राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक २६ गतेदेखि घरबिदामा बस्दै, क-कसले पाउँदैछन् कामु ?

<p>काठमाडौं । राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरु बैशाख २६ गते विहीबारदेखि घर बिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यको कार्यकाल जेठ २५ मा सकिने भएपछि कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि घरबिदामा बस्ने भएका हुन् । लघुवित्त नियमन विभागका जनकबहादुर अधिकारी भने बैशाख [&hellip;]</p>

काठमाडौं । राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरु बैशाख २६ गते विहीबारदेखि घर बिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यको कार्यकाल जेठ २५ मा सकिने भएपछि कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि घरबिदामा बस्ने भएका हुन् । लघुवित्त नियमन विभागका जनकबहादुर अधिकारी भने बैशाख १० देखि नै घरबिदामा बसिसकेका छन्, उनको कार्यकाल जेठ १० गतेदेखि सकिँदैछ ।

‘राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरु सामान्यतया एक महिना अघिदेखि घरबिदामा बस्ने चलन छ । सोही अनुसार उनीहरु घरबिदामा बस्न लागेका हुन् । एकजना १० गतेदेखि नै बिदामा हुनुहुन्छ, बाँकी ४ जना २६ गतेदेखि बिदामा बस्नुहुन्छ ।’ राष्ट्र बैंक जनशक्ति विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले विकासन्यूजसँग भने ।

कार्यकारी निर्देशकहरु घरबिदामा बस्ने भएसँगै नेपाल राष्ट्र बैंकले रिक्त हुने पदका लागि निर्देशकहरुलाई कायम मुकायम कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिने तयारी गरेको छ । सम्बन्धित शाखाका वरिष्ठ निर्देशकले नै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए ।

‘कार्यकारी निर्देशकहरु बिदामा हुँदा वा अनुस्थित हुँदा सोही विभागका वरिष्ठ निर्देशकहरुले कामुको जिम्मेवारी स्वतः पाउने राष्ट्र बैंकको चलन नै हो, त्यसैअनुसार जिम्मेवारी पाउनुहुन्छ ।’ उनले भने । तर, बढुवाका लागि भने आन्तरिक रुपमा कार्यसम्पादन मूल्याङ्कन समिति बन्ने र त्यसको सिफारिस अनुसार हुने उनको भनाई थियो ।

हाल नियमन विभागमा बमबहादुर मिश्र, वैदेशिक विनिमय विभागमा सरिता भट्ट, नरेश शाक्य बैंकिङ कार्यालय र सुष्मा रेग्मी सार्वजनिक ऋण व्यवस्थापन विभागमा वरिष्ठ निर्देशकका रुपमा छन् ।

Share News