता दुर्गम जिल्लाबाट पनि ३००/४०० बढी आवेदन परेकाे क्यापिटलले जनाएको छ । वैशाख ६ देखि १२ गतेसम्म निष्काशन भएको उक्त सेयरको बाँडफाँड बिहीबार सिंहदरबारस्थित उर्जा मन्त्रालयको सभाहलमा भएको हो । कम्पनीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश भएकाे यस कम्पनीको सेयर तत्कालै नेप्सेमा सूचीकरण हुने बताइएकाे छ ।
४.२१ अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसू ४.२१ अंकले घटेको छ । ०.३२ प्रतिशतले घट्दा परिसूचक १२९४.३९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ३ हजार २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ७८ लाख ५५ हजार १ सय १३ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका ३ सूचक मात्र हरियो देखिएका छन् । बैंक समूह ६.७६, विकास बैंक समूह १०.३२, जलविद्युत समूह ४.५, वित्त समूह ३, अन्य समूह १.३३, माईक्रोफाइनान्स समूह ६.९ र जीवन बीमा समूह १८.६८ अंकले घटेका छन् । होटल समूह १३.६३, निर्जीवन बीमा ३७.५५, उत्पादन मूलक समूह ३८.०८ अंकले बढेका छन् । हिमालयन डिस्टीलरी लिमिटेडका लगानीकर्ताले ५.२७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले ५.०४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
साञ्जेनको आईपीओ बाँडफाँडः १० कित्तासम्म हाल्नेलाई सबै पर्यो, ९१.२३ प्रतिशतलाई २० कित्ता
काठमाडौं । बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरिएको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा अधिकांश आवेदकलाई २० कित्ताको दरले सेयर परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० देखि २००० कित्तासम्म माग गर्ने २ लाख ८८ हजार ८९७ जनालाई न्युनतम १० कित्तासेयर परेको छ । उनीहरुलाई कूल २२ लाख ८८ हजार ९७० कित्ता बाँडिएको हो । त्यस्तै, बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता सेयर पुनः २० देखि २००० कित्तासम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भाग्यशाली २ लाख ०९ हजार ३२८ जनाले थप १० कित्ता गरी अधिकतम २० कित्ता सेयर पाएका छन् । समग्रमा कूल ९१.२३ प्रतिशत आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ । साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर २ लाख ८८ हजार ८९७ जनालाई वितरण गरिएको हो । कूल ३ लाख ५९७ जना आवेदकहरु मध्ये ११ हजार ७०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
बीमाले हटाउँछ विवाहको चिन्ताः बालबालिका लक्षित बीमा, कुन कम्पनीमा कस्तो ?
काठमाडौ । के तपाईँ आफ्नो छोराछोरीको शिक्षा, स्वास्थ्यको विषयमा चिन्तित हुनुहुन्छ ? छोराछोरी हुर्केपछि विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ होला, होइन ? अब धन्दा नमान्नुहोस्, थोरै थोरै पैसा बुझाउँदै गएमा यस्ता चिन्ताबाट सहजै मुक्ति दिलाउन बीमा कम्पनीहरुले बीमा पोलिसी ल्याइसकेका छन् । बालबालिका लक्षित बीमा, कुन कम्पनीमा कस्तो ? राष्ट्रिय बीमा संस्थानले ‘बालबच्चाको शिक्षा तथा विवाह’(सावधिक) सम्बन्धी जीवन बीमा सञ्चालनमा ल्याएको छ । यस्तै, ‘बालबच्चाको जीवन बीमा वात्सल्य’ समेत कम्पनीले प्रदान गर्दै आएको छ । त्यसैगरी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको शिक्षा, विवाहसम्बन्धी बीमा गराउँदै आएको छ । कम्पनीले ‘बाल इन्डोमेण्ट पोलिसी’, ‘बाल अमृत इन्डोमेन्ट पोलिसी’, ‘बाल भाग्योदय पोलीसी’ बिक्री गर्दै आएको छ । यसैगरी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ‘सुरक्षित जीवन बीमा योजना’ तथा ‘केटाकेटी जीवन बीमा’ योजना सञ्चालन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १० वर्ष र सो भन्दा तलका बालबालिकाका लागि ‘इन्डोमेण्ट प्लान’ अनुसार बीमा गर्दै आएको छ । यता, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी इन्डोमेन्ट र एस्योरेन्स पोलिसिको बिक्री गर्दै आएको छ भने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाल बीमा योजना अन्तर्गत क्यासव्याक(पैसा फिर्ता दिने) सम्मको योजना सञ्चालन गरेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘आइएमइ बाल उज्ज्वल जीवन बीमा योजना’ नामक पोलिसी बिक्री गर्दै आएको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिक्स कमेन्समेन्ट’ लगायतका बाल बीमा पोलिसी बिक्री गर्दै आएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि बालबालिकाको भविष्यलाई लक्षित गर्दै बीमा पोलिसी बिक्री गर्दै आएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल समृद्धि जीवन बीमा’ मार्फत आफ्नो पोलिसी बिक्री गर्दै आएको छ । सो पोलिसी अनुसार १५ वर्ष सम्मका बालकालिकाको बीमा गर्न सकिने व्यवस्था रहेको छ । यसैगरी रिलायन्स लाइफ इन्स्योेरेन्स कम्पनीले ‘रिलायन्स चाइल्ड एसुरेन्स प्लान मेरो मुटु’ मार्फत बीमा योजना बिक्री गर्दै आएको छ । यो योजनाले बालबालिकाका लागि बचत तथा जोखिम बहन गर्ने २ किसिमका काममा सहयोग पुर्याउने जनाइएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिलायबल हाइयर एजुकेशन प्लान’ मार्फत बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ । सो योजनामा ५० हजारको बीमा दाबी गर्न सकिन्छ । यही योजनामा बिमितको उमेर हद भने केही बढी राखिएको छ । जसमा २५ वर्षसम्म उमेर समूहका बिमितले लाभ लिन सक्छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल भविष्य जीवन बीमा’ योजना मार्फत आफ्नो पोलिसी बिक्री गर्दै आएको छ । सो योजनामा कम्तीमा ५० हजारदेखी बढीमा ५० लाखसम्मका लागि पोलिसी किन्न पाइन्छ । यसमा कम्तीमा १० बर्ष तथा बढीमा २५ वर्षसम्मका लागि पोलिसी लिन पाइन्छ । १५ वर्ष सम्मका बालबालिका यस योजनामा प्रवेश गर्न पाउने छन् । यसैगरी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बाल सौगात जीवन बीमा योजना’ अनुसार बालबालिकालाई बीमा सुविधा दिदै आएको पाइन्छ । यस बीमा योजनाले बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेको देखिन्छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जीवन उन्नती पोलिसि मार्फत बालबालिकाको बीमा गर्दा पैसा फिर्ता दिने पोलिसी बिक्री गर्दै आएको छ ।
टेकु र वाग्मती पुलको विकास समितिले अनुगमन गर्ने, ‘निर्माण गुणस्तरहीन’
काठमाडौँ । काठमाडौँको टेकु पुल र बाग्मती पुलको विकास तथा प्रविधि समितिले अनुगमन गर्ने भएको छ । कालीमाटी-टेकु जोड्ने ६२ मिटरको पुल र मीनभवन-तीनकुने जोड्ने बाग्मती पुलमा अनियमितता भएको र पुल कमजोर भएको भन्दै विकास समितिमा सांसद गणेश पहाडीले कुरा उठाएका थिए । ती दुबै पुल पप्पु कन्स्ट्रक्सनले बनाएको हो । पुल प्राविधिक रुपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको छ । पुल हस्तान्तरण नभएको, पुलमा देखिएको प्राविधिक समस्या समाधान नगरी निर्माण अघि बढाएको र परामर्शदाताले दिएको सुझाव पालना नगरी निमार्ण गरेकाले सञ्चालनमा सडक विभागले रोक लगाएको हो । ती पुलको गुणस्तरबारे विकास समितिमा कुरा उठेपछि राष्ट्रिय सतर्कता केन्द्र, सडक विभाग, निर्माण कम्पनी, विज्ञ प्राविधिक र समितिका सांसदहरुको टोलीले अनुगमन गर्ने बारेमा छलफल भएको हो । गुणस्तरहीन भएको भन्दै यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ती पुल भत्काउनु पर्ने बताएका थिए ।
थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइन निर्माणमा अवरोध, ललितपुरमा लोडसेडिङको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । विद्युतको माग बढिरहँदा हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए । आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् । काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन । स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजना स्थलको निरीक्षण गरेका छन् । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए । उनले ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए । स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो । ‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन’, घिसिङले भने । ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ?प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ ।’ यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए । अहिले लितिपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् । खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नु पर्ने माग गरेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामा समेत काम गर्न दिएका छैनन् । प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो । प्रसारण लाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन । २८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६/६७ मा ठेक्का तोडेको थियो । टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताए । उनले अवरोध हटेर काम सुरु भएको ६ महिनाभित्रमा निर्माण सकिने अवस्था रहेको बताए ।
नेपालमा पहिलोपटक मानिसमा देखियो बर्ड फ्लु, २१ वर्षीय युवकको मृत्यु
काठमाडौं। बर्ड फ्लु मानिसमा हत्तपत्त लाग्ने रोग होईन त्यसैले पनि मानिसहरुमा बर्ड फ्लु लागेको समाचारहरु खासै सुन्न पाईदैन। तर भर्खरै नेपालमा एक जना मानिसमा बर्ड फ्लुको कारण उनको मृत्यु भएको छ। मानिसलाई बर्ड फ्लु लागेको शायदै यो नेपालको पहिलो घटना हो। मृत्यु हुने युवक २१ वर्षीय बर्षको र काभ्रेको रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ज्वोरो र खोकीको कारण चैत १० गते अस्पताल पुगेका उनको मृत्यु चैत १५ गते श्वासप्रश्वासमा समस्य आएपछी मृत्यु भएको बताईएको छ। उपचारको क्रममा उनको र्याल जाँचको लागि पठाईेको थियो जसको कुनै पनि नतिजा नआएको कारण जापान पठाईएको थियो। जापानबाट बैशाख १७ मा आईपुगेको रिपोर्टले उक्त र्यालमा एच फाइभ एन वान भाईरस भएको देखाएको हो। बर्ड फ्लू मानिसमा संक्रमण तब हुन्छ जब भाइरस एक व्यक्तिको आँखा नाक वा मुखमा पर्छ। यो हावामा यदी भाईरस छ वा यदी मानिसले भाईरस युक्त केही छुन्छ भने पनि सर्ने गर्दछ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो रोग १९९३ मा पत्ता लागेको थियो। त्यसयता २००३ देखी ८६० मानिसमा यसको संक्रमण भेटिएको छ। यसको कारण रोग लागेको ५० प्रतिसत मानिसको मृत्यु भएको बताईन्छ।