विकासन्युज

एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको वैवाहिक स्वर्ण जयन्ती मनाइयो

काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । ग्रुपका अध्यक्ष तथा उनकी धर्मपत्निको वैवाहिक स्वर्ण जयन्तीका अवसर जिल्लाको सिमरामा विशेष कार्यक्रम गरियो । बैशाख २१ गते ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उनको धर्म पत्नीको ५० औं वैवाहिक स्वर्ण जयन्ती समारोहका निम्ति दुगड दम्पती लगायत सम्पूर्ण परिबारलाई श्र विशेष निम्तो दिएका थिए । निम्तोलाई स्वीकार्दै मोतिलाल, श्रीमती, छोरा, बुहारी, नातीहरु सहित जितपुरको दुगड कार्यालयमा गएका थिए । बाजागाजा सहित उनलाई स्वागत गर्दै कार्यक्रममा दम्पतीको वरमाला सहित पुनः विवाहको कार्यक्रम गरिएको थियो । कार्यक्रममा ८५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका पुर्व कर्मचारी र उनका परिवार सहभागी भएका थिए । कार्यक्रम दुगड ब्रदर्श एण्ड सन्स प्रालिका सिनियर जनेरल म्यानेजर वेदप्रकाश शर्माको संयोजकत्व र कार्यक्रम संचालन एमभि दुगड ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । उद्योगी मोतीलाल दुगड़ र छोरा विवेक दुगड़ले कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । एमभी दुगड ग्रुप अन्र्तगत काठमाण्डौका हाईड्रोपावर र अटोमोवाईल्स काकर्मचारीहरुले पनि अब द्राश्रो चरणको कार्यक्रम काठमाडौंमा गर्ने घोषण गरेका छन् ।

सेल्फी प्रतियोगिताको बिजेतालाई २ लाख ५० हजारको बीमालेख

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको क्लीन शेयर एण्ड वीन सेल्फी प्रतियोगिताको विजेतालाई २ लाख ५० हजारको सानिमा म्यादी जीवन बीमालेख पुरस्कार प्रदान गरिएको छ । मातातीर्थ औँसीको अवसरमा आयोजित सो प्रतियोगितामा कम्पनीको अफिसियल फेसबुक पेजमा राखिएको सेल्फी प्रतियोगितामा आफ्नी आमासँगको सेल्फी पोष्ट गरी प्रथम हुन सफल रञ्जना खनालकी आमा सीतादेवी अधिकारीलाई बीमालेख प्रदान गरिएको हो । कम्पनीको मुख्यालयमा आयोजित विशेष समारोहमा महाप्रबन्धक शिवराम तिमल्सिनाले सो बीमालेख प्रदान गरेका हुन् । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसीको पनि उपस्थिति रहेको थियो ।

नेप्सेको समस्या समाधान, परिसूचक १० अंकले बढ्दा ५० करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्सेको लाइभ डाटामा देखिएको समस्याको समाधान भएको छ । लाइभ डाटामा समस्या देखिएपनि सेयर कारोबार भने टीएमएस प्रणालीबाट भएको थियो । दिउँसो करिब २ बज्दा नेप्से १० अंकले बढेर १३११.४२ अंकमा पुगेको छ । यो समाचार तयार पार्दासम्म कूल १५६ कम्पनीको ५० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भइसकेको छ । मंगलबारको बजार नियमित समयमै खुलेपनि सेयर कारोबार भएको डेटाहरु भने अपडेट भएको थिएन । मंगलबारको नेप्से सूचक निलाम्मे, तथ्याङ्क नदेखिनुमा यस्तो छ कारण

काठमाडौँमा युएईको म्यासरिक बैंकको सेमिनार

काठमाडौं । युएई स्थित म्यासरिक बैंकको लागि नेपालको प्रतिनिधिको रुपमा रहेको कार्यालयले काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ । बैंकले ‘कम्प्लाईन्स एण्ड ट्रेजरी म्यानेजमेन्ट’ बिषयमा सेमिनार आयोजना गरेको हो । सेमिनारमा २७ बाणिज्य बैंकका १०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल राष्ट्र बैंककाका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ उपस्थित थिए।  सेमिनारमा बोल्दै श्रेष्ठले एउटा बैंक राम्रो हुन नीति नियम राम्रोसँग पालना गर्नुपर्ने बताए। उक्त बैंकले अन्तर्रास्ट्रिय स्तरमा भएको बैंकिङ अभ्यासको बारेमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरेर जानकारी प्रदान गर्दै आएको छ।

प्रभु बैंक र प्रोगेसिभ फाइनान्सको सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

काठमाडौं । मंगलबार दुई कम्पनीको कूल एक करोड २४ लाख ८८ हजार १५८ कित्ता सेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा प्रभु बैंकको बोनस र प्रोगेसिभ फाइनान्सको हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, प्रोगेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद सेयर मंगलमबार मात्रै नेप्सेमा थपिएको हो ।

बेलायती दूरसञ्चार कम्पनी घाटामा, भोडाफोनलाई ७ अर्ब युरोभन्दा बढी नोक्सानी

लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको जनाएको छ । वित्तीय वर्ष सन् २०१८-२०१९ मा कम्पनीलाई घाटा भएको भोडाफोनले मङ्गलबार जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । रासस÷एएफपी

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने लाभांश कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

दुई लाख १९ हजारले घुमे भक्तपुर, २३ करोड ५० लाख राजश्व संकलन

भक्तपुर । भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । २०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९०६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९५७ गरी दुई लाख ५३ हजार ८६३ पर्यटकले आगमन भएको छ । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु पाँच करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु २० करोड ६९ लाख ३५ हजार ५०० गरी कूल रु २६ करोड ४८ लाख ८८ हजार ५०० राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु चार करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु १८ करोड ८२ लाख ४८ हजार ५०० गरी कूल रु २३ करोड ५० लाख १३ हजार ५०० राजश्व सङ्कलन गरेको थियो । भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट पर्यटक आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । रासस