अब चितवनमै कलेजो प्रत्यारोपण सम्भव, पुरानो मेडिकल कलेजले पायो अनुमति
काठमाडौँ । काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यका बाहिर चितवनबाट पनि हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज(कलेज अफ मेडिकल साइन्स नेपाल)लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो । समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने उल्लेख छ । पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो । समितिले दरखास्तको जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदन समेतको आधारमा मानव शरीरको अंग प्रत्यारोपण –नियमि¬त तथा निषेध) निर्देशिका, २०७५ को दफा ३ को उपदफा (२), खण्ड ‘ग’मा उल्लेख गरिएअनुसार कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । सन् २०१५ अप्रिल २५ मा पुरानो मेडिकल कलेजले र्मिगौला प्रत्यारोपण गर्ने अनुमति पाएर सफल मृगौला प्रत्यारोपण समेत गरी सकेको छ । सन् २०१५ मै मुटुको सफल ओपन हर्टसर्जरी समेत पुरानो मेडिकल कलेजले गरिसकेको छ । अब पनि मृगौला प्रत्यारोपण र ओपन हर्टसर्जरीलाई निरन्तरता दिईने अस्पतालले जनाएको छ । अबको एक दुई महिना भित्र नै कलेजले प्रत्यारोपणको लागि उपयुक्त बिरामीहरु छनोट गरी प्रत्यारोपण कार्य अगाडि बढाइने तथा शुरुको समयमा कलेजले प्रत्यारोपणमा सहयोग गर्नका लागि विश्वविख्यात कोरियन टोली र भारतीय चिकित्सक सहितको टोली आई प्रत्यारोपण गरिने अस्पताल स्रोतले बताएको छ ।
‘सिटिजन्स म्युचअल फण्ड २’ ले एक अर्बको फण्ड जारी गर्दै, हजार रूपैयाँमै लगानी गर्न पाइने
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स म्युचअल फण्ड २’ ले एक अर्ब रुपैयाँको म्युुचअल फण्डको बिक्री गर्ने भएको छ । संस्थाले प्रतिईकाई १० रुपैयाँ अंकित मुल्य कायम रहने गरी १० करोड म्युुचअल फण्ड बिक्री खुल्ला गर्न लागेको हो । सो मध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रर्वधक एनआईसी एशिया बैंकको लागि र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गर्ने संस्थाले जनाएको छ । फण्ड निष्कासन तथा बिक्री प्रवन्धक सिबिआईएल क्यापिटल लिमिटेडले आगामी जेठ ९ गतेदेखि उक्त फण्डको बिक्री गर्ने छ । जुन छिटोमा जेठ १३ गते र ढिलोमा असार ८ गते बैंकिङ् समय पश्चात बन्द हुने छ । जसमा सर्वसाधारणले न्युनतम एक सय देखि २ करोड इकाईसम्मको फण्ड खरिद गर्न सक्ने छन् । अर्थात इच्छुक लगानीकर्ताले एक हजार रुपैयाँदेखि २० करोड रुपैयाँ सम्मको आवेदन दिन पाउने छन् । ‘सिटिजन्स म्युचअल फण्ड २’ सात वर्षे बन्दमुखी योजना हो । जसको आकार एक अर्ब रुपैयाँको छ । जुन बाँडफाँड भएको मितिले सातौँ वर्षमा परिपक्व हुने संस्थाले जनाएको छ ।
एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’, यस्ता छन् सुबिधा, कति लाग्छ शुल्क ?
काठमाडौँ । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालिले मंगलबारदेखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको हो । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र रु ११० (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन् । स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित रु ३० को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ । ‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार रु ४९० देखि रु १,९६० सम्मका विभिन्न समयसिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्पहरु रहेका छन् । पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहित मात्र रु ४९० मा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिन सम्म मान्य रहनेछ । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभि प्याक लिन सक्नेछन् । मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित रु ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याक अन्तर्गत कर सहित रु १,४७० मा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ । नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले कर सहित मात्र रु १,९६० मा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् । ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । शुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुनेछ र पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिने कम्पनीले जनाएको छ ।
बुधबारदेखि एकल बिन्दु सेवा केन्द्र सञ्चालन हुँदै, ८ इकाईबाट उद्योग सम्बन्धी सबै काम हुने
काठमाडौं । उद्योग दर्ता सम्बन्धी सेवा एकै स्थानबाट दिने एकल बिन्दु सेवा केन्द्र बुधबारदेखि सञ्चालन हुने भएको छ । २०४९ साल देखी चर्चामा रहेको एकल बिन्दु सेवा केन्द्र लगानीलाई प्रवर्द्धन तथा कानूनी प्रक्रिया सहजीकरणका लागि स्थापना भई सञ्चालन हुन लागेको हो ।उद्योग विभाग अन्तरगत रहने सो केन्द्रको उद्योग मन्त्री मातृका यादवले एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम छ । उद्योग विभागका महानिर्देशक केन्द्रका कार्यकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागको महानिर्देशकलाई कार्यकारी प्रमुखका रुपमा रहने व्यवस्था गरेको छ । निर्देशक जीवनराज सेढाईले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली केन्द्रमा ८ वटा इकाईहरु रहने बताए । उनले भने–भन्सार तथा राजश्व इकाईमा ३ जना, पूर्वाधार ( उर्जा तथा सञ्चार समेत) मा ४ जना, जग्गा सहजीकरण इकाईमा ३ जना, भिसा सहजीकरण इकाईमा २ जना, उद्योग दर्ता इकाईमा ६ जना, वातावरण इकाईमा ५ जना, विदेशी विनिमय सहजीकरण इकाईमा १ जना र प्रशासन तथा कानून इकाई १६ जना गरी ४१ जनाको दरबन्दी रहेको छ । विदेशी लगानी भएका र लगानी गर्न चाहने स्वदेशी लगानीकर्ताहरुलाई सहजीकरण तथा समन्वयन गर्न उद्योग विभाग परिशर त्रिपुरेश्वरमा भवन निर्माण गरिएको छ । केन्द्रको भवन पूर्ण रुपमा निर्माण सम्पन्न हुन बाँकी रहेपनि भुईतलामा कार्यालय सञ्चालन शुरु हुने निर्देशक सेढाइले बताए । एकद्वार प्रणालीको खाका मन्त्रिपरिषदबाट पारित भई त्यो राजपत्रमा प्रकाशित भइसकेको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए । उद्योग दर्ता गर्नका लागि लगानीकर्ताले धेरै ठाउँमा जानु पर्दा लगानीकर्ता निरुत्साहित हुने गरेका थिए । लगानी गर्न इच्छुकहरुलाई उत्साहित गराउनका लागि एकद्वार प्रणालीको परिकल्पना गरिएको हो । उद्योगी तथा व्यवसायीले लामो समयदेखि माग गर्दै आएको एकल सेवा बिन्दुको प्रावधान नयाँ औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा पनि समेटिएको छ । एकल बिन्दु सेवा केन्द्रले लगानी प्रस्तावको मूल्यांकन गरी स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाई कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी विनिमयको अनुमति दिनेछ ।
सनराइज बैंक र बैंक अफ चाइनाबीच साझेदारी, एकअर्काबीच सहयोग गर्ने सम्झौता
काठमाडौं । सनराइज बैंक लि. तथा बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन् । चीनको गान्सु प्रान्तले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरु बीच आपसी सहयोग, समानता तथा दुईपक्षीय हितका कार्यहरु अघि बढ्ने बताइएको छ । सम्झौता अनुसार विद्यमान नियम र कानूनको परिधिभित्र रही सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरुबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सनराइज बैंक लि.को यसअघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको छ । साथै, दुई बैंकबीच आपसी कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्य टोली बनाउने पनि सहमति भएको छ ।
स्वाभिमान लघुवित्तको आईपीओमा ३२ गुणा बढी आवेदन, जनसेवीमा कति ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ३२.६६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मंगलबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले कुल ६० लाख ६१ हजार ७७० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । त्यस्तै, जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १४.१९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनबि क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६१ करोड ४२ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मंगलबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख ३५ हजार ६२१ जना आवेदकले कुल ६१ लाख ४२ हजार ६४० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । त्यस्तै, जनसेवीले कूल ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । सो मध्ये कर्मचारीलाई ७ हजार १४५ कित्ता र म्युचुअल फण्डलाई २३ हजार १६५ कित्ता छुट्याई बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । सेयरमा मागभन्दा बढी आवेदन परेपछि यी दुबै संस्थाले मंगलबार नै सेयर बिक्री बन्द गरेका हुन् । दुबै संस्थाले गत वैशाख २७ गते शुक्रबारदेखि वैशाख ३१ गते सो मात्राको सेयर बिक्री खुला गरेका थिए । उक्त सेयरमा न्युनतम १० कित्ता सेयर भर्न पाउने व्यवस्था रहेको थियो ।
सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवा शुभारम्भ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गरेका छन् । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बाँकोस्टाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए । सो शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे । सोही अवसरमा नेपाल टेलिकम, वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्त दुरुस्त रुपमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत मटुकआनन्द वैद्य लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाजिल्लाको सुनिल स्मृतिगाउँपालिका–७, तेबाङ्गमा १३३औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा बजारमा १३४ औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३, रामजानकी बजारमा १३६औँ, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका –४, देवीनगरमा १३७ औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका–७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको बैंकले जनाएको छ । साथै बैंकले अत्तरीया शाखामा १४५औं एटिएम पनि सञ्चालनमा ल्याएको जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने जनाइएको छ ।