
काठमाडौ । जीवन बीमा व्यवसाय गर्ने १८ वटा कम्पनीहरुको चुक्ता पूँजी २८ अर्ब ५१ करोड २६ लाख रुपैयाँ पुगेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्म बीमा कम्पनीहरुको चुक्ता पूँजी २८ अर्ब ५१ करोड पुगेको हो । सोही समयमा बीमा कम्पनीहरुको लगानी भने २ खर्ब २८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुको नगद तथा बैंक मौज्दात ३ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ रहेको समितिले जनाएको छ ।
चैत्र मसान्तसम्म बीमा शुल्क बापत ४५ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ संकलन भएको छ । बैदेशिक रोजगारतर्फ १ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ र जीवन बीमाका अन्यमा ४४ अर्ब २२ करोड ५३ लाख रुपैयाँ संकलन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । समितिका अनुसार कम्पनीहरुमा ३ अर्ब ६८ करोड २ लाख रुपैयाँ कुल बीमा दाबी गरिएको छ । चैत्र मसान्त सम्ममा ६२ करोड ९२ लाख रुपैयाँ कुल दाबी तिर्न बाँकी रहेको देखिन्छ ।
२४ करोड पूनर्बीमा शुल्क संकलन
बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चैत्र महिनाको अन्त्यसम्ममा पूर्नबीमा शुल्क बापत २४ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । साथै, चैत्र महिनाको अन्त्यमा ९१ लाख रुपैयाँ पूनर्बीमा कमिशन प्राप्त भएको छ । त्यस्तै, चैत्र महिनाको अन्त्यसम्ममा पूनर्बीमाबाट व्यहोरिने कूल दाबी रकम ३२ करोड २२ लाख रुपैयाँ रहेको छ ।
जीवन बीमा कम्पनीको कार्यालय संख्या १ हजार ५ सय
हालसम्म जीवन बीमा गर्ने बीमकको कुल कार्यालय संख्या १ हजार ५ सय १३ रहेका छन् । कर्मचारीको संख्या भने ४ हजार ६ सय ८ रहेको छ । बीमा समितिबाट इजाजतपत्र लिई हाल सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ३९ रहेको छ । सो मध्येमा निर्जीवन बीमा व्यावसाय गर्ने कम्पनीको संख्या २० रहेको छ भने जीवन बीमा व्यवसाय गर्ने कम्पनी १८ रहेको छ । साथै, एउटा पूनर्बीमा कम्पनी (नेपाल रि) समेत रहेको छ ।
बीमाको पहुँच १८ प्रतिशत, २० प्रतिशत पुग्ने आँकलन
पछिल्लो समय जीवन बीमाको पहुँच ८ प्रतिशतले वृद्धी भएको पाईन्छ । हाल बीमा पेनेट्रेसन १८ प्रतिशत कायम रहेको छ ।
‘चालु आर्थिक बर्षको अन्त्यसँगै बीमाको पहुँच २० प्रतिशत पुग्ने आँकलन गरेका छौँ’-बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिकासन्यूजसँग भने । उनले पहिले र अहिलेको बीमा समितिको कार्यशैली र हेर्ने आँखामा केही भिन्नता रहेको बताए ।