विकासन्युज

चौधरी फाउण्डेसनले नेपालमा डुइङ्ग गुड इन्डेक्स सर्वेक्षण संचालन गर्ने

काठमाडौँ । चौधरी फाउण्डेसनले नेपालमा पहिलो पटक डुइङ्ग गुड इन्डेक्स(डिजीआई २०२०) सर्वेक्षण संचालन गर्ने भएको छ । फाउण्डेसनले मंगलबार विज्ञहरूसँग बृहत अन्तक्र्रिया गरेको छ । सामाजिक एवम् सार्वजनिक क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको उक्त खकार्यक्रममा सर्वेक्षणका विविध आयामहरुमा छलफल गरिएको छ । डुइंग गुड इन्डेक्सको प्रकाशन हङ्गकङ्ग स्थित संस्था“सेन्टर फर एसियन फिलान्थ्रोपी एण्ड सोसाइटी (क्याप्स)” द्वारा गरिदै आएको छ । चौधरी फाउण्डेसन र क्याप्सबीच सन् २०१८ नोभेम्बरमा नेपालमा डुइङ्ग गुड इन्डेक्स सर्वेक्षण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सर्वेक्षणको प्रमुख उदेश्य एसियाली राष्ट्रहरुमा लोकोपकारी क्षेत्रमालगानीको मात्रा एवम् गुणस्तरमा बृद्धि गर्नु रहेको छ । जसअन्तर्गत यस क्षेत्रको नियमनकारी व्यवस्था, कर प्रणाली, खरीद प्रकृया एवम् सामाजिक वातावरण आदि जस्ता क्षेत्रको जानकारी हासिल गर्दै सामाजिक क्षेत्रमा लगानी प्रदान वा प्राप्त गर्ने सम्बन्धी प्रावधानको बारेमा अध्ययन गरिने जनाइएको छ । सर्वेक्षणले सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरुलाई कानुनी रुपमा संस्थादर्ता गर्न, लगानी बृद्धि गर्न, कर सहुलियत एवम् सार्वजनिक करार प्राप्त गर्ने आदि जस्ता कार्यमा पनि टेवा पुग्ने विश्वास फाउण्डेसनले लिएको छ । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले डुइङ गुड इन्डेक्सले सामाजिक क्षेत्रमाविश्वासको वातावरण, परोपकारी भावनाको विकास एवं यस क्षेत्रको व्यवसायीकतालाई वढावा दिने जस्ता सकारात्मक नतिजा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । योजना आयोगका पूर्व उपध्यक्ष स्वर्णीम वाग्लेले आजको दुनियाँमा आर्थिक बृद्धिदर सँगसँगै ह्यापिनेस पनि उत्तिकै महत्वपूर्ण रहेको विश्लेषण गर्र्दै डुइङ गुड इन्डेक्सले नेपाली समाजको अध्ययनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । सर्वेक्षणको नतिजा सन् २०२० मा प्रकाशितगर्ने लक्ष्य गरेको बताइयो ।

विदेशबाट फर्केका युवालाई दशलाखसम्म ऋण, एनएमबी बैंकले १ अर्ब कर्जा प्रवाह गर्ने

काठमाडौ । वैदेशिक रोजगारीबाट फिर्ता भई नेपालमा केही गर्न चाहने युवाहरुलाई एनएमबी बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद, एनएमबी बैक र रिटर्नी माइग्रेन्ट नेपालबीच मंगलकबार कर्जा प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले हस्ताक्षर गरेका छन् । युवाहरुका लागि कृषी, पर्यटन, वन, जडीबुटी लगाएतका क्षेत्रलाई लक्षित गरेर प्रति व्यक्ती अधिकतम १० लाख कर्जा प्रवाह गर्ने र हाललाई १ अर्बसम्म कर्जा प्रवाह हुने बैंकले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केसीले समृद्ध नेपालका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताए । सिइओ केसीले भने–‘वैदेशीक रोजगारबाट स्वदेश फिर्ता भएका युवाहरुका लागि यो कार्यक्रम लक्षित गरेका छौ ।’ हाल १ अर्बसम्म ऋण प्रवाह गरिने भएपनि आवश्यताका अनुसार सो रकममा वृद्धि हुने उनले बताए । कार्यक्रममा बोल्दै रिर्टनी माइग्रेटका अध्यक्ष उत्तम अधिकारीले भने–‘सरकारले अघि सारेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वरोजगारी बनाउने कुनै कार्यक्रम छैन ।’ उनले स्वरोजगार बन्न बैंक, परिषद् र आफूहरुबीच भएको त्रिपक्षीय सम्झौता सहयोगी बन्ने बताए । यस्तै, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सस्तो श्रममा नेपालीहरु विदेशी भूमिमा काम गर्नु भन्दा आफ्नै देशमा फर्केर केही गर्ने अभियानमा लाग्नु पर्ने बेला भइसकेको बताए । उक्त कार्यक्रममा एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष  पवनकुमार गोल्यानले ५० डिग्री तापक्रममा नेपालीहरुलाई दक्षित गर्दै सम्झौता भएको बताए । उनले देश बनाउने जिम्मा युवाहरुको हातमा भएकाले उनीहरुलाई सहयोग गर्न बैंकले ऋण प्रवाह गर्न लागेको बताए । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तीहरुलाई राष्ट्रिय युवा परिषद्को समन्वय र रिर्टनी माईग्रेन्टको सिफारिसका आधारमा सहुलियपूर्ण कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

इनरुवामा यामाहाको नयाँ शोरुम, ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको सुविधा पाइने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मंगलबारबाट सुनसरीको इनरुवामा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले पाथीभरा इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो । इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप शुरु गरेको इन्टरप्राइजेजले जनाएको छ । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले गरेका थिए । पाथीभरा इन्टरप्राइजेजबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन् । पाथीभरा इन्टरप्राइजेजका अमरेन्द्रकुमार मेहताले भने ‘यहाँ रहेका हाई-टेक वर्कसप, तालिम प्राप्त र दक्ष टेक्निसियनबाट ग्राहकले आफ्नो मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्न पाउनेछन् ।’ यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो ।

ज्योतिलाईफका ग्राहकलाई नेपाल मेडीसीटी हस्पिटलमा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भैंसेपाटी, ललितपुरमा स्थित नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतापछि ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप-प्रमूख प्रकाशबिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

मुस्लिम धर्मावलम्बीको एक महिना लामो रमदान व्रत शुरु

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको एक महिना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्रोअनुसार नवौँ महीनाको नाम रमदान हो । महीनाकै नामबाट मनाउन शुरु गरिएको यो पर्वलाई हाल रमजान पनि भनिन्छ । रमदान महीनाभर मुस्लिम समुदायका मानिस बिहान सूर्योदयअघि नै खाना खाई बेलुकी सूर्यास्तपछि मात्र खाना खान्छन् । सूर्योदयपछि सूर्यास्तसम्म खाना खान नहुने मुस्लिम धर्मशास्त्रीय मान्यता छ । यसरी व्रत बसेका मानिसले महीनाभर नमाज, कुरानलगायत धार्मिक ग्रन्थ पाठ गर्छन् । गरीब, दीनदुःखीलाई दान गर्छन् । हिजरी पात्रो अनुसार महिना प्रायः २९ वा ३० दिनका हुन्छन् । यो महीनाको २९औँ दिन बेलुकी चन्द्रमा देखियो भने ३० औँ दिन इद पर्व पर्छ । ३०औँ दिन बेलुकी चन्द्रमा नदेखिए पनि ३१औँ दिन अर्को महीना शुरु हुने भएकाले इद पर्व मनाइन्छ । यस पर्वका अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसालगायत धार्मिक स्थलमा पूजा पाठ गरिन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार १२ लाख मुस्लिम छन् । मुस्लिम समुदाय ७७ वटै जिल्लामा फैलिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ । रासस

लागत प्रतिस्पर्धामा वाणिज्य बैंकहरु नजिकिँदै : बलियाकाे प्रभावकारिता घट्याे, कमजोरहरु सुधारतर्फ

काठमाडौं । नयाँ त्रैमासका वित्तीय विवरणहरु आउँदैगर्दा बजारमा बलियो बैंकका रुपमा छवि बनाएका बैंकहरुको प्रभावकारितामा ह्रास आउन थालेको छ । बजारमा ब्याजदरको प्रतिस्पर्धा तथा अर्थतन्त्रमा देखिएको तरलता अभावका कारणले यस्तो अवस्था देखिन थालेको हो । लगानीयोग्य पुँजीको अभावका बाबजुद बजारमा ब्याजदर प्रतिस्पर्धा चल्न थालेपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा नेपाल बैंकर्स संघले ब्याजदरको अधिकतम सीमा तोकिदिएको अवस्थामा बलियो भनिएका बैंकहरुको प्रभावकारिता घट्न थालेको हो भने तुलनात्मक रुपमा कमजोर भनिएका बैंकहरुको भने प्रभावकारिता बढ्दै गएको हो । नयाँ त्रैमासको सुरुवातसँगै चैत महिनासम्मको वित्तीय विवरण प्रकाशन वा आधारदर वा पुँजीकोष लागतको अनुपात सावजनिक गरेका बैंकहरुमध्ये सस्ता बैंकहरुको सो दर वृद्धि हुँदै गएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल बैंक जस्ता बैंकहरुको सो दरहरु अघिल्लो त्रैमास वा अघिल्लो वर्षको सोही अवधिको भन्दा वृद्धि भएको हो । एक वर्षको अवधिमा नबिलको बेसरेट ७.३३ बाट ७.९९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ७.२० बाट ७.७४ प्रतिशत तथा नेपाल बैंकको ४.९९ बाट ६.९२ प्रतिशत पुगेको छ । उता महँगा भनिएका सेञ्चुरी बैंक, सिभिल बैंक, कुमारी बैंक जस्ता बैंकहरुले भने सो अवधिमा सुधारको बाटोमा लागेका छन् । उच्च लागत र सञ्चालन खर्चका कारण थलिएका यी बैंकहरुले पछिल्लो समय क्रमशः सुधार गर्दैजाँदा बैंकहरुको लागत प्रतिस्पर्धाको अन्तर क्रमशः छोटिँदै गएको देखिन्छ । उता ठूला र प्रतिष्ठित समूह अन्तर्गतका कम्पनीहरुले भने उच्च सुधारको अवस्थालाई कायमै राखेका छन् । ग्लोबल आईएमई बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक जस्ता धेरै शाखासञ्जाल भएका व्यक्तिगत ग्राकहमैत्री बैंकहरु भने पछिल्लो समय लागत घटाउने अभियानमा छन् । एनआईसी एशियाले हालसम्म चैतको रिपोर्ट सार्वजनिक गरेको छैन तर केही समय अघिदेखि आक्रामक रुपमा निक्षेप विस्तारमा लागेको बैंकले पछिल्लो समय निक्षेप तथा कजाको गुणस्तरमा ध्यान दिँदै लागत न्यूनीकरणमा लागेको संकेत गरेका छन् । सोही रणनीतिमा हिँडेका प्रभु बैंक र ग्लोकल आईएमई बैंकले एक वर्षको अवधिमा आधार ब्याजदरमा १ प्रतिशत भन्दा बढी सुधार गरी दोहोरो अंकको आधार दरलाई पछिल्लो समयमा एक अंकमा झार्न सफल छन् । बैंकिङ क्षेत्रमा निर्देशित ब्याजदरको प्रभावले गर्दा बैंकहरुको ब्याजदर अन्तर विस्तारै घट्दै गएको हो । अपूर्ण प्रतिस्पर्धात्मक बजारमा एउटै उद्योगभित्रका फर्महरुबीचको प्रतिस्पर्धा कम हुँदै जान्छ । त्यस्तै अवस्था अहिलेलेको ब्याजदर सीमा निर्धारण हो । फैलँदो अर्थतन्त्र र फैलन नसकेको वित्तीय क्षेत्रका कारण बजारमा अहिले पनि लगानीयोग्य पुँजीको अभाव छ । नयाँ निक्षेप संकलनमा दिइने ब्याजदरमा धेरै बैंकहरुबीच समानताको अवस्था देखिन्छ । उद्योगीहरुको ब्याजदर घटाउने आन्दोलनका कारण दवावमा परेका बैंकहरुले बर्जाको ब्याजदरमा समेत नेगोसिएसन गर्नुपर्ने अवस्था भएपछि वाणिज्य बैंकका वित्तीय सूचकहरुबीचको अन्तर कम हुँदै गएको विज्ञहरु बताउँछन् ।

सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा, प्यान नम्बर आवश्यक नपर्ने

काठमाडौं । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो । भूकम्प पीडितले निजी आवास निर्माणका लागि ऋण लिए भए पनि व्यवसायिक कुषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामध्ये एक शीर्षकको कर्जा लिन सक्नेछन् । त्यसैगरी, भूकम्पपीडितले कर्जा लिंदा राख्नुपर्ने धितोको बारेमा पनि प्रष्ट पारिएको छ । भूकम्प पीडित निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिई निर्माण गर्ने वा गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिनु पर्नेछ । त्यस्तै, भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने जनाइएको छ ।

कालिमाटीमा सिद्धार्थ बैंकको शाखा बिस्तार

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार कालीमाटी शाखाको उद्घाटन गरेको छ । बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।