
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अघि नबढेसम्म याङ्ग्री र लार्के खोलाको पानी ल्याउन आर्थिक सहायता नदिने जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयलाई पत्र पठाई एडीबीले उक्त जानकारी दिएको हो ।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पहिलो चरणको काम अघि नबढ्दा अन्योल सिर्जना भएको बताए । एडीबीले पत्राचार नै गरिसक्यो, उनले भने, याङग्री र लार्केसमेत प्रभावित हुने भयो । सुरुङका साथै याङ्ग्री र लार्केको काम सँगै अघि नबढाएसम्म एडीबीले सहयोग नदिने संकेत दिएको भन्दै उनले बन्द काम चाँडो सुचारु गरिने बताए । यसबारे मन्त्रिपरिषद् बैठकले चाँडै टुंगो लगाउने उनले बताए ।
पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७–१७ करोड पानी उत्यकामा ल्याइनेछ । सुरुङलगायत अन्य संरचना ५१ करोड लिटर पानी ल्याउनका लागि निर्माण भइसकेको भन्दै उनले याङ्ग्री र लार्केको काम चाँडो अघि बढाउनुपर्ने बताए । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाएको छ ।
अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिएका छन्,ु शर्माले भने, डीपीआर स्वीकृत भएको छ, अब टेन्डर आह्वान गरेर काम अघि बढाउनमात्र बाँकी हो । नर्वे, क्यानडा, भारतलगायत मुलुकबाट विज्ञ मगाएर छलफल भएको उनले बताए । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलासम्म पुग्ने पहुँचमार्गको पनि काम सुरु भइसकेको छ ।
सडक विभाग र मेलम्ची विकास समितिले झन्डै २५ किमि सडक निर्माणको काम अघि बढाइसकेका छन् । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माणका लागि केही काम सुरु भइरहेको शर्माले बताए । याङ्ग्री र लार्के खोलाको पानी अम्बाथान हेडवक्र्स पुर्याउन करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।