किन अवरोध गरिंदैछ गौतमबुद्ध विमानस्थलमा ? ‘खड्कियो रवीन्द्र अधिकारीको अभाव’
काठमाडौँ । आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पुर्याइएको छ । अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति प्रभावकारी नभइरहेका बेला आशाको सञ्चार गरेको आयोजनामा किन अवरोध हुन थाल्यो भन्ने आम चासो र जिज्ञासासमेत उत्पन्न भएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र सो आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने खासै ठूलो समस्या नभएको बताएको छ । निर्माण व्यवसायीले काम नै छाड्ने अवस्थामा पुग्नु ठूलो समस्या हो कि होइन भन्ने राससको जिज्ञासामा मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, “यो कुनै समस्या होइन, वार्षिकरुपमा खर्च हुने बजेट खर्च भइसकेको थियो, थप बजेटका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नमा केही ढिलाइ भएको हो ।” चालू आवमा सो आयोजनाका लागि रु ५९ करोड विनियोजित थियो र सो रकम खर्च भइसकेको छ । मन्त्रालयले आजै रु ७० करोड रकम आयोजनाका लागि उपलब्ध गराएको जनाएको छ । प्रवक्ता उपाध्याय आयोजनाले माग गरेअनुसारको रकम निकासा भइसकेकाले काममा कुनै समस्या नहुने ठान्छन् । राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले सम्पन्न हुने चरणमा रहेको सो विमानस्थल निर्माणमा देखिएको गति र उत्साहले देशभित्र केही हुँदैछ भन्ने विश्वास आम जनमानसमा पैदा भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीको भनाइमा आयोजनाको प्रभावकारी कार्यान्वयनमा समन्वयको कमीले गर्दा बजेटको अभावमा निर्माण व्यवसायीले काम नै छाड्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो । प्राधिकरणका आयोजना निर्देशक अधिकारी मन्त्रालयले समयमा निर्णय नगर्दा आयोजनामा बजेट अभाव देखिएकोे मान्छन् । यद्यपि मन्त्रालयका उच्च अधिकारी आजै रु ७० करोड आयोजनाका लागि निकासा भएको बताउँछन् । बजेट सकिएकाले तत्काल उपलब्ध गराउन आयोजनाले तीन साता पहिले नै मन्त्रालयसमक्ष माग गरेको थियो । मन्त्रालयका उच्चपदस्थ कर्मचारी तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले आयोजनामा रकम अभाव हुन नदिन आफैँ लाग्ने र भुक्तानीमा कुनै समस्या हुन नदिने गरी काम अगाडि बढाएको स्मरण गर्छन् । पछिल्लो समय आयोजनालाई समन्वय गरिदिने र समस्या फुकाइदिने नेतृत्वको अभाव देखिएको उनीहरुको अनुभव छ । केही दिनअघिसम्म विमानस्थलको धावनमार्गमा अन्तिम कालोपत्र भइरहेको थियो । यस्तै ट्याक्सी वे र अन्य भौतिक संरचनाको निर्माण जारी थियो । विद्युतीय उपकरणबाहेक विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत बढी भइसकेको थियो । दक्षिण एशियाली पर्यटन पूर्वाधार आयोजनाअन्तर्गत निर्माण भइरहेको सो विमानस्थलको ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । आयोजनाको शुरुआती लागत रु छ अर्ब २२ करोड ५१ लाख रहेको छ । रासस
ग्लोबल आईएमई लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने, चुक्ता पुँजी २२ करोड नाघ्ने
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले कूल ११ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो । बोर्डको अनुमति पाएपश्चात संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयरधनीलाई बिक्री गर्ने छ । माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ३५५ रुपैयाँ रहेको छ ।
प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी, ‘आर्थिक तथा व्यापारिक सम्बन्ध विकास’
काठमाडौँ । आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच सोमबार जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । आज आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर टाङ रेन्जियान तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुखमा काइयुनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले दुवै मुलुकका जनताको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताए । मुख्यमन्त्री पौडेलले उक्त समझदारीले आफ्नो प्रदेशमा जैविक विविधताका साथै प्राकृतिक स्रोत, खनिज पदार्थ रहेको र लगानीका पर्याप्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गरे । उनका समकक्षी गभर्नर रेन्जियानले आफ्नो प्रान्तका प्राकृतिक स्रोतका साथै विकासका विभिन्न आयामका बारे बताए । महानगर प्रमुख विद्यासुन्दर शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटनलाई विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
यूनिलिभर नेपालले ९ महिनामा कमायो २७ करोड ३६ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड १७ लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ को पहिलो ९ महिनामा कूल २५ करोड १९ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको कूल सम्पत्ति बढेर ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी र १२ करोड ३० लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरी कूल एक अर्ब ५४ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले एक अर्ब २० करोड ७९ लाख रुपैयाँ कूल खर्च गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९५ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३ रुपैयाँ बढी हो । गत आवको ९ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी २७४ रुपैयाँ रहेको थियो । त्यस्तै, पिई रेसियो घटेर १३.७५ र तरलता अनुपात १.७८ रहेको छ । प्रतिसेयर नेटवर्थ बढेर २ हजार ३७६ रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा एक हजार ७५० रुपैयाँ रहेको थियो । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २०० रुपैयाँ रहेको छ ।
रमजान महिनाका अवसरमा २ सय परिवारलाई खाद्यान्न सामग्री वितरण
काठमाडौँ । अरेबिक क्यालेन्डरको रमजान महिनाका अवसरमा कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाडौँका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । रमजान फूड प्याकेट डिस्ट्रीब्यूशन कार्यक्रम अन्तर्गत गरीब, विधुवा, अनाथ, असहाय पीड़ित घरपरिवारलाई प्रतिपरिवार २५ केजी चामल ,५ केजी पिठो, ३ केजी चना , ३ केजी चीनी ,५ लीटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको हो । कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केहि आवश्यकता भएपनि पूरा हुने बताए । दशैं तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ आफ्ना आवश्यकता हुने बताउँदै ती आवश्यकता पूरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको शेखले बताए । अरब देशको सबै भन्दा ठूलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए । कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो । कतार च्यारिटीले बिगत दुई बर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ। च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, बिद्यालयहरुमा चर्पी लगायतका आवश्यक पूर्वधार निर्माण, कम्जोर आर्थिक अवस्था भएकालाई बिभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ । च्यारिटीले केहि महिनाअघि मात्रै मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजी परिचालन गर्न सक्ने क्षमता विकास गर्नलाई काठमाडौँका बिपन्न परिवारहरुलाई पसल खोलिदिएको थियो । च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किराना पसल तथा १० जनालाई ठेला पसल सञ्चालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर-समानहरु हस्तान्तरण गरेको थियो । गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो । त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।
जीवन बीमा कम्पनीको चुक्तापूँजी २८ अर्ब, बीमाको पहुँच ८ प्रतिशतले वृद्धि
काठमाडौ । जीवन बीमा व्यवसाय गर्ने १८ वटा कम्पनीहरुको चुक्ता पूँजी २८ अर्ब ५१ करोड २६ लाख रुपैयाँ पुगेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्म बीमा कम्पनीहरुको चुक्ता पूँजी २८ अर्ब ५१ करोड पुगेको हो । सोही समयमा बीमा कम्पनीहरुको लगानी भने २ खर्ब २८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुको नगद तथा बैंक मौज्दात ३ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । चैत्र मसान्तसम्म बीमा शुल्क बापत ४५ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ संकलन भएको छ । बैदेशिक रोजगारतर्फ १ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ र जीवन बीमाका अन्यमा ४४ अर्ब २२ करोड ५३ लाख रुपैयाँ संकलन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । समितिका अनुसार कम्पनीहरुमा ३ अर्ब ६८ करोड २ लाख रुपैयाँ कुल बीमा दाबी गरिएको छ । चैत्र मसान्त सम्ममा ६२ करोड ९२ लाख रुपैयाँ कुल दाबी तिर्न बाँकी रहेको देखिन्छ । २४ करोड पूनर्बीमा शुल्क संकलन बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चैत्र महिनाको अन्त्यसम्ममा पूर्नबीमा शुल्क बापत २४ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । साथै, चैत्र महिनाको अन्त्यमा ९१ लाख रुपैयाँ पूनर्बीमा कमिशन प्राप्त भएको छ । त्यस्तै, चैत्र महिनाको अन्त्यसम्ममा पूनर्बीमाबाट व्यहोरिने कूल दाबी रकम ३२ करोड २२ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीको कार्यालय संख्या १ हजार ५ सय हालसम्म जीवन बीमा गर्ने बीमकको कुल कार्यालय संख्या १ हजार ५ सय १३ रहेका छन् । कर्मचारीको संख्या भने ४ हजार ६ सय ८ रहेको छ । बीमा समितिबाट इजाजतपत्र लिई हाल सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ३९ रहेको छ । सो मध्येमा निर्जीवन बीमा व्यावसाय गर्ने कम्पनीको संख्या २० रहेको छ भने जीवन बीमा व्यवसाय गर्ने कम्पनी १८ रहेको छ । साथै, एउटा पूनर्बीमा कम्पनी (नेपाल रि) समेत रहेको छ । बीमाको पहुँच १८ प्रतिशत, २० प्रतिशत पुग्ने आँकलन पछिल्लो समय जीवन बीमाको पहुँच ८ प्रतिशतले वृद्धी भएको पाईन्छ । हाल बीमा पेनेट्रेसन १८ प्रतिशत कायम रहेको छ । ‘चालु आर्थिक बर्षको अन्त्यसँगै बीमाको पहुँच २० प्रतिशत पुग्ने आँकलन गरेका छौँ’-बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिकासन्यूजसँग भने । उनले पहिले र अहिलेको बीमा समितिको कार्यशैली र हेर्ने आँखामा केही भिन्नता रहेको बताए ।
वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिले जान्नैपर्ने ३२ कुरा
काठमाडौं। वैदेशिक रोजगारको लागि वर्षेनी लाखौं मानिसहरु विदेशिने गरेका छन्। विदेशको निती नियम मात्र नभएर आफ्नै देशको निती नियम थाहा नपाउँदा पनि हजारौं मानिसहरु ठगिने गरेका छन्। सरकारले सेवा शुल्क १० हजार बाहेक अन्य कुनै पनि शुल्क लिन नपाईने तोकेको भएता पनि यो भने कतै पनि लागु भएको देखिदैन। त्यस्तै वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने गरेका छन्। कमजोर शैक्षिक योग्यता, वैदेशिक रोजगार सम्बन्धी चेतनाको कमी, आफुले केही बुझ्न नचाही धेरै अरुमा भरपर्ने कारण मानिसहरु ठगिने मुख्य कारण देखिन्छ। यसरी ठगिदा कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ । यसर्थ बैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्याइ यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र बैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुले तल दिईएको कुरामा बिशेष ध्यान दिन जरुरी छ : १. बैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन ? तथा खारेजीमा परेको छ छैन ? बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ । २. बैदेशिक रोजगारमा जांदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ । ३. बैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनुहोस ठगिने वढी सम्भावना हुन्छ । ४. आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।५. इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला । ६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् । ७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् । ८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस् । ९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् । १०. कल्याणकारी कोषमा रु १,५००।- बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन । ११. विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखिकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोस् । सो अभिमुखिकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ । १२. वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् । १३. कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुदै हवाई टिकट खरीद नगर्नु होला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस । यदि कसैले तपाईलाई ललाईफकाई लैजादै छ भने स्थानीय प्रहरीलाई खवर गर्नुहोस । १४. लुकीछिपी जाँदा कानूनी कार्वाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनुहोस् । १५. बैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नं. १६६००१०९९९९ को व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस । साथै बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ । १६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा बैदेशिक रोजगारमा पुन: जाँदा अनिवार्यरुपले पुन: श्रम स्वीकृति (नविकरण) लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नविकरण गर्नुहोस् । १७. कुनै पनि व्यक्तिले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, बैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् । १८. बैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा बैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्धन वोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित लट नम्बर टाइप गरि ३४००१ मा म्यासेज गरि आधिकारिकता बुझ्नुहोस । (उदाहरणको लागि Lt No: 202020 छ भने LT<space>202020 टाईप गरि ३४००१ मा म्यासेज गर्नुहोस्) १९. बैदेशिक रोजगारमा जाँदा एचआईभी/एड्स तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला। श्रम रोजगार तथा सामाजिक मन्त्रालय, सिंहदरबार २०. बैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ती नगर्नुहोस् । २१. मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिएमा विभागमा सम्पर्क गर्नुहोला । विदेशबाट नेपालमा पैसा पठाउने तरिकाहरु सम्बन्धी जानकारी १. विदेशबाट नेपालमा पैसा पठाउन के के तरिकाहरु छन् ? विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ । रेमिटेन्स कम्पनीका उदाहरणहरु Western Union : Money Transfer, IME, Money Gram आदि हुन् र बैंक खाता भन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ । रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ । फाराममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ । बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तराष्ट्रिय सञ्चाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तराष्ट्रिय कोड जसलाई स्विफ्ट कोड SWIFT (Society for Worldwide Interbank Financial Telecommunication) Code भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ । पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने कुराहरु : क) उमेर र विवरण १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ । रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन । वैदेशिक रोजगर विभाग, काठमाडौं कार्यलय, ताहचल ख) संस्थागत पहल वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ । संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन ।व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ । ग) आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ । वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता वापत् कति रकम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ। राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ । घ) तालिम तथा सुरक्षा वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ । एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन । वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ । ङ) पूर्व तयारीको अवलम्बन वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन । च) क्षतिपूर्ति कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ । छ) विदेशमा सम्पर्क र समन्वय नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ । ज) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन । झ) वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ । ञ) स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।
मिसन डेभलपमेन्ट बैंकले जेठ १७ गते बोलायो विशेष साधारणसभा, कहाँ बस्दै छ ?
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आगामी जेठ १७ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाको वैशाख ३० गते बसेको संचालक समितिको बैठकले सो दिन विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीको सुख्खानगर स्थित आम्रपाली कटेज एण्ड रेष्टुरेन्ट प्रालिको सभाहलमा बस्दै छ ।