सहकारीका सञ्चालक फरार, २ हजार जनाभन्दा बढीको २४ करोड फसेको अनुमान
काठमाडौँ । बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ । सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए । गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो । वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो । कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । पीडितहरूका अनुसार फसेको रकम उठाउने नाममा टाठाबाठा पीडितहरूले भित्रभित्रै कुरा मिलाउन रआफ्नो मात्रै पैसा उठाउन लागिपरेका थिए । २०६५ पछि सानु ठकुरीको अध्यक्षतामा सञ्चालनमा आएको सहकारीले सात वर्षयता वार्षिक लेखापरीक्षण पनि नगरेको वडाध्यक्ष तामाङले बताए । आफ्नै दाइ, भाइ र भिनाजुको समेत सहकारीमा १३ लाख फसेको सुनाउँदै उनले भने, ‘फसेको रकम उठाउन अनेक प्रयत्न गर्यौं । अहिले त सञ्चालकहरू नै फरार भए ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
चार वटा वाणिज्य बैंकमा उच्च पद खाली, धेरै बैंकहरु नतिजामुखी सीईओको खोजीमा
काठमाडौं । चर्को प्रतिस्पर्धाबीच वाणिज्य बैंकहरुमा नतिजामुखी प्रमुख कार्यकारी अधिकृतहरुको खोजी शुरु भएको छ । चार वटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली हुँदै छ भने कार्यसम्पादन नतिजा कमजोर भएका बैंक सञ्चालक समितिहरु पनि नयाँ सीईओको खोजी रहेको बुझिएको छ । ग्लोबल आईएमई बैंकमा चार महिनादेखि प्रमुख कार्यकारी पद खाली छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत जनकराज शर्माले माघको पहिलो साता राजीनामा दिएपछि उक्त बैंकमा कामु सिईओको रुपमा महेश ढकाल कार्यरत छन् । सरकारको बजेट आएपछि मात्र बैंकले नयाँ सीईओ राख्ने तयारी गरेको स्रोतले बतायो । ‘बजेटमा मर्जर नीति आउने सम्भावना छ । सरकारको नीतिले मर्जमा जानु पर्ने अवस्था आयो भने परिस्थिति अर्कौ बन्छ’ स्रोतले भन्यो । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत पद खाली छ । देबेन्द्रप्रताव शाहको कार्यकाल गत चैतदेखि सकिएको हो । सरकारी सेयर बहुमत भएको यस बैंकमा सरकारले बैकिङ बुझेको नेकपाको क्याडर खोजी गरिरहेको छ । सनराईज बैंकमा रत्नराज बज्राचार्यको कार्यकाल सकिएको छ । चार वर्षे कार्यकाल सकिएपछि बज्राचार्यले बैंक छोडेका हुन् । सनराईजले बैंकभित्रबाट भन्दा बाहिरबाट नयाँ सीईओको खोजी गरिरहेको स्रोतले बतायो । उता प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको पनि कार्यकाल सकिन लागेको छ । बैंक स्थापनाकाल देखि नै सीईओ रहेका मानन्धर थप कार्यकालको लागि अनिच्छुक रहेकोले सञ्चालक समितिले नयाँ सीईओको खोजी शुरु गरेको छ । उता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहालले पनि वर्हिगमन खोजेको स्रोतले बतायो । कार्यकाल बाँकी नै भए पनि पछिल्लो समय उनी तनावमा रहेको र उनले सानिमा बैंक छोडेर विदेश जाने इच्छा प्रकट गरेको उनी निकट स्रोतले बतायो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा केही बैंकको नाफा ५० प्रतिशतभन्दा माथि हुँदा केही बैंकको नाफा वृद्धि ऋणात्मक भएको छ । केहीको नाफा वृद्धि १० प्रतिशतभन्दा पनि कम देखिएको छ । व्यवसाय र नाफा विस्तार दुबैतर्फ कमजोर रहेका बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु उच्च दवावमा परेका छन् । ती बैंकका सञ्चालक समिति नतिजामुखी सीईओको खोजीमा देखिएको जानकारहरु बताउँछन् । एकै पटक धेरै बैंकहरु प्रमुख कार्यकारी अधिकृतको खोजिमा रहेकाले आकांक्षीहरुको दौडदुप पनि चलेको छ । कुलिङ पिरेड सम्बन्धी नीतिका कारण वहालवाला सीईओहरुलाई संस्था परिवर्तन गर्न सजिलो छैन । त्यसैले खाली रहेको पूर्व सीईओहरुको सक्रियता बढी देखिएको छ ।
एनएमबी बैंकद्वारा सामुदायिक विद्यालयलाई ६६ थान डष्टविन वितरण
काठमाडौँ । एनएमबि बैंकको ५ नं. प्रदेशको कपिलवस्तु जिल्लामा रहेको बैंकको पकडी शाखाले मायादेवी गाऊँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ । उक्त अवसरमा शहरी विकाश मन्त्री महमद स्तियाद राई, गाऊँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका ३००० भन्दा बढी स्थानीयको उपस्थित थियो । त्यसैगरी, बैंकको चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकाका आगलागी पिडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामानहरु प्रदान गरेको छ । सो अवसरमा संघीय संसदका सदस्य अर्जुनकुमार के.सी., शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा चेम्बर अफ कर्मसका अध्यक्ष महादेव पोखरेल लगायतको उपस्थिती थियो । उपरोक्त राहत सामाग्रीहरु बैंकका प्रदेश नं. ५ का मेनेजरहरु दिविरविक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
पूँजीवादी क्रान्तिको बहसमा पर्न चाहन्न, निजी सम्पतिबारे छलफल गरौंला
काठमाडौं । वित्तिय संघीयताको कार्यान्वयनमा प्रश्न उठाउनुपर्ने कारण छैन् । तीनै चरणको निर्वाचन भएर ७६१ वटा सरकार बनिसकेका छन् । हामी त्यसको सफल कार्यान्वयन गराउने प्रयासमा छौं । खर्चको बाडफाँट, जिम्मेवारी बाडफाँटको प्रक्रिया मुलभूत रुपमा अघि टुंगीसकेको छ । हामी पहिले भन्दा धेरै व्यवस्थित भएका छौं । त्यसकारण संघीयता कार्यान्वयनमा सरकारको नियतमाथी प्रश्न नगर्दा हुन्छ । अब संघ, प्रदेश र स्थानीय तहको सहकार्य अनिवार्य छ । संघले पनि निजी र सहकारीसँग सहकार्य गर्छ । प्रदेश र स्थानीय तहले पनि त्यसरी नै सहकार्य गरोस । त्यति मात्रै होइन, नेपालप्रति सदासयता राख्ने सहयोगी विदेशी देश र निकायहरुको सहयोग पनि अनिवार्य छ । हामीले अन्तराष्ट्रिय आर्थिक सिद्धान्तलाई पनि भुल्नु हुन्न । हामी एक्लो टापुमा बसेर बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दैनौं । अन्तर सम्बन्धित विश्व छ, त्यसको मर्म र अपरिहार्यतालाई हामीले मान्नै पर्नेछ । आजको वस्तुस्थितीलाई आत्म साथ गरेर हामीले अघि बढ्नुपर्नेछ । हामीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको प्रतिवद्धता संबिधान मार्फत नै गरेका छौं । कसैलाई लाग्ला समाजमा यति धेरै अगाडी बढ्नु आवश्यक थिएन की वा कसैलाई लाग्न सक्छ अझै चाँडो फड्को मार्न सकेको भए हुनेथियो । हामीले मध्यमकालमा संबिधानले दिएको सिमा र दायरा भित्र रहेर समाजवाद उन्मुख अर्थतन्त्रको आधार खोज्नुपर्छ । भोलीका दिनहरुमा निजी सम्पतिका बारेमा, प्राकृतिक श्रोत साधनमाथी व्यक्तिको स्वामित्का बारेमा, सम्पतिको सिमाका बारेमा कसले कसरी छलफल गर्छ, त्यो विकसित हुँदै जाने कुरा हो । समयसँगै त्यस्तो बहस पनि गरौंला । आज संबिधान मै तिन खम्बे अर्थनीति भनिएको छ । सरकार, निजी क्षेत्र र सहकारीको परिपुरक भूमिका भनिएको छ । तीन वटै क्षेत्रले समृद्धिको मार्गमा अघि बढ्ने र प्रष्फुठित हुने मौका पाउनुपर्छ भनिएको छ । अहिलेको बजेट निर्माणको आधार त्यहि नै हो । त्यो भनिरहँदा हामीले संबिधान त सबै नागरिकलाई आधारभूत सेवा नदिईकन समृद्धिको आधार नै तयार हुन्न । त्यसैले संबिधान मै मौलिक हकहरुको व्यवस्था गरिएको हो । मौलिकहरुको कार्यान्वयन त आधारभूत कुरा मात्रै हो हामीले नागरिकका लागि अझै धेरै काम गर्नुपर्नेछ । अब हामीले राष्ट्रिय पुँजी निर्माण गर्नुपर्नेछ । यहाँ बहस चलिरहेको छ पुँजीवादी क्रान्ति र पुँजीवादको विकास । म त्यो बहसमा पर्न चाहान्न । मेरो कुरा के हो भने राष्ट्रिय पुँजीको निर्माण नगरि सबल अर्थतन्त्र निर्माण हुँदैन् । त्यसका लागि हाम्रो राष्ट्रिय बचत गर्ने क्षमता, बचतलाई उत्पादक ढंगले उत्पादक शक्तिका रुपमा परिचालित गर्ने क्षमता र त्यसका आधारमा असल उत्पादन सम्बन्धबाट हामीले न्यायिक समाज र समृद्ध अर्थतन्त्र निर्माण गर्दै जाने कुरा महत्वपूण हो । र त्यहि जगमा हामीले सामाजिक सुरक्षालाई बढाउँदै जाने हो । राज्यले संरक्षण गर्नुपर्ने वर्ग, क्षेत्र र लिंगका सबैले राज्य छ भन्ने अनुभूति दिलाउने गरि अघि बढ्ने हाम्रो सोँच हो । यहि सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक बर्षको बजेट तर्जुमा हुनेछ । बजेटको प्राथमिकता के भन्ने प्रश्न छ । सम्पूर्ण नेपालीहरुको उज्यालो अनुसार हाम्रो प्राथमिकता हो । समृद्ध नेपाल सुखी नेपाली भनेपछि नेपालीको अनुहारमा खुसी ल्याउनलाई जे गर्नुपर्छ ती कामहरु हाम्रो प्राथमिकतामा पर्छन् । कृषि प्राथमिकता, उद्योग, यातायात प्राथमिकता भनेर अल्झेर बस्दैनौं । मान्छेलाई प्राथमिकतामा नराखेर के के क्षेत्रलाई प्राथमिकतामा राख्ने हो र ? सडक बनेपछि सडकमा यात्रा गर्न सक्ने गरि हाम्रो क्षमता विकास भएन भने के गर्ने ? कृषिको एक पक्षिय विकास भएर कृषिमा काम गर्नेहरु चाँही विस्थापित हुने अनि सिमित वर्गले मात्रै लाभ लिने अवस्था बन्यो भने के गर्ने ? हामीले त्यहाँ भित्रका हाम्रा समावेशीता, समन्यायिकता र जुन किसिमले समामतामुलक समाज निर्माण गर्ने भनेका छौं, त्यसका पछाडी सिंगो नेपाली जातिको हित समेटिएको हुनेछ । कृषिको उत्पादनले मात्रै हुन्न, बजारका लागि सडक चाहिन्छ, त्यसका लागि बिजुली चाहिन्छ, प्रविधि, सिँचाई चाहिन्छ, कृषि ज्ञान क्षेत्रहरु पनि चाहिन्छ । हामीले आफ्ना प्राथमिकताहरु तय गरेका छौं । पहिलो कुरा उत्पादनशिल नागरिकले काम पाउनु पर्यो । काम गरेपछि मर्यादित र जीवन निर्वाह गर्न सक्ने ज्याला पाउनु पर्छ । स्वरोजगारीमा छ भने उसले स्वतन्त्र र स्वाभिमानी ढंगले व्यवसाय गर्न पाउनु पर्छ । असक्त अपांग र जेष्ठ नागरिकलाई राज्यले संरक्षण गर्नु पर्छ । हामीले जनसंख्या र भुगोलको सन्तुलनमा मापदण्ड बनाएरै श्रोत साधनको बाडफाँट गरेका छौं । यसपाली मानव विकास सूचांकलाई पनि राम्रोसँग समेटिनेछ । संघ, प्रदेश र स्थानीय तहले गर्ने आयोजनाहरुको स्पष्ट वर्गिकरण पनि यसपाली हुनेछन् । तीनै तहको साँझेदारीको मोडल पनि यसपाली स्पष्ट हुनेछ । अधिकार बाडफाँटका धेरै कुरा मिलिसकेका छन्, कुनै कुरा बाँकी रहेछ भने पनि यसपाली मिल्छ । शिक्षा र स्वास्थ्यमा धेरै काम गर्नुपर्नेछ । हिमाली र उच्च पहाडी क्षेत्रमा आवासिय शिक्षा र सामुदायिक विद्यालयको सुधारका कुरा छन् । साधारण शिक्षाबाट प्राविधिक शिक्षा प्रणाली विकास गर्नुपर्नेछ । स्वास्थ्यमा पनि साधारण रोगदेखि जटिल प्रकृतिका रोगहरुको सर्वसुलभ निदानको कुरा बजेटमा आउनेछ । सरकारको नीति तथा कार्यक्रममै रोजगारीको संख्या तोकिएको छ । अबको रोजगारी भनेको कृषिको वरिपरिबाट ठुलो मात्रामा प्राप्त हुनेछ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण मार्फत त्यस्तो रोजगारी सृजना हुनेछ । पर्यटन र सार्वजनिक निर्माणबाट पनि रोजगारी लिने योजना छ । सेवा क्षेत्र र औद्योगीक क्षेत्रबाट पनि केहि रोजगारीको अवसर सृजना हुनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पनि केहि रोजगारीको अवसर आउँछ । वैदेशिक रोजगारी घटाउने योजना नै हो, त्यसलाई निरुत्साहित गर्ने योजना नै हो । हामी बिप्रेषणलाई नजरअन्दाज गर्ने अवस्थामा छैनौं र त्यसले नै देश चलाउने सोँचमा पनि छैनौं । आत्मनिर्भर अर्थतन्त्र बनाउने नै हो । सहकारीको बिरोधको आवाज पनि सुनियो । हामीले गलत कुराको बिरोध गर्दा एउटा असल प्रणालीको अन्त्य गर्नु हुन्न । उत्पादनका साधनहरुलाई क्रमशः सामुहिकरण नगर्ने हो भने व्यक्ति केन्द्रित पुँजीवादको विकास हुन्छ । त्यसले हामीलाई समाजवाद तर्फ जान दिँदैन् । त्यसकारण उत्पादनका साधनहरुको सामुहिकरण गर्ने क्रममा आएका बिकृतिहरुलाई हटाउँदै लैजानुपर्छ । नत्र त सामुदायिक वनमा, लघु वित्तमा, बैंक तथा वित्तिय संस्थामा पनि विकृति छन् । हामीले यी सबैमा समय सापेक्ष सुधार गर्दै जानुपर्छ । अर्काे कुरा कर तिर्ने कुरामा, तिरेको करको सदुपयोगको कुरामा, कर दाता मैत्री कर प्रशासनका सन्दर्भमा हामी सचेत छौं ।-राष्ट्रिय सभा बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा उठेका जिज्ञासाहरुको जवाफ
स्वपनील शर्माको नयाँगीत ‘जोसिलो छ गोर्खाली’ भिडियो सहित सार्वजनिक
काठमाडौं । संगीतकार, गायक र रचनाकार स्वपनील शर्मा नयाँगीत ‘जोसिलो छ गोर्खाली’ नेपालीलाई समर्पित गीत सार्वजनिक भएको छ । यो गीतले वीर गोर्खाली मुटु र नेपालीको जिवन्त भावनालाई सम्मान गर्दै नेपालीको वास्तविक भावनालाई समेटेर निर्माण गरेका छन् । ‘नेपाली पन, गोर्खाली मन’ झल्कने सो गीत गोर्खा नेपालबाट सार्वजनिक गरेको हो । गीत हेर्नका लागि तल क्लीक गर्नुहोस् । https://www.youtube.com/watch?v=yCPZJ0iisYM&list=RDyCPZJ0iisYM&start_radio=1
रोडिज् सँगै यामाहा एफजी राइडरहरु पुगे लोमान्थाङ, १३१४ किमिको दूरी ८ दिनमा पूरा
काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को टोलीले १२६०० फिटको उचाई १३१४ किमिको दूरी ८ दिनमा पूरा गरेको छ । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै एफजी राइडरले आफ्ना यामाहा एफजीमा अति सावधानीपूर्वक गन्तव्यमा पुगेरै छाडे । एफ १ प्रविधि र एबिएस जडित एफ जेड पहिलो त्यस्तो १५० सिसि समुहको बाइक हो, जसले कुनै पनिप्राविधिक समस्याहरु बिना यो कठिन यात्रा तय गरेको छ । यो रेकर्ड एफ जेडको पहिलो सिरिज प्रस्तुत गर्दा सगरमाथाको आधार शिविरमा राखेको रेकर्डपछिको अर्को रेकर्ड भएको कम्पनीले जनाएको छ । उक्त टिममा हिमालयन रोडिजका निर्णायकहरु रेमनदास श्रेष्ठ, दियामास्के, र यस सिजनकाविजेता सागरसहित ११ जना आकाँक्षी रोडिजहरु जसलाई विभिन्न शहरमा गरिएको रोडिज क्रियाकलापमार्फत् चयन गरिएको थियो । कम्पनीका सिइओ चिरञ्जीवी शाह भने–‘लोमाथाङ्ग यात्राले हाम्रा बाइहरुले कठिन अवस्थाका सडकलाई पनि झेग्ने क्षमता राख्ने पुष्टी भयो ।’ त्यसैगरी एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल भने–‘यामाहाले विगतमा पनि नियमित रुपमा यसप्रकारको बाइक चलाउने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । तर, यो आजको मितिसम्मका कार्यक्रमहरुमध्ये सर्वाधिक ठूलो हो । हामी सबै यामाहा चालकहरुसँग मजबुत ढँगले बाँधिन चाहन्छौं ।’
तिनाउ विकास बैंक जेठ १७ गते विशेष साधारणसभा बस्दै
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेड आगामी जेठ १७ गते विशेष साधारणसभा बस्दै छ । वैशाख ३० गते बिहान बसेको विकास बैंकको संचालक समितिको बैठकले उक्त दिन विशेष साधारणसभा गर्ने निणर्य गरेको हो । उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीस्थित कालिकानगरको क्लब डेनोभो प्रा.लिको सभा हलमा बस्ने छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल ४६ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १६६ रुपैयाँ रहेको छ ।
सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । र्नुभयो । सम्झौता पश्चात बैंकका ग्राहकहरुले प्रभु इन्स्योरेन्सको बीमा सेवा पाउने छन् ।