गोदावरी नगरका मेयर महर्जनको सामाजिक काम, १ वर्षको पारिश्रमिक विद्यालयलाई !
काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक वर्षको पारिश्रामिक ठेचोस्थित सरस्वती उच्च माध्यामिक विद्यालयलाई दिने भएका छन् । विद्यालयले आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा उनले गरीब र असहाय विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रकम सहयोग गर्ने घोषणा गरेको बताए । मेयर महर्जनले आफूले माध्यामिक तहसम्म पढेको विद्यालय भएकाले त्यससँग भावनात्मक सम्बन्धसमेत रहेको बताए । भने, “विद्यालयमा आउने विद्यार्थी ज्यादै कम भएकाले यो रकम स्थानीय विद्यार्थी बढाउनमा खर्च होस् ।” प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयकमा नगरपालिकाको प्रमुखको मासिक पारिश्रमिक रु ३५ हजार तोकिएको छ । भ्याट कटौती गर्दा एक वर्ष बराबरको पारिश्रमिकबापतको रकम झण्डै रु तीन लाख ५० हजार हुन्छ । रासस
चलचित्र क्षेत्रमा लगानीः ‘पहिले धौ–धौ, अहिले नाफा’
विनायक तामाङ कला क्षेत्रमा परिचित नाम हो । उहाँ ८ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर लागिरहनु भएको छ । अभिनयसँग उहाँ चलचित्र निर्देशनमा पनि सक्रिय हुनु भएको छ । कलाकारिता र चलचित्र क्षेत्रका बारेमा निर्देशक तामाङ्गको कुराकानी: यो रङ्गिन दुनियाँमा आउनका लागि तपाईँलाई कस्ले प्रेरित गर्यो ? बच्चैदेखि यो क्षेत्रमा आउन उत्सुक थिएँ, कसरी फिल्म बन्छ भन्ने थियो, एसएलसी सकेपछि विस्तारै यस क्षेत्रमा लागेँ । ८ वाट फिल्ममा अभिनय गर्दै गर्दा पछिल्लो समय निर्देशकसम्म आईपुग्दा पहिलो चलचित्रलाई कसरी समीक्षा गर्नु हुन्छ ? युवराज लामिछानेसँग काम गर्दागर्दै पहिलो फिल्म ‘मनको पिडा’देखि आज ८औं फिल्म ‘यो जिन्दगीको साथी’ (तामाङ भाषामा ल्हूई हो) सम्म आइपुग्दा पहिलाको फिल्म निर्माणमा धेरै कमि कमजारी भेटेको छु । यो क्षेत्र भनेको जति काम गर्दै गयो उति नै आफुलाई सुधार्ने अवसर प्राप्त हुने कुरा बुझ्दै अगाडि बढ्ने क्रममा रहेको छु । तामाङ्ग भाषामा आधारित भई कति वटा फिल्म निर्माण गर्नु भयो ? ५ वटा फिल्म तामाङ्ग भाषामा आधारित भएर निर्माण गरेँ, जसमा सेमला दुङ्गाल, चु माया, डम्फु रे, मैच्याङ्ग, जो जो आले, आमिला झामे, र पछिल्लो समयमा सेमा रो भन्ने फिल्म निर्माण गरेको थिए, जसमा आधा नेपाली आधा तामाङ्ग भाषामा रहेका थियो । अबका दिनमा पूरै फिल्म नेपाली भाषामा नै निर्माण हुनु पर्छ भन्ने लक्ष्यको साथ नेपाली फिल्म क्षेत्रमा विनायक तामाङ्ग नामलाई चिनाउनका लागि यी कदमहरु चाल्दैछु । फिल्म क्षेत्रमा लगानी गर्दा के कस्तो भईरहेको छ ? यस क्षेत्रमा लगानी गर्दा शुरुवातको समयमा लगानी उठाउन धौ–धौ पर्ने गर्थो भने आजभोलि लगानी उठाएर केही नाफा कमाउन सक्ने अवस्था छ । काम गर्नु भएको ८ चलचित्र मध्ये कुनलाई राम्रो(उत्कृष्ट) मान्नु हुन्छ ? पछिल्लो समय प्रदर्शन भएको ‘मनको साथी’ ५१ वटा हलहरुमा एकैसाथ प्रदर्शन भई राम्रो प्रतिक्रिया आएको थियो । हाल निर्माण रहेको चलचित्र तामाङ्ग समुदायलाई लक्षित गरेर समाजमा भएका घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । खास चुनावी समयमा समाजको चहलपहलका साथै राजनीतिक गतिविधि एवम् चुनाव पछिको अवस्थालाई फिल्म मार्फत चित्रण गरिएको छ । साथै प्रेममा आधारित रहेको छ। उक्त फिल्ममा विनायक तामाङ्ग, विजय तामाङ्ग, संगिता दोङ्ग, बुद्ध तामाङ, सूर्य, सोनी दोङको अभिनय रहेको छ । चलचित्रको निर्मातामा सञ्चकुमारी तामाङ र कार्यकारी निर्मातामा ध्रुवसिंह तामाङ रहेका छन् । यो क्षेत्रमा काम गर्दा आफ्नो नाम टिकाउन र आफुलाई बजारमा स्थापित गर्नका लागि धेरै चुनौतीहरु आउने गर्दछन् । जसका कारण धेरै कुरा र अवस्थाको सामना गर्नु पर्ने अवस्था सिर्जना हुने गर्दछ । यस क्षेत्रमा लाग्दा के आम्दानी गर्न सहज छ त ? आर्थिक क्षेत्रमा आफुलाई उच्च बनाउन सकिन्छ त भन्दिन्, तर साधारण जिन्दगी बिताउन गाह्रो छैन् । क्षेत्रमा राम्रो प्रस्तुती देखाउन सकियो भने नाम र दाम दुवै कमाउन सकिन्छ । फिल्म क्षेत्रमा आउनु अघि कुनै फिल्मी कोर्स गरेर आउनु भएको हो कि ? के हो ? भारतमा फिल्म सम्बन्धी २ महिनाको सिकाईले यस क्षेत्रमा सहज तरिकाले काम गर्न सक्ने उर्जा प्राप्त भयो । पहिलो फिल्म सेम्ला दुवाल र दोस्रो ताजे मानि जुजार भन्ने फिल्म हुन्, पछिका दिनमा आफैपनि निर्माण प्रति असन्तुष्टी भई भारतको नयाँ दिल्ली स्थिति डिएन्डिमा फिल्म निर्माण सम्बन्धी २ महिनाको तालिम लिए, तर दुई महिनापछि सिकाई पूरा गर्न नसकेर पून नेपाल फर्किए । त्यहि २ महिनाको तालिमले कसरी असल कलाकार हुन सकिन्छ भन्ने जस्ता फिल्म सम्बन्धी जानकारी प्राप्त भयो, अहिले त्यही कुरालाई ध्यानमा राखि काम गर्दा उर्जा मिल्ने गरेको छ । त्यस्तै निर्देशक शिव रेग्मी, मदन घिमिरेको सहयोग रहेको छ । चलचित्र व्यवसायिक रुपमा सफल हुने कुरामा कतिको ढुक्क हुनु हुन्छ ? भदौको अन्तिमबाट शुरु हुने भनिएता पनि असोजमा ५० वाट हलमा ल्हूई हो (जीन्दगीको साथी) फिल्म प्रदर्शन गरिनेछ । राम्रो विषय वस्तु समावेश गरेको हुँदा बजारमा राम्रै छाप छोड्छ भन्ने आशा रहेको छ । यो चलचित्र व्यवसायिक रुपमा सफल हुने आशा राखेको छु ।
इन्फिनिटी लघुवित्तले ६ करोड ७४ लाखको आईपीओ जारी गर्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबारमात्रै संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेड मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ ।
नयाँ बसपार्कमा टहरा पसल हटाइयो, ट्राफिक व्यवस्थापन सहज बनाइदै
काठमाडौँ । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए । यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ । करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारीसाधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आउने महाशाखा प्रमुख पन्तले बताए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रूपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर करिडोर खोल्ने काम शुरु गरेको हो । महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, तीन हजारभन्दा धेरै मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतनाकक्ष सञ्चालन गरिसकेको छ । यस्तै, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताए । “करिडोर निर्माणसँगै बसपार्क पुलमा हुने जाममा कमी आउँछ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस
कर नबुझाउने करदातामाथि कानूनी कारवाही, १६ करोड बक्यौता
लहान । आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिए । उनका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९ हजार ४२७ राजश्व उठाउन बाँकी छ । यस्तै आयकरमा दर्ता भएका करदाताबाट रु दुई करोड ६७ लाख राजश्व उठन नसकेपछि कानूनी कारवाही अघि बढाइएको यादवले बताए । यसैगरी, आन्तरिक राजश्व कार्यालय लहानले चालू आर्थिक वर्ष २०७५/७६ को नौ महीनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू आव २०७५/७६ को चैत मसान्तसम्ममा रु एक अर्ब ५४ करोड १७ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा कार्यालयले सो अवधिमा रु एक अर्ब ६६ करोड ८५ लाख ६ हजार राजश्व सङ्कलन गरेकोे छ ।
२० पैसाको बिजुलीले १ किलोमिटर यात्रा, इलेक्ट्रिक स्कुटरको कति पर्छ मूल्य ?
काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारीको साधन आएको छ, जुन २० रुपैयाँ बराबरको बिजुलीले चार्ज गरेर १०० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । बजारमा यस्तो विद्युतीय स्कुटर आइसकेको छ । चीनको प्रशिद्ध मोटर कम्पनी बेलिङले निर्माण गरेको ५७८ जेट नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर २० पैसाको मात्रै विद्युतीय उर्जा खपत गर्छ । अर्थात २० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ । चीनको बेलिङग कम्पनीले ५७८ जेट स्कुटर कम्पनीले २० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर १०० किलोमिटरसम्म गुड्ने सकिने जनाइएको छ । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्युन रहको कम्पनीले जनाएको छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, बेलिङ कम्पनीले उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य १ लाख ३० हजार रुपैयाँ छ । कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखी ६ घन्टासम्म लाग्छ, १०० किलोमिटर गुड्छ । ५७८ जेट स्कुटरमा ३२ एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ । रातो र कालो रङका ४ सय स्कुटरर बिक्री भैसकेको बेलिङ कम्पनीको आधिकारिक विक्रेता निझोङ इण्डष्ट्रिज प्रालिका मार्केटिङ म्यानेजर खिलप्रसाद शर्माले बताए । पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११२ रुपैयाँ छ । १०० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले झण्डै ३५० रुपैयाँको इन्धन खपत गर्छ । तर, विद्युतीय स्कुटर ५७८ जेटले २० रुपैयाँमा त्यत्ति नै माइलेज दिने म्यानेजर शर्माले बताउँछन् । विश्व मै इलेक्ट्रिक सवारीको माग विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्ट्रिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । ५७८ जेटले ब्याट्रीमा १ र मोटर कन्ट्रोलर २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । विद्युतीय सवारीलाई भन्सार सस्तो डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो छ । सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कूल सवारी मध्ये २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने सरकारले घोषणा गरेको छ । वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिंदै आएको छ ।
लक्ष्मी बैंकको नाफा अर्ब नाघ्यो
काठमाडौं । लक्ष्मी बैंकको नाफा १ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म १ अर्ब २ करोड ९६ लाख रुपैंया खुद मुनाफा कामएको हो । यो अघिल्लो वर्षको सोही समयको भन्दा १६ करोडले बढी हो । चैत मसान्तसम्म बैंकको निक्षेप ७८ अर्ब ६६ करोड तथा कर्जा प्रवाह ७३ अर्ब ९६ करोड पुर्याएको छ । बैंकले रिजर्भको आकार भने स्थिर राख्दा २ अर्ब १७ करोड रुपैंया कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी १६३ करोडबाट २१९ करोड, गैरब्याज आम्दानी ३५ करोडबाट ४४ करोड पुग्दा कर्मचारी खर्च ५२ करोडबाट ७० करोड तथा सञ्चालन खर्च ३१ करोडबाट ४४ करोड रुपैंया पुगेको देखिएको छ । बैंकको कस्ट अफ फण्ड ७.७३ बाट घटेर ७.३२ प्रतिशत तथा आधार ब्याजदर ११.३५ प्रतिशतबाट घटेर १०.२६ प्रतिशतमा झर्दा स्प्रेडदर ३.६१ प्रतिशतबाट बढेर ४.१९ प्रतिशत पुगेको छ ।
बैंक अफ काठमाण्डूले पुर्यायो १२० करोड नाफा, अरु सुचकहरु कस्ता ?
काठमाडौं । बैंक अफ काठमाण्डूले ९ महिनाको अवधिमै १ अर्ब २० करोड नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको नाफा २९ प्रतिशतले बढाएर नाफा उक्त आकारमा पुर्याएको हो । बैंकले उक्त अवधिमा ८१ अर्ब निक्षेप संकल गरी ७१ अर्ब रुपैंया कर्जा प्रवाह गर्दा बैंकको सीसीडी अनुपात ७८.५१ प्रतिशत पुगेको छ । बैंकको रिजर्भको आकार भने १ करोड रुपैंयाले घटेर ३ अर्ब ६० करोड रुपैंयामा झरेको छ । बैंकको कस्ट अफ फण्ड ८.०१ प्रतिशतबाट घटेर ७.३७ प्रतिशत, आधार ब्याजदर १०.७८ प्रतिशतबाट घटेर १०.०७ प्रतिशतमा झर्दा बैंकले ब्याजको स्प्रेडदर ४.०४ प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ । बैंकको नाफाको उक्त बढोत्तरीमा ब्याज आम्दानीको महत्वपूर्ण योगदान छ । बैंकको ब्याज आम्दानी अघिल्लो वर्ष २ अर्ब ६ करोड रहेकोमा यो वर्ष २ अर्ब ७३ करोड पुगेको देखिएको छ ।