स्याङ्गजाको झलुङ्गेमा कामना सेवाकोे ८४औं शाखा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा सोमबार ८४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।
सञ्चालन भएकाे एक महिनामै इन्फास्ट्रक्चर बैंकले कसरी कमायाे ४९ करोड नाफा ?
काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले एक महिनामै ४९ करोड रुपैंया खुद नाफा कमाएको छ । फागुन २२ गते मात्रै औपचारिक शुभारम्भ भएको नेपाल इन्फास्ट्रक्चर बैंकले चैत मसान्तसम्ममा ४९ करोड, ६७ लाख ९८ हजार रुपैंया खुद नाफा आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको हो । ठूला र पूर्वाधार लगानीका क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यले स्थापित १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले उक्त अवधिमा चुक्ता पुँजीबापत उठाएको रकमको लगानीबापत २८ करोड ४५ लाख ३५ हजार रुपैंया ब्याज आम्दानी गरेकोमा १० करोड २१ लाख ६ हजार कर्मचारी खर्च र १ करोड १ करोड २७ लाख ३३ हजार ब्याज खर्च गरी गर्दा करपछि उक्त परिमाणमा नाफा कमाएको हो । इन्फास्ट्रक्चर बैंक औपचारिक रुपमा सञ्चालनमा आए पनि हालसम्म जनताबाट कुनै निक्षेप संकलन भने गरेको छैन भने कर्जा लगानी समेत गरेको छैन । नेपाल इन्फास्ट्रक्चर बैंकले जनताबाट निक्षेप उठाउन त पाउँछ तर कर्जा लगानी भने आफ्नै निक्षेप धितोमा राखेको अवस्थामा बाहेक सर्वसाधारण जनता वा व्यवसायिक फर्महरुमा गर्न पाउँदैन । हाल बैंकले गरेको ब्याज आम्दानी बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको सापट वा सरकारी ऋणपत्रमा गरेको लगानीको प्रतिफल हो । हाल इन्फास्ट्रक्चर बैंकले आफ्नै बैंकभित्र भौतिक तथा मानवीय पूर्वाधार निर्माण गर्दैछ भने लगानीसम्बन्धी योजना निर्माण गरिरहेको छ । नयाँ आर्थिक वर्षसँगै बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न सुरु गर्ने सम्भावना रहेको बैंक स्रोतले जनाएको छ । बैंकले कमाएको ४९ करोड नाफा भने एक महिना अवधिको मात्रै नभएर प्रोमोटरहरुको चुक्ता पुँजी भुक्तानी भएको दिनदेखिको भएको समेत बताइएको छ ।
ढुंगेधारामा प्रभु बैंकको शाखा कार्यालय बिस्तार
काठमाडौँ । प्रभु बैंकले काठमाण्डौ महानगरपालिकावडा नं. १५, ढुंगेधारामा सोमबारदेखि शाखा कार्यालय सञ्चालन गरेको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोह बीच उद्घाटन गरेका हुन् । प्रभु बैंक लि.का सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य व्यक्त गरे । प्रमुख अतिथिको तर्पmबाट मन्तव्य राख्दै डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा धन्यबाद ज्ञापन गरे ।
शिवश्री हाइड्रोपावरले साढे ३३ करोडको आईपीओ ल्याउँदै
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले कुल ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमो ओवदन दिई प्रकृया अघि बढाइसकेको छ । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत आईपीओ जारी गर्न गत चैत १७ गते नै बोर्डसँग अनुमति मागेको हो ।
अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?
भरतपुर । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । “उत्पादन लागत नोक्सानीमा थियो”, उनले भने, “लागत मूल्यअनुसार अझै कम मूल्य हो”, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए । वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु २९० बाट घटाएर रु २०० कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु २०० मूल्य तोकेको जनाएको थियो । किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो । “अण्डाको मूल्य घट्ने/बढ्ने भइरहन्छ, कँडेलले भने, बजारको अवस्था हेरेर २५० देखि ३०० औशतमा मूल्य निर्धारण हुने गरेको छ ।” कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ । एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । दैनिक ४५ लाख अण्डा उत्पादन, १ लाख ५० हजारलाई रोजगारी नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । ८० अर्बभन्दा बढी लगानी देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी रहेको छ । रासस
चीनका पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय, सम्पत्ति राज्यकोषमा जम्मा गर्न आदेश
बेइजिङ । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौँ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ । अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ । उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिएको पनि अदालतले जनाएको छ ।रासस/सिन्ह्वा
शिवम् सिमेन्टको ९ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, करोडौंको कारोबार हुँदा १० प्रतिशतले बढ्याे सेयर मूल्य
काठमाडौं । पछिल्लो समय शिवम् सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेकाे छ । चालु आवकाे ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको दिन(साेमबार) कम्पनीको ११ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ । सोमबार कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । अघिल्लो दिन प्रतिकित्ता ४५२ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य सोमबार बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा बन्द भएको हो । जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढी हो । समग्रमा सोमबारको नेप्से परिसूचक ६.३० अंकले बढेर १३०१.३४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशत बढी हो । सो दिन कुल १६९ कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी
हजारमा १ शिशुलाई हुन्छ आँखाको क्यान्सर, तिलगंगा अस्पतलामा सचेतना सप्ताह मनाइँदै
काठमाडौं। तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन भईरहेको छ। रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशानुगत पनि हुन सक्छ। यसको लक्षणमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्यरुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सकको भनाइ छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्न सक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने प्रतिष्ठानले जनाएको छ। लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ। सप्ताह उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले यस रोगबारे जनचेतना जगाउन हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी गराउन सक्यौँ भने पनि ती महिलाले समयमै उपचारका लागि ल्याउन सक्ने धारणा व्यक्त गरिन्। तिलगङ्गा आँखा प्रतिष्ठानले यस रोगको उपचार र जनचेतनाका लागि गरेको पहलको प्रशंसा गर्दै उनले पैसाका कारण उपचार गराउन नसकेका बिरामीका लागि पनि लागि के कस्तो सहयोग गर्न सकिन्छ यसमा सरकार हातेमालो गर्न तयार रहेको जानकारी दिइन्। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले गाउँ घरका धेरै बिरामी शुरुमा जचाँउन सामुदायिक आँखा केन्द्र जाने भएकाले यस रोगको चेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रले प्राथमिकताका साथ गरिनुपर्ने उल्लेख गरे। उनले सबै सञ्चारमाध्यम प्रयोग गरी यस किसिमका बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्न सकिनेमा जोड दिए। आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकारले प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्नेसम्बन्धी जानकारी दिइन्। उनका अनुसार वार्षिक ३५ देखि ४० को सङ्ख्यामा यस रोगका नयाँ बिरामी आउने गरेका छन्। पहिलेपहिले उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि यस रोगको उपचार गर्ने गरिएको छ। सो अवसरमा क्यान्सरपीडितको उपचारार्थ ओपन आई ग्लोबलले ४० जनाका लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन प्रतिष्ठानलाई रु चार लाख उपलब्ध गराएको थियो। नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत छ भने विकसित देशमा एक प्रतिशतभन्दा कम पाइन्छ। प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा बेन लिम्बूले शिक्षा र जनचेतनाको अभावले यस रोगका बिरामी ढिलो आउने, अर्थाभावका कारण उपचार नगरी फर्कने देखिएको र कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसकिएको स्थितिबारे आफूहरुले सात प्रदेशको २७ अस्पतालमा अनुसन्धान गर्न थालेको जानकारी दिए। सप्ताहभरि नै जनचेतनाका लागि पर्चा, पम्प्लेट, स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोगका लक्षणसम्बन्धी तस्बीर देखाउने, विद्यालय, अस्पताल, समुदायमा पोस्टर टाँस्ने, आमसञ्चारका विभिन्न माध्यमबाट जानकारी दिइने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु कुँवर केसीले जानकारी दिइन्।