काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि सरकारले विदेशी लगानी आकर्षित गर्ने बताइरहँदा गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता ६० प्रतिशतले घटेको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षभन्दा यो वर्षको चैतसम्म २२ अर्ब ३८ करोड रुपैयाँ कम विदेशी लगानी प्रतिबद्धता आएको हो।
गत आर्थिक वर्ष ०७४/७५ को चैतसम्म (नौ महिना) को अवधिमा ३८ अर्ब ३६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा यो आव ०७५/७६ को सोही अवधिमा १५ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ। सानादेखि ठूला उद्योगले लगानी गर्न कम्पनी रजिस्ट्रारमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिन्छन्। मुलुकमा राजनीतिक संक्रमण सकिएर स्थिर सरकार निर्माण भएसँगै लगानी बढ्ने विश्वास गरे पनि स्थिति उत्साहजनक देखिएको छैन।
लगानीको रकम नबढे पनि अनुमति लिने उद्योगको संख्या भने बढेको छ। गत वर्ष दुई सय १४ उद्योग तथा परियोजनाले अनुमति लिएकोमा यो वर्ष उक्त संख्या दुई सय ६६ छ। विभागका अनुसार यो वर्ष विदेशीले ८७ वटा उत्पादनमूलक उद्योगमा सात अर्ब ७८ करोड रुपैयाँ, पर्यटनका ८७ परियोजनामा पाँच अर्ब ५३ करोड, सेवा क्षेत्रका ८५ परियोजनामा एक अर्ब ९६ करोड रुपैयाँ, सूचना प्रविधिमा पाँच करोड १७ लाख, कृषि तथा वनमा एक अर्ब ५९ करोड रुपैयाँ लगानी गर्ने स्वीकृति लिएका छन्।
सरकारी अधिकारी भने स्वदेशी तथा विदेशी लगानीको वातावरण क्रमशः सुधार हुँदै जाने दाबी गर्छन्। सरकारले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिहरु पुनरावलोकन गरिरहेकाले लगानीकर्ताले पर्खिरहेको हुन सक्ने उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए। ‘भर्खर लगानी सम्मेलन सम्पन्न गरेका छौं,’ उनले भने, ‘धेरै नीति परिवर्तन भइरहकाले आगामी दिनमा विदेशी लगानी वृद्धि हुने अपेक्षा गरेका छौं।’ आजको नागरिक दैनिकमा समाचार छ ।